‘छक्क पर्छु सबैलाई किन यति हतार हुन्छ ?’

आशक्ति फुयाल
बिहिबार, १७ पुष २०७६
सञ्चै हुनुहुन्छ, सर ?
सञ्चै छु।
ड्युटी कस्तो चल्दै छ ?
दिनभर सडकमा खटिनुपर्छ। धेरै चालकसँग घुलमिल हुन पाइन्छ। राम्रै छ।
घर कता पर्यो सरको ?
सुर्खेत।
काठमाडौँ आएको कति भयो ?
१५ महिना भयो।
ट्राफिक तालिम कति समय गर्नुभयो ?
तीन महिना गरेँ।
तालिम कत्तिको गाह्रो थियो ?
तालिम त ड्युटी गर्नेभन्दा गाह्रो थियो। ड्युटीमा हुने सबै कुरा तालिममा मज्जाले सिकाइन्छ।
कति भयो ट्राफिक प्रहरी भएर सेवा गर्न थाल्नुभएको ?
११ वर्ष भयो।
यसअघि सिभिलमा हुनुहुन्थ्यो ?
हो, सिभिलमा छ वर्ष बिताएँ। त्यसपछि मात्र ट्राफिकमा प्रवेश गरेको हुँ।
सिभिल प्रहरी र ट्राफिक प्रहरीमा के कस्तो भिन्नता पाउनुभयो ?
सिभिल प्रहरीमा अपराधीलाई खोज्ने, शान्ति सुरक्षा हेर्नेलगायत काम गरिन्थ्यो। ट्राफिक प्रहरीमा भने सवारीसाधन व्यवस्थापनमा खटिने गरिन्छ।
सिभिल प्रहरीबाट ट्राफिक प्रहरीमा किन आइयो ?
सिभिलमा हुँदा अव्यवस्थित गरी राखिएका सवारीसाधन, जानाजान चालकले गरेको लापरबाही, उनीहरूका गल्ती देख्दा ट्राफिक प्रहरी भएको भए राम्रो व्यवस्थापन गर्न सक्थेँजस्तो लाग्यो। त्यसैले ट्राफिक प्रहरी बनेँ।
गर्न सक्नुभयो त राम्रो ट्राफिक व्यवस्थापन ?
आफ्नोतर्फबाट गर्न सक्ने हरेक प्रयास गरिरहेको छु। तर, हेर्दा र गर्दामा फरक हुँदो रहेछ। भनेजस्तो सजिलो चाहिँ रहेनछ।
यो एरियाको मुख्य समस्या के हो ?
बाटो नै यहाँको मुख्य समस्या हो। बाटो साँघुरो छ। जेब्रा क्रसिङ पनि छैन। त्यसैले पैदलयात्रु जहाँ मन लाग्छ, त्यहाँबाट बाटो काट्ने गर्छन्। पार्किङको व्यवस्था पनि ठीक छैन। त्यसैले सवारीसाधन बाटोमा राख्ने गर्छन् चालक। सम्झाउँदा मान्दैनन्। उल्टै रिसाउने गर्छन्।
यसरी जथाभावी बाटोमा राखिएका सवारीसाधनलाई के गरिन्छ ?
चारपांग्रेमा ह्विल लक लगाइन्छ। दुईपांग्रेमा चेन बाँधिन्छ।
ट्याक्सी हाउ मचमा पर्छन् कि पर्दैनन् ?
किन नपर्नु ? अहिले पनि दिनमा पाँच–छ वटा परेकै हुन्छन्।
कतिसम्म पढ्नुभयो ?
१२ पास गरेको छु।
त्यसपछि किन पढिएन ?
पारिवारिक स्थितिले गर्दा पढ्न पाइएन। संकटकालको समय थियो। पढ्नभन्दा पनि ज्यान बचाउनतिर लागियो।
बिहान कति बजेदेखि ट्राफिक प्रहरीको ड्युटी सुरु हुन्छ ?
बिहान ६ बजेदेखि ड्युटी सुरु हुन्छ।
जाडोमा बिहान ड्युटी गर्न कत्तिको गाह्रो हुन्छ ?
चिसो एकदमै बढेको छ, ड्युटी गर्नै गाह्रो नै हुन्छ। तर, हाम्रो कर्तव्य हो। न्यानो कपडा लगाएर सडकमा आउने गर्छाैं।
अहिले सवारी चालकमा के कुराको कमी पाउनुहुन्छ ?सवारी चालकमा धैर्यको कमी छ। मोटरसाइकल चालकमा झन् सवारी मोडिफाई गर्ने, आवाज ठूलो बनाउने भूत सवार छ। आफूले गरिरहेको कामले अरूलाई असर परिरहेको छ भन्ने कुरा सोच्दैनन्, आजभोलिका युवा चालक। स्पिड उस्तै हुन्छ। छक्क पर्छु, सबैलाई किन यति हतार हुन्छ ?
सवारी मोडिफाई गर्नेलाई के कस्तो कारबाही गरिन्छ ?
उनीहरूलाई यातायातको दफाअनुसार तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना गरिन्छ र सवारीलाई पहिलाको जस्तै बनाउन लगाइन्छ।
सार्वजनिक यातायातका चालकको व्यवहार कस्तो हुन्छ ?
त्यस्तो खासै दुःख दिँदैनन्। उनीहरू गाडी रोक्नुपर्ने ठाउँमा नरोकी जथाभावी रोकिदिन्छन्। यही ठूलो समस्या हो।
यसअघि कता हुनुहुन्थ्यो ?
स्वयम्भूमा थिएँ।
एक ठाउँबाट अर्को ठाउँमा ड्युटी गर्दा कस्तो लाग्छ ?
पहिले–पहिले गाह्रो हुन्थ्यो। एक ठाउँबाट अर्को ठाउँमा नपठाए नि हुन्थ्योजस्तो लाग्थ्यो। अब त बानी परेर होला, जहाँ गए पनि रमाइलो लाग्छ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७