‘टोलैपिच्छे कलात्मक मन्दिर देख्दा छक्क परेँ’

सम्पूर्ण
बिहिबार, १७ पुष २०७६
नेपाल संवाद
सिल्भिया वेकर्ट, ३५, ब्राजिलियन नागरिक हुन्। उनी दोस्रो पटक नेपाल भ्रमणमा आएकी हुन्। घुम्न मन पराउने उनी नेपालका विभिन्न स्थानमा पुगिसकेकी छिन्। खास गरी काठमाडौँ उपत्यका उनलाई रमाइलो लाग्छ।
ओला (नमस्ते) !
ओला।
नेपाल कहिले आउनुभयो ?
भारत हुँदै एक हप्ताअघि मात्र काठमाडौँ आइपुगेँ।
साथीहरूसँग आउनुभयो कि एक्लै ?
श्रीमान्सँग आएकी हुँ। मेरो श्रीमान् रोमिलियो पनि घुम्न रुचाउँछन्। हामी जता गए पनि सँगै घुम्छौँ। हामी दुइटैको सोच र स्वभाव एकनासे छ। दुवै जना घुम्न भनेपछि भुतुक्कै हुन्छौँ।
यसअघि नेपाल आउनुभएको थियो ?
यो मेरो दोस्रो नेपाल भ्रमण हो। त्यतिबेला काठमाडाँै उपत्यकाका सबै हेरिटेज साइट मात्र घुम्न भ्यायौँ। सन् २०१५ को भूकम्पअघि आएको थिएँ, त्यो पनि हचुवाको भरमा। त्यसबेला लोमान्थाङ घुम्ने मौका पनि जुर्यो। त्यहाँको केही दिनको बसाइले हिमाली सभ्यता र परम्परालाई नजिकबाट बुझ्ने अवसर पाएँ।
नेपालबारे कसरी थाहा पाउनुभयो ?
खासमा मलाई अरूको संस्कृतिबारे बुझ्न एकदमै मन पर्छ। त्यसकै लागि कैयाँै युरोपियन, अफ्रिकन र दक्षिण एसियाली देश पुगिसकेकी छु। साँच्चै भन्दा सुरुमा मलाई नेपालबारे केही थाहा थिएन। विभिन्न देशको संस्कृति र जीवनशैलीबारे गुगलमा खोजी गर्दा नेपाललाई पनि देखायो। त्यसपछि नेपालबारे चासो बढ्यो। यहाँको संस्कृति, परम्परा, जीवनशैली बुझ्ने मेरो हुटहुटीले नेपालतिर डोर्यायो।
नेपाल अपेक्षा गरेजस्तै रहेछ कि फरक पाउनुभयो ?
नेपालबारे जस्तो कल्पना गरेकी थिएँ, लगभग उस्तै पाएँ। यो देश मेरा लागि नयाँ मात्र होइन, रोचक पनि छ। यहाँका मान्छेको स्वभाव र व्यवहार निकै मन पर्यो। यहाँको जीवनशैली, परम्परा, रहनसहन र चाडपर्व विशिष्ट छन्। नेपालका ऐतिहासिक र सांस्कृतिक सम्पदा देख्दा यहाँका मानिस निकै सिर्जनशील र कलात्मक छन् भन्ने लाग्यो। टोलैपिच्छे कलात्मक मन्दिर देख्दा छक्क परेँ।
कहाँ–कहाँ घुम्नुभयो ?
काठमाडौँ उपत्यकाभित्र स्वयम्भू, बौद्ध, पाटन, भक्तपुर र वसन्तपुर घुमिसकेँ। भ्यालीबाहिर लोमान्थाङ, पोखरा पुगेकी छु।
उपत्यकाबाहिर धेरै घुम्नुभएको रहेनछ ?
मलाई सिटी टुर मन पर्छ। उपत्यकाभित्र भएका ठाउँ भ्रमण गर्न रमाइलो लाग्छ।
सिटी टुर गर्दा सबैभन्दा बढी के मन पर्यो ?
यहाँका हेरिटेज साइटले मनै लोभ्याउँछ। हेरिटेज साइटमा भएका चित्रकलामा केही न केही कथा लुकेको हुन्छ। खोज्यो भने एउटा सानो कुरामा पनि किंवदन्ती भेटिन्छ। यो कुराले मलाई झनै उत्सुक बनाउँछ।
अप्ठ्यारो लागेको केही कुरा छ कि ?
यहाँको खाना एकदमै स्पाइसी छ। स्पाइसी खानेकुरा सम्झिँदा हत्तपत्त भोकै लाग्दैन। किनकि, स्पाइसी खानेकुरा खान सक्दिनँ। साथै, काठमाडौँको बस्ती अव्यवस्थित लाग्यो। हुन त शहरी क्षेत्र प्रायः यस्तै हुन्छन्। तर, मैले घुमेका विभिन्न देशका शहरमध्ये काठमाडौँ अव्यवस्थित लाग्यो। शहर व्यवस्थित भए पर्यटकलाई घुम्न मज्जा आउँछ।
नेपाल भ्रमणमा भोग्नुपरेको कुनै समस्या छ ?
भाषाले गर्दा धेरै पटक समस्या भोग्नुपर्यो। गोरो छाला, खैरो कपाल देख्नेबित्तिकै यहाँका मान्छेले अंग्रेजीमा कुरा गर्न खोज्छन् तर हामीलाई पोर्चुगिज र स्पेनिस भाषाबाहेक अरू बोल्न आउँदैन। धन्न, सिटी टुर गाइड छन् र सजिलो भएको छ। गाइड नभए गुगल ट्रान्सलेट खोज्दै काम चलाउनुपर्छ।
यहाँको बसाइ कति लामो छ ?
बस्छु केही दिन। हुन त मेरो भारत मात्र घुमेर फर्किने योजना थियो। तर, त्यहाँ पुगेपछि नेपालनजिकै आइपुगियो, त्यहाँ नघुमी त के फर्किनुजस्तो लाग्यो। त्यहाँ छिटो–छिटो घुमेर भ्यायाँै र एक हप्ताकै लागि भए नि यहाँ आयौँ। त्यसैले यहाँको बसाइ लामो छैन।
नेपाल र ब्राजिलबीच के फरक पाउनुभयो ?
क्षेत्रफलका हिसाबले हाम्रो देश ठूलो छ। तर, संस्कृति र फरासिलो व्यवहार भएका मानिसका हिसाबले नेपाल ठूलो लाग्यो। ब्राजिल र नेपालको संस्कृतिबीच भिन्नता छ। तर, यी दुवै देशको भूगोल र हावापानीबीच समानता छजस्तो लाग्यो।
प्रस्तुतिः अस्मिता खड्का
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७