बेचैन यात्रीको समूह ‘जुम्रो–म्यान’

writer

अस्मिता खड्का

शनिबार, २६ पुष २०७६


‘जुम्रो–म्यान’ केही यात्रुको समूह हो। उनीहरू घुमघाम गर्छन्, नयाँ–नयाँ गन्तव्य र त्यहाँ पुग्ने नयाँ–नयाँ बाटो खोजी गर्छन्। ती  ठाउँका किंवदन्ती पत्ता लगाउँछन् र सुनाउँछन्।


सोलो ट्राभलर अर्थात् एकल यात्री हुन्, लक्षुराम सापकोटा। उनी एक्लै यात्रा गर्न रुचाउँछन्। सरकारले हाल घोषणा गरेका सय घुमघाम गन्तव्यमध्ये अधिकांशमा उनी पुगिसकेका छन्। घुम्न औधी रुचाउने उनी पर्यटकीय क्षेत्रको विकासका लागि केही नयाँ गर्न चाहन्थे। नेपालका डाँडापाखा, हिमाल, तराई घुम्दाघुम्दै उनलाई एउटा ‘आइडिया’ फुर्‍यो। जसलाई उनले ‘जुम्रो–म्यानः अ रेस्टलेस ट्राभलर’ नाम दिए। ‘जुम्रो–म्यान एउटा शैली हो, पद्धति हो अथवा यसो भनौँ यो एउटा ब्रान्ड हो,’ उनी भन्छन्, ‘जसले पर्यटकीय क्षेत्रको विकासका लागि काम गर्छ। र, यसले पर्यटन क्षेत्रमा परामर्शदाताका रूपमा काम गर्छ।’

यसरी जुर्‍यो ‘जुम्रो–म्यान’

जुम्रो–म्यानले नेपालभर रहेका पर्यटकीय क्षेत्रका विभिन्न आयाम र ट्रेकिङ रुटका लागि विशेष अध्ययन–अनुसन्धान गर्ने सापकोटा बताउँछन्। सन् २०१७ देखि आधिकारिक रूपमा सञ्चालनमा आएको जुम्रो–म्यानले आफ्नो यात्रा भने सन् २०११ देखि नै सुरु गरिसकेको थियो। ‘सन् २०१७ मा जुम्रो–म्यान प्रालिका रूपमा दर्ता भए पनि मैले यसका लागि सन् २०११ देखि नै काम गरिरहेको थिएँ,’ उनी भन्छन्। 

यो नाम जुराउन उनलाई लामो समय लाग्यो। नाम जुराउन उनले निकै दिमाग खियाए। ‘पर्यटकीय क्षेत्रमा केही नयाँ गर्न नाम पनि नयाँ नै चाहियो भन्ने लाग्यो,’ उनी सुनाउँछन्, ‘नाम अनौठो र चाखलाग्दो हुनुपर्छ भन्ने थियो। थुप्रै नाम सोचँे तर ती चित्तबुझ्दा थिएनन्। आफूले चाहेजस्तो नाम भेटिरहेको थिइनँ।’ 

सन् २०१७ को जाडो याममा उनी एक्लै अन्नपूर्ण क्षेत्र भ्रमणमा निस्किएका थिए। ‘जुम्रो–म्यानको धारणा जन्मिनुमा मुग्लिनको जामको ठूलो हात छ,’ जुम्रो–म्यान नाम राखिनुको रोचक घटनाबारे सुनाउँदै उनी भन्छन्, ‘म भ्रमणमा निस्किएको थिएँ। काठमाडौँदेखि पोखरा जाने बेला चारपाँच घण्टा जाममा परियो। बालबालिकासँग खेल्न मन पर्ने भएकाले त्यो जाममा एक छिन भए पनि उनीहरूसँग अन्ताक्षरी खेल्न थालेँ। त्यहाँ एउटा फुच्ची थिइन्। जसले पटक–पटक मलाई ‘जुम्रा परेको मान्छे’ भनेरहेकी थिइन्। उनका ती शब्दले मेरो ध्यान आकर्षित गर्‍यो।’ आफूलाई सानी फुच्चीले ‘जुम्रा परेको मान्छे’ भनेको कुरा उनले बिर्सिन सकेनन्। त्यो वाक्य अन्नपूर्ण यात्रा अवधिभर उनको दिमागमा घुमिरह्यो। ‘मेरो दिमागमा ‘जुम्रा परेको मान्छे’ यस्तो गढ्यो कि त्यसले मलाई छोड्दै छोडेन,’ उनी भन्छन्, ‘जुम्रा धेरै चलिरहने भएकोले हुन सक्छ, ती सानी केटीले मलाई जुम्रा परेको मान्छे भनिरहेकी थिइन्।’ 

त्यसपछि सापकोटाले जुम्राबारे निकै सोचे। ‘जुम्रा एउटा अनहाइजेनिक, अस्थिर गुण भएको प्राणाी हो,’ उनी भन्छन्, ‘जो मान्छेको शिरमा हिँडिरहन्छ, चक्कर लगाइरहन्छ तर पनि थाक्दैन। मान्छे पनि त जुम्राजस्तै हो भन्ने लाग्यो। हामी पनि दिनहुँ यात्रा गर्छौं। कतै न कतै गइरहेका हुन्छौँ।’ जुम्रालाई न सरसफाइ चाहिन्छ, न ऊ स्थिर बस्न सक्छ। त्यसपछि उनले आफ्नो केही गर्ने सोचलाई ‘जुम्रो–म्यान’ नाम दिने निधो गरे। 

के गर्छ जुम्रो–म्यानले ?

जुम्रो–म्यानले नयाँ–नयाँ गन्तव्य र त्यहाँ पुग्ने नयाँ–नयाँ बाटोको खोजी गर्छ। ती  ठाउँका किंवदन्ती पत्ता लगाउँछ र सुनाउँछ। त्यस ठाउँको परिवेश र मानिसको जीवनशैलीबारे बताउँछ। यात्रीहरूका कथा पनि यसले सुनाउने गर्छ। ‘नेपालका कुनाकाप्चामा थुप्रै कथा लुकेका हुन्छन्,’ सापकोटा सुनाउँछन्, ‘जो अनौठा र चाखलाग्दा हुन्छन्। ती कथालाई बाहिर ल्याउने काम जुम्रो–म्यानले गर्छ।’ 

जुम्रो–म्यानलाई एक पर्यटकीय ब्रान्ड बनाउन सापकोटा लागिपरेका छन्। ‘पर्यटकीय क्षेत्रका आवश्यकताबारे बुझ्ने काम हामी गर्छौं,’ उनी भन्छन्, ‘त्यसका लागि हाम्रो तीन जनाको टिम छ। नयाँ गन्तव्य, नयाँ ठाउँबारे हामी अनुसन्धान गर्छौं। त्यहाँको विकासका लागि आफूले गर्न सक्ने काम गर्छौं।’ जुम्रो–म्यानको फेसबुक पेज र युट्युब च्यानल पनि छन्। 

जुम्रो–म्यानको टिमले आन्तरिक र विदेशी पर्यटकले घुम्नुपर्ने विभिन्न ठाउँ पत्ता लगाएका छन्। पूर्वमा कोशीपारि उनले ‘दूधखोला ट्रेल पत्ता लगाएका थिए। ‘यो हामीले सन् २०१५ मा पत्ता लगाएका थियौँ,’ उनी भन्छन्, ‘‘ह्याप्पी–८८’ नामक प्रोजेक्टअन्र्तगत विभिन्न ट्रेल मार्क गरिसक्यौँ। अहिलेसम्म ८८ भन्दा बढी गन्तव्य त खोजिसकियो होला।’ प्रोजेक्ट सफल पार्न आफू कैयौं दिन भोकै हिँडेको उनी सम्झन्छन्। ‘भोकै त कति हिँडियो, हिँडियो, कैयाँैपल्ट बाटो बिराउँथेँ,’ उनी भन्छन्, ‘तर, हार कहिल्यै मानिनँ। सायद यात्रा मेरो प्यासन भएर हो, यस्ता कुरामा न हार मानेँ, न डराएँ, न त थाकेँ। बरु, रमाइलो लाग्थ्यो।’ 

‘घुम्नैपर्ने पनौती’

लामो अनुसन्धानपछि जुम्रो–म्यानले केही हप्ताअघि मात्र नयाँ गन्तव्यको खोजी गरेको छ। जसलाई उनले ‘घुम्नैपर्ने पनौती’ नाम दिएका छन्। ‘अधिकांश पर्यटक पनौतीका घुम्नलायक ठाउँबारे जानकार छैनन्,’ सापकोटा भन्छन्, ‘जानकारहरू पनि त्यहाँको कुम्भमेलाबाहेक अरू सांस्कृतिक, पर्यटकीय स्थलबारे अनभिज्ञ छन्। लामो प्रयासपछि हामीले पनौतीका १२ वटा नगरपालिकाभित्रका विभिन्न धार्मिक र पर्यटकीय स्थल पत्ता लगाएका छौँ। जो दुनियाँका नजरमा परेका थिएनन्।’ 

त्यसमा विभिन्न मन्दिर, घाट, गढी, पाटीपौवा आदि पर्ने उनी बताउँछन्। जुम्रो–म्यानले काठमाडौँ उपत्यका–पनौती हाइकिङ रुट, एड्भेन्चर टुरिजम र पर्यावरणीय पर्यटन क्षेत्रमा काम गरिरहेको छ। ‘अनुसन्धानपछि हामीले रक क्लाइम्बिङ, प्याराग्लाइडिङजस्ता गतिविधि गर्न सकिने र वन्यजन्तु, हिमालय पर्वत शृंखला आदिको दृश्यावलोकन गर्न सकिने कुरा पत्ता लगायौँ,’ सापकोटा भन्छन्, ‘साथै, गुर्दुम–महाभारत पदयात्रा, बल्थली इको–ट्रेक जसलाई लोल्यान्ड ट्रेक पनि भनिन्छ, हामीले नै पत्ता लगाएका हौँ। त्यसका लागि हामीले पनौती नगरपालिका र पर्यटन बोर्डसँग सहकार्य गर्‍यौँ।’ 

कृषि, पर्यावरण, सांस्कृतिक उत्सवका लागि काठमाडौँबाट सबैभन्दा नजिकको गन्तव्य हो, पनौती। सापकोटाका अनुुसार पनौती भ्रमणका लागि निस्कने पर्यटकले फुल्चोकी मन्दिर, नागी डाँडा, सन्सरी डाँडा, मुरली खोला, धारा–पानी चैतन्य गुम्बा, बाउसेको वन, गोठदेवी मन्दिर, कालेसाहुको पाटी, मुण्डगढी, नौतले पाटीलगायत ठाउँ घुम्ने गर्छन्। यी सबै जुम्रो–म्यानले नै खोजी गरेका ठाउँ भएको सापकोटा बताउँछन्। ‘उद्देश्य मात्र राखेर हिँड्नुभन्दा पनि आफ्ना उदेश्यलाई पूर्ति गर्ने’ कुरामा विश्वास गर्छन्, उनी। ‘कुनै पनि ठाउँ भ्रमण गर्नुअघि ‘किन घुम्ने ?’, ‘कता–कता घुम्ने ?’, ‘आफू घुमेको ठाउँको विशेषता के हो ?’ लगायतमा ध्यान जाओस् भन्ने कुरा सबैलाई जुम्रो–म्यान बुझाउन चाहन्छ। 

‘भिजिट–२०२०’

सन् २०२० लाई नेपाल सरकारद्वारा ‘नेपाल भ्रमण वर्ष’ घोषित गरिएको छ। ‘भिजिट–२०२०’ नाराका साथ सरकारले यस वर्ष २० लाखभन्दा बढी पर्यटक भिœयाउने उद्देश्य राखेको छ। सरकारको यस प्रयासमा जुम्रो–म्यानले पनि साथ दिने सापकोटा बताउँछन्। ‘पर्यटकीय क्षेत्रको विकासका लागि हामीले पनि नयाँ उद्देश्य राखेका छौँ,’ उनी भन्छन्, ‘पर्यटकीय क्षेत्रमा हामीले अहिलेसम्म जति काम गर्‍यौँ, त्यसको दोब्बर काम गर्ने उद्देश्य राखेका छौँ।’ त्यसका लागि जुम्रो–म्यानले ‘रिसर्च एन्ड डेभलपमेन्ट’, ‘कन्सल्टिङ’, ‘क्रिएटिभ डिजाइन’, ‘इम्पावरमेन्ट’ र ‘डिजिटल एन्ड टेक्नोलोजी’का कुरालाई विशेष प्राथमिकता दिएको उनी बताउँछन्। ‘सन् १९७० पछि नेपालमा ट्राभल मुभमेन्ट आयो,’ उनी सुनाउँछन्, ‘त्यसले गर्दा च्याउसरी ट्राभल एजेन्सी खुले।’

अहिले थुप्रै यात्रीले यात्राको भिडियो बनाउने र युट्युबमा भिडियो अप्लोड गर्ने गरेको सापकोटालाई मन परेको छैन। भन्छन्, ‘आजभोलि कोही–कोहीले एक्लै वा समूहमा हिँडेर यात्राका भिडियो बनाउने र सामाजिक सञ्जालमा अप्लोड गर्ने गर्छन्। यो परिस्थितिमा एक्लै हिँडेर, एउटा गियर र क्यामेरा बोकेर आफ्ना सामग्री युट्युबमा राख्दैमा पर्यटकीय क्षेत्रको विकास हुँदैन।’ अहिलेका युवाले यी कुरालाई अलिक गहिरो रूपमा लिनुपर्ने र त्यसबारे सोच्नुपर्ने उनी बताउँछन्। ‘हाम्रोमा ‘मास्टर टुरिजम प्रोजेक्ट’को खाँचो छजस्तो लाग्छ,’ उनी भन्छन्, ‘पर्यटन विकासका लागि अनुसन्धान, स्थानीय सरकारसँग परामर्श, प्रावधिक विकासलगायत कुरालार्ई जुम्रो–म्यानले आफ्नो उद्देश्य बनाएको छ।’

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि