‘दाइ र श्रीमतीको साथले नेता हुन पाएँ’

writer

उपेन्द्र अर्याल

बिहिबार, १७ पुष २०७६


नेपाली कांग्रेसका नेता हुन्, उदयशमशेर राणा। सक्रिय राजनीतिक जीवनका कारण परिवारलाई धेरै समय दिन सक्दैनन्। तर, फुर्सदमा परिवारसँग समय बिताउने, घुमघाम गर्ने गर्छन्। आफ्नो क्षेत्रमा कार्यक्रम हुँदा छोराहरूलाई सँगै लैजाने गरेका छन्। 


म ललितपुरमा जन्मेको हुँ। ५२ वर्ष भइसक्यो अहिलेसम्म यही ठाउँमा बसिराखेको छु। हाम्रो पुख्र्यौली घर बबरमहल हो। बबरमहल सरकारीकरण गरेपछि हामी ललितपुर बस्न थालेका हौँ। सरकारले घर लिइसकेपछि केही समय भाडाको घरमा बस्यौँ। त्यसबेला परिवारमा मेरो हजुरबुबा, हजुरआमा हुनुहुन्थ्यो। त्यसपछि हजुरआमाबुबा अमेरिकातिर बस्न जानुभयो। मेरो बुबा चाहिँ त्यसअघि भारत, दिल्लीमा हुनुहुन्थ्यो। दिल्लीमा वकालत गर्नुहुन्थ्यो। पछि बुबा नेपालमै बस्न थाल्नुभयो। हाम्रो परिवारमा एक जना दिदी, दाइ र म थियौँ। मेरो बाल्यकालको पढाइ यहीँ भयो। कक्षा आठदेखि १० सम्म दार्जिलिङमा पढेँ। त्यसपछिको पढाइ भारत, सिमलामा गरियो। स्नातक दिल्लीबाट र स्नातकोत्तर अमेरिकाबाट गरेँ। पढाइले गर्दा त्यतिबेला परिवारसँग धेरै समय बिताउन पाइनँ। 

परिवारले जगाएको राजनीतिक रुचि 

मेरो राजनीतिक इच्छा परिवारबाटै सुरु भएको हो। परिवारका सबै जना राजनीतिमा भएकाले मलाई पनि त्यतैतिर जान प्रेरणा मिलेको मान्छु। मेरो ठूलो बुबा २०१५ सालतिर तत्कालीन विपक्षी दलको नेता, माइलो बुबा सांसद् हुनुहुन्थ्यो, बुबा पनि नेपाल फर्केर राजनीतिमा लाग्नुभएको थियो। पारिवारिक वातावरणले गर्दा मलाई पनि राजनीतिप्रति रुचि जाग्यो। तर, राजनीति नै गर्छु भन्ने सोचेको थिइनँ। व्यापार गर्छु वा यूएनलगायत संस्थामा काम गर्छु भन्ने थियो। दोस्रो जनआन्दोलनताका दिल्ली विश्वविद्यालमा नेपालीहरूको एउटा संस्थामा आबद्ध थिएँ। त्यहाँ हामी विभिन्न राजनीतिक काम गथ्र्यौं। वैशाखमा आन्दोलन सफल भयो। म जाडोको बिदामा नेपाल फर्किएको थिएँ। यहाँ आएको बेला बुबासँग कांग्रेसको कार्यालय, जमलमा पुगेँ। त्यहाँ छलफल कार्यक्रम रहेछ। मलाई नेवि संघको कोठामा राखेर बुबा किसुनजीलाई भेट्न जानुभयो। कोठामा त्यसबेलाका अध्यक्ष बालकृष्ण खाँड र अर्का नेता अर्जुन थापा थिए। उहाँहरूले नेवि संघ दिल्ली विश्वविद्यालयकको शाखाको अध्यक्षको चिठी मेरो हातमा थमाउनुभयो। 

दिल्ली गएपछि अलि–अलि राजनीतिक काम गर्न थालेँ। विशेष गरेर, जनआन्दोलनको समयमा जुलुस निकाल्ने काम हुन्थ्यो। त्यहाँ चक्र बास्तोला दाइ हुनुहुन्थ्यो। त्यसबेला उहाँसँग पनि सहकार्य गरेर काम गरियो। त्यसपछि स्नातकोत्तर पढ्न अमेरिकातिर लागेँ। त्यहाँबाट फर्किएपछि मेरो बिहे भयो। मागी विवाह भएको हो। 

अमेरिकाबाट फर्केपछि पनि राजनीति गर्छु भन्ने थिएन। त्यसबेला किसुनजी पार्टी सभापति हुनुहुन्थ्यो। गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो। कांग्रेसीहरू शक्तिशाली थिए। इन्टरनेसनल युनियन अफ सोसियल युथ भन्ने एउटा अन्तर्राष्ट्रिय संस्था छ। त्यसबेला उक्त संस्थाको सदस्य नेवि संघ पनि थियो। त्यहाँ चुनाव लडियो। जितेर त्यहाँको उपाध्यक्ष बनेँ। राजनीतिमा रुचि बढ्दै गयो। त्यसपछि तरुण दल गठन भयो। तरुण दलको ललितपुर जिल्लाको सभापति बनेर काम गर्न थालेँ। 

परिवारको साथ 

राजनीतिमा लागेपछि व्यस्त नै भइन्छ। फुर्सद खासै हुँदैन। परिवारलाई समय दिन सकिँदैन। मेरा दुई छोरा छन्। उनीहरूको कलेजमा विभिन्न कार्यक्रम हुन्छन्। ती कार्यक्रममा जान भ्याउँदिनँ। परिवारसँग जाने ठाउँमा सधँै छुट्छु। सबैका लागि शनिबार छुट्टी हुन्छ, आफ्नो भने त्यस दिन झन् बढी काम हुन्छ। त्यही बेला धेरै कार्यक्रम पर्छन्। राजनीतिमा  लाग्नेको जीवन तनावले भरिएको हुन्छ। छोराहरूको खूब माया लाग्थ्यो, तर भेट्न जान भ्याउँदिन थिएँ। राजनीतिकर्मीको प्रेसर उसको परिवारले पनि भोग्नुपर्छ। राजनीति गर्ने मान्छे यति जेल बसेको, उति बसेको कुरा गर्छन्। शहीद भएको कुरा गर्छन्। तर, उसको परिवारले कति पीडा भोग्यो भन्ने कुरा कसैले गर्दैन। राजनीतिज्ञसँग उसको परिवारले पनि त्यति नै अप्ठ्यारो समय सामना गरेको हुन्छ। त्यति नै दुःख सहेको हुन्छ।

राजा महेन्द्रले ‘कू’ गरिसकेपछि हाम्रो परिवारमा हलचल मच्चियो। हाहाकार भयो। त्यसबेला हजुरबुबा जेलमा थिए। भरतशमशेर जेलमा थिए। माइलो बुबा पनि जेलमा थिए। मेरो हजुरआमाले एक्लै त्यो परिवारलाई कसरी सम्हाल्नुभयो होला ? यो कुरा सोच्दा पनि अत्यास लाग्छ। त्यसकारण राजनीति गर्ने मान्छेको परिवारको एकदमै ठूलो महŒव हुन्छ। मलाई आमाबुबा, दाइ, श्रीमतीको अत्यन्तै ठूलो साथ छ। मैले तीन पटक चुनाव लड्दा सबै कुराको व्यवस्थपन दाजुले गर्नुभयो। दाइ राजनीतिमा हुनुहुन्न तर मेरा लागि खटिनुहुन्छ। जुन तरिकाले मैले परिवारबाट साथ पाएको छु, त्यो सायद कमै नेताले पाउँछन्। कहिलेकाहीँ सबै भएको ठाउँमा म नहुँदा मन दुखाउँछन्। कतिपय अवस्थामा मेरो कमी महसुस गर्छन् तर पनि मलाई र मेरो कामलाई बुझ्छन्। 

परिवारबाट साथ नपाएको भए सायद राजनीति पनि गर्दिन थिएँ। श्रीमतीले गाउँका विभिन्न सामाजिक काममा मलाई सहयोग गर्छिन्। आमाको उमेर धेरै भयो अहिले। नत्र, सक्रिय हुँदा उहाँ पनि उत्तिकै काम गर्नुहुन्थ्यो। म ‘वान म्यान आर्मी’ होइन, जसले एक्लै हाँक्छ। मेरो सम्पूर्ण शक्ति भनेको नै परिवार हो।

निर्णय लिँदा भोटिङ हुँदैन 

अहिले पनि आमाबुबा, दाइभाउजू, म र श्रीमती एउटै ठाउँमा बस्छौँ। बिहेपछि दिदी आफ्नै घरतिर हुनुहुन्छ। परिवामा सबै जना सँगै भएको बेला राजनीतिक गफ हुन्छ,  छलफल हुन्छ। पत्रपत्रिकामा आएका कुरामा छलफल चल्छ। परिवारमा राजनीति मात्र नभई अन्य क्षेत्रका पनि गफगाफ हुन्छन्। हामीलाई हुर्काउँदा आमाबुबाले कहिल्यै पनि ‘हामी ठूला हौँ’ भन्ने देखाउनुभएन। ‘हामीले भनेको मान्नैपर्छ’ भन्नुभएन। त्यसैले हाम्रो घरमा एक जनाले मात्र भनेर केही कुरा लागू हुँदैन। सबैको सहमति हुनुपर्छ। सबैलाई चित्तबुझ्दो हुनुपर्छ। कुनै निर्णय लिँदा भोटिङकै सिस्टम त छैन। तर, सबैसँग छलफल गरेर मात्र निर्णय हुने गर्छ। निर्णय लिँदा परिवारका साना सदस्यको पनि विचार बुझिन्छ। घरमा पनि लोकतान्त्रिक अभ्यास छ। 

परिवारसँग घुमघाम

समय–समयमा हामी घुम्न गइरहेका हुन्छौँ। छोराहरू छुट्टीमा आउँदा हामी घुम्न जान्छौँ। परिवारसँग घुम्न विदेश पनि गइन्छ। घुम्न जाँदा आमाबुबासहित सबै जान्छौँ। कहिलेकाहीँ दुई महिनाअघिदेखि नै बनाएको योजना अन्तिम समयमा रद्द गर्नुपर्छ। केही न केही काम आइलाग्छ। परिवारसँग पनि पाँचछ वटा होलिडेमा छुटेको छु।

पहिले घुम्न खूब रहर लाग्थ्यो। अहिले चाहिँ सोसियल लाइफमा बढी व्यस्त भएकाले धेरै समय नै हुँदैन। भरसक समय निकालेर घर आउँछु। खाली समय परिवारसँग बिताउँछु। मेरी श्रीमती र म अति मिल्छौँ। श्रीमान्–श्रीमतीभन्दा पनि असल साथीजस्ता छौँ। हाम्रो विचार मिल्छ। बरु, म अलिकति अन्तर्मुखी स्वभावको छु। उनी खुलेर बोल्छिन्। परिवार, साथीभाइले पनि मलाईभन्दा उनलाई बढी रुचाउँछन्। उनी मभन्दा बढी सोसियल छिन्।

मेरा दुवै छोरा मेहनती छन्। ठूलो छोरा इभेन्ट म्यानेजमेन्टमा रुचि राख्छ। त्यही  पढिरहेको छ। सानो छोराको रुचि यूएनतिर छ। ठूलो छोरा कम बोल्छ। हाँसिराख्छ। ठूलोको तुलनामा सानो चाहिँ अलिक कडा स्वभावको छ। उनीहरू राजनीतिमा खासै रुचि राख्दैनन्। जेठोले त पटक्कै राख्दैन। सानो छोराले चाहिँ अलि–अलि रुचि देखाउँछ। तर, राजनीति नै गर्छु भन्ने छैन उसलाई। मेरो जिन्दगी देखेर उनीहरूले राजनीतिमा खासै रुचि नदेखाएका हुन् कि भन्ने लाग्छ। उनीहरू घर आएको बेला विभिन्न कार्यक्रममा सँगै हिँड्ने गर्छन्। एक पटक पार्टीले मलाई रोल्पा पठाएको थियो। त्यसबेला छोरा र म सँगै गएका थियौँ। आफ्नो क्षेत्रमा कार्यक्रम हुँदा लैजान्छु। सानो छोरा कार्यक्रममा जान सजिलै तयार हुन्छ। जेठोलाई कन्भिन्स्ड गर्नुपर्छ। 

बुबासँग धेरै कुरा हुन्छ। उहाँ ८१ वर्षको भइसक्नुभयो। तर, अहिलेसम्म सक्रिय हुनुहुन्छ। अहिले नेपाल आर्ट काउन्सिलको अध्यक्ष भएर काम गरिरहनुभएको छ। पढ्न–लेख्नमा रुचि राख्नुहुन्छ। उहाँको कोठामा जताततै किताबैकिताब छन्। एउटा किताब लेखिसक्नुभयो। दोस्रो किताब लेख्न आँट्दै हुनुहुन्छु। अहिले पनि ५० वर्षको जस्तो हुनुहुन्छ। आमा पनि ठीकै हुनुहुन्छ। तर, अहिले पहिलेजस्तो सक्रिय हुनुहुन्न। 

तपाईको कमेन्ट

मुख्य समाचार