‘हामीलाई कारबाही गर्न मात्र कानुन बनेको छ’

writer

सम्पूर्ण

बिहिबार, ०३ पुष २०७६


यज्ञ दोङ तामाङ, चालक,बा १ ज ९११,काठमाडौँ–भक्तपुर

ट्याक्सी चलाउन थालेको चार वर्ष भयो। मेरो घर पाँचखाल हो। यता भक्तपुरमा बस्छु। ट्याक्सी चलाउनुभन्दा अघि गाउँघरतिर खेतीकिसानी गर्थें। त्यसबाट राम्रो कमाइ भएन। जहानपरिवार पाल्न पुगेन। त्यसपछि काठमाडौँ आएर गाडी चलाउन सिकेँ। ट्याक्सी चलाउन थालेँ। 

ट्याक्सी चालकहरूका गुनासा धेरै छन्। सबैले गुनासो सुन्ने मात्र गर्छन् तर कार्यान्वयन कहिल्यै हुँदैन। हामीमाथि कारबाही गर्ने मात्र कानुन बनेको जस्तो लाग्छ। ट्याक्सी चालकको हकहितमा कुनै नियम–कानुन छैन। राज्यले व्यवस्थापन गर्ने कार्य धेरै छ। राज्यले धेरै भेदभाव गरेको छ। भाडादर हेर्‍यो भने ट्याक्सी पेशा बन्द गरे हुने अवस्था छ। 

हाम्रो काम सेवामुखी काम हो। सेवा दिएर पनि जस पाइएको छैन। हामीलाई  ट्राफिक प्रहरीले पनि साह्रै हेपेका छन्। प्राइभेट गाडीलाई र भाडाको गाडी चलाउनेलाई व्यवहारमा फरक किन ? त्यसपछि हाउ मचले हैरान पारेको छ । प्यासेन्जर र चालकको सहमतिमा गएको ठाउँमा रोकतोक गरेर हाउ मच भनेर चिट काट्छन्। दुई सय कमाएर पाँच सय रुपैयाँ तिर्न परेपछि कसरी हामीले ट्क्यासी चलाउने ? हाउ मचमा धेरै चोटि परेको छु। सबै ट्याक्सी चालकको अवस्था बिहान खाए, बेलुका के गरी छाक टार्नेजस्तो छ। छोराछोरीलाई राम्रो शिक्षा दिने परिवारको जरुरत पूरा गर्ने त सोच बाहिरको कुरा भयो। 

हामीलाई पार्किङको व्यवस्था छैन। प्यासेन्जरको खोजीमा एक छिन बसूँ भने ट्याक्सी राख्ने ठाउँ छैन। भएको ठाउँमा जम्मा पाँच भनेका हुन्छन्। प्यासेन्जरको खोजीमा हिँड्दाहिँड्दै भएको तेल सकिन्छ। कोही प्यासेन्जर मिटरको भाउ धेरै छैन भन्दै उठेको भन्दा अलिकति बढी पैसा दिएर जाने गर्छन्। सरकारले हाम्रो दुःख नबुझे पनि ट्क्यासी चढ्ने प्यासेन्जरले हाम्रो मर्का बुझेका छन्। ट्याक्सी किनिसक्नु छैन। जग्गा बेचेर ट्याक्सी किन्यो, ब्याज तिर्दै कमाइ सकिन्छ। 

प्रस्तुतिः आशक्ति 

तपाईको कमेन्ट

मुख्य समाचार