‘गाइडको काम पर्यटक घुमाउने मात्र होइन’

writer

सम्पूर्ण

आइतबार, १३ पुष २०७६


खता तामाङ, गाइड

गाइड अनुभूति

मेरो घर सोलुखुम्बु हो। टुरिस्ट गाइड भएर काम गर्न थालेको २० वर्षभन्दा बढी भयो। हाल फ्रिल्यान्सर ट्रेकिङ गाइडका रूपमा काम गर्छु। 

पढाइको सिलसिलामा काठमाडौं आएको थिएँ। त्यही बेला ठमेलका केही रेस्टुरेन्ट र गेस्टहाउसमा तीन वर्षजति काम गरें। रेस्टुरेन्टतिर काम गर्दा ट्रेकिङ एजेन्सीका मान्छेसँग भेट भयो। पर्यटक घुमाउने काम ठीक लाग्यो। सुरुमा पोर्टरका रूपमा काम गरें। त्यसपछि केही वर्ष सहायक ट्रेकिङ गाइड भएर काम गरें। विभिन्न देशका पर्यटकलाई घुमाएको छु। तीमध्ये सबैभन्दा बढी फ्रेन्च र अमेरिकनलाई गाइड गरेको छु। गाइडका रूपमा हुम्ला, जुम्ला, डोल्पा, रारा, मनाङ, मुस्ताङ, सोलुखुम्बु, अन्नपूर्ण क्षेत्र, कञ्चनजंघालगायत पूर्वदेखि पश्चिम नेपालका सबै ट्रेकिङ क्षेत्रमा पुगेको छु। कहिलेकाहीँ नेपालबाहिर तिब्बततिर पनि गाइड गर्छु। 

पहिला हामी क्याम्पिङ ट्रेकमा जान्थ्यौँ। पोखराबाहिर गएपछि विदेशीको सामान, क्याम्पिङको सामान सबै आफैँले बोक्नुपथ्र्याे। क्याम्पिङका लागि उपयुक्त ठाउँ खोज्दै हिँड्नुपथ्र्यो। तर, अहिले निकै सहज भएको छ। माथिल्लो क्षेत्रतिर लज, टी–हाउस खुलेका छन्। खान, बस्न त्यस्तो आपत् पर्दैन। 

धेरै थरी मान्छेलाई घुमाएको छु। कम्तीमा १५ देखि बढीमा ४० जनासम्मको ग्रुपलाई घुमाएको छु। उनीहरूका स्वभाव अलग–अलग हुन्छन्। कोही राम्रा मान्छे पनि हुन्छन्, कतिपय किचकिचे हुन्छन्। उनीहरूको अपेक्षा आफ्नो देशको जस्तै हुन्छ। ट्रेकिङ जाँदा बाटो देखेर, त्यहाँ बस्ने-खाने व्यवस्था देखेर उनीहरू चिढिन्छन्। त्यस्तो बेलामा उनीहरूलाई भगवान् मानेर व्यवहार गर्नुपर्छ। अनि, मात्र शान्त हुन्छन्। कतिपय चाहिँ बिन्दास पाराका हुन्छन्। उनीहरूलाई बाटोघाटो, खानेबस्ने, मान्छेको व्यवहारसँग मतलब हुँदैन। हिमाल देख्न पाए पुग्छ। 

फ्रेन्च र अंग्रेजी भाषा बोल्छु। गाइडको काम बाटो देखाउने र पर्यटकसँग बोल्ने मात्र होइन, एउटा गाइड, साइकोलोजिस्ट, एक्सप्लोरर, टिचर, रिसर्चर, अर्गनाइजर सबै हो। एउटा मान्छे होस् या सयौँ मान्छे, कसैलाई गाइड गर्छु भनेर फिल्डमा निस्किसकेपछि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।

प्रस्तुतिः अस्मिता

तपाईको कमेन्ट

मुख्य समाचार