यौनमा स्पर्शको महत्त्व

writer

डा. सुमनराज ताम्राकार

शनिबार, ०४ माघ २०७६


यौन क्रियाकलापका क्रममा स्पर्श कति महत्त्वपूर्ण हुन्छ ?
जिज्ञासा : वाई, भरतपुर

श्रीमान्–श्रीमती अथवा प्रेमी–प्रेमिकाबीच यौन चाहना समान नहुन सक्छ। कसैलाई दिनहुँजसो यौन सम्बन्ध राख्ने चाहना हुन्छ भने कसैलाई हप्ता, महिनामा मात्र यस्तो चाहना हुन सक्छ। यौन चाहनामा भिन्नता हुनुमा मानिसको दैनिकी वा उनको जीवनका विविध घटनाक्रमको असर पनि हुन सक्छ। तर, निरन्तर रूपमा यौनिक चाहनामा भिन्नता हुन गयो भने विवाहेतर सम्बन्ध विकास हुन गई दाम्पत्य जीवन नै धरापमा पर्न सक्छ। त्यसैले दाम्पत्य जीवनलाई सुमधुर बनाउन सकारात्मक अन्तरक्रिया आवश्यक हुन्छ। 

अमेरिकी मनोविद् डा. जोन गोटम्यानले गरेको अनुसन्धानअनुसार सफल दाम्पत्यको लागि नकारात्मकभन्दा सकारात्मक सोच वा व्यवहार पाँच गुणा बढी हुनुपर्छ। स्नेह व्यक्त गर्ने, धन्यवाद प्रकट गर्ने, तारिफ गर्ने र नजिकिने कार्यले सकारात्मकता बढाउँछ। यौन क्रियाकलापअगाडि पार्टनरबीच यौन चाहनाको छलफल गरिएन भने प्राक्क्रीडाको अभाव तथा यौन कार्यपछि अँगालो वा चुम्बनको अभावमा बेडरुमको वातावरण चिसिन सक्छ। 

आफ्नो पार्टनरलाई दैनिक रूपमा पटक–पटक स्पर्श गर्दा सामीप्य र आत्मीय सम्बन्ध बढ्छ। तर, आत्मियताका लागि यौन नै चाहिन्छ भन्ने होइन, केवल स्पर्शले पनि यौन जीवन सुधार्न सकिन्छ। यौन प्रक्रियाको अन्तिम बिन्दु लिंग–योनिको मिलन भए पनि यौन प्रक्रियाको सुरुवात यौन सोच, यौन परिकल्पना वा यौन परिदृश्यबाट हुने गर्छ। प्रतिक्रियास्वरूप विभिन्न हर्मोन एवं रासायानिक पदार्थको माध्यमबाट आवश्यक यौन प्रतिक्रिया तथा शारीरिक हाउभाउ गराउन निर्देशन दिन्छ। यस क्रममा मस्तिष्कले आन्तरिक सूचनाको मात्र विश्लेषण होइन, बाह्य वातावरण एवं सामाजिक मूल्य–मान्यताअनुकूल यौन प्रतिक्रिया जनाउन हुन्छ÷हुँदैन भन्ने पनि विश्लेषण गर्छ।

यौन क्रियाकलापको सुरुवातमा दृश्यको भूमिका भए पनि स्वाद, श्रवण, बास्नाजस्तै स्पर्शको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ। यसका लागि महिला–पुरुषमा यौन आकर्षणका दृष्टिले विभिन्न अंगप्रत्यंग छन्। बाल्यावस्थाबाट किशोरावस्थामा पुग्ने क्रममा जीवजन्तुका महिला तथा पुरुषको मस्तिष्कमा विपरीतलिंगीलाई आकर्षित गर्ने गुण हुन्छ। त्यसैले किशोरावस्थामा विपरीतलिंगीप्रति आकर्षित हुन थाल्छन्। र, किशोर तथा किशोरीका आ–आफ्नै यौन अपेक्षा हुन थाल्छन्।

विपरीत लिंगीबाट सकारात्मक संकेत पाएपछि स्वाद, श्रवण, बास्नाजस्तै स्पर्शको पनि भूमिका सुरु हुन्छ। मानव जीवनमा स्पर्शको आफ्नै महत्त्व छ। यौन जीवनमा आफ्नो यौन भावना प्रकट गर्न र यौन साथीलाई उत्तेजित बनाउन स्पर्शको योगदान छ। पुरुष र महिला दुवैको शरीरका यौनांगमा मात्र नभई शरीरभरि नै यौन संवेदनशील क्षेत्र हुन्छन्। तिनीहरूको स्पर्श, घर्षण मात्रले पनि यौन उत्तेजना जगाउन पर्याप्त हुन्छ। कतिपय स्पर्श केवल रमाइलोपनको लागि मात्र हुन सक्छ। यौन आशयको हिसाबले नभई दिनमा कम्तीमा आठ पटक स्पर्श अपेक्षा गरेको हुन्छ। अर्को अर्थमा प्रतिदिन आठदेखि १० पटकको अर्थपूर्ण स्पर्शले शारीरिक र संवेगात्मक स्वास्थ्य सन्तुलनमा राख्न मद्दत गर्छ।

यौन प्रतिक्रिया चक्रको अन्तिम गन्तव्य योनि–लिंग बीचको मिलन वा घर्षण हो। जुन यौनांग बीचको स्पर्शको पृथक् रूप हो। चुम्बन पनि एक खाले स्पर्श नै हो। यस अर्थमा स्पर्शबिना चरम सन्तुष्टि (अग्र्याजम) प्राप्त गर्न असम्भव छ। अध्ययनअनुसार प्रत्येक चोटिको सफल यौन सम्पर्कका लागि कम्तीमा १५ पटक स्पर्श आवश्यक हुन्छ। यौनांग बीचको घर्षणबाहेक प्राक्क्रीडाको क्रममा अँगालो मार्नु, सुम्सुम्याउनु, चुम्बन गर्नु, दबाउनु, हल्का चिमोट्नु, कान टोक्नु, औँला टोक्नुलगायत सबै यौन स्पर्शका माध्यम हुन्। त्यसै गरी, गाला सुम्सुम्याउनु, अँगालो हाल्नु, काखीमा काउकुती लगाइदिनु, एकापसमा कमरमा हात राखी हिँड्नु, टीभी हेर्न बस्दा तथा मोबाइल चलाउँदा हात खुट्टा छुने गरी बस्नु, हात समाउनु, ढाड सुम्सुम्याउनु स्पर्शका अन्य तरिका हुन सक्छन्। 

विशेष खालको कपडा, यौन खेलौनाको माध्यमबाट यौन आनन्द लिँदा पनि स्पर्शकै भूमिका हुन्छ। सफल यौन कार्यका लागि स्पर्शको महत्त्व हुन्छ। स्पर्शको गलत प्रयोगले नकारात्मक परिणाम निस्किन सक्छ। धेरैजसो यौन दुव्र्यवहार वा यौन हिंसामा पनि स्पर्शकै भूमिका हुन्छ। सार्वजनिक स्थानमा तथा अपरिचित एवं नातेदारका यौन संवेदनशील अंगको स्पर्श सामाजिक दृष्टिले वर्जित छ। तर, पनि कतिपय पुरुषले सार्वजनिक यातायातमा विशेषतः बाह्य घर्षणकै माध्यमबाट क्षणिक यौन आनन्द लिने लालसा राख्ने गर्छन्।

कतिपय अवस्थामा भौतिक सामीप्य आवश्यक नहुन सक्छ, अर्थात् नजर स्पर्श मात्र पनि काफी हुन्छ। त्यसो त स्पर्श हाम्रो दैनिकीमा प्राथमिकतामा परिरहेको नहुन सक्छ। आफ्नो पार्टनरलाई स्पर्श अर्थात् पर्याप्त समय नदिँदा बेलायतमा सम्बन्ध विच्छेदका घटना बढ्न थालेका छन्। पार्टनरभन्दा टीभी, मोबाइल, गेमिङमा बढी समय दिँदाको परिणाम नै होला। धेरैजसोको प्राथमिकता स्पर्शमा नपर्न सक्छ। तर, सत्य के हो भने स्पर्शको अभावमा नकारात्मक धारणा विकसित हुन सक्छ। ओछ्यानबाट उठ्ने बेलामा, काममा निस्कँदा, कामबाट फर्किंदा छोराछोरी सुतेपछि टीभी हेरिरहँदा, कम्प्युटर–मोबाइल चलाइरहँदाको समय स्पर्शका लागि उपयुक्त अवसर हुन सक्छ। सारांशमा पार्टनरभन्दा किबोर्डमा बढी ध्यान जानु राम्रो होइन।

सानो वा ठूलो जुनसुकै उमेरकाले स्पर्शको चाहना गरेकै हुन्छन्। चाहे त्यो यौन आशयले होस् वा नहोस्। स्वीकार, समर्थन, माया, सम्मान अनि संरक्षणको अंश स्पर्श हुन सक्छ। वयस्कमा स्पर्शका माध्यमबाट यौन क्रियाकलाप सुरु भएर यौन सम्पर्कमा टुंगिन्छ। यौन आशय नभएका स्पर्शको आफ्नै महत्त्व भए पनि यौन सम्पर्क आवश्यक हुँदा मात्र स्पर्श गर्ने बानी छ कि ? कहिलेकाहीँ मात्र स्पर्श गर्ने व्यक्तिले स्पर्श गर्नेबित्तिकै यौन सम्बन्ध चाहेको हो कि भनेर नकारात्मक धारणा विकसित हुन सक्छ। यौन सम्पर्क चाहँदा मात्र स्पर्श गर्छन् भन्ने बुझाइ विकसित हुनु राम्रो होइन। 

तपाईको कमेन्ट