‘पाटन दरबार स्क्वायर जति घुमे नि अघाउँदिनँ’

सम्पूर्ण
आइतबार, १३ पुष २०७६
नेपाल संवाद
कहिले आउनुभयो ?
तिब्बत हुँदै केही हप्ताअघि नेपाल आइपुगेको हुँ।
यसअघि पनि नेपाल आउनुभएको थियो कि ?
यो मेरो तेस्रो नेपाल भ्रमण हो। पहिलो पटक परिवारसहित एकमहिने नेपाल भ्रमणमा आएको थिएँ। त्यतिबेला म १८ वर्षको थिएँ। त्यतिखेर काठमाडौँका ऐतिहासिक ठाउँ हेरेर फर्किएका थियौँ। दोस्रो पटक पनि एक महिनाका लागि साथीहरूसँग घुम्न आएको थिएँ। त्यो बेला मुस्ताङ घुम्न गयौँ।
यस पटक कसरी साइत जुर्यो ?
म आर्किटेक्ट इन्जिनियर हुँ। यसअघि नेपाल आउँदा यहाँको आर्ट र आर्किटेक्ट बुझ्ने समय पुगेनजस्तो लाग्यो। ग्य्राजुएसन सक्नेबित्तिकै घुम्ने सोच बनाएको थिएँ। इन्जिनियरिङ सकिनेबित्तिकै नेपाल आएँ।
नेपालमा कहाँ–कहाँ घुम्नुभयो ?
भर्खरै पुन हिल र एभरेस्ट बेस क्याम्प घुमेर फर्किएँ। अन्नपूर्ण रेन्ज पूरै घुम्ने सोच थियो। तर, छिटै फर्किनु परेकाले योजना पूरा भएन। यसअघि मनाङ र माथि मकालुसम्म पुगेको थिएँ।
घुमेकामध्ये कुन ठाउँ मन पर्यो ?
ट्रेकिङ हो भने अन्नपूर्ण सर्किट मन पर्यो। त्यहाँ जति धेरै जोखिम मोलेको थिएँ, त्योभन्दा बढी मज्जा आएको थियो। हेरिटेज साइटमा पाटन दरबार क्षेत्र राम्रो लाग्छ। जति घुमे पनि अघाउँदिनँ। त्यहाँ घुम्दा हरेक पटक केही न केही नयाँ कुरा भेटाउँछु नै।
नेपाली खाना मन पर्छ ?
असाध्यै मन पर्छ।
कुन–कुन नेपाली परिकार खानुभयो ?
तरकारी–रोटी, मःमः, ढिँडो र मासुको झोल स्वादिलो लाग्यो। जिब्रो, कचिलालगायत मासुका आइटम देखेर छक्क परेको थिएँ। नेपाली वाइन, छ्याङ खाँदा झनै मज्जा आयो। सादा खाना मन परे पनि धेरैजसो पिज्जा, बर्गर नै खाएँ। यस्तो खाना खाने बानी नभएकाले होला, खानेकुरा मीठो भए पनि धेरै खान सकिएन।
यहाँको के कुरा अनौठो लाग्यो ?
जीवित कुमारीलाई पूजा गर्ने कुरा अनौठो लाग्यो।
नेपाल घुम्दा नमज्जा लागेको कुरा ?
अरू ठाउँतिर कस्तो छ, त्यो त थाहा भएन। तर, मनाङ–मुस्ताङ, अन्नपूर्ण ट्रेकिङ जाँदा पर्ने कच्ची रोड ठीक लागेन। घुम्न जाँदा त्यही रुट प्रयोग गर्नुपर्ने रहेछ। त्यस्तो बाटोमा यात्रा गर्दा नमज्जा लाग्यो।
नेपाल र अस्ट्रेलियाबीच के भिन्नता पाउनुभयो ?
अस्ट्रेलियाको तुलनामा यहाँ निकै सस्तो छ, उता हरेक कुरा महँगो। तर, यहाँ अव्यवस्थित भीडभाड छ भने उता सबै कुरा व्यवस्थित हुन्छ।
प्रस्तुतिः अस्मिता
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७