किन हुँदैन खेलाडीको विषयमा अनुसन्धान ?

writer

रोशन राउत

बुधबार, १६ पुष २०७६


हामीकहाँ खेल र खेलाडीको विषयमा अध्ययन र अनुसन्धान भएका छैनन्। कुन खेलमा कुन खेलाडीको प्रदर्शन कस्तो थियो ? कमजोरी कहाँ भयो ? खेलाडी कुन पृष्ठभूमिबाट आएको हो ? उसको आर्थिक अवस्था कस्तो छ ? जस्ता विषयमा कुनै अध्ययन भएको छैन। 


नेपाली खेलाडीको शैक्षिक अवस्था कस्तो छ ? अधिकांश खेलाडी कुन आर्थिक अवस्थाबाट आएका छन् ? उनीहरू कस्तो भौगोलिक अवस्था वा हावापानीमा हुर्किएका हुन् र कस्तो मौसममा खेल्न अभ्यस्त छन् ? खेलाडीको खानपिन कस्तो छ ? नियमित प्रशिक्षणका लागि खेलाडीले दैनिक, साप्ताहिक र मासिक रूपमा कति खर्च गर्छन् ? खेलाडीको आम्दानीको स्रोत के हो ? खेलाडीको पारिवारिक पृष्ठभूमि कस्तो छ ? देशको कुन क्षेत्रबाट कुन खेलका बढी खेलाडी उत्पादन भइरहेका छन् ? जातीय आधारमा कुन खेलमा खेलाडीको प्रदर्शन कस्तो छ ? 

यी केही यस्ता प्रश्न हुन्, जसको सही उत्तरले नेपाली खेलकुदको भविष्य निर्धारण गर्छ। युरोप र अमेरिका टाढाको कुरा हो। एसियाकै जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, चीनलगायत राष्ट्रले आफ्ना खेलाडीसँग सम्बन्धित यस्ता प्रश्नको जवाफ सहजै दिन सक्छन्। अझ दक्षिण एसियामै पनि भारत, पाकिस्तान, बंगलादेशजस्ता राष्ट्रले समेत आफ्ना खेलाडीसँग सम्बन्धित यस्ता प्रश्नको जवाफ खोज्न थालेको लामै समय बितिसकेको छ।

विज्ञान र प्रविधिको द्रुततर विकासले विश्वलाई निकै साँघुरो र जटिल बनाउँदै लगेको छ। विश्व खेलकुद पनि प्रविधिको प्रयोगबाट अलग रहने कुरै भएन। विश्व खेलकुद अब मैदानमा दुई खेलाडी वा दुई टोलीबीच हुने स्वच्छ प्रतिस्पर्धामा मात्र सीमित छैन। खेलाडी वा प्रशिक्षकले नतिजालाई प्रभावित पार्न विज्ञान र प्रविधिको सहारा लिएर गर्ने ठगी पनि यसैको उदाहरण हो। यो छुट्टै चर्चाको विषय बन्न सक्छ। यहाँ चर्चा गर्न खोजिएको विषय भने पृथक् हो।

अन्य राष्ट्रमा कुनै पनि ठूला प्रतियोगिता आयोजना गरिँदा आफ्ना हरेक खेलाडीको विस्तृत तथ्यांक संकलन गर्ने प्रचलन हुन्छ। प्रतियोगिताअघि कुन खेलमा कुन खेलाडीको प्रदर्शन कस्तो थियो र सम्बन्धित प्रतियोगितामा त्यो खेलाडीले गरेको प्रदर्शन कस्तो रह्यो भनेर गम्भीर अध्ययन–अनुसन्धान गरिन्छ। खेलाडीको प्रदर्शनमा आएको सुधार वा नतिजामा देखिएको कमजोरीको लेखाजोखा गरिन्छ, अभिलेख राखिन्छ। 

प्रत्येक खेलाडीको कमजोरी वा सकारात्मक पक्षको विश्लेषण हुन्छ। यस्तो अध्ययनले भविष्यमा सम्बन्धित खेलाडीको प्रदर्शनमा सुधार ल्याउन चाल्नुपर्ने कदमबारे जानकारी दिन्छ। खेल मैदानमा खेलाडीले गर्ने प्रदर्शनमा उनीहरूको खानपिनदेखि आर्थिक अवस्थासम्मले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ। 

कुनै खेलाडी प्रतियोगिताअघि पारिवारिक कारणले तनाव लिई मैदानमा ओर्लिएको छ भने त्यसको प्रत्यक्ष असर उसको नतिजामा झल्कन्छ। त्यसैले हरेक खेलाडीको पारिवारिक र आर्थिक अवस्थालाई गहन रूपमा अध्ययन गरी आवश्कताअनुसार त्यस्ता खेलाडीलाई मनोवैज्ञानिक परामर्श दिएर सबल बनाउने प्रयास गरिन्छ। 

यसै गरी, खेलाडीको खानपिनले पनि उनीहरूको प्रदर्शनमा दीर्घकालीन असर पारिरहेको हुन्छ। अझ खेलाडीको खानपिनले त नतिजामा मात्र होइन, उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा समेत दीर्घकालीन प्रभाव पारिरहेको हुन्छ। खेलाडीको खानपिनको दैनिकी, खेलअघि वा खेलपछि खेलाडीले लिने भोजनले उनीहरूको प्रदर्शनमा प्रत्यक्ष असर पार्ने भएकाले नै अन्य मुलुकमा यसलाई निकै गम्भीरतापूर्वक लिइन्छ। कुनै खेलाडीले आज बढी क्यालोरी खर्च हुने खेलमा निरन्तर अभ्यास गर्छ तर खानपिन त्यस अनुरूप छैन भने १० वर्षपछि पनि त्यसको नकारात्मक प्रभाव उसको स्वास्थ्यमा देखापर्छ। हाम्रो देशका थुप्रै पूर्वखेलाडी अहिले त्यो समस्या भोगिरहेका पनि छन्।

हाम्रो देशमा भने खेलाडीले आवश्यक पोषणसम्म पाउन नसक्ने अवस्था छ। सामान्य अण्डा र चनाको भरमा प्रशिक्षणलाई निरन्तरता दिनुपर्ने बाध्यता बोकेका खेलाडी हजारौँ भेटिन्छन्। खानपिनकै कुरा गर्दा खेलअनुसार फरक खेलका खेलाडीलाई फरक खानपिन आवश्यक पर्छ। भारोत्तोलन, शारीरिक सुगठन, बक्सिङजस्ता बढी शारीरिक बल प्रयोग गर्नुपर्ने खेलका खेलाडी र कुर्सीमा बसेर बुद्धिचाल खेल्ने खेलाडीका लागि आवश्यक पर्ने खानपिन पक्कै पनि एकै प्रकारको हुन सक्दैन। 

तर, हाम्रो देशमा हालसम्म यो विषयमा खासै अनुसन्धान भएको पाइँदैन। राज्यले पनि हरेक खेलका खेलाडीलाई एउटै आँखाले हेर्ने गरेको पाइन्छ। ठूला प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा राखिएका सबै खेलका खेलाडीलाई भोजनका लागि एउटै मापदण्ड निर्धारण गरिएको छ। खेलाडीको खानपिनका लागि रकम विनियोजन गर्दासमेत सबै खेलका खेलाडीलाई समान रकम दिइन्छ। 

खेलाडी आफैँले पनि बेलाबखत यस विषयमा गुनासो नगरेका होइनन्। बन्द प्रशिक्षणमा रहेका भारोत्तोलन, बक्सिङलगायत बढी क्यालोरी आवश्यक पर्ने खेलका खेलाडीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफूहरूलाई उपलब्ध गराएको डाइट अपर्याप्त रहेको भनी निकै पटक गुनासो गरिसकेका छन्। तर, सम्बन्धित निकायबाट हालसम्म कुनै सुनुवाइ भएको पाइँदैन। 

त्यस्तै, खेलाडी बसोबास गर्ने भौगोलिक अवस्था र हावापानी तथा प्रतियोगिता खेल्नुपर्ने स्थानको मौसमले पनि उनीहरूको प्रदर्शनमा प्रत्यक्ष रूपमा असर पारिरहेको हुन्छ। केही समयअघि विश्वकप फुटबलको छनोट खेल आयोजना गर्ने स्थानको विषयलाई लिएर नेपाल र कुवेतबीच भएको विवादको मुख्य कारण पनि त्यही थियो। रंगशालाका कारण उक्त खेल नेपालमा आयोजना हुन नसक्ने भएपछि नेपालले आफ्नो हावापानीसँग मिल्दो भुटानमा खेल खेलाउने प्रस्ताव राख्यो। कुवेत भने चिसो हावापानीमा भन्दा पनि आफ्नै देशमा प्रतियोगिता खेल्न चाहन्थ्यो। यसका लागि कुवेतले प्रतियोगिताका क्रममा लाग्ने नेपाली टोलीको सम्पूर्ण खर्च पनि आफूले बेहोर्ने भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) सँग प्रस्तावसमेत राखेको थियो।

यसका अतिरिक्त खेलाडी उत्पादनको दृष्टिकोणले समेत भौगोलिक अवस्थाको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। देशको कुन क्षेत्रबाट बढी भलिबल खेलाडी उत्पादन भइरहेका छन् ? एथ्लेटिक्सका क्षमतावान् खेलाडी कुन प्रदेशबाट आएका छन् ? कुन क्षेत्र वा प्रदेशले बढी क्रिकेट वा फुटबल खेलाडी तयार पारिरहेको छ ? भन्ने विषयमा हालसम्म कुनै अध्ययन–अनुसन्धान भएका पाइँदैन। यस्ता विषयमा हुने अध्ययनले भविष्यमा सरकारलाई खेलकुदमा लगानी गर्दा मागनिर्देश गर्न सक्छ। 

भौगोलिक अवस्था मात्र होइन, खेलाडीको जातीय अवस्थाले पनि खेलकुदमा गहिरो प्रभाव पारिरहेको हुन्छ। हाम्रै देशमा पनि कुनै खेलमा कुनै अमुक जातिका खेलाडीको बलियो पकड रहेको प्रशस्त उदाहरण छन्। हाम्रो देशमा मात्र होइन, अन्य राष्ट्रमा समेत यस्तो प्रचलन पाइन्छ। त्यसैले आफ्ना खेलाडीको हरेक गतिविधिलाई सूक्ष्म रूपले अध्ययन गर्नु आवश्यक हुन्छ।

खेलाडीले आफ्नो प्रशिक्षणमा दैनिक, साप्ताहिक, मासिक वा वार्षिक रूपमा कति रकम खर्च गरिरहेका छन् भन्ने विषयमा समेत अध्ययन भएको पाइँदैन। कुराकानीका क्रममा पौडीकी चर्चित खेलाडी गौरिका सिंहले परिवारले आफ्नो प्रशिक्षणमा मासिक दुई हजार अमेरिकी डलर खर्च गरिरहेको बताएकी थिइन्। त्यसैले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले दिने नतिजा पनि सोही अनुरूपको छ। तर, अधिकांश नेपाली खेलाडीका लागि त्यो आकाशको फल हो। 

हाम्रा धेरैजसो खेलाडीलाई दुई छाक मीठो–मसिनो खान नै धौधौ पर्ने अवस्था छ। यस्तोमा खेलाडीले आफ्नो प्रशिक्षणमा गर्ने खर्च ज्यादै न्यून हुनु स्वाभाविक हो। त्यो खर्चले उनीहरूले नियमित तयारी गर्न सक्छन् कि सक्दैनन् ? आफ्ना खेलाडीका लागि अझ राम्रो प्रशिक्षणमा सहयोग पुर्‍याउन के गर्नुपर्छ ? भन्नेजस्ता विषयमा पनि राज्यले गम्भीर अनुसन्धान गर्नु आवश्यक छ। 

ठूला प्रतियोगिताकै कुरा गर्ने हो भने पनि हामीले पहिलो, आठौँ र तेह्रौँ गरी तीन वटा दक्षिण एसियाली खेलकुद (साग) को सफल आयोजना गरिसकेका छौँ। यसबाहेक आठ वटा बृहत् राष्ट्रिय खेलकुद पनि सम्पन्न गरिसकेका छौँ। सागदेखि लिएर एसियाली खेलकुद हुँदै ओलम्पिकसम्म थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्ना खेलाडीलाई सहभागी पनि गराइसकेका छौँ। तर, हालसम्म आफ्ना खेलाडीसँग सम्बन्धित संवेदनशील विषयमा भने कहिल्यै कुनै अध्ययन–अनुसन्धान गरेका छैनौँ। पक्कै पनि यो नेपाली खेलकुदप्रति अन्याय हो।

सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा बाह्रौँ साग आयोजना हुँदा खेलकुदविज्ञ दिवाकरलाल अमात्यले व्यक्तिगत पहलमा नेपाली खेलाडीको विषयमा यस्तो अनुसन्धान गरेका थिए। त्यसको प्रतिवेदन उनले राखेपका सदस्य–सचिवलाई समेत बुझाएका थिए। तर, त्यसलाई कार्यान्वयनमा ल्याउने विषयमा भने हालसम्म कुनै पहल भएको पाइँदैन। ‘मैले बाह्रौँ सागमा सहभागी नेपाली खेलाडीको विषयमा आफ्नो व्यक्तिगत पहलमा अनुसन्धान गरेर त्यसको प्रतिवेदन सदस्य–सचिवज्यूलाई बुझाएको थिएँ,’ अमात्यले भने, ‘उहाँले कार्यान्वयनको आश्वासन दिनुभएको छ। हेरौँ, के हुन्छ  !’ तेह्रौँ सागमा पनि नेपाली खेलाडीको हरेक पक्षलाई समेट्ने गरी अध्ययन विश्लेषण गर्ने प्रस्ताव राखेपसँग राखेको जानकारी उनले दिए। ‘तेह्रौँ सागमा पनि मैले राखेपसँग प्रस्ताव राखेको थिएँ,’ उनले भने, ‘तर, अहिलेसम्म कुनै जानकारी आएको छैन। हामी केही साथी मिलेर व्यक्तिगत पहलमै भए पनि यसपालि सागमा सहभागी नेपाली खेलाडीको हरेक पक्षलाई केलाएर अध्ययन– अनुसन्धान गरेका छौँ। राखेपले भने अहिलेसम्म हामीलाई कुनै जवाफ दिएको छैन।’

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि