‘खत्तम बाटो दयनीय कमाइ’

writer

सम्पूर्ण

बिहिबार, १७ पुष २०७६


श्यामकृष्ण श्रेष्ठ, चालक, बा २ ज ३५२९, काठमाडौं–जोरपाटी ।

पहिले म व्यापार गर्थें। त्यसमा घाटा भएपछि ट्याक्सी लाइनमा छिरेँ। ट्याक्सी चलाउन थालेको साढे दुई वर्ष भयो। तर, यता व्यापारभन्दा बढी घाटा भयो। ट्याक्सी चलाएर घरपरिवार पाल्न पुग्दैन। ट्याक्सीको किस्ता तिर्ने नसकेर तनाव भएको छ। 

पहिले त हामीलाई बाटोको समस्या छ। बाटोको हालत खत्तम छ। कमाइ दयनीय छ। बनाउने भनेर सबै लथालिंग अवस्थामा छोडिएका छन्। खाल्डाखुल्डीमा ट्याक्सी छोएर सामान बिग्रिन्छ। सामानको भाउ बढेर किनिसक्नु छैन। ट्याक्सी चलाएर त केही होलाजस्तो लाग्दैन। नामको मात्र राजधानी हो यो। यहाँको बाटोको हालतले ट्याक्सी लिएर हिँड्न मन लाग्दैन। तर, नहिँडी सुख छैन। 

यस पेशाको अर्का सबैभन्दा ठूलो समस्या भनेको मिटर हो। भाडादर आजसम्म कायम भएको छैन। ट्याक्सीको हकमा सहुलियत भाडादर भनेर सरकारले तोकेको छैन। १० वर्षसम्म एउटा भाडादर तोक्न नसक्ने सरकारले नयाँ ट्याक्सी मात्र भिœयाएर के गर्न खोजेको हो, थाहा छैन। न त ट्याक्सीको लागि भनेर सरकारले पार्किङको व्यवस्था नै गरेको छ। पार्किङ कहाँ गर्ने भन्ने निधो हुन्न। प्यासेन्जर पाउने ठाउँमा ‘नो पार्किङ’ को बोर्ड झुण्डिरहेको हुन्छ। दिनभर प्यासेन्जर खोज्ने निहुँमा गाडीको तेल मात्र सकिन्छ। हामीलाई सबै कुरामा पछाडि पारिएको छ। 

त्यसमाथि टुटल, पठाओले गर्दा आम्दानी ठप्प भएको छ। प्यासेन्जर आफ्नै अफिसभित्र बसेर टुटल बुक गर्छन्। बाटोमा ट्याक्सी खोज्ने प्यासेन्जर पाउनै छोडिसक्यौँ। टुटललाई प्रोत्साहन गर्ने हो भने थप ट्याक्सी निकाल्न बन्द गरे हुन्थ्यो। ट्याक्सी ड्राइभरलाई त घरपरिवार पाल्नै धौधौ भइसक्यो।

प्रस्तुतिः आशक्ति 

तपाईको कमेन्ट

मुख्य समाचार