‘संसारका कुनाकुप्चाका मान्छेसँग संगत गर्न पाइन्छ’

writer

सम्पूर्ण

बिहिबार, १७ पुष २०७६


पारसमणि अमगाई, सिटी टुर गाइड

मेरो घर गोरखा हो। पर्यटन क्षेत्रमा लागेको १२ वर्षजति भयो। फ्रिल्यान्स टुर गाइडका रूपमा काम गर्छु। त्यसअघि पर्यटन क्षेत्रको संवाददाता थिएँ। 

स्कुल पढ्दाताका गाउँमा ‘सेभ दी चिल्ड्रेन’को प्रोजेक्ट चलिरहेको थियो। त्यसमा काम गर्ने अधिकांश विदेशी थिए। उनीहरूलाई देख्दा छक्क पर्थें। मनमा ‘उनीहरू किन हामीजस्ता छैनन्, हामीले जस्तो बोल्दैनन् र हामीले बोलेको बुझ्दैनन्’ भन्ने कौतूहल थियो। सानोमा मैेले केही उपद्रो गरेँ भने घरकाले ‘गोराहरूसँगै पठाइदिन्छु’ भनेर डर देखाउँथे। 

एसएलसीपछि काडमाडौँ आएँ। कलेज भर्ना भएँ। पढाइ सँगसँगै काम पनि गर्न थालेँ। मिडियामा अडियो-भिडियो एडिटिङको काम गर्न थालेँ। कहिलेकाहीँ डकुमेन्ट्री र सर्ट स्टोरी पनि बनाउँथेँ। सन् २०१२-१३ को किम्फ फेस्टिभलमा मैले बनाएको सर्ट मुभी ‘दी लिटल प्रिन्स’ टप टेनमा परेको थियो। त्यसबेला लोडसेडिङ खूब हुन्थ्यो। राति–राति उठेर पनि एडिटिङको काम भ्याउँथेँ। एकताका एनटीभीको टेलिसिरिज एडिट गर्ने मौका पाएको थिएँ। लोडसेडिङको कारण त्यो काम सिध्याउन समय लागेको थियो। हाकिमबाट धेरै गाली खाएँ। त्यसपछि आफ्नै रुचिको काम गर्ने सोच बनाएँ।

मेरो रुचि संस्कृति, किंवदन्ती लगायतमा थियो। कलेजमा अंग्रेजी विषय पढेको थिएँ। यसले मेरो रुचिलाई थप उत्साह दियो। यति भएपछि ‘गोराहरूलाई घुमाउन सकिन्छ’ भन्ने लाग्यो। र, पर्यटन क्षेत्रमा आइपुगँे। केही समय बिनालाइसेन्स विदेशी पाहुनालाई घुमाएँ। सन् २०११ मा नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट (न्याथम) बाट सिटी टुर गाइडको तालिम लिएँ र लाइसेन्स हात पारेँ।

यो क्षेत्रमा रमाइलो र चुनौती दुवै छन्। जति पनि मान्छे भेटिन्छन्, उनीहरू संसारका विभिन्न कुनाकाप्चाबाट आएका हुन्छन्। उनीहरूका स्वभाव र व्यवहारबारे थाहा पाइन्छ। उनीहरू हाम्रो परम्परा र कला–संस्कृतिबारे बुझ्न चाहन्छन्। कतिपय विदेशी हाम्राबारे मात्र जान्न खोज्दैनन्, आफ्ना कला–संस्कृति र परम्परा पनि हामीसँग साट्न रुचाउँछन्। आफ्नो ठाउँका रोचक कथा र किंवदन्ती सुनाउँछन्। उनीहरूलाई आफ्नो देश घुमाउँदा, उनीहरूको देशबारे पनि जानकारी पाइन्छ। यो गाइड हुनुको रमाइलो पाटो हो। 

यस क्षेत्रमा केही चुनौती पनि छन्। किनभने, हामीकहाँ थुप्रै लुकेका खजाना छन् अर्थात् नेपाल विभिन्न परम्परा, संस्कृति, भाषाको धनी देश हो। यहाँका कलात्मक सम्पदामा विभिन्न कथा लुकेका हुन्छन्। ती सबै कुरालाई खोज्न सक्नु र विदेशी पर्यटकलाई बुझाउन सक्नु नै गाइडका लागि ठूलो चुनौती हो। मौसमी काम भएकाले अफ–सिजनमा फुर्सदिलो भइन्छ। सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, मार्च, मे र अप्रिल गरी जम्मा छ महिना मात्र सिजन चल्छ। बाँकी छ महिना यत्तिकै बस्नुपर्छ। त्यतिबेला वैकल्पिक काम गर्नुपर्छ। टुर प्याकेज बनाउने,  ट्रेकिङ र टुर कम्पनीका लागि कन्टेन्ट लेख्ने काम गर्छु। यो काम पनि नहँुदा आफैँ घुम्न निस्कन्छु। मलाई एक्लै घुम्न मन पर्छ। एक्लै घुम्दा आफू पुगेको ठाउँको वातावरण, त्यहाँका मान्छेको जीवनशैली, रीतिरिवाजलगायत अध्ययन गर्छु। 

पर्यटकलाई मैले काठमाडौँ शहरभित्र मात्र घुमाउँछु। यहाँ रहेका सम्पदा देखाउँछु, ती सम्पदाबारे बताउँछु। टुरमा पर्यटकले रोज्ने भनेको तीर्थ, कला र संस्कृतिका लागि प्रसिद्ध उपत्यकाका सात वटै हेरिटेज साइट हुन्। हाइकिङ र साइट सिनका लागि पोखरा घुम्न चाहन्छन्। जंगल सफारीका लागि चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज रोज्छन्। आर्कियोलोजीका लागि लुम्बिनी, ऐतिहासिक संस्कृतिका लागि बन्दीपुर र गोरखा, हिमाली सभ्यता तथा प्राचीन गुफाका लागि मनाङ–मुस्ताङलगायत क्षेत्र जान चाहन्छन्। 

प्रस्तुतिः अस्मिता

तपाईको कमेन्ट