रानाथारूः महिलाप्रधान समुदाय

writer

इन्द्र चौधरी

बिहिबार, २४ पुष २०७६


नेपालको प्रदेश नं. ७ मा पर्ने कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने आदिवासी हो, रानाथारू। उनीहरू आफ्नो भाषा, कला, संस्कृति, रहनसहन, वेशभूषा, चालचलन, परम्परा, चाडपर्व अन्य थारूभन्दा पृथक भएको बताउँछन्। रानाथारू समाजमा महिलालाई माथिल्लो दर्जामा राखी सम्मान गरेको देखिन्छ। महिलाहरू भर्रा (गुरुवा) भएको उदाहरणसमेत छ। 


नेपालको प्रदेश नं. ७ मा पर्ने कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसोबास गर्ने आदिवासी हो, रानाथारू। यस जातिको उत्पत्तिका विषयमा मतैक्य पाइँदैन। तर, यी जाति राजस्थान (चित्तौढगढ) का राजाका वंशज हुन् भन्ने धारणा पाइन्छ। प्रत्येक १० वर्षको अन्तरालमा हुने जनगणनाले रानाथारूको छुट्टै गणना गरेको छैन। यो समुदायलाई थारूअन्तर्गत नै राखिएको छ।

गोपाल दहितद्वारा लेखिएको थारू–नेपाली–अंग्रेजी शब्दकोशमा ‘नेपालको कैलाली तथा भारतको उत्तरप्रदेशमा बसोबास गर्ने थारू जाति, स्वयंलाई महाराणा प्रतापको वंश मान्ने थारू जाति’ भनेर ‘रानाथारू’लाई अथ्र्याइएको पाइन्छ। रानाथारूहरू आफ्नो भाषा, कला, संस्कृति, रहनसहन, वेशभूषा, चालचलन, परम्परा, चाडपर्व सबै प्रकारले अन्य थारूभन्दा पृथक भएको बताउँछन्।

कति छन् रानाथारू ?

समग्र थारू जातिको जनसंख्या १७ लाख ३७ हजार ४ सय ७० रहेको २०६८ सालको जनगणनाले देखाउँछ। जुन नेपालको कुल जनसंख्याको ६.६ प्रतिशत हो। तर, आजसम्म रानाथारूहरूको जनसंख्या कति छ ? भनेर छुट्टै गणना गरिएको तथ्यांक उपलब्ध छैन। यसकारण नेपालमा रानाथारूको जनसंख्या यति नै छ भन्न सकिने अवस्था छैन। नेपालमा रानाथारू समुदायले लामो समयदेखि आफ्नो छुट्टै जाति, पहिचान र भाषा सूचीकृत गर्न माग राख्दै आएकोमा भाषा आयोगले २०७६ साल कात्तिकमा थप नयाँ भाषाअन्तर्गत रानाथारूको पहिचान दिएको छ। 

अनुसन्धाता पाउल लाविसको ‘इथ्नोलग’ (सन् २००९) पुस्तकमा उल्लेख भए अनुसार नेपालमा रानाथारू भाषा बोल्नेको संख्या ३ लाख ३६ हजार छ। त्यसै गरी, करिब १ लाख ५० हजार रानाथारूभाषी भारतमा छन्। यसरी यो भाषीको संख्या दुवै देशमा लगभग ४ लाख ८६ हजार रहेको देखिन्छ। रानाथारूको आधिकारिक न्युज पोर्टल ‘रानाथारू डटकम’मा भने नेपालमा रानाथारूको अनुमानित जनसंख्या ३ लाख ५० हजार रहेको उल्लेख छ।

कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा बोलिने भाषा र रानाथारू भाषामा केही फरक देखिन्छ। हाल अन्य भाषीको बसाइँ–सराइका कारण नेपाली, हिन्दीलगायत थारू भाषाको मिश्रण पनि पाइन्छ। खास गरी, रानाथारू भाषी कैलालीको गेटा, उर्मा, चौमाला, मालाखेती, बेलादेवीपुर, श्रीपुर, गदरैह्या, धनगढी नगरपालिका आदि ठाउँमा बसोबास गर्छन् भने कञ्चनपुरको देखतभूली, शंकरपुर, नन्दगाउँ, लक्ष्मीपुर, झलारी कन्ज, कालागौढी, कलुवापुर, गुलरिया आदि ठाउँमा बसोबास गर्छन्। 

जातीय इतिहास

आफ्नो जातीय अध्ययनमा चासो राख्ने नारायण रानाले पूर्खाहरूको भनाइअनुसारको कुरा ‘खोजी अंश और वंश की’ नामक पुस्तक लेखेका छन्। ‘चित्तौडगढका राजा (महाराणा प्रताप) मुसलमानको आक्रमणमा मारिएपछि तिनका रानीहरू नोकरचाकरलाई लिएर भागे’ भन्ने प्रसंगमा प्रश्न गर्दै उनले लेखेका छन्– ‘यदि रानीहरू यता भागेर आएको भए उनीहरू फेरि कैलाली र कञ्चनपुरमा शासन चलाउन सक्थे, किनभने त्यतिबेला त यहाँ अरू कसैको बसोबास पनि थिएन।’ त्यसैले उनीहरू कहीँबाट नआएर नेपालकै आदिवासी हुन सक्ने संकेत गर्छन्। चित्तौडगढमा उक्त आक्रमण मात्र पाँच सय वर्ष पुरानो हो। त्यसैले उनी डोरबहादुर विष्टले रानाथारूको बसाइँ यहीँ हुन सक्ने भनी दिएको अभिव्यक्तिमा सहमत छन्। तर, उनी आफू रानीकै सन्तान नै राना हुन सक्ने स्वीकार गर्छन्। यसरी उनीहरूकै सन्तान आजसम्म राना मात्र लेखिरहेका छन्। 

थर र उपथर

रानाथारू जातिमा विभिन्न थर छन्। जुन आम थारू जातिमा मिल्दैन। त्यसैले रानाथारू पनि छुट्टै जाति हो भन्ने अनुमान गर्न सकिन्छ। रानाथारू जातिमा ठाकुर, बठ्ठा ठाकुर, गढौरा ठाकुर, महात्मा, बडायक, रावत, राव, धंगरा, जुगिया, गिरी, खुन्का, पसिया, सौसा आदि उपथर छन्। तर, पनि समग्रमा सबैले राना मात्र लेख्छन्। तिनै रानाहरूले भारतमा भने राणा लेखाउने गरेका छन्। आफूहरूको खास पहिचान मेटाएर समग्र थारू जातिमा जबर्जस्ती मिलाउन खोजेकोमा रानाथारू समुदायका प्रबुद्ध व्यक्तिहरू गुनासो गर्छन्। 

धार्मिक परम्परा

रानाथारू जातिको धर्म यही हो भनेर पहिचान हुन सकेको छैन। स्वयं राना समुदाय पनि आफू कुन धर्म मानिरहेको छ भन्ने दोधारमा देखिन्छ। कुन धर्म मान्ने भन्ने स्पष्ट नभए पनि यिनीहरूले मान्ने धर्म चाहिँ प्राकृत धर्म नै हो। रानाथारू जातिको आफ्नै चलनअनुसार आफ्नो कुल देवता हुन्छ। त्यसै गरी, प्रेत वा आत्माको पनि पूजा गर्छन्। त्यसैले गौटेहर (गाउँ झाँक्री÷गुरुवा), घरभर्रा (घर बाँध्ने झाँक्री÷गुरुवा) हुन्छ।

यसरी उनीहरूको पूजाआजाको आफ्नै तरिका भए पनि हिन्दू धर्मको प्रभाव भने परेको देखिन्छ। किनभने, रानाहरूको पुराना लोकगीत, मन्त्र, नाच, लोककथा, नाटकजस्ता विविध विधामा हिन्दू भगवान् सीता–राम, राधा–कृष्ण, पार्वती–शिवजी, लक्ष्मी–विष्णुलगायत देवीदेवताको पनि गुणगान पाइन्छ। 

अनुसन्धाता नारायण रानाले ‘खोजी अंश और वंश की’ पुस्तकमा खासमा आफूहरू हिन्दू नभएको तर्क यसरी गरेका छन्– ‘हाम्रो पूजा–पाठ, रीति, संस्कार मिल्दैन। हिन्दू चलन बढ्दै गए पनि होरी, चराई, तीज, दिवारी, बिनाइतबारजस्ता पर्वमा हिन्दू देवताको पूजाआजा हुँदैन। वास्तवमा दशैँ हिन्दूहरूको महान् पर्व हो भनेर रानाथारूलाई थाहै थिएन।’ 

महिला नेतृत्व

यो समुदाय महिलाप्रधान समुदाय मानिन्छ। एउटा किंवदन्तीअनुसार ‘एक पण्डित्नी बज्यैको छोरीलाई राजपुतहरूले एउटा युवालाई दुलाहा बनाई विवाह गराए। तर, ती राजपुत जन्ती नभएको ती बूढीले थाहा पाइन्। उनले ‘बिहे त गर्‍यौ, तर तिमी क्षत्री मेरी छोरीको रुसइया (भान्सा) मा नछिर्नु’ भनेकी थिइन्। त्यही दिनदेखि पुरुषहरू भान्सा छिर्दैनन्। महिलाले मात्र पूजापाठ गरेको पाइन्छ।’ जे भए पनि राना समाजमा महिलालाई माथिल्लो दर्जामा राखी सम्मान गरेको देखिन्छ। महिलाहरू भर्रा (गुरुवा) भएको उदाहरणसमेत छ। 

प्रत्येक रानाथारू समुदायमा एक जना गाउँको मुख्य व्यक्ति छानिन्छ। जसलाई ‘भल्मन्सा’ भनिन्छ। गाउँलाई कसरी चलाउने, कस्तो नियम बनाउने र लागू गर्ने सम्पूर्ण अधिकार उसैलाई हुन्छ। त्यो समुदायमा कसैले केही गल्ती गरे उसलाई के–कस्तो सजाय दिने र फैसला गर्ने काम भल्मन्साले गर्छ। भल्मन्साको सहायक ‘चाकर’ हुन्छ। महिला भल्मन्सा हुने गाउँ पनि छ।

गरगहना र वेशभूषा

रानाथारू समुदायका महिला गहना लगाउन निकै सोखिन हुन्छन्। शिरदेखि पाउसम्म छपक्क गहना लगाउँछन्। उनीहरू सुनभन्दा चाँदीको गहना बढी लगाउँछन्। घुँघट, चाँपी, वीर, नक्बेसर, नथुनी, कठुला, सकरगरेला, हसुला, हार, कैँधनी (जनै), लगौरा, औँठी, पहुँची, ढुन्नी, पैडा, कारो धागो, पायल, बिछियालगायत तिनले प्रयोग गर्ने गहना हुन्। 

पुरुषले नघोटा, धोती, लुंगी आदि लगाउँछन् भने महिलाका रंगीबिरंगी पोशाक हुन्छन्। उनियाँ, अँगिया, फतुई, नरा, चाला, कन्चट घँघरिया, शिरमा पहिरने कालो घुँघट आदि महिलाका पोशाक हुन्। रोचक के छ भने महिलाले आफूले लगाउने सबै लुगा आफैँले बुन्ने-सिलाउने गर्छन्।

खानपिन-परिकार 

रानाथारू नेपालको समथर तराई तथा भारतको समथर उब्जाउ भूमि उत्तर प्रदेश, उत्तराखण्ड र बिहार आदि ठाउँमा बसोबास गर्छन्। यो समुदाय आफूलाई विशुद्ध किसान भन्न रुचाउँछन्। त्यसै गरी, रानाथारू समुदायमा माछा सबैभन्दा प्रिय परिकार मानिन्छ। माछा मार्ने काम खास गरी महिलाले गर्छन्। यस समुदायमा विभिन्न प्रकारका परिकार पाक्ने गर्छन्। ती पकवान चाडपर्वअनुसार फरक–फरक हुने गर्छन्। सामान्यतः उनीहरू दालभात, रोटी, तरकारी, माछा खाने गर्छन्। यसबाहेक मिसौला (मीठो भात), फरा, कतरा, गुलगुला, खजुरिया, बाबरो, सेउ, पतौला, भरुवा करेला, पतौला सिमही आदि विशेष परिकार हुन्। 

यस्ता परिकार खानका लागि वा अन्य कामका लागि विशेष गरी रानाथारूले पित्तलको भाँडा, तौला करहा, घल्ला (माटोको गाग्री), फुलकी (काँस) थाल, लोटा (अम्खोरा) आदि प्रयोग गर्छन्। 

घरायसी सामान र कला

रानाथारू समुदाय संस्कृति र कला (वास्तुकला) मा निकै धनी समुदाय हो। यो समुदायले आफूलाई आवश्यक सबैजसो समान आफैँले बनाउँछ। महिलाले भुसा, गोबर र माटो प्रयोग गरेर कुठिया (माटोको धान राख्ने), बरोसी (आगो ताप्नका लागि बनाइन्छ ), चुल्हो, भमरा, लोहडा, छिंको, पैन धुपना, डलवा, पिटरा, भौका–भौँकिया, डलैया, पिटरिया, झौवा, झबई, डबरा, खटिया, बेना (पंखा), डोली आदि बनाउँछन्। त्यसै गरी, माछा मार्ने सामग्री धीमरी, खोंग, बाँध, ढाड्का, सैरिया आदि आफैँ बुन्ने गर्छन्।

घरको बनावट

रानाथारूको घर ठूलो आकारको हुन्छ। घरवरपर तरकारी बारी हुन्छ। घरको मुख जहिले पनि पूर्वतिर फर्काएर मात्र बनाउने चलन छ। घर बनाउँदा खर, बाँस, काठ र माटो प्रयोग गर्छन्। घरको मुख्यद्वारतिर भित्तामा हात्ती, मयुर, सुगा, कमलको फूल आदि विभिन्न प्रकारका चित्र बनाइन्छ। आधुनिक घर बनाउने क्रमसँगै परम्परागत कला हराउँदै गइरहेको देखिन्छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि