नेपाल आइडल सिजन ३ : अडिसन राउन्डमा स्वरको झाँकी

writer

सम्पूर्ण

बुधबार, २३ पुष २०७६


‘नेपाल आइडल’को तेस्रो संस्करणको अडिसन राउन्डको प्रसारण सकिएको छ। नेपालका विभिन्न ठाउँमा भएका अडिसनलाई एपी वान टेलिभिजनले छ एपिसोडमा प्रसारण गरेको थियो।


नेपालगञ्ज अडिसन (एपिसोड–३)

आइडलको अघिल्लो सिजनमा आएका झक्कड थापा यस पटक पनि आइडलको अडिसनमा देखापरे। तर, यस पटक भने उनी आइडलमा भाग लिन आएका थिएनन्। नेपालगञ्जको अडिसन एपिसोडमा उनी आइडलका निर्णायक कालीप्रसाद बास्कोटालाई अडिसन स्थलसम्म पुर्‍याउन आफ्नै अटो लिएर होटलमा देखापरे। अघिल्लो सिजनमा आइडलमा भाग लिएका उनले गायनमा त खासै कमाल देखाएनन् तर चर्चा भने प्रशस्तै बटुलेका थिए। तिनै झक्कड यस पटकको नेपाल आइडलमा आफ्नै अटो रिक्सा लिएर कालीप्रसादलाई लिन होटलसम्म पुगेका थिए।

नेपालगञ्ज अडिसनमा पहिलो प्रतिस्पर्धीका रूपमा देखापरेकी थिइन्, शालिनी कश्यप। आइडलमा उनले ‘फूलै फूल मात्र पनि होइन रहेछ जीवन’ बोलको गीत गाइन्। निर्णायकहरूको अनुरोधमा उनले ‘माया त माया हो’ बोलको गीत पनि  सुनाइन्। उनको गायनको तीनै जना निर्णायकले खुलेर प्रशंसा गरेका थिए। तर, उनलाई गीतको शब्द पूरै याद थिएन। त्यसैले उनी यस पटक आइडलमा छनोट भइनन्। अझै तयारी गरी अर्को वर्ष आउने सुझाव उनलाई निर्णायकले दिएका थिए।

दोस्रो प्रतिस्पर्धीले पनि गीतको शब्दमा ध्यान नदिएकाले आइडलमा छनोट हुन पाएनन्। त्यसपछि आएका प्रतिस्पर्धी प्रयास विश्वकर्मा भने आइडलका लागि छनोट भए। कपाल काट्ने काम गर्ने उनले आइडलमा ‘को हो त्यो जसले मलाई’ बोलको गीत गाएका थिए। निर्णायककै अनुरोधमा उनले दोस्रो गीत ‘तिमीलाई भनूँ कसरी म’ बोलको गीत गाएका थिए।

नेपालगञ्ज अडिसनमा केही प्रतिस्पर्धीले आफू डराएको महसुस गरेको बताएका थिए। जसकारण निर्णायकहरू नै वेटिङ रुममा पुगेका थिए। र, उनीहरूले प्रतिस्पर्धीको हौसला बढाउन गीत गाएका थिए। निर्णायक न्ह्यू वज्राचार्यले प्रतिस्पर्धीलाई ‘भित्र आएर डराउनुपर्दैन’ भनेका थिए। निर्णायक इन्दिरा जोशीले भनेकी थिइन्, ‘नडराई आउनुहोला, आफ्नो डरलाई बाहिरै फ्याँकेर आउनुहोला। नत्र, डरले तपाईंको गायनलाई पनि डराएको बनाइदिन्छ।’

प्रतिस्पर्धी कृष्णप्रसाद जोशीले आफूलाई गीत लेख्नमा अभ्यस्त बताए। उनले अडिसनमा ‘सालको पात टिपेर पानी खाऊ’ बोलको गीत गाएका थिए। थुप्रै प्रतिस्पर्धीलाई रिजेक्ट गरेका निर्णायकलाई उनले मनोरञ्जन दिएका थिए। आइडलमा आउनुअगाडि कतै गीत नगाएको बताउने कृष्णलाई निर्णायक न्ह्यू वज्राचार्यले सोधे, ‘तिमीलाई साथीभाइले झुक्याएर पठाएको हो कि क्या हो ? आफैँलाई पनि थाहा थिएन कि क्या हो आइडलमा आउने कुरा ?’ निर्णायकहरूले उनलाई आफूले लेखेका केही गीत सुनाउन लगाएका थिए। उनले लेखेका गीत सुनेर निर्णायकले मनोरञ्जन लिएका थिए। नेपाली गीत–संगीतदेखि फिल्मसम्मका कुरा जोशीले अडिसनमा गरेका थिए।

अघिल्लो सिजनमा आएका सञ्जय सोब यस पटक पनि आएका थिए। आइडलका अघिल्ला दुवै सिजनमा आएका उनी पहिलो सिजनमा छनोटमा नपरे पनि दोस्रो सिजनमा भने छनोटमा परेका थिए। त्यसपछिको चरणबाट बाहिरिएका उनले यस पटक पनि आइडलमा भाग लिएका थिए। उनले भने, ‘यस पटक पनि हिम्मत गर्नुपर्छ भन्ने लागेर आएको छु। आइडलका लागि राम्रो तयारी गरेको छु।’ अडिसनमा उनले ‘लै लै कठै बरी लै’ बोलको गीत गाएका थिए। उनको गायनको खुलेर प्रशंसा गरेका थिए, जज कालीप्रसादले। त्यसपछि निर्णायककै अनुरोधमा उनले ‘काफल खान्या कुइँया’ बोलको गीत गाए। गीत पूरा नहुँदै उनलाई आइडलमा छनोट गरियो। सञ्जय सँगसँगै अन्य केही प्रतिस्पर्धीले पनि आइडलको अर्को चरणमा प्रवेश पाएका छन्। 

वीरगञ्ज अडिसन (एपिसोड–४)

आइडलको चौथो एपिसोडमा वीरगञ्ज अडिसन प्रसारण गरिएको थियो। अडिसनको सुरुमा प्रस्तुति दिएका थिए, विजय भण्डारीले। काठमाडौँमा चार वर्षसम्म संगीत सिकेका चितवनका विजयले अडिसनमा ‘सम्झनाका सारंगी’ बोलको गीत गाए। दोस्रो गीतमा उनले ‘प्राय सधैँ म तिमीलाई’ गीत गाएका थिए। दुवै गीतबाट उनले निर्णायको मन जितेका थिए। आइडलको अर्को राउन्डका लागि छनोट भएपछि उनले ‘अब घुँडा धसेर तयारी गर्नुपर्छ’ भनेका थिए।

वीरगञ्ज अडिसनमा अभिनेता नाजिर हुसैन पनि सहभागीका रूपमा पुगेका थिए। नामसँगै भेष परिवर्तन गरी उनी अडिसनमा पुगेका थिए। उनले वसन्त साहको नामबाट आफूलाई निर्णायकसामु चिनाएका थिए। अडिसनमा उनले ‘चुपचाप यसै गरी’ गीत गाए। गीतपछि निर्णायक इन्दिरासँग उनले भोजपुरी भाषामा कुराकानी गरेका थिए। नाजिरले इन्दिरालाई ‘अँगालो मार्न मिल्छ’ भन्दा उनले अस्वीकार गरेकी थिइन्। बीचमै कुरा काट्दै न्ह्यूले ‘तीन वर्षसम्म सँगै काम गर्दा त हामीले अँगालो मार्न पाएका छैनौँ। तिमीले कहाँ पाउँछौ ?’ भनेका थिए। निर्णायकहरूले उनलाई ज्याकेटको टोपीसँगै जुँगा र विग निकाल्न लगाएका थिए। त्यसपछि उनी नाजिर भएको उनीहरूले थाहा पाए। निर्णायक कालीप्रसादले नाजिरले लगाएको विग, चस्मा र जुंगा लगाएका थिए। अडिसनमा उनलाई फेरि गीत गाउन लगाएर निर्णायकहरूले भरपूर मनोरञ्जन लिएका थिए। 

आइडलको पहिलो सिजनमा थिएटर राउन्डसम्म पुगेकी र दोस्रो सिजनमा पनि सहभागी भएकी थिइन्, विना सेन्चुरी। आइडलको तेस्रो संस्करणको अडिसनमा उनले ‘पिरतीको मीठो तिर्सना’ बोलको गीत गाइन्। प्रतिक्रियामा निर्णायक कालीप्रसादले भने, ‘अघिल्लो सिजनमा राम्रो स्थान हासिल गरेको मान्छेले यस पटक किन मेहनत गर्नुभएन ?’ यस पटक उनी अडिसन राउन्डबाटै बाहिरिइन्। विनासँगै अन्य दुई जना जो अघिल्लो सिजनमा थिए, उनीहरू पनि यसपालि अडिसनबाटै बाहिरिए।

बिर्तामोड अडिसन (एपिसोड– ५)

नेपाल आइडलको अडिसन टिम पहिलो पटक बिर्तामोड तेस्रो संस्करणमा पुगेको थियो। अघिल्ला दुई संस्करणमा त्यहाँ अडिसन भएको थिएन। काँकडभिट्टास्थित देवी माध्यमिक विद्यालयमा भएको अडिसनमा स्मारिका घिमिरेले पहिलो प्रस्तुति दिएकी थिइन्। भाषण दिन मन पराउने उनले आइडलमा पनि सुरुवातमा स्पिच नै दिएकी थिइन्। त्यसपछि उनले ‘मेरो दिनमा तिमी’ बोलको गीत गाइन्। कालीप्रसादले ‘पिच नपुगेको’ प्रतिक्रिया दिएका थिए। स्पिच मन पराए पनि उनको गीतले निर्णायकको मन छुन सकेन। उनी छनोटमा पर्न सकिनन्।

सामाजिक सञ्जालमा निकै भाइरल भएकी रचना रिमाल पनि आइडलमा आएकी थिइन्। भद्रपुर, झापाकी उनी चटपटे बनाउँदै गीत गाएका कारण सामाजिक सञ्जालमा चर्चामा आएकी थिइन्। अडिसनमा आउनुअगाडि फोनबाटै न्ह्यूले उनको गीत सुनेका थिए। आवाज मन पराएर रचनाको घरैमा पुगेर उनले गिटार बजाउँदै गीत गाउनमा साथ दिएका थिए। अडिसनमा रचनाले ‘तिम्रोजस्तो मुटु’ बोलको गीत गाएकी थिइन्। सँगै ‘सपना हो यो’ गीत पनि गाएकी थिइन्। अडिसन दिँदा डराएकाले उनको गायन राम्रो हुन सकेन। त्यसपछि इन्दिराले उनलाई साथ दिएकी थिइन्। रचना अर्को चरणका लागि छनोट भइन्।

पोखरा अडिसन (एपिसोड–६)

पोखरा अडिसनमा पुगेका नेशन बुरदुजाले अघिल्लो सिजनमा अन्तिममा अडिसन दिन पाएका थिए। यस पटक भने पोखरा अडिसनको सुरुवातमै उनले अडिसन दिन पाए। अडिसन दिनुअगाडि नेशनसँग आइडलका होस्ट आसिफले केही समय हँसीमजाक गरेका थिए। अडिसनमा पनि उनलाई आसिफले नै लिएर पुगेका थिए। नेशनले अडिसनमा ‘तिम्रो मन’ गीत प्रस्तुत गरेका थिए। उनको गीत सुनेर निर्णायक न्ह्यूले भनेका थिए– ‘तिम्रो गायकी राम्रो छ। अघिल्लो पटकको भन्दा राम्रो भएको छ।’ नेशन अर्को राउन्डका लागि छनोट भएका थिए।

पोखरा अडिसनमा सरिताले ‘यहाँ फूल आउन नै भुलेछ’ गीत गाएकी थिइन्। फरक क्षमता भएकी उनको गायनमा न्ह्यूले गिटार बजाएर साथ दिएका थिए। निर्णायकले उनको गायकीको प्रशंसा गरेका थिए। सानैदेखि काठमाडौँ बसेकी सरिता अडिसनमा बुबासँग पुगेकी थिइन्। उनी पनि अर्को चरणका लागि छनोट भइन्।

आइडलका छ ठाउँमा भएको अडिसनको प्रसारण गत हप्ता सकिएको छ। अब थिएटर राउन्ड सुरु हुँदै छ। आगामी एपिसोडलाई ‘बेस क्याम्प’ नाम दिइएको छ।  अडिसन राउन्डबाट थिएटर राउन्डमा पुगेका सहभागीबाटै टप ट्वेन्टी फाइभ छानिनेछन्। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि