बिनाकसुर झ्यालखाना !

writer

सृजना खड्का/सुमित सुवेदी

शुक्रबार, ०४ पुष २०७६


जेल सजाय काटेका निर्दाेषहरू...

कुरा करिब दुई वर्षअघिको हो। काठमाडौँ, बनस्थलीस्थित आफ्नो डेरामा बसिरहेका थिए, रेशम (नाम परिवर्तन)। प्रहरी चौकीबाट उनलाई उनको मिल्ने साथी आर्यन (नाम परिवर्तन) को फोन आयो। 

‘बिनाकारण मलाई पुलिसले समातेर ल्यायो, यार ! तँ एक पटक आइदिनुपर्‍यो,’ आर्यनले फोनमा भने। साथीलाई आपत् परेकाले रेशम महाराजगञ्ज चौकीमा पुगे। त्यहाँ पुगेपछि मात्र उनले घटनाको सार बुझे। उनको साथीमाथि जबर्जस्ती करणीको आरोप लागेको रहेछ। 

आर्यन खाजाघर चलाउँथे। घटनाको मुख्य आरोपी आर्यनका साथी श्यामसुन्दर (नाम परिवर्तन) फरार थिए। आर्यनको खाजाघरमा श्यामसुन्दर र जाहेरी दिने महिला बेलाबखत खाजा खान आइरहन्थे। घटना भएको केही समयअघि आर्यनको भेट श्याससुन्दरसँग भएको थियो। ‘श्यामसुन्दर फरार भएकाले सोधपुछका लागि मेरो साथीलाई चौकीमा लगिएको रहेछ,’ रेशमले भने, ‘यो कुरा थाहा पाएपछि मैले साथीलाई नबिराउनु÷नडराउनु भन्दै ‘तैँले गल्ती गरेको छैनस् भने तँलाई केही हुँदैन, नडरा’ भनेर त्यहाँबाट निस्किएँ।’ 

चौकीबाट निस्केर केही पर पुगेका थिए, रेशम। उनलाई कसैले ‘फलो’ गरेको भान भयो। एक जना मानिसले उनलाई रोके र भने– ‘भाइको घर कहाँ ? भाइ के गर्ने ? यसो एकछिन चौकीसम्म जाऊँ न, तपाईंको साथी पनि त्यहाँ छ क्यारे, हैन र ?’ ती व्यक्ति सिभिल ड्रेसमा खटिएका प्रहरी थिए। ‘मैले गल्ती नगरेकाले फेरि चौकी जान मलाई आपत्ति थिएन,’ रेशमले भने। 

चौकीमा पुग्दा त्यहाँको वातावरण फेरिइसकेको थियो। बलात्कारको आरोप ‘सामूहिक करणी’ मा परिवर्तन भइसकेको थियो। साथीलाई भेट्न चौकी पुगेका रेशमलाई प्रहरीले हिरासतमा लियो। ‘पीडितले पहिले नै तीन जनाले सामूहिक बलात्कार गरेको जाहेरी दिएकी रहिछन्,’ रेशमले भने, ‘त्यति बेलासम्म न मैले ती महिलालाई देखेको थिएँ, न त मलाई उनको नामै थाहा थियो। प्रहरीले पहिला ‘श्यामसुन्दरलाई झिकाओ, त्यसपछि मात्रै तिमीहरूलाई छाडिदिन्छु’ भनेका थिए।’

२४ घण्टासम्म मुख्य आरोपी श्यामसुन्दर नभेटिएपछि प्रहरीले म्याद थप गर्‍यो। हिरासतबाटै आर्यनले श्यामसुन्दरको पक्राउमा सक्दो सहयोग गरे। बयान फेर्ने डरले प्रहरीले आर्यन र रेशमलाई छुट्टाछुट्टै कोठामा राखेको थियो। ‘बिनाकसुर सजाय भोग्नुपरेकाले म मुर्मुरिएर बसिरहेको थिएँ,’ रेशमले भने, ‘त्यही बेलामा एक जनालाई पक्राउ गरेर म बसेकै कोठामा ल्याइयो। ‘तिमी चाहिँ कुन केसमा पर्‍यौ, भाइ ?’ भनेर मैले सोधेँ। उसले ‘एउटीले बलात्कारको आरोप लगाइछ, दाइ’ भन्यो।’ 

भोलिपल्ट ‘सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ’ भन्ने शीर्षकमा छापिएको पत्रिका रेशमलाई देखाउँदै श्यामसुन्दरले भन्यो, ‘दाइ, मलाई यही केसमा समातिएको हो।’ 

रेशमले समाचार पढ्दा आफू र आफ्नो साथीको नाम पनि देखे। ‘त्यो समाचार हाम्रै बारेमा लेखिएको थियो,’ रेशमले भने, ‘हाम्रो केसमा फरार भएका व्यक्ति मेरैसामु रहेछन्। मैले त्यो कुरा पत्रिका पढेपछि मात्रै थाहा पाएँ।’ 

‘हामी बेकसुर छौँ, हाम्रो केही गल्ती छैन’ भनी रेशम र आर्यनले बारम्बार भनिरहे। तर, उनीहरूको केही सीप लागेन।   

२४ दिनसम्म उनीहरू तीनै जनालाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्यो। त्यसपछि उनीहरूलाई अदालतमा उपस्थित गराइयो। ‘२४ दिनपछि बल्ल हामीले आफ्नो कुरा राख्न पायौं,’ रेशमले भने, ‘त्योभन्दा अगाडि हाम्रो कुरा कसैले सुनेनन्। आर्यन र मैले अदालतमा आफूहरू निर्दोष भएको बतायौं।’ 

अदालतमा श्यामसुन्दरले भने, ‘हाम्रो बीचमा शारीरिक सम्बन्ध भएकै हो, तर सहमतिमा। रेशम दाइलाई त मैले चिनेकै छैन। आर्यन मेरो साथी हो, तर उसको केही गल्ती छैन।’ 

यसपछि आवश्यक अनुसन्धान गरिने भन्दै तीनै जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठायो। थुनामा पठाएको तीन महिनापछि उनीहरूलाई अदालतमा पुनः उपस्थित गराइयो। तर, त्यो बेला जाहेरी दिने महिला अदालतमा उपस्थित भइनन्। पटक–पटक गरेर चौथो पटकसम्म पनि जाहेरीवाला अदालतमा उपस्थित भइनन्। पाँचौ पटकमा जाहेरीवालालाई जसरी भए पनि उपस्थित गराउन अदालतले प्रहरीलाई आदेश दियो। बल्ल प्रहरीले ती महिलालाई उपस्थित गरायो। यतिबेलासम्म डेढ वर्ष बितिसकेको थियो।

अदालतमा महिलाले रेशमलाई नचिनेको र दुवैको यसमा केही दोष नभएको बताइन्। उनको प्रारम्भिक बयान र अदालतमा दिएको बयान नमिलेपछि उनलाई अदालतले प्रश्न गर्‍यो। ‘मैले श्यामसुन्दरको मात्र नाम लिएकी थिएँ,’ ती महिलाले अदालतमा भनिन्, ‘पुलिसले कसरी दुई जनाको नाम जोडिदियो, मलाई थाहा छैन।’

‘हामीलाई जाहेरी हाल्ने महिलालाई डेढ वर्षपछि पहिलो पटक मैले अन्तिम फैसला हुने दिन अदालतमा देखेको थिएँ,’ रेशमले ‘अन्नपूर्ण सम्पूर्ण’सँग भने, ‘मैले बुझेअनुसार उनलाई एउटा आईएनजीओले उजुरी हाल्न लगाएको थियो।’ 

प्राप्त प्रमाण र जाहेरीवालाले दिएको बयानका आधारमा रेशम र आर्यनलाई अदालतले सफाइ दियो। श्यामसुन्दरलाई पाँच वर्षको जेल सजाय तोकियो। 

तर, यतिमै रेशमले शान्ति पाएनन्। सरकारी वकिलले केसलाई उच्च अदालत पुर्‍याए। निर्दोष भएका कारण उच्च अदालतबाट पनि उनकै पक्षमा फैसला भयो। 

‘निर्दोष हुनुको प्रमाण कतिलाई देखाऊँ ?’

सफाइ पाएर छ महिनाअघि छुटेका रेशम कपडा व्यापारी थिए। यो डेढ वर्षमा आफ्नो इज्जतमा मात्र धक्का नलागेर व्यापार व्यवसाय पनि चौपट भएको उनी बताउँछन्। ‘मैले पैसा दिनुपर्नेहरू कहिले निस्केला र पैसा पाउँला भनेर बसेका थिए,’ उनले भने, ‘लिनुपर्ने मानिसहरू अहिले सम्पर्कमा छैनन्। बलात्कारको केसमा जेल परेको थाहा पाएपछि कोही पनि मसँग कारोबार गर्न तयार छैनन्।’ अहिले उनी बेरोजगार भएका छन्। ‘म जेलमा परेको कुरा एक घण्टा नबित्दै सारा संसारले थाहा पायो,’ उनले भने, ‘तर, म निर्दोष भएर सफाइ पाएको कुरा समाजले स्विकारेको छैन। अझै मानिसहरू मलाई बलात्कारीकै रूपमा हेर्छन्। ‘म निर्दोष छु’ भन्दै कतिलाई सफाइको कागज देखाउँदै हिँड्नु ?’ 

निर्दोष भएर जेल बस्नुको पीडा शब्दमा बयान गर्न नसकिने उनले बताए। ‘म ती दिन झुक्किएर पनि सम्झन चाहन्नँ,’ रेशमले भने, ‘डेढ वर्ष जेल बस्दा म समाजमा डेढ दशक पछाडि धकेलिएँ।’ यो घटनाबाट आफ्नो भविष्य नै अन्धकार भएको उनले बताए। ‘अब मैले कसलाई उजुरी हाल्ने ? कोसँग क्षतिपूर्ति माग्ने ?’ उनले भने, ‘मलाई गलत आरोप लगाउने महिलालाई मुद्दा हालौँ कि राम्रोसँग अनुसन्धान नगर्ने प्रहरीलाई हालौँ ? वा डेढ वर्षपछि फैसला गर्ने अदालतलाई ?’

सजाय सकिन पाँच दिनअघि पाएको सफाइ 

२०७४ साल जेठ ८ गते काभ्रेका २८ वर्षीय हिमाल (नाम परिवर्तन) काठमाडौं, कोटेश्वरस्थित डेरामा बेलुकाको खाना पकाउने तरखरमा थिए। साँझ ७ बजेको थियो। अचानक कसैले उनको ढोका ढकढकायो। ‘कोही साथी आयो कि भन्ने लागेर ढोका खोलेँ,’ हिमालले भने, ‘ढोका खोल्दा त बाहिर प्रहरी पो रहेछन्। उनीहरूले ‘तपाईंविरुद्ध उजुरी परेको छ’ भन्दै मलाई टेकुको प्रहरी चौकी लगे।’ 

त्यो रात आफूविरुद्ध केको उजुरी परेको उनले थाहा पाएनन्। भोलिपल्ट बल्ल थाहा भयो– उनीमाथि फिरौती मागेको र ज्यान मार्ने धम्की दिएको आरोप लागेको रहेछ। सदन अग्रवाल नाम गरेको व्यक्तिले फोनबाट धम्की आयो भन्दै जाहेरी दिएका रहेछन्। त्यही आधारमा प्रहरीले हिमाललाई गिरफ्तार गरेको रहेछ। 

हिमालका अनुसार उनी त्यो सिम पहिला चलाउँथे, तर केही समयअघि उनको मोबाइल हराएको थियो। ‘त्यो सिम मेरै थियो,’ उनले भने, ‘मोबाइल हराएपछि मैले अर्कै सिम निकालेँ। मबाट सिम बरामद भएको होइन। मेरो नाममा सिम भएको आधारमा पुलिसले मलाई समातेको रहेछ।’

हिरासतमा लिएको चारपाँच दिनसम्म उनले प्रहरीको चुटाइ खाए। ‘प्रहरीले साँचो कुरा भन्’ भनेर नराम्रोसँग पिट्यो,’ उनले ‘सम्पूर्ण’सँग भने, ‘त्यो सिमबाट छ महिनादेखि मैले कसैलाई कलै गरेको थिइनँ, धम्की त परको कुरा !’ 

प्रहरीले समातेको आठ दिनपछि हिमाललाई अदालतमा उपस्थित गराइयो। अदालतले उनलाई पुर्पक्षका लागि नख्खु जेल चलान गर्‍यो। एक वर्षपछि जाहेरी दिने अग्रवालले अदालतमा हिमाललाई नचिनेको, तर धम्की उनकै नाममा रजिस्टर भएको नम्बरबाट आएको बताए। ‘मैले अदालतमा आफू निर्दोष रहेको र कसैलाई धम्की नदिएको बताएँ,’ हिमालले भने, ‘तर, नम्बर मेरो नाममा दर्ता भएकै आधारमा अदालतले साढे दुई वर्षको सजाय सुनायो।’ 

आफू निर्दोष भएकाले उनी जिल्ला अदालतको फैसलाबाट सन्तुष्ट भएनन्। अन्यायमा परेको भन्दै उनले आफ्नो केस वकिलमार्फत पुनरावेदन अदालतसम्म पुर्‍याए। ‘लामो समयसम्म फैसला हुन सकेन,’ हिमालले भने, ‘म जेलमा फैसलाको दिन गनेर बस्थेँ। बिनाकसुर जेल सजाय काट्नुको पीडा मलाई जति कसलाई थाहा होला ?’

समय बित्यो। आफ्नो पक्षमा फैसला होला भन्ने आश उनले मारिसकेका थिए। ‘गल्ती गरेर १५÷२० वर्ष जेल सजाय तोकिएकाहरू ‘गल्ती गरेकै त हो नि’ भनेर आनन्दले बस्थे,’ हिमालले भने, ‘तर, गल्ती नै नगरेको हुनाले साढे दुई वर्षको सजाय पनि मलाई जन्मकैदजस्तो लाग्थ्यो।’ 

साढे दुई वर्षको जेल जीवन सक्किन पाँच दिन बाँकी थियो। त्यही बेला पुनरावेदन अदालतले उनको पक्षमा फैसला गर्‍यो। ‘भ्वाइस टेस्ट’मा हिमालको आवाज मेल नखाएपछि उनले सफाइ पाए। ‘त्यो निर्णयले मलाई हर्ष न विस्मात् भयो,’ उनले भने, ‘निर्दोष भएर पनि साढे दुई वर्ष जेल जीवन काट्नुपरेकोमा दुखी हुनु कि पाँच दिनअघि सफाइ पाएकोमा खुशी हुनु ? सोच्नै सकिनँ।’

निर्दोष भएर पनि यति लामो सजाय काट्नुपरेको विरोधमा हिमालले त्यो पाँच दिन पनि जेलभित्रै बस्ने निर्णय गरे। ‘त्यो पाँच दिन म खुशीले बसेको थिइनँ,’ उनले ‘सम्पूर्ण’सँग भने, ‘गल्ती नै नगरी यत्रो समय जेल बस्नुपरेपछि पाँच दिनको के कुरा भन्दै अनुसन्धान नगर्ने प्रहरी र लाचार कानुनप्रति विरोध जनाएको थिएँ।’

उनी यही मंसिर ८ गते जेलबाट छुटेका हुन्। जेलबाट निस्किए पनि आफूले कुनै क्षतिपूर्ति नपाएको उनले गुनासो गरे। ‘क्षतिपूर्तिको त कुरै छाडौँ, उल्टै मेरो भएको इज्जतमा पनि नराम्रो दाग लाग्यो,’ हिमालले भने, ‘जेलबाट बाहिर आएको दिनदेखि अहिलेसम्म मलाई न दिनमा भोक छ, न रातमा निन्द्रा।’ 

अपहरणको मुद्दामा जेल परेका हिमालको गाँउ काभ्रेमा अर्कै हल्ला फैलियो। ‘सबैले ‘फलानाको छोरो मान्छे मारेर जेल गएको रे’ भनेर हल्ला फैलिएछ,’ उनले भने, ‘अब यो मुख लिएर आफ्नै गाउँ जाने हिम्मत पनि ममा छैन। अहिले म गरिखानु न मरिजानुको अवस्थामा छु।’

हिमाल अविवाहित हुन्। उनलाई आजभोलि आफूसँग कसले बिहे गर्ला भन्ने चिन्ता लाग्न थालेको छ। ‘सुन्छु, जेल बसेर आएको भनेपछि कसैले छोरी दिदैनन् रे,’ उनले भने ‘ढाँटेर बिहे गरौँ भने पछि श्रीमतीले थाहा पाएर ठगीको मुद्दा हाली भने फेरि अर्को फसाद !’

उनीसँग पहिला सम्बन्धमा भएका केटी साथीहरू अहिले बोलाउँदा पनि बोल्दैनन्। जेलबाट छुटेर आएपछि आफूलाई मानिसले हेर्ने दृष्टिकोण नकारात्मक भएको उनको गुनासो छ। ‘मेरो परिवारलाई मात्र म निर्दोष हुँ भन्ने थाहा छ,’ उनले भने, ‘बाँकी सबै मलाई अपराधी ठान्छन्।’ प्रहरीले राम्रोसँग अनुसन्धान नगर्नाले आफ्नो जीवन बर्बाद भएको हिमालको ठम्याइ छ। ‘मैले जेलबाट निस्केपछि सबै बयान र फैसलाहरू अध्ययन गरेँ,’ उनले भने, ‘त्यहाँ त मेरो बयान नै फेरिएको रहेछ। नस्विकारेको आरोप पनि बयानमा स्विकारेको बनाइएको रहेछ। पछि पुनरावेदनमा केस पुगेर मेरो भ्वाइस र धम्की दिने मानिसको भ्वाइस नमिलेपछि  सफाइ पाएको रहेछु।’ 

‘जेलमा साथी थिए, बाहिर कोही पनि छैन’

दीपकराज भण्डारी कामको सिलसिलामा हेटौँडा बस्थे। उनकी श्रीमती तारादेवी काठमाडौँ, रातोपुलमा बस्थिन्। 

२०७० साल भदौ ५ गते दीपक हेटौँडाबाट आफ्नो काम सकेर काठमाडौँ आएका थिए। ‘म काठमाडौँ आएको दुई दिनपछि प्रहरीले म र मेरी श्रीमतीलाई पक्रिएर लग्यो,’ उनले ‘सम्पूर्ण’सँग भने, ‘किन समातेको, मलाई केही थाहा थिएन। प्रहरीले घटनाको बारेमा एक शब्द नबताई गौशालाको प्रहरी चौकीमा लग्यो।’

चौकीमा पुगेपछि आफूहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती करणीको मुद्दा लगाइएको उनले थाहा पाए। उनकी श्रीमती केही समयअघिसम्म मेनपावर कम्पनी चलाउने गर्थिन्। तारादेवीले आफ्नै मेनपावरबाट घरमा काम गर्न राखेकी मनमाया (नाम परिवर्तन) महिलालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाएकी थिइन्। २२ महिना इजरायल बसेर फर्किएकी मनमाया भण्डारी दम्पतीकहाँ आउजाउ गरिरहन्थिन्। ‘एक दिन मनमायाले छिमेकमा बस्ने १५ वर्षकी किशोरी साथमा लिएर आइछन्,’ दीपकले भने, ‘त्यो बेला म हेटौँडामा थिएँ। घरमा मेनपावरको एक जना कर्मचारी पनि आएको रहेछ। मेरी श्रीमती घरको काममा व्यस्त थिइन्। मनमायाले ती किशोरी र कर्मचारीबीच मोलतोल गरेर शारीरिक सम्बन्ध राख्न लगाइछन्।’ पछि उनीहरूबीच कुरा नमिलेर ती किशोरी प्रहरीसम्म पुगेको उनले बताए। 

‘श्रीमती घटना भएको दिन घरमै भएकाले उनलाई समात्नु जायज थियो,’ दीपकले भने, ‘तर, घरमै नभएको मलाई प्रहरीले किन समात्यो, मैले अहिलेसम्म बुझ्न सकेको छैन।’ 

उनीहरूसँगै मनमाया पनि समातिएकी थिइन्। उनलाई बालिकालाई पैसाको लोभलालच देखाई यौन क्रियाकलापमा संलग्न गराएको अभियोग लागेको थियो भने तारादेवी र दीपकलाई यौन अखडा चलाएको आरोप थियो। प्रहरीको अनुसन्धानपछि उनीहरू तीनै जनालाई पुर्पक्षका लागि जेल चलान गरियो। 

दीपकले करिब दुई वर्ष जेल जीवन बिताए। ‘जेल बस्दाका हरेक दिन मलाई याद छ,’ उनले भने, ‘जेलमै हुँदै महाभूकम्प गयो। हामीलाई राखिएको पुरानो भवनले किचेर धेरैले ज्यान गुमाए। धन्न बाँचियो। मरेको भए गल्ती नै नगरी एक अपराधीका रूपमा ज्यान गुमाउनुपथ्र्यो।’

तारादेवी र मनमायालाई अदालतले १० वर्षको सजाय सुनायो। २२ महिनापछि दीपक निर्दोष भएको भन्दै अदालतले सफाइ दियो। ‘म निर्दोष रहेछु त प्रहरीले राम्रोसँग किन अनुसन्धान गरेन ?’ उनले भने, ‘पहिल्यै स्पष्ट अनुसन्धान गरेको भए अहिले समाजले मलाई अपराधी ठान्ने थिएन।’ 

उनी जेलबाट निस्केको वर्षौं भइसक्यो। तर, अहिले पनि उनको जीवन जेल जीवनभन्दा कम छैन। अहिले उनी काठमाडौँ, चण्डोलमा बस्छन्। ‘आरोप लागेपछि पहिलाको घरमा बस्न अप्ठ्यारो भयो,’ दीपकले भने, ‘समाजका मानिसले छिःछिः र दूरदूर गर्लान् भन्ने डरले घर नै बेचेर अहिले भाडाको घरमा बसेको छु।’ 

चण्डोलमा पनि उनी जेल जीवन काटेर आएको कुरा गाँइगुँइ हुन थालेको छ। ‘यहाँ पनि मानिसहरू मसँग राम्रो व्यवहार गर्दैनन्,’ उनले भने, ‘यो घर पनि मलाई जेलभन्दा कम छैन। जेलमा त कमसे कम दुःख पोख्ने साथी त थिए, यहाँ त कोही पनि छैन।’ उनी दिनभरि घरमा टीभी हेरेर बस्छन्। ‘बाहिर निस्किनेबित्तिकै मानिसहरू कानेखुसी गर्न थाल्छन्,’ उनले भने, ‘त्यसैले श्रीमतीलाई भेट्न जानबाहेक अरू बेला बाहिर निस्किन्न। अब उनी तीन वर्षपछि छुट्छिन्। त्यसपछि कसैले नचिन्ने ठाउँमा बसाइ सर्छु।’ 

उनीहरूका दुई छोरा छन्। प्रहरीको फन्दामा परेदेखि उनीहरूले पनि खासै वास्ता गर्दैनन्। ‘दुवै छोरा ३० कटिसके,’ उनले भने, ‘छोराहरूका लागि केटी माग्न जाने आँट पनि आउँदैन। ‘केटाको बाउ  जेल गएर आएको, आमा अहिले पनि जेलमै छे’ भनेको थाहा पाएपछि कसले छोरी दिन्छ ?’ अहिले उनी भएको जग्गा बेच्दै गुजारा गरिरहेका छन्। 

झुटो आरोपको पीडा 

गत कात्तिक ११ गते साँझ ७ बजे ६३ वर्षीया सीता सिलवालको मोबाइलमा फोन आयो। ‘म यता महाराजगञ्ज प्रहरी वृत्तबाट बोलेको, तपाईं आफ्ना दुई छोरालाई लिएर तुरुन्त यहाँ आउनुस्,’ उताबाट फोनमा कसैले आदेश दियो।  

सीताले थप कुरा बुझ्न खोज्दै भनिन् ‘कुरा के हो ? अहिले अँध्यारो छ। भोलि आँउदा हुँदैन ?’

उताबाट हप्काउँदै भनियो, ‘तपार्इंहरूविरुद्ध अपहरणको केस परेको छ। यस्तो केसमा सातदेखी १५ वर्षसम्मको सजाय हुन सक्छ। तपाईंहरू आउनुहुुन्छ कि भ्यान लिएर हामी आफैँ आऊँ ?’

यति सुनिसकेपछि मुटुको रोगी सीताको होसहवास गुम भयो। ‘एक्कासि मेरो मुटु भारी भयो,’ उनले भनिन्, ‘उनीहरूको कुराले मेरो सास नै रोकिएलाजस्तो भयो। हस्याङफस्याङ गर्दै हामी तीन जना, दुई जना चिचिला नातिसमेत बोकेर पुलिस थाना गयौँ।’ 

त्यहाँ पुगेपछि थाहा भयो, उनीहरूविरुद्ध छिमेकी एक महिलाले उनको छोराको अपहरण गरेको आरोप लगाएकी रहिछन्। ‘उनीसँग हाम्रो जग्गाको विषयमा खटपट परेको थियो,’ उनले भनिन्, ‘त्यसैको बदला लिन हामीलाई अपहरणको आरोप लगाइएको रहेछ। पछि उनको छोराले कसैले अपहरण नगरेको र आफू ठमेलमा साथीहरूसँग घुम्न गएको भनेपछि हामीलाई छोडियो।’ 

अपहरणमा परेको व्यक्ति नभेटिएको भए आफूहरूलाई प्रहरीले थुनामा राख्ने उनले बताइन्। ‘यहाँ जसले जे भनेर उजुरी दिँदा पनि हुने रहेछ,’ उनले भनिन्, ‘सामान्य जाहेरीका भरमा प्रहरीले रातबिरात फोन गरेर थर्काउँदा मेरो स्वास्थ्य र नातिहरूको मानसिकतामा असर पर्‍यो। त्यसको भर्पाई कसले गर्छ ?’ चौकीबाट फर्किएपछि सीता धेरै दिन बिरामी परिन्। ‘अहिले पनि अस्पताल धाइरहेकी हुन्छु,’ उनले भनिन्। 

गलत आरोप लगाउनेमाथि मानहानिको मुद्दा चलाउनुपर्‍यो भनेर उनीहरू फेरि उजुरी हाल्न अर्को दिन प्रहरी चौकी गए। ‘तर, प्रहरीले झुटा आरोप लगाउनेविरुद्ध कुनै कानुन नभएको भनेर हामीलाई फर्कायो,’ सीताले भनिन्, ‘यस्तो कानुनले निर्दोषमाथि धेरै अन्याय गरेको छ।’

स्टिङ अपरेसनका नाममा 

अधिवक्ता अमृत शर्मासँग निर्दोषहरूको पक्षमा यस्ता धेरै केस लडेको अनुभव छ। त्यस्तै एउटा केस उनी सम्झिरहन्छन्। 

केही महिनाअघि मिडियामा एउटा घटना चर्चामा आयो। कपिल (नाम परिवर्तन) ले जागिर लगाइदिन्छु भन्दै होटलमा बोलाएर महिलाहरूमाथि जबर्जस्ती करणी गर्ने गरेको पोल टेलिभिजनले खोल्यो। त्यसमा एक महिलाले आफूमाथि अन्याय भएको भन्दै टेलिभिजन प्रस्तोता र प्रहरीलाई साथ लिएर कपिलले बोलाएको होटलमा गइन्। केस अदालतसम्म पुग्यो। कपिल चार महिनासम्म थुनामा परे। चार महिनापछि अदालतले उनलाई निर्दोष साबित गरेर सफाइको एउटा कागज हातमा थमाएर घर पठाइदियो। 

‘त्यो केस मैले नै हेरेको थिएँ,’ अधिवक्ता शर्माले ‘सम्पूर्णसँग’ भने, ‘उनीहरू दुई जनाको फेसबुकमा चिनजान भएको रहेछ।’ उनका अनुसार फेसबुकमा एक दिन कपिलले युवतीलाई सेक्सको प्रस्ताव राखेका रहेछन्। त्यो प्रस्तावमा महिलाले मञ्जुरी पनि जनाइछन्। तर, त्यो म्यासेज लिएर उनी टेलिभिजन प्रस्तोताकहाँ पुगिछन्। ‘टेलिभिजन प्रस्तोताले स्टिङ अपरेसन गर्ने भन्दै प्रहरीसँग मिलेर गैरकानुनी पासो थापेर टेलिभिजनमा कपिलको बेइज्जत गरे,’ शर्माले भने, ‘यौन प्रस्ताव राख्दैमा कोही व्यक्ति अपराधी हुँदैन। यसमा उसलाई जबर्जस्ती करणीको आरोपमा केस चलाउन पनि मिल्दैन। त्यो केसमा महिलाले मञ्जुरी जनाएर कपिललाई बोलाएकी रहेछिन्।’ प्रहरी र मिडियाले गर्ने यस्ता स्टिङ अपरेसनमा धेरै निर्दोष पर्ने गरेको शर्माले बताए। ‘यौनको प्रस्ताव राख्दैमा मानिसलाई स्टिङ अपरेसनका नाममा जेल कोच्ने हो भने जेलमा मान्छे अटाई–नअटाई हुन्छन्,’ उनले भने, ‘बलात्कारको आरोपमा राष्ट्रिय टेलिभिजनबाट कपिल समातिएको दृश्य सारा संसारले देख्यो। तर, चार महिनापछि उनी बेकसुर भएर छुटेको कसैले सुइँकोसमेत पाएन।’ कपिलको जीवन ध्वस्त भएको शर्माले बताए। ‘उनी बाहिर आएपछि डिप्रसनको शिकार भएका थिए,’ उनले भने, ‘समाजमा मुख देखाउन नसकेर अहिले गुमनाम छन्। कसैको सम्पर्कमा छैनन्।’ 


निर्दाेषले क्षतिपूर्तिको मागदाबी गर्न सक्छ 

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी विश्वराज पोखरेल प्रहरीले कसैलाई समात्नेबित्तिकै उसलाई दोषी ठहर्‍याउने नगरेको बताउँछन्। ‘हामी मानिसलाई समातेर ल्याउनेबित्तिकै दोषी ठहर्‍याउँदैनाँै,’ उनी भन्छन्, ‘हामीकहाँ आउने सबै व्यक्ति निर्दोष भएर आउँछन्। प्रमाणले दोषी साबित गरेपछि मात्र हामीले उनीहरूलाई अदालत पुर्‍याउने हो। किनभने, प्रमाणले कहिल्यै झुटो बोल्दैन।’

अधिवक्ता शर्मा अहिलेको मुलुकी फौजदारी कार्यविधि संहिताले जेल परेर सफाइ पाएका निर्दोष मानिसहरूका हकमा विभिन्न क्षतिपूर्तिको व्यवस्था गरेको बताउँछन्। ‘यदि उसलाई प्रहरीले झुटा प्रमाण बनाई अदालतमा पेश गरेको भन्ने लाग्छ भने उसले प्रहरीसँग क्षतिपूर्तिको मागदाबी गर्न सक्छ,’ उनी भन्छन्, ‘त्यस्तै, नियतसंगत ढंगले कसैले फसाउन खोजेको मानिसमाथि पनि सजाय हुने व्यवस्था कानुनमा उल्लेख छ।’ तर, अहिलेसम्म कोही पनि यस्तो कानुनमा टेकेर आफूलाई अलत आरोप लगाउनेविरुद्ध लडेको उनले पाएका छैनन्। ‘लामो समय बिनाकसुर लडाइँ लडेर आएको व्यक्ति फेरि पैसा खर्च गरेर अर्को लफडामा होमिन चाहँदैन,’ अधिवक्ता शर्मा भन्छन्, ‘ऊ फेरि दोहोर्‍याएर झुक्किएर पनि प्रहरी चौकी र अदालतको चक्कर काट्न चाहँदैन।’ 

मनोविद् गोपाल ढकाल जेल जीवन बिताएर फर्किने जो कोहीलाई पहिला मानसिक रूपमा बलियो बनाउनुपर्ने बताउँछन्। ‘लामो समयपछिको सफाइपछि जेल जीवन काटेर आएकालाई जेलबाट सीधै घर पठाउनुभन्दा पहिला उनीहरूलाई मनोपरामर्श दिनुपर्छ,’ उनी भन्छन्, ‘त्यसले उनीहरूलाई मानसिक रूपले बलियो बनाउँछ र समाजले लगाउने लाञ्छनासँग लड्न सिकाउँछ।’ यसो गर्न नसकिए उक्त व्यक्ति बदला साध्न आपराधिक क्रियाकलापमा संलग्न हुन बेर नलाग्ने उनी बताउँछन्। ‘बदला लिने क्रममा जे पनि गर्न सक्छन्,’ मनोविद् ढकाल भन्छन्, ‘त्यसैले यस्तो मानिसको हकमा सूचना प्रकाशित गरेर होस् वा क्षतिपूर्ति दिएर होस्, उसको प्रतिष्ठा र इज्जत फर्काउने काममा सक्दो सहयोग गर्नुपर्छ। तर, यस्तो केसमा दिइने आर्थिक क्षतिपूर्तिले मनोवैज्ञानिक रूपमा पारेको असरको क्षतिपूर्ति गर्न सक्दैन।’


‘प्रहरीले समाउनेबित्तिकै कोही अपराधी भइहाल्दैन’ 

डीआईजी विश्वराज पोखरेल,प्रवक्ता, प्रहरी प्रधान कार्यालय, नक्साल

हाम्रो सिद्धान्त बरु १० जना अपराधी छुटून्, तर एक जना पनि निर्दोष मान्छेले जेल जान नपरोस् भन्ने छ। यदि कोही निर्दोष मानिस हाम्रो कारण वा कमजोरीले जेल पर्छ भने उसलाई भन्दा बढी पीडा हामीलाई हुन्छ। कुनै केस हामीसम्म आइपुगेपछि त्यसको हामी प्रारम्भिक अनुसन्धान गर्छौं। अनुसन्धानको प्रमुख कडी नै प्रमाण संकलन हो। आरोपीका विरुद्धमा प्रमाण फेला परे र आरोपीले त्यो आरोपलाई ‘डिफेन्ड’ गर्न सकेन भने ऊमाथि मुद्दा चलाइन्छ। हामीले पेश गरेका प्रमाणहरू अदालतलाई चित्त बुझ्यो भने अदालतले त्यसमा थप अनुसन्धानका लागि आरोपीलाई पुर्पक्षका लागि जेल चलान गरिदिन्छ। यस्तो अवस्थामा कतिपय व्यक्ति अदालतबाट सफाइ पाएर निस्कन्छन्। तर, कसैले अदालतबाट सफाइ पायो भन्दैमा प्रहरीले प्रारम्भिक अनुसन्धान राम्रोसँग गरेन भन्न मिल्दैन।

हामीले सुरुमा समातेर ल्याउनेबित्तिकै कसैलाई पनि दोषी ठहर्‍याउँदैनौं। प्रमाणले दोषी साबित गरेपछि मात्र हामी उसलाई अदालत पुर्‍याउँछाँै।  

कुनै पनि अपराधमा एक जना मानिस मात्र संलग्न हुन्छ भन्ने हुँदैन। उसका आसपासका मानिस पनि प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा घटनामा संलग्न भएका हुन सक्छन्। यसैले उसका आसपासका मानिसहरूसँग पनि छानबिन गर्नु हाम्रो कर्तव्य हो। एउटा अपराधीले अपराध गरिसकेपछि प्रमाणहरू मेटाउन भरपूर प्रयास गरेको हुन्छ। ती प्रमाण खोज्न हामीले धेरै मेहनत गर्नुपर्छ। एउटा प्रमाण भेटिनेबित्तिकै त्यो प्रमाणसँग आरोपी मात्र नभई धेरै मानिस जोडिएका हुन सक्छन्। यस्तो अवस्थामा हामी सोधपुछका लागि मानिसहरूलाई चौकी बोलाउँछौँ। तर, कतिपय मानिस ‘बिना पक्राउ पुर्जी प्रहरी घरमा आएर समातेर लग्यो’ भन्छन्। पक्राउ पुर्जीबिना समातिएका मानिसलाई अनुसन्धानमा सहयोग पुगोस् भनेर सोधपुछका लागि मात्रै लगिएको हुन्छ। 

हाम्रो काम अनुसन्धानबाट प्राप्त भएका तथ्यलाई अदालतसम्म पुर्‍याउने हो। आरोपी निर्दोष छ भने उसले वकिलमार्फत आफ्नो प्रतिरक्षा गर्न पाउँछ र सफाइ पाउन सक्छ। सफाइ पाएको मानिसलाई समाजमा कसैले अपराधी मान्छ भने त्यो हाम्रो गल्ती होइन, समाजको सोच गलत हो। 


‘झुटो आरोपमा धेरैको जीवन बर्बाद भएको छ’ 

अमृत शर्मा, अधिवक्ता 

मैले गलत आरोप लागेर जेल जीवन काटेका धेरै व्यक्तिहरूको केस लडेको छु। उनीहरूमध्ये कसैले महिनौँ त कसैले वर्षौंसम्म जेल सजाय काटेका छन्। हामीले मुद्दा लडेपछि धेरै मानिसले सफाइ पाएका छन्। तर, सफाइ पाउनुभन्दा पनि ऊमाथि लागेको आरोप उसका लागि ठूलो कुरा हुन्छ। त्यसले उसलाई जीवनभरि पिरोलिरहन्छ। कतिपय अवस्थामा उनीहरूले पाएको सफाइले उनीहरूको जीवनमा कुनै अर्थ राख्दैन।

निर्दोष मानिस पनि दोषी भएर जेलको जीवन काट्ने अवस्था सिर्जना हुनुमा धेरै कारण छन्। पहिलो प्रहरीको प्रारम्भिक अनुसन्धानमा कमजोरी हो। कुनै केसमा मानिसलाई जानाजान फसाउने प्रयास गरिएको हुन्छ। यहाँ निर्दोषलाई मिडिया लगाएर दोषी बनाउनेको पनि कमी छैन। अरूले गरेको प्रगति देख्न नसकेर भ्रष्टाचारको झुटो आरोप लगाउने पनि छन्। महिलाको जाहेरीलाई नै प्रमाणका रूपमा लिइने भएकाले बलात्कारका त झन् धेरै केस आउँछन्। बलात्कारको झुटो आरोपमा धेरै मानिसको जीवन बर्बाद भएको छ। जुनसुकै केसमा जेल परेको मानिस होस्, जेल पर्दा उसको समय त बर्बाद हुन्छ नै, त्यो सँगसँगै उसको प्रतिष्ठा र इज्जतमा पनि नराम्रो दाग लाग्छ। उनीहरूले बाँच्ने आधार भेट्दैनन्। परिवार भताभुंग हुन सक्छ। निर्दाेष मान्छेको पढाइ, व्यवसाय, जागिर सबै डुब्छ।  

तर, अहिलेको मुलुकी फौजदारी कार्यविधि संहिताले यस्ता निर्दोष मानिसका हकमा विभिन्न शर्तमा क्षतिपूर्तिको व्यवस्था गरेको छ। यदि उसलाई प्रहरीले झुटा प्रमाण बनाई अदालतमा पेश गरेको भन्ने लाग्छ भने उसले प्रहरीसँग क्षतिपूर्तिको मागदाबी गर्न सक्छ। त्यस्तै, नियतसंगत ढंगले कसैले फसाउन खोजेको छ भने उसलाई पनि सजाय हुने व्यवस्था कानुनमा उल्लेख छ। तर, अहिलेसम्म कोही पनि यस्तो कानुनमा टेकेर आफूलाई गलत आरोप लगाउनेविरुद्ध लडेको देखिँदैन। किनभने, लामो समय बिनाकसुर लडाइँ लडेर आएको व्यक्ति फेरि पैसा खर्च गरेर अर्को लफडामा पर्न चाहँदैन। ऊ फेरि प्रहरी चौकी र अदालतको चक्कर काट्न चाहँदैन। 


‘निर्दाेषलाई परेको मानसिक असरको भर्पाई कसरी गर्ने ?’ 

गोपाल ढकाल, मनोविद्

अपराध एउटा सामाजिक रोग हो। जसरी शारीरिक रोग जसलाई पनि लाग्न सक्छ, त्यसैगरी सामाजिक रोग पनि जसलाई पनि लाग्न सक्छ। समाज रहुञ्जेलसम्म अपराध रहन्छ। त्यसलाई न्यूनीकरण गर्न सकिएला, तर निमिट्यान्न पार्न सकिँदैन। निर्दोष होस् वा दोषी सबैको बाँच्ने अधिकार हुन्छ। जेल भनेको दण्ड दिने होइन, सुधार्ने ठाउँ हो। तर, हाम्रोमा जेललाई सुधारगृहको रूपमा लिइँदैन। 

एक जना निर्दोष व्यक्तिले बिनाकसुर सजाय काट्दा उसमा मनोवैज्ञानिक असर  पर्छ। त्यस्तो मानिस जेलभित्र बस्दादेखि बाहिर आइसकेसम्म पनि निराश र डिप्रेस्ड हुन्छन्। कतिपयले आत्महत्याको बाटोसमेत रोज्छन्। कतिपय निर्दोष व्यक्तिमा जेल परिसकेपछि बदलाको भावना आउँछ। उनीहरूलाई समाजले पनि स्विकार्दैन। त्यसैले ‘यसै अपराधी भएँ, उसै अपराधी भएँ’ भनेर उनीहरू अपराधतिर लाग्न सक्छन्। किनभने, सफाइ पाएर बाहिर आउँदा पनि समाजले उनीहरूलाई स्विकारेको अवस्था छैन। 

निर्दोषहरू विभिन्न परिबन्दले जेल पर्छन्। त्यसका दुई–तीन वटा कारण छन्। केही व्यक्तिले डिलुजन (भ्रम) का कारण निर्दोष मानिसलाई दोष लगाउँछन्। त्यस्तै, कोही एन्टी–सोसल पर्सनालिटी भएका व्यक्ति हुन्छन्। त्यस्ता व्यक्तिमा बदलाको भावना धेरै हुन्छ। यदि उसले भनेको सुनेन वा मानेन भने निर्दोषलाई  फसाउने काम ऊबाट हुन सक्छ। सम्बन्धित निकायहरूलाई यस्ता मानिसमा हुने यस्ता समस्याबारे ज्ञान छैन। 

त्यस्तै, अपराधी र फैसला हुन बाँकी दोषीलाई जेलमा एउटै ठाउँमा राख्नु हुँदैन। उनीहरूलाई छुट्टाछुट्टै ठाउँमा राख्नुपर्छ। यस्तो खालको अभ्यास हाम्रोमा भएको पाइँदैन। 

गल्ती गरको मानिसलाई त जेल पर्दा मनोवैज्ञानिक हिसाबले अप्ठ्यारो पर्छ भने निर्दोषलाई त्यसले झन् ठूलो असर गर्छ। अनुसन्धानकै क्रममा व्यक्तिलाई सामाजिक, आर्थिक वा अन्य कारणले भन्दा पहिले मनोवैज्ञानिक कारणले हेरिनु जरुरी छ। मनोवैज्ञानिक परीक्षणबाट सत्यतथ्य धेरै कुरा थाहा पाउन सकिन्छ। आरोप लगाउने र आरोपी दुवै व्यक्तिको परीक्षण गर्नुपर्छ। तर, हाम्रोमा प्रमाणहरूको साइकोलोजिकल विश्लेषण हुँदैन। त्यही कारणले गर्दा निर्दोष मानिसले समेत सजाय काटिरहेका हुन्छन्।

जेल जीवन बिताएर फर्किने जो कोहीलाई सबैभन्दा पहिले मानसिक रूपमा तयार बनाउनुपर्छ। जेलबाट सीधै घर वा समाजमा जाँदा उनीहरू समस्यामा पर्न सक्छन्। त्यसैले लामो समयपछिको सफाइपछि जेल जीवन काटेर आएकालाई जेलबाट सीधै घर पठाउनुभन्दा कुनै संस्थामा राखेर मानसिक रूपमा उनीहरूलाई बलियो बनाउनुपर्छ। त्यसले समाजमा गएपछि उनीहरूमाथि कुनै लाञ्छना आयो भने पनि त्योसँग लड्न सिकाउँछ। मानिसले जेल परिसकेपछि पहिला गरिरहेको सीप छोडिसकेको हुन्छ। बिजनेस गर्ने मानिसको बिजनेस डामाडोल भइसकेको हुन्छ। त्यस्तै, परिवारमा पुनर्मिलन गराउनु पनि उत्तिकै चुनौतीपूर्ण काम हो। बाहिर निस्किएपछि धेरै जना घर नै जाँदैनन्। कोहीमा बदलाको भावनासमेत पलाउन सक्छ। प्रतिशोधको भावना बढेर जाँदा निर्दोष व्यक्ति पनि ठूलो अपराधी बन्न सक्छ। यस्तो अवस्थामा उसको प्रतिष्ठा र इज्जत जोगाउने काममा जतिसक्दो मद्दत गर्नुपर्छ। आर्थिक क्षतिपूर्तिले मात्र उनीहरूलाई मनोवैज्ञानिक रूपमा परेको असरको भर्पाई गर्न सक्दैन।

निर्दोष व्यक्तिलाई सूचना प्रकाशित गरेर भए पनि समाज र राज्यलाई ऊबारे जानकारी दिनुपर्छ। उसको बर्बाद भएको समय र सामाजिक प्रतिष्ठा त फर्किएर आउँदैन। तर, पछि उसमा परेको मानसिक असरले कुनै अप्ठ्यारो परिस्थिति नआओस् भनेर राज्यले सक्दो सहयोग गर्नुपर्छ। 

तपाईको कमेन्ट