अगुइरोको नयाँ कीर्तिमान

सम्पूर्ण
शनिबार, ०४ माघ २०७६
म्यानचेस्टर सिटीका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुइरोले इंग्लिस प्रिमियर लिग क्लबमा नयाँ कीर्तिमान बनाएका छन्। आइतबार राति एस्टन भिल्लालाई ६–१ ले हराएको खेलमा सिटीका तर्फबाट ह्याट्रिक गरेका उनी प्रिमियर लिग क्लबका लागि सबैभन्दा धेरै गोल गर्ने विदेशी खेलाडी बने। इंग्लिस क्लबका लागि यो उनको बाह्रौँ ह्याट्रिक थियो।
भिल्लाविरुद्धको ह्याट्रिकसँगै अगुइरोको २ सय ५५ खेलमा १ सय ७७ गोल भएको छ। यसअघि यो कीर्तिमान थिएरी हेनरीको नाममा थियो। आर्सनलबाट खेल्ने हेनरीले २ सय ५८ खेलमा १ सय ७५ गोल गरेका थिए।
२३ वर्षको उमेरमा अगुइरो सन् २०११ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट म्यानचेस्टर सिटीमा आएका थिए। छ वर्ष एट्लेटिकोमा खेल्दा उनले १ सय ७५ खेलमा ७४ गोल गरेका थिए।
इंग्लिस फुटबल क्लबमा धेरै गोल गर्ने विदेशी खेलाडी बनेपछि अगुइरोले लेजेन्डको उपमा पाएका छन्। उनलाई सिटीका प्रशिक्षक पेप ग्वार्डिओला र पूर्वकप्तान भिन्सेन्ट कोम्पनीले यो उपमा दिएका हुन्। ‘हेनरी उत्कृष्ट थिए र कीर्तिमान बनाए,’ ग्वार्डिओलाले भने, ‘तर, अगुइरो लेजेन्ड हुन् र उनले त्यो कीर्तिमान तोडे।’
अगुइरोले भने सफलताको श्रेय साथीलाई दिएका छन्। उनले फुटबलमा धेरै गोल गर्न साथीको सहयोग आवश्यक पर्ने भन्दै त्यो सहयोगकै कारण आफूले गोल गर्न सकेको बताए। ३१ वर्षका उनले अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि भने ९७ खेलमा ४१ गोल गरेका छन्।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७