‘मिटरमा जाँदा तेल खर्चै उठ्दैन’

writer

सम्पूर्ण

आइतबार, ०५ माघ २०७६


लक्ष्मी दास, चालक,बा २ ज २५२८, स्वयम्भू, काठमाडौँ

मेरो घर हेटौंडा, मकवानपुर हो। ट्याक्सी चलाउन थालेको १० महिनाजति भयो। दिउँसो क्यासिनोमा काम गर्छु। त्यहाँबाट छुट्टी भएपछि साहूको ट्याक्सी चलाउँछु। साँझ ४ बजेदेखि राति १० बजेसम्म ट्याक्सी चलाउँछु। १० वर्षअघि पढाइसँगै कामको खोजीमा काठमाडौँ आएको थिएँ। विदेश जान मन लागेन। यतै सानोतिनो काम गरेँ। परिवारको जिम्मेवारी मेरै काँधमा भएकाले सानोतिनो कामले गुजारा चलेन। त्यसैले फुर्सदमा ट्याक्सी चलाउँछु। 

ट्याक्सीबाट दैनिक हजार-पन्ध्र सय रुपैयाँसम्म आम्दानी हुन्छ। यसले घरको दैनिक खर्च चाहिँ टार्छ। धेरै आम्दानी चाहिँ हुँदैन। चाडपर्वका बेला मात्र प्यासेन्जर धेरै पाइन्छन्। त्योबेला धेरथोर कमाइ हुन्छ। अघिपछि त सुक्खा नै हो। अहिले पठाओ, टुटलले गर्दा पनि प्यासेन्जर पाउँदैनौँ। हाम्रा प्यासेन्जर उनीहरूले लगे। दिउँसो ट्याक्सी चलाउँदा अधिकांश समय ट्राफिक जाममै बित्छ। त्यसैले बेलुका चलाउने गर्छु। सरकारले मिटरको पैसा बढाएर पठाओ र टुटल बन्द गरिदिए राम्रो हुन्थ्यो। दिउँसो मिटरमा जानुपर्छ। मिटरमा जाँदा झन् ट्याक्सीको तेल खर्च पनि उठ्दैन।

तर, राति ट्याक्सी चलाउँदा ढुक्क भने छैन। रातमा कहिलेकाहीँ जँड्याहा र पाकेटमारको डर हुन्छ। जँड्याहाले जे पायो त्यही बोल्ने, ताल पर्‍यो भने ट्याक्सीको सिसा फुटाइदिने गर्छन्। पाकेटमारले ‘यता जाम, उता जाम’ भनेर ट्याक्सीमा बस्छन् र पैसा लुटेर जान्छन्। त्यसैले राति १० बजेपछि ट्याक्सी चलाउँदिनँ। 

प्रस्तुतिः अस्मिता

तपाईको कमेन्ट

मुख्य समाचार