कठै एकदिवसीय !

writer

रोशन राउत

बुधबार, २३ पुष २०७६


जारी ‘दोस्रो मनमोहन मेमोरियल कप एकदिवसीय क्रिकेट प्रतियोगिता’को छ खेलमा विभिन्न टोलीले १२ पाली खेलिसकेका छन्। तर, केवल एक ब्याट्सम्यानले शतक र तीन ब्याट्सम्यानले अर्धशतक बनाउन सकेका छन्। विभिन्न टोलीका ५१ ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउनुअघि नै पेभेलियन फर्किएका छन् भने २५ ब्याट्सम्यान त शून्य रनमै आउट भएका छन्।  


यतिबेला सुनसरीको इनरुवामा ‘दोस्रो मनमोहन मेमोरियल कप एकदिवसीय क्रिकेट प्रतियोगिता’ सञ्चालन भइरहेको छ। टी–ट्वेन्टी ढाँचामा आयोजना हुने फ्रेन्चाइज क्रिकेटको भीडमा यो फरक शैलीको प्रतियोगिताको रूपमा देखापरेको छ। पछिल्लो समय नेपालमा एकदिवसीय ढाँचाको प्रतियोगिताको खडेरी नै परेको छ। नेपालमा आयोजना हुने अधिकांश प्रतियोगिता टी–ट्वेन्टी ढाँचाका छन्।  

वर्षमा एकपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) आफैँले ‘प्रधानमन्त्री कप’ का नाममा एकदिवसीय प्रतियोगिता आयोजना गर्दै आएको छ। तर, प्रतिकूल मौसमका कारण त्यो प्रतियोगिता पनि खासै प्रभावकारी हुन सकिरहेको छैन। यस्तोमा ‘मनमोहन मेमोरियल कप’ एकदिवसीय ढाँचामा खेलाइनु क्रिकेटप्रेमीका लागि पक्कै खुशीको कुरा हो। पछिल्लो समय एकदिवसीय ढाँचाको प्रतियोगिता नेपाली क्रिकेटको आवश्यकता पनि हो।

नेपालले सन् २०२२ सम्मका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट एकदिवसीय टोलीको मान्यता पाएको छ। २०७४ साल चैतमा नेपाललाई आईसीसीले चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता प्रदान गरेको थियो। पक्कै पनि नेपाली क्रिकेटका लागि यो निकै ठूलो उपलब्धि हो। नेपाली क्रिकेटले एकदिवसीय मान्यता पाएको पनि करिब दुई वर्ष पुग्न लागेको छ। अब हामीसँग दुई वर्ष समय बाँकी छ।

एकदिवसीय मान्यता पाएको करिब एक वर्षपछि आएर नेपालले पहिलो एकदिवसीय शृंखला पनि जित्यो। २०७५ साल माघमा संयुक्त अरब इमिरेट्सलाई उसैको मैदानमा तीन खेलको शृंखलामा २—१ ले हराउँदै नेपालले यस्तो गौरव हासिल गरेको थियो। कठिन संघर्षपछि प्राप्त भएको एकदिवसीय मान्यतालाई दीर्घकालीन रूपमा जोगाइराख्नु र अन्तर्राष्ट्रिय क्रिकेटमा अझ उत्कृष्ट प्रदर्शन गर्दै आईसीसीबाट टेस्ट मान्यताका लागि संघर्ष गर्नु यतिबेला नेपाली क्रिकेटका लागि सबैभन्दा ठूलो चुनौती हो।

त्यसैले पनि यतिबेला हाम्रो आवश्यकता भनेको एकदिवसीय (५० ओभरको क्रिकेट) र त्योभन्दा लामो ढाँचाका प्रतियोगिता हुन्। तर, अझै पनि सम्बद्ध खेल पदाधिकारीहरूको ध्यान यसतर्फ जान सकेको छैन। हामी अझै पनि टी–ट्वेन्टी ढाँचाको फ्रेन्चाइज क्रिकेटमै रमाइरहेका छौँ। पक्कै पनि टी–ट्वेन्टी ढाँचाको फ्रेन्चाइज प्रतियोगिताहरूले देशमा क्रिकेटको माहोल तयार पार्न महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। 

 हाल बढीभन्दा बढी टी–ट्वेन्टी फ्रेन्चाइज क्रिकेट आयोजना भइरहेका छन्। यो ढाँचाको क्रिकेटले दर्शक र प्रायोजक दुवैलाई आकर्षित गरेको हुन्छ र आर्थिक पक्षले पनि उत्तिकै ठूलो भूमिका निर्वाह गरेको हुन्छ। सजिलै प्रायोजक र पर्याप्त दर्शक पाइने भएकाले आयोजकलाई गतिलो आर्थिक लाभ हुने गरेको छ।

 

निरीह ब्याट्सम्यान

नेपाली क्रिकेटको अबको आवश्यकता र चुनौतीलाई टी–ट्वेन्टी ढाँचाको फ्रेन्चाइज प्रतियोगिताले धान्न सक्ने अवस्था छैन। कम्तीमा पनि हाल इनरुवामा जारी ‘मनमोहन मेमोरियल कप’ मा सहभागी टोलीको प्रारम्भिक चरणको प्रदर्शनले त यस्तै यथार्थतर्फ संकेत गरेको छ। ‘मनमोहन मेमोरियल कप’ मा मंगलबारसम्म प्रारम्भिक चरणका छ वटा खेल सम्पन्न भइसकेका छन्।

ती छ वटै खेलमा सहभागी टोली र खेलाडीले गरेको प्रदर्शन निकै उदेकलाग्दो छ। छ वटै खेलमा पहिलो ब्याटिङ गर्ने सबै टोली अलआउट भएका छन्। त्रिभुवन आर्मी क्लबबाहेक अन्य कुनै पनि टोलीका खेलाडी पूरै ५० ओभर मैदानमा टिक्न सकेका छैनन्। आर्मी क्लबकै खेलाडी पनि निर्धारित ४६ ओभरभित्रै अलआउट भएको देखिन्छ। सहभागी टोलीका अधिकांश ब्याट्सम्यानको प्रदर्शन ५० ओभरभन्दा पनि २० ओभरकै प्रतियोगिताको छनक दिने खालको देखिन्छ।

पहिलो खेल

प्रतियोगिताको पहिलो खेल प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ बीच भयो। पहिलो ब्याटिङ गरेको प्रदेश १ का ब्याट्सम्यान ३५ ओभर पनि क्रिजमा टिक्न सकेनन्। ३१.२ ओभरमा १ सय २० रन बनाउँदै प्रदेश १ अलआउट भयो। फिर्दोष अन्सारी २३, कप्तान पुष्प थापा २२, दीपेश कँडेल २२ र लभ कामत ११ रनमै पेभेलियन फर्किए। अन्य ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

जवाफी ब्याटिङमा ओर्लिएको प्रदेश ५ को अवस्था त झनै विरक्तलाग्दो थियो। यस टोलीले एकदिवसीय क्रिकेटमा अत्यन्तै सामान्य मानिने १ सय २१ रनको विजयलक्ष्यसमेत भेट्टाउन सकेन। आफ्नो सम्पूर्ण पाली १८ ओभरमै केवल ५२ रनमा समेटिएपछि प्रदेश ५ नमीठो हार स्विकार्न बाध्य भयो।  यस टिमका लागि विराट भण्डारीले सर्वाधिक २८ र विशालविक्रम केसीले १२ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

वास्तवमा एकदिवसीय ढाँचाको प्रतियोगितामा प्रदेश १ र प्रदेश ५ ले गरेको यो प्रदर्शन अत्यन्तै निराशाजनक हो। दुवै टोलीका अधिकांश ब्याट्सम्यान टी–ट्वेन्टी ढाँचाको प्रतियोगितामा जस्तै छिटो–छिटो रन बनाउने धुनमा एकपछि अर्को गर्दै पेभेलियन फर्किएका थिए। 

दोस्रो खेल

प्रदेश ५ र प्रदेश ३ बीचको दोस्रो खेल वर्षाका कारण प्रभावित भयो। प्रदेश ३ ले पहिले ब्याटिङ गर्दै ४५.२ ओभरमा सबै विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो। त्यो खेलमा पनि प्रदेश ३ का ब्याट्सम्यान ५० ओभरसम्म क्रिजमा टिक्न सकेनन्। कुनै पनि ब्याट्सम्यानले अर्धशतकसम्म बनाउन सकेनन्। 

सुवास खकुरेल ४२, अदिल खान २६, रित गौतम २२, प्रतिस जिसी १८, रामनरेश गिरी १७, सोनु तामाङ १५, इशान पाण्डे १२ र नन्दन यादव १० रनमा आउट भए। वर्षाबाट खेल प्रभावित हुनुअघि २.१ ओभर ब्याटिङ गरेको प्रदेश ५ ले पनि नौ रनको कुल स्कोरमै आफ्नो एक विकेट गुमाइसकेको थियो। ओपनर ब्याट्सम्यान विराट भण्डारी छ रनमै आउट भएका थिए।

तेस्रो खेल

त्यसै गरी, प्रदेश ३ र प्रदेश १ बीच भएको तेस्रो खेलको अवस्था पनि उस्तै थियो। पहिले ब्याटिङ गरेको प्रदेश १ का सम्पूर्ण ब्याट्सम्यान २८ ओभरभित्रै एकपछि अर्को गर्दै पेभेलियन फर्किए। प्रदेश १ ले अलआउट हुनुअघि १ सय ४४ रन मात्र बनाउन सक्यो। टी–ट्वेन्टी ढाँचामा खेल्न अभ्यस्त अधिकांश ब्याट्सम्यान छिटो–छिटो रन बनाउने धुनमै आउट भएका थिए। 

कप्तान पुष्प थापाले ५० रन बनाए पनि उनको खेल्ने शैली आक्रामक नै थियो। उनले केवल ४१ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले उक्त रन बनाएका थिए। अर्धशतक बनाएपछि पनि उनले आफ्नो आक्रामक ब्याटिङलाई निरन्तरता दिए। त्यसैको फलस्वरूप उनी नन्दन यादवको बलमा अदिल खानद्वारा समातिन पुगे। यसबाहेक प्रदेश १ का मिनाष थापा (२० रन), फिर्दोस अन्सारी (१८ रन) र राज थापा १० (रन) ले मात्र दोहोरो अंकमा रन बनाउन सके। सात जना ब्याट्सम्यान त चार रनभन्दा अगाडि नै बढ्न सकेनन्।

जवाफी ब्याटिङमा ओर्लिएको प्रदेश ३ ले पनि २६ ओभरमा विजयलक्ष्य पूरा गर्न तीन विकेट खर्चियो। यस क्रममा सुवास खकुरेलले अविजित ८५, रीत गौतमले १७, जितेन्द्र ठकुरीले अविजित १७ र अदिल खानले ११ रनको योगदान गरेका थिए। सुवासले केवल ७३ बलको सामना गरी पाँच छक्का र सात चौका हिर्काएका थिए। 

चौथो खेल

तुलनात्मक रूपमा दुई विभागीय टोली आर्मी क्लब र एपीएफ क्लबबीचको चौथो खेल भने केही स्तरीय देखियो। पहिले ब्याटिङ गरेको आर्मी क्लबले ४६ ओभरमा अलआउट हुनुअघि २ सय ८१ रन बनायो। आर्मीका लागि कुशल मल्लले १ सय ११ रनको योगदान गरे। प्रतियोगितामा बनेको यो पहिलो शतक थियो। तर, कुशलको ब्याटिङ शैली भने निकै आक्रामक थियो। उनले केवल ६३ बलमा १३ छक्का र पाँच चौकाको मद्दतले उक्त रन बनाएका थिए। यसबाहेक अनिल मण्डलले ४१, राजेश पुलामी मगरले ३८, रोहित पौडेलले २६ र विक्रम सोभले १४ रन जोडेका थिए। आर्मी क्लबका छ ब्याट्सम्यानले दोहोरो संख्यामा रन बनाउन सकेनन्।

जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लब त ३९.३ ओभरमै केवल १ सय ७३ रनमा अलआउट हुन पुग्यो। एपीएफ क्लबका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन्। पृथु बास्कोटा ३६, शंकर राणा ३२, सुमित महर्जन र सन्दीप जोरा २३÷२३, प्रदिप ऐरी २१ तथा कप्तान वसन्त रेग्मी १७ रनमा क्रिज छाड्न बाध्य भए। पाँच ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पाँचौँ खेल

एपीएफ क्लब र आयोजक मनमोहन क्रिकेट सेन्टरबीच भएको पाँचौँ खेल पनि ‘आहा’ भन्ने खालको रहेन। पहिले ब्याटिङ गरेको एपीएफ क्लबका ब्याट्सम्यान पूरै ओभर क्रिजमा टिक्न सकेनन्। ४३.४ ओभरमै अलआउट हुनुअघि एपीएफ क्लबले २ सय ४ रन बनायो। सुमित महर्जनले भने एकदिवसीय शैलीको ब्याटिङ गर्दै ८३ रन बनाए। उनले सम्हालिएर खेल्दै १ सय ७ बलमा सात चौका हिर्काए। 

सुमितकै ब्याटिङका कारण एपीएफ क्लब दुई सय रन कटाउन सफल भएको थियो। यसबाहेक अन्य चार ब्याट्सम्यानले मात्र दोहोरो संख्यामा रन बनाउन सके। ओपनर शंकर राणा ३६, विकेटकिपर ब्याट्सम्यान प्रदिप ऐरी १९ र सन्दीप जोरा र कप्तान वसन्त रेग्मी १२÷१२ रनमा पेभेलियन फर्किए। छ जना ब्याट्सम्यान त दोहोरो अंकमा रन बनाउनुअघि नै आउट भएका थिए।

जवाफी ब्याटिङमा ओर्लिएको मनमोहन क्रिकेट सेन्टरको अवस्था त झनै निरीह देखियो। आयोजक क्लबका सम्पूर्ण ब्याट्सम्यान ३६.२ ओभरमै केवल १ सय २१ रन बनाउँदै अलआउट भए। तीन ब्याट्सम्यान ओपनर रवि रोय (२६ रन), रूपेश श्रीवास्तव (२३ रन) र विवेक मेहता (१५ रन) ले मात्र दोहोरो अंकमा रन बनाउन सके। अन्य ब्याट्सम्यानले न गतिलो रन बनाउन सके, न त लामो समय क्रिजमा टिक्न नै।

छैटौँ खेल
आयोजक मनमोहन क्रिकेट सेन्टर र आर्मी क्लबबीच अघिल्लो मंगलबार खेलिएको छैटौँ खेलको अवस्था त झनै टीठलाग्दो देखियो। टस जिती पहिलो ब्याटिङको निर्णय लिएको आयोजक टोलीका ब्याट्सम्यान २० ओभर पनि क्रिजमा टिक्न सकेनन्। मनमोहन क्रिकेट सेन्टरले १९.३ ओभरमै अलआउट हुनुअघि ५६ रन मात्र बनाउन सक्यो। एकदिवसीय ढाँचाको क्रिकेटमा ब्याट्सम्यानहरूका लागि योभन्दा कहालीलाग्दो अवस्था अरू के हुन सक्ला !

आयोजक क्लबका केवल दुई ब्याट्सम्यान ओपनर सुशान्त तिमिल्सिना (१५ रन) र सोन मण्डल (१३ रन) ले मात्र दोहोरो संख्यामा रन बनाउन सके। पाँच जना ब्याट्सम्यान त शून्य रनमै पेभेलियन फर्किए। शून्य रनमा आउट हुने कुनै पनि ब्याट्सम्यान आठ बलभन्दा बढी मैदानमा टिक्न सकेनन्। 

आर्मी क्लबका बलर सुसन भारी एक्लैले सात विकेट लिए। उनले ८.३ ओभरमा तीन मेडन राख्दै केवल १६ रन खर्चिएका थिए। जवाफी ब्याटिङमा ओर्लिएको आर्मी क्लबले पाँच ओभरमै कुनै पनि विकेट नगुमाई विजयलक्ष्य पार गर्‍यो। समूह ‘ए’ बाट आर्मी क्लब विजेता बन्दै सेमिफाइनलमा पुग्यो।    

अवस्था निराशाजनक

जारी प्रतियोगिताको छ खेलमा हालसम्म विभिन्न टोलीले १२ पाली खेलिसकेका छन्। तर, यसबीचमा केवल एक ब्याट्सम्यानले शतक र तीन ब्याट्सम्यानले अर्धशतक बनाउन सकेका छन्। विभिन्न टोलीका ४६ ब्याट्सम्यानले दोहोरो संख्यामा रन बनाएका छन् भने ५१ ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउनुअघि नै पेभेलियन फर्किएका छन्। २५ ब्याट्सम्यान त शून्य रनमै आउट भएका छन्।  

५० ओभरको प्रतियोगिता भए पनि हालसम्म दुई खेलमा मात्र दुई सयभन्दा बढी रन बन्न सकेको छ। दुई सयभन्दा बढी रन बनाउने दुवै टोली विभागीय क्लब हुन्। एपीएफ क्लबविरुद्घ आर्मी क्लबले २ सय ८१ रन बनाएको थियो भने आयोजक क्लबविरुद्घ एपीएफ क्लबले २ सय ४ रन जोडेको थियो। अन्यथा, बाँकी सबै खेलमा दुई सयभन्दा कम रन बनेको छ। 

त्यसै गरी, आठ वटा खेलमा एउटा टोलीको कुल स्कोर नै एक सय ५० रन पनि पुगेको पाइँदैन। चार वटा खेलमा त सहभागी टोलीले एक सय रनसमेत कटाउन नसकेको दयनीय अवस्था देखिन्छ। यसका अतिरिक्त तीन जना ब्याट्सम्यानले मात्र दुई खेल खेलेर एक सयभन्दा बढी रन बनाउन सकेका छन्। दुई ब्याट्सम्यान आफ्ना दुवै खेलमा ‘डक आउट’ भएका छन् भने १६ ब्याट्सम्यान एक खेलमा ‘डक आउट’ भएका छन्। 

हालसम्म खेलिएको छ खेलमा दुई खेलाडीबीच भएको सबैभन्दा ठुलो साझेदारी ८५ रन हो। एपीएफ क्लबविरुद्घको खेलमा आर्मी क्लबका कुशल मल्ल र अनिल मण्डलले तेस्रो विकेटका लागि त्यो साझेदारी गरेका थिए। हालसम्म चार खेलमा मात्र ६० रनभन्दा बढीको साझेदारी भएको छ। तीन खेलमा ५० रनभन्दा बढीको साझेदारी भएको छ भने अन्य खेलमा दुई खेलाडीबीच भएको साझेदारी त्योभन्दा कम छ।

पक्कै पनि एकदिवसीय प्रतियोगितामा हाम्रा ब्याट्सम्यानहरूको यो दयनीय प्रदर्शन हो। हाम्रा लागि आगामी दिनमा टी–ट्वेन्टी ढाँचाको फ्रेन्चाइज क्रिकेटभन्दा पनि बढीभन्दा बढी एकदिवसीय प्रतियोगिता आवश्यक छ भन्ने सन्देश मनमोहन मेमोरियल क्रिकेटले दिएको छ। 

यसको विपरीत बलरहरूको अवस्था भने निकै उत्साहजनक देखिन्छ। आर्मी क्लबका सुसन भारीले दुई खेलमै आठ विकेट लिइसकेका छन् भने प्रदेश १ का दीपेश कँडेल र एपीएफ क्लबका वसन्त रेग्मीले दुई खेलमा सात÷सात विकेट हात पारिसकेका छन्। प्रदेश ५ का विक्रम भुसालले दुई खेलमा छ विकेट लिएका छन्। तीन बलरले पाँच÷पाँच र दुई बलरले चार÷चार विकेट हात पारेका छन्। 

मनमोहन मेमोरियल कपको विषयमा जानकारी दिन काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा राखेपका प्रमुख क्रिकेट प्रशिक्षक जगत टमटाले पनि नेपाली क्रिकेटको आवश्यकता र हाल सञ्चालन भइरहेका प्रतियोगिताबीच तालमेल मिल्न नसकेको स्विकारेका थिए। ‘हाम्रो आवश्यकता भनेको बढीभन्दा बढी एकदिवसीय प्रतियोगिता हो, तर एकदिवसीय प्रतियोगिताकै खडेरी छ,’ उनको कथन थियो।

फ्रेन्चाइज क्रिकेटको अर्थ–राजनीति

नेपालको सन्दर्भमा अहिलेको तुलनामा केही वर्षअघिसम्म एकदिवसीय प्रतियोगिता बढी हुन्थे। टी–ट्वेन्टी क्रिकेट यदाकदा मात्र आयोजना हुने गरेको थियो। नेपाली ब्याट्सम्यानहरू पनि एकदिवसीय ढाँचा खेल्न अभ्यस्त थिए। तर, पछिल्लो केही वर्षयता एकदिवसीय ढाँचाको क्रिकेट आयोजना हुन छाडेको छ। यसको विपरीत टी–ट्वेन्टी ढाँचाका प्रतियोगिताहरूको बाढी नै आएको छ। 

नेपालले आईसीसीबाट एकदिवसीय मान्यता प्राप्त गरेपछि हाम्रो आवश्यकता भनेको ५० वा त्योभन्दा बढी ओभरको प्रतियोगिता हो। तर, बदलिँदो समय र पस्थितिसँगै एकदिवसीय ढाँचाको प्रतियोगितालाई टी–ट्वेन्टी ढाँचाले विस्थापित गर्दै लगेको पाइन्छ। टी–ट्वेन्टी विश्व क्रिकेटको छोटो ढाँचा हो। यो ढाँचाको प्रतियोगितामा सहभागी दुवै टोलीले २०÷२० ओभर ब्याटिङ र बलिङ गर्छन्। टी–ट्वेन्टी क्रिकेटमा ब्याट्सम्यान र बलरमाथि उत्तिकै दबाब रहन्छ। ब्याट्सम्यान क्रिजमा प्रवेश गर्नासाथ बढीभन्दा बढी चौका र छक्का प्रहार गर्न आतुर हुन्छन्। 

कुनै समय एकदिवसीय क्रिकेटमा बन्ने २ सय ५० रन पछिल्लो समय टी–ट्वेन्टी क्रिकेटमै बन्ने गरेको छ। टी–ट्वेन्टी क्रिकेटमा २ सय ५० भन्दा पनि बढी रन बनेको इतिहास पनि छ। छिटो–छिटो रन बनाउने धुनमा ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सक्दैनन्। टी–ट्वेन्टी क्रिकेट करिब तीन घण्टाको हाराहारीमा सकिने भएकाले दर्शकमाझ पनि यो ढाँचा निकै लोकप्रिय छ। 

बढीभन्दा बढी टी–ट्वेन्टी फ्रेन्चाइज क्रिकेट आयोजना हुनुको पछाडि पनि यही मानसिकताले काम गरेको पाइन्छ। स्वाभाविक रूपमा यो ढाँचाको क्रिकेटले दर्शक र प्रायोजक दुवैलाई आकर्षित गरेको हुन्छ। यो ढाँचाको प्रतियोगितामा आर्थिक पक्षले पनि उत्तिकै ठूलो भूमिका निर्वाह गरेको हुन्छ। सजिलै प्रायोजक र पर्याप्त दर्शक पाइने भएकाले आयोजकलाई गतिलो आर्थिक लाभ पनि हुने गरेको छ। त्यसैले आयोजक पनि लामो ढाँचाभन्दा टी–ट्वेन्टी प्रतियोगिता आयोजना गर्न बढी उत्साहित हुन्छन्। 

केही समयअघिसम्म नेपालमा धनगढी प्रिमियर लिगको नाममा एउटा मात्र टी–ट्वेन्टी फ्रेन्चाइज लिग हुन्थ्यो। देशमा फ्रेन्चाइज लिग क्रिकेटको माहोल तयार पार्न यो प्रतियोगिताको निकै ठूलो योगदान छ। सुरु–सुरुमा आयोजक आफैँले ठूलो धनराशि लगानी गरेर धनगढी प्रिमियर लिग आयोजना गरेको पाइन्छ। तर, दर्शक र प्रायोजकको ओइरो लाग्ने क्रम बढेपछि अन्य व्यक्ति र संस्था पनि यो ढाँचाको प्रतियोगिता आयोजना गर्न लोभिएको पाइन्छ।

अहिले आएर धनगढी प्रिमियर लिगका अतिरिक्त एभरेस्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग, कर्णाली प्रिमियर लिग, सप्तरी प्रिमियर लिग, महिला प्रिमियर लिग, इटहरी प्रिमियर लिग, नेपालगञ्ज प्रिमियर लिगजस्ता थुप्रै टी–ट्वेन्टी फ्रेन्चाइज लिग आयोजना हुँदै आएका छन्। यसका अतिरिक्त विभिन्न शहरको नाममा पनि यस्ता प्रिमियर लिग आयोजना हुन थालेका छन्।

पक्कै पनि यस्ता प्रिमियर लिग प्रतियोगिताले देशभित्र क्रिकेटको माहोल तयार पार्न र क्रिकेटलाई व्यावसायिक बनाउन महŒवपूर्ण योगदान पुर्‍याएका छन्। यति हुँदाहुँदै पनि अबको हाम्रो आवश्यकता भनेको छोटो ढाँचाको प्रिमियर लिगभन्दा पनि ५० ओभरभन्दा माथिको ढाँचाका प्रतियोगिता नै हुन्। आईसीसीबाट एकदिवसीय टोलीको मान्यता पाएपछि अबको हाम्रो लक्ष्य भनेको यो उपलब्धिलाई दीर्घकालीन रूपमा जोगाइराख्नु र योभन्दा पनि माथिको टेस्ट मान्यताका लागि आफूलाई तयार पार्नु नै हो। 

अन्तर्राष्ट्रिय प्रतियोगितामा ब्याटिङमै समस्या
अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपाली खेलाडीको ब्याटिङमै सबैभन्दा ठूलो समस्या देखिने गरेको छ। अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली टोलीले सफलता हात पार्दा यदाकदा मात्र ब्याटिङ निर्णायक बनेको देखिन्छ। अन्यथा, अन्तर्राष्ट्रिय प्रतियोगितामा जीत हात पार्ने हाम्रो सबैभन्दा ठूलो हतियार भनेको बलिङ नै हो। यस्तो अवस्थामा ब्याटिङमा सुधार ल्याउन पनि हामीलाई लामो ढाँचाकै प्रतियोगिता आवश्यक पर्छ।

अफगानिस्तान र आयरल्यान्डले एकदिवसीय मान्यता पाएपछि टेस्ट टोलीका रूपमा फड्को मार्न गरेको संघर्षबाट पनि हामीले शिक्षा लिनु आवश्यक छ। टी–ट्वेन्टी र एकदिवसीय फरक ढाँचाका क्रिकेट हुन्। टी–ट्वेन्टीले बलरलाई दबाब झेल्न सिकाउँछ, तर ब्याट्सम्यानको क्षमतामा सुधार ल्याउन हामीलाई एकदिवसीय प्रतियोगिता नै आवश्यक पर्छ। एकदिवसीय मात्र होइन, अब हामीले अगाडिको यात्रा तय गर्न तीन दिवसीय क्रिकेट भित्र्याउन पनि ढिलो गर्नु हुँदैन। 

निरीह क्रिकेट संघ
घरेलु क्रिकेटको नेतृत्वदायी निकाय नेपाल क्रिकेट संघ (क्यान) करिब साढे तीन वर्ष आईसीसीको निलम्बनमा रह्यो। घरेलु क्रिकेटले अपेक्षित फड्को मार्न नसक्नुमा यो पनि एउटा प्रमुख कारण बन्यो। तर, अहिले नेपाली क्रिकेटमाथि लगाइएको निलम्बन फुकुवा भइसकेको छ। आईसीसी प्रतिनिधिको रोहबरमा भएको निर्वाचनपछि क्यानले नयाँ नेतृत्व पनि पाइसकेको छ। 

तर, क्यानको नयाँ नेतृत्वले पनि देशभित्र आयोजना हुने प्रतियोगिताहरूलाई नियमन गर्न सकिरहेको छैन। देशको आवश्यकताअनुसार प्रतियोगिता सञ्चालन गर्ने, प्रतियोगिता नियमन गर्ने, वार्षिक खेल–तालिका तयार पार्ने, खेलाडीलाई आवश्यकताअनुरूप प्रशिक्षण गराउनेजस्ता सम्पूर्ण कार्य क्यानकै जिम्मेवारीभित्र पर्छ। तर, निलम्बन फुकुवा र नयाँ निर्वाचन भएको लामो समय बितिसक्दा पनि क्यानको नयाँ नेतृत्व यसतर्फ संवेदनशील देखिएको छैन।

निर्वाचित क्यानका एक पदाधिकारी अहिले पनि आफूहरूले स्वतन्त्र रूपमा काम गर्न नपाएको गुनासो गर्छन्। ‘निलम्बन फुकुवा भए पनि हामीले अझै स्वतन्त्र रूपमा काम गर्न पाएका छैनौँ,’ ती पदाधिकारी भन्छन्, ‘अहिले पनि हरेक कुरामा हामीले आईसीसीको निर्देशन पर्खनुपर्ने अवस्था छ। यस विषयमा पटक–पटक आईसीसीलाई पत्राचार पनि गरिसकेका छौँ। त्यसैले हामीले अहिले चाहेर पनि स्वतन्त्र रूपमा काम गर्न सकिरहेका छैनौँ।’ 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि