देश छाड्दै किमिया

writer

सम्पूर्ण

शनिबार, ०४ माघ २०७६


ओलम्पिकमा पदक जितेर इतिहास रचेकी इरानी खेलाडी किमिया अलिजादेहले देश छोड्ने घोषणा गरेकी छिन्। २१ वर्षीया किमियाले सामाजिक सञ्जालमार्फत आफूले इरान छाड्न लागेको घोषण गरेकी हुन्। इरानमा कायम रहेको पाखण्ड, झुट, अन्याय र चाप्लुसीले आफू निराश बनेको उनले स्पष्ट पारेकी छिन्।

उनले इरानी महिलाको अवस्था नाजुक रहेको पनि बताइन्। ‘इरानका लाखौँ महिलाको स्थिति नाजुक छ,’ उनले लेखेकी छिन्, ‘त्यो लाखौँमा म पनि पर्छु। ममाथि वर्षौंदेखि शोषण भइरहेको छ।’

इरान छाड्ने घोषणा गरेकी उनी अहिले इरानमा छैनन्। उनले आफू रहेको स्थानबारे केही बताएकी छैनन्। तर, इरानी सञ्चारमाध्यमले भने उनी प्रशिक्षणका क्रममा नेदरल्यान्ड्समा रहेको दाबी गरेका छन्। यो दाबी सत्य भएमा किमियाले नेदरल्यान्ड्समा नै शरण लिने अनुमान गरिएको छ। उनले आफूलाई कसैले कुनै प्रस्ताव नगरेको र आफू कहाँ जान्छु ? भन्ने पनि निश्चित नभएको बताएकी छिन्। आफू जहाँ रहे पनि इरानकी छोरी भएर बस्ने उनको भनाइ छ।

सन् २०१६ को रियो ओलम्पिकमा तेक्वान्दोको ५७ किलो तौलमा कांस्य पदक जितेर कीर्तिमान बनाएकी किमिया ओलम्पिकमा पदक जित्ने एक मात्र इरानकी महिला खेलाडी हुन्। आफ्नो सफलतालाई इरानका अधिकारीले प्रोपोगान्डाका लागि प्रयोग गरेको आरोप किमियाको छ। इरानले ओलम्पिक इतिहासमा २१ स्वर्ण, २१ रजत र २७ कांस्य जितेको छ। 

तपाईको कमेन्ट

मुख्य समाचार