विदेश गएकालाई देश फर्काउने प्रयत्न

writer

सम्पूर्ण

शुक्रबार, ०४ पुष २०७६


विराज पाण्डे, कार्यकारी निर्देशक, एजुकेसन पार्क

एजुकेसन पार्कका कार्यकारी निर्देशक विराज पाण्डेले शैक्षिक परामर्श मात्रै नभई करिअर काउन्सिलिङ पनि गर्ने गरेका छन्। उनले पढ्न विदेश जाने विद्यार्थीलाई– ‘जान त जाऊ, तर फेरि फर्केर आफ्नै देश आऊ’ भन्ने गरेका छन्।


बुटवलबाट करिब १५ वर्षअघि काठमाडौँ आएँ। उता ब्याचलर्स गर्दै थिएँ। बुबाको राइस मिल र चाउचाउ फ्याक्ट्री थियो। त्यही चाउचाउ चिनाउन काठमाडौँ आएँ। दुई वर्ष चाउचाउ चिनाउन भनेर हिँडेँ। तर, यहाँ मैले सोचेजस्तो थिएन। यहाँको मार्केट एकदमै टफ रहेछ। चाउचाउलाई सोचेअनुरूप प्रचार गर्न सकिएन। चिनजानमा कोही थिएनन्। ठाउँ र परिवेश दुवै नौलो थियो। सन् २००५ मा एक जना साथीसँग मिलेर ‘रेक्स इन्टरनेसनल एजुकेसन’ सुरु गरेँ। त्यो एजुकेसनल कन्सलट्यान्सी सात वर्ष चल्यो। आजभोलिजस्तो इमेल–इन्टरनेटको पहुँच थिएन। युनिभर्सिटीलाई कुनै पत्र पठाउनुपरे फ्याक्स र कुरिअर गरेर पठाउनुपथ्र्यो। सुरुका केही वर्ष निकै संघर्ष गरियो। बिस्तारै धेरै कुरा सिक्दै गइयो। एकैछिन यो क्षेत्रमा झुल्केर अस्ताउनेवाला थिइनँ। यो क्षेत्रमा गम्भीर भएर लागेको थिएँ। यो क्षेत्रमा केही राम्रो र नयाँ गर्नुपर्छ भन्ने लाग्यो। केही नयाँ गर्ने उद्देश्यले चार जना साथी मिलेर ‘एजुकेसन पार्क’ जन्मायौँ। बीचमा तीन जना साथीको साथ छुट्यो। तर, म अहिले पनि यो क्षेत्रमा लागिरहेको छु। विशेष गरी युनिभर्सिटी र विद्यार्थीबीच पुल बनेर उनीहरूलाई सघाउने काम गर्छा। 

एजुकेसनलबाट करिअर काउन्सिलिङ

पहिला हामी शैक्षिक परामर्श मात्रै दिन्थ्यौँ। अहिले त्यो सँगसँगै करिअर काउन्सिलिङ पनि दिन थालेका छौं। करिअर काउन्सिलिङमा हामी विद्यार्थीलाई  ‘आफूलाई मन लागेको विषयमा मात्र पढ’ भनेर सुझाउँछौं। चाहे त्यो विदेशमा होस् वा स्वदेशमा। पहिला एजुकेसनल काउन्सिलिङ मात्र गर्दा व्यापार गरेजस्तो लाग्थ्यो। करिअर काउन्सिलिङ गर्न थालेपछि बल्ल काम गरेजस्तो महसुस हुन थालेको छ। एसईईमा राम्रो अंक आउनेबित्तिकै साइन्स पढ्नपर्छ भन्ने धारणा धेरैको छ। अहिले पनि विद्यार्थी र अभिभावकले डाक्टर, इन्जिनियर र पाइलटभन्दा अरू पेशा नै देख्दैनन्। त्योभन्दा बाहिर पनि थुप्रै विषय र क्षेत्र छन्। साइन्समा एकदमै राम्रो गरेको विद्यार्थीले साइन्समै करिअर नखोजेको हुन सक्छ। हाम्रो करिअर काउन्सिलिङबाट धेरै विद्यार्थी परिवारको दबाबबाट बाहिर रहेर आफ्नै रुचिको विषय छान्न थालेका छन्। यसलाई हामीले ठूलो उपलब्धि मानेका छौँ। 

विद्यार्थीलाई हामी ‘कुन देश जाने ?’ भनेर सोध्नुभन्दा पहिला “कुन कोर्स गर्ने ?’ भनेर सोध्छौँ। विद्यार्थी जाने देश दोस्रो प्राथमिकतामा पर्छ भने उसले पढ्ने कोर्स र उसको करिअरलाई हामी पहिलो प्राथमिकतामा राख्छौँ। 

यहाँ तीन प्रकारका विद्यार्थी छन्। एक खालका विद्यार्थी हुन्छन्, जो विदेश जाने बेला कुन देशमा कस्तो पढाइ हुन्छ, कुन युनिभर्सिटीको कस्तो कोर्स छ भन्ने जानकारी भएका हुन्छन्। त्यस्ता विद्यार्थी एकदमै कम छन्। दोस्रोमा आफन्त, परिवार र साथीको दबाबमा विदेश जान खोज्ने छन्। उनीहरूको आफ्नो निर्णय हुँदैन। तेस्रो, जुन देश भए पनि नेपालबाट उम्किन पाए हुन्थ्यो भन्ने खालका हुन्छन्। हामीले दोस्रो र तेस्रो खालका विद्यार्थीलाई लक्ष्य गरेर करिअर काउन्सिलिङ गरिरहेका छौँ। 

कन्सलट्यान्सी म्यानपावर होइन 

शैक्षिक परामर्श र करिअर काउन्सिलिङ नेपालको मात्र नभएर अन्तर्राष्ट्रिय अभ्यास हो। शैक्षिक परामर्श दिएर गरिब देशबाट धनी देशमा मात्रै विद्यार्थी पढ्न पठाउने भन्ने होइन। अमेरिकाका विद्याथी बेलायत पढ्न जान्छन्, बेलायतका अस्ट्रेलिया, अस्ट्रेलियाका जर्मनी। यो अन्तर्राष्ट्रिय ट्रेन्ड हो भन्ने कुरा मैले विभिन्न अन्तर्राष्ट्रिय वर्कसप र कन्फरेन्सबाट सिकेँ। आफूले गरिरहेको काम कुनै चानचुने काम रहेनछ भन्ने थाहा पाएँ। कन्सलट्यान्सी भन्नेबित्तिकै बाहिर पठाउने मात्रै होइन रहेछ। यसको प्रभाव निकै ठूलो हुने रहेछ। कुनै विद्यार्थी एउटा देशबाट अर्को देशमा पढ्नुको सँगसँगै विश्वभरिका मानिससँग जोडिन जान्छ। त्यो बिग नेटवर्क उसले आफ्नो देशमा प्रयोग गर्न सक्छ। ऊ विश्वको जुनसुकै कुनामा पनि बिक्न सक्छ। यस्ता धेरै देश छन्, जसले अन्तर्राष्ट्रिय शिक्षा लिएर पछि फर्किएर आफ्नै देशको विकास गरेका छन्। बाहिर गएर कमाउने पैसाभन्दा उसले लिने डिग्री र सीप देशका लागि धेरै काम लाग्ने रहेछ।

हाम्रो क्षेत्रमा क्षणभरको लागि आउने र क्षणभरमै हराउने धेरै छन्। कुनै देशले भिसा दिन थाल्यो भने त्यो देश पठाउनका लागि ५०—६० वटा कम्पनी जन्मिन्छन्। उनीहरूलाई यो क्षेत्रभन्दा पैसासँग मतलब हुन्छ। यसले राम्रो काम गर्नेहरूलाई पनि मारमा पार्छ। यहाँ आफ्नो खालको पहिचान छैन। त्यसैले धेरैले म्यानपावर र कन्सलट्यान्सीलाई उही ठान्छन्। तर, म्यानपावर र कन्सलट्यान्सी एउटै होइनन्। 

अब घर आऊ

हामी छिट्टै ‘अब घर आऊ’ अभियान सुरु गर्नेछौँ। यो अभियानबाट विदेशिएका नेपालीलाई घर फर्काउने हाम्रो प्रयत्न हो। हामीले आफ्नै देशमा फर्किएर केही गर्न चाहनेलाई सहयोग गर्ने भएका छौँ। उनीहरूको योजनालाई प्रोत्साहन गर्ने भएका छौं। हरेक वर्ष एक वा दुई जना व्यक्तिलाई उनीहरूको आइडिया र प्रोजेक्टका आधारमा छनोट गर्छौं। छनोट भएकालाई १० लाख रुपैयाँ ‘सिड फन्ड’ दिन्छाँै। 

हामीले यो अभियानमा शिक्षा, स्वास्थ्य, कृषि र प्रविधिमा जोड दिएका छौं। यी चार क्षेत्रमा केही नयाँ आइडियासहित नेपाल फर्केर काम गर्छु भन्नेलाई साथ दिने विचार गरेका छौँ। हामीले दिने भनेको प्लेटफर्म हो। उनीहरू नेपाल आएपछि तालमेल मिलाइदिने काम हाम्रो हो। बाँकी सबै उनीहरूले नै गर्नुपर्छ। उनीहरूको उद्देश्य नेपालमा आएर काम गर्ने खालको हुनुपर्छ। हामी उनीहरूलाई उनीहरूको योजना र अनुसन्धानमा साथ दिन्छौँ। 

हामीले पठाएका धेरै विद्यार्थी अस्ट्रेलियामा छन्। त्यसैले यो अभियानको थालनी अस्ट्रेलियाबाट आफूले नै पठाएका विद्यार्थीबाट गर्दै छौँ। यो ‘एप्लिकेसन इन्भिटेसन’ हो। केही समयपछि हामी आवेदन खोल्छौं। त्यसमा आफ्नो आइडिया र प्रोजेक्टसहित आवेदन भर्न सकिन्छ। उनीहरूको योजनामा हामी रकमसहित अनुसन्धानमा पनि सहयोग पुर्‍याउँछौँ। विदेशिएर फर्किएका धेरैमा ‘के गर्ने, कसरी गर्ने’ भन्ने अन्योल रहन्छ। यस्तो अवस्थामा लगानी डुब्ने डर हुन्छ। उनीहरू उताबाट फर्किएर आउँदा यहाँ धेरै कुरा परिवर्तन भइसकेको हुन्छ। त्यसैले यहाँ फर्किएर काम गर्न गाह्रो हुन्छ। हामी उनीहरूलाई सजिलो बनाइदिने प्रयासमा छौं। 

मैले यो अवधारणा सुरु गर्न खोजेको दुई–तीन वर्ष भयो। धेरैलाई मैले यो कुरा सुनाएको थिएँ। सबैले मलाई ‘कहाँ यस्तो पागल कुरा गरेको ?’ भनेर अगाडि आउन दिएनन्। ‘हामी विद्यार्थीलाई बाहिर पठाउने क्षेत्रमा काम गर्ने मान्छे, तिमी भने बाहिर गएकालाई फर्काउने कुरा गछौ’ भनेर धेरैले उडाए पनि। यो अवधारणाका लागि मैले एक जनाको साथ पनि पाइनँ।

हामीले भर्खरै विदेशिएका विद्यार्थीलाई फर्काउने होइन। टन्न लगानी गरेर गएको विद्यार्थी फर्किंदा पनि फर्किंदैन। तर, त्यहाँ लामो समय बसेर सीप र अनुभव बोकेकालाई फर्काउने हाम्रो प्रयत्न हो। धेरै देशको विकास बाहिर गएका जनशक्तिलाई आफ्नै देशमा फर्काएर भएको छ। नेपालमा पनि विदेशिएका जनशक्ति फिर्ता हुने हो भने देश विकास हुन धेरै समय लाग्दैन। हाम्रोमा विकास हुन अनुसन्धान गर्नुपर्दैन। विदेशबाट भित्रिएका टेक्नोलोजी चलाउने सीप भएका दक्ष जनशक्ति नहुँदा देशमा विकासको गति रोकिएको छ। 

विदेश गएर कृषि गरेको व्यक्तिले नेपाल आएर कृषिमा राम्रो गरेको उदाहरण थुप्रै छन्। श्रम गर्न गएको मानिसले त आफ्नै देशमा फर्किएर उदाहरणीय काम गर्न सक्छ भने पढ्न गएको मानिसले किन सक्दैन ? उनीहरूसँग सीपसँगै ज्ञान पनि हुन्छ। विश्वभरिका मानिससँग उनीहरू जोडिएका हुन्छन्। तिनैलाई नेपाल फर्काउने हाम्रो अभियान हो। 

पठाउन सजिलो, फर्काउन गाह्रो 

विकसित देशमा गएका मानिस फर्किन चाहँदैनन्। त्यहाँ उनीहरू व्यक्तिगत, आर्थिकदेखि धेरै कुरामा स्वतन्त्र हुन्छन्। कसैको अन्डरमा बस्न नपर्ने, आफैँ कमाउने, आफैँ रमाउने भएकाले उनीहरू फर्किन चाहँदैनन्। त्यस्तै, विदेशमा जस्तोसुकै कामको पनि सम्मान गरिन्छ। थुप्रै अवसर त्यहाँ छन्। धेरै मानिस उताको शिक्षा, स्वास्थ्य र अन्य सेवाका कारण पनि स्वदेश फर्कन चाहँदैनन्। जिन्दगीभर उतै भुलिन्छन्। विदेशिएका युवाका कारण गाउँ मात्रै होइन, आजभोलि शहर पनि खाली हुँदै गइरहेका छन्। तर, पहिलाको तुलनामा अहिले विदेशिने विद्यार्थीमा फर्किएर आफ्नै ठाउँमा आउनुपर्छ भन्ने सोच आएको छ। पहिला प्लस टू, ब्याचलर्स गर्न जाने धेरै थिए भने अहिले मास्टर्स गर्न जाने धेरै छन्। हामीले हाम्रोबाट जाने विद्यार्थीलाई सधैँ भन्ने गरेका छौं– ‘जान त जाऊ, तर फेरि फर्केर आफ्नै देश आऊ।’

(सृजना खड्कासँगको कुराकानीमा आधारित )

तपाईको कमेन्ट