‘अस्थिरतासँग मेरो प्रेम छ’

सम्पूर्ण
शुक्रबार, २७ मङि्सर २०७६
नेपाली आख्यानमा नारायण ढकाल यशस्वी नाम हो। उनका कथा, उपन्यास र निबन्ध विधाका डेढ दर्जन किताब प्रकाशित छन्। उनको सद्यः कथासंग्रह ‘तमस’ चाँडै नै बजारमा आउँदै छ। ‘शहरयन्त्र’, ‘आत्महन्ता’, ‘बहिर्गमन’, ‘इन्द्रजाल’ उनका चर्चित कथासंग्रह हुन्। ‘प्रेतकल्प’, ‘हजार माइलको यात्रा’ उपन्यासका सर्जक ढकालको ‘नरकको ढोका’ कवितासंग्रह पनि प्रकाशित छ। नेपाली कथा साहित्यमा केन्द्रित रहेर ‘सम्पूर्ण’का लागि निर्भीकजंग रायमाझीले आख्यानकार ढकालसँग संवाद गरेका छन्।
कथा तपाईंका निम्ति प्रतिरोधको माध्यम हो कि साहित्यकै अर्को लालित्य ?
कथा कलाकै एक विधा भएकाले यो लालित्य नै हो। तर, लालित्य मात्रै वा प्रतिरोध मात्रै कथा होइन। त्यो दुवैको सम्मिश्रणले मात्रै स्पष्ट कथा बन्दछ।
तपाईंका कथा विचारप्रधान र मुद्दाकेन्द्रित बढी देखिन्छन्। यसको पछाडि विशेष कारण केही होला ?
मेरा कथा मुद्दामा केन्द्रित हुनु स्वाभाविक छ। किनभने, मेरो समाजसँगको जो सम्बन्ध छ, त्यसको कोष–कोषमा मुद्दाहरू छन्। पछाडि फर्केर हेर्ने हो भने मेरो जीवनको यात्रा त्यति सहज भएन। जीवनभरि म विभिन्न राजनीतिक तथा सामाजिक मुद्दासँग जोडिँदै–जोडिँदै यहाँसम्म आइपुगेको छु। अर्थात्, मेरो जीवनको इतिहासमा मुद्दा जोडिएको छ। तर, यसलाई साहित्यमा व्यक्त गर्ने मेरो भिन्नै शैली छ। त्यो शैली समाजशास्त्री, मानवशास्त्रीहरूको जस्तो सीधा भने छैन। यस्ता मुद्दालाई म आफ्ना कथामा लालित्य र साहित्य मिसाएर प्रस्तुत गर्ने गर्दछु। त्यसमा विचार पनि त्यत्तिकै सघन ढंगले मिसिएको हुन्छ।
मानिसको मानसिकता अस्थिर भयो भने नै नयाँ कुरा खोजी गर्न सक्छ। खोजीको छटपटीलाई नै मैले अस्थिर भन्न खोजेको छुँ। अस्थिर मान्छे सदा नयाँ कुराको खोज–यात्रामा लागिरहन्छ।
तपाईंका कथामा शृंखलाबद्ध घटना हुँदैनन् र एउटै घटनाको सेरोफेरोमा ती कथा घुमिरहेको देखिन्छ, भनिन्छ नि ?
परम्परागत साहित्यमा एड्गर एलेन पो, ओ हेनरी, मोपाँसाका हरेक कथामा केही न केही नौला घटना भएका हुन्थे। त्यस्तै, विलियम सेक्सपियरले लेखेका नाटक र कथा घटनाप्रधान नै भेटिन्छन्। ती कथामा बाटोमा हिँडहिँड्दै कोही राजा भएको त कोहीलाई दैवी चमत्कार मिलेको पाइन्छ। तर, पछिल्लो समयमा परिस्थितिप्रधान कथा लेख्ने चलन बढिरहेको छ। घटनाप्रधान कथामा लगाव भएका पाठकलाई सुरुमा यस्ता कथा अरुचिपूर्ण लागे पनि अहिले यस्तो कथाले आफ्नो विशेष स्थान बनाइसकेको छ। यही परम्परामा म जोडिएको हुँ। यसलाई मैले गरेको नयाँ प्रयास भन्न नमिल्ला। फेरि आज कथा लेख्ने शैली एउटै मात्र छैन। तपाईं आफ्नै शैली पनि बनाउन सक्नुहुन्छ। त्यसैले घटनाप्रधान कथा पढ्नेलाई मेरा कथा स्वादिलो नलाग्न पनि सक्छ।
तपाईं स्वयं र अन्य कथाकारहरू कथाको स्तर घट्दै गएको, कथा झुर भएको, कथा सक्किएको, कथा शिथिल भएको कुरा बारम्बार भनिरहनुहुन्छ। कथाको स्थिति साँच्चै ‘ब्लिक’ छ, हो ?
हाम्रो कथा आज मात्र यस्तो भएको होइन। हाम्रो कथाको परम्परा नै कमजोर छ। यति मात्र होइन कथाको ग्रहणशीलता नै कमजोर छ हामीसँग। तर, यसको परम्परामा जोडिइसकेपछि यसलाई माथि पुर्याउने हाम्रो संघर्ष भने जारी छ। आफ्नो कथाको स्तर कमजोर रहेको जुन हाम्रो टिप्पणी छ, त्यो हाम्रै उत्थानका लागि गरेका हौँ। आत्मसमीक्षा हो हो। यसर्थ म आत्मभत्र्सना गर्न डराउँदिनँ। किनभने, ‘जम्मै लेखिसक्यौँ, राम्रो लेखिसक्यौँ’ भन्ने सोच पलायो भने हामीसँग अगाडि बढ्ने बाटो नै हुँदैन।
फेरि आत्ममुग्ध भएर अहिलेको अवस्थाकै पक्षमा वकालत गर्न थाल्यौँ भने हामीले हाम्रा कथा उत्थान गर्ने कुनै ऊर्जा प्राप्त गर्न सक्दैनौँ। आफ्नो स्थितिको उत्थानका लागी पनि हाम्रा कथाको यथार्थ स्थितिमाथि गम्भीर समीक्षा जरुरी छ।
अघिल्ला कथासंग्रहभन्दा ‘तमस’ मा के नयाँ कुरा छ ?
‘तमस’ नयाँ समयको कथा हो। यसबेलासम्म आइपुग्दा मेरो कथालाई हेर्ने दृष्टिकोण, जीवनलाई हेर्ने दृष्टिकोण र पात्रलाई हेर्ने दृष्टिकोण नै फरक भएको छ। यो नयाँ समय र नयाँ बुझाइबाट लेखिएकाले यसमा पक्कै नयाँ कुरा पाउन सकिन्छ।
यसो त पञ्चायतजस्तो छ, आज पनि राजनीतिको प्रवृत्ति उस्तै छ। बाहिरी आवरणमा मात्रै राजनीति फरक देखिएको हो। राजनीतिक संस्कार भने पहिलाकै जस्तो छ। यही तीतो यथार्थ ‘तमस’भित्र भएका कथामा मैले उजागर गर्न खोजेको छु। सँगै, मेरो आफ्नै अनुभव पनि बदलिएको छ। जीवनप्रतिको दृष्टि बदलिएको छ। यो बदलाव मेरा कथामा स्वतः देखिन्छ।
अर्को कुरा, तमसमा लामा कथाको बाहुल्य छ। पहिलेभन्दा कथालाई चित्रण गर्न, पात्रहरूको अन्तस्करण छाम्न विशेष प्रयत्न गरेको छु। त्यस्तै, परिवेशमा पनि विविधता छ। मेरो कान्छो छोरा अमेरिकामा भएकाले मैले त्यता पनि लामो समय बिताएँ। त्यही सिलसिलामा अमेरिकाको नेपाली जनजीवन र त्यहीँको मौलिक जनजीवनको कथा लेखेको थिएँ। यसर्थ पञ्चायतकालदेखि लिएर आजको अमेरिकी–नेपाली जनजीवनको कथा ‘तमस’मा समेटेको छु।
तपाईंले बारम्बार ‘अस्थिर भएर नै म लेखक भएको हुँ’ भन्नुभएको छ। सँगसँगै, लेखनमा अस्थिरता चाहिन्छ भन्ने पक्षमा वकालत गर्नुहुन्छ। के अस्थिर स्वभावको लेखकसँग बलियो कथा बुन्ने क्षमता बढी हुन्छ ?
मानिसको मानसिकता अस्थिर भयो भने नै नयाँ कुरा खोजी गर्न सक्छ। खोजीको छटपटीलाई नै मैले अस्थिर भन्न खोजेको छुँ। किनभने, अस्थिर मान्छे सदा नयाँ कुराको खोज–यात्रामा लागिरहन्छ। मेरो भाषामा अस्थिरता भनेको नयाँ प्रयोग, नयाँ ज्ञान, नयाँ मानसिकताको खोजी हो। जसले यो खोजी गर्न पढिरहन्छ, लेखिरहन्छ, भ्रमण गर्छ र मानिसहरूसँग निरन्तर संवाद गर्छ। यसले कथा लेखन र पठनमा प्रभाव पार्नु स्वाभविक नै हो। अस्थिरतासँग मेरो प्रेम छ।
पछिल्लो समय तपाईंका किताब छिटो–छिटो बजारमा आइरहेको देखिन्छ। पाँच दशकदेखि साहित्यमा सक्रिय लेखकलाई यस्तो हतार किन ?
छिटो भन्नाले त्यस्तो छिटो पनि प्रकाशन गरेको छैन। दुई वर्षको अन्तरालमा यो कथासंग्रह प्रकाशन गर्न लागेको हँ। अब अर्को पुस्तक आउन भने दुई वर्षभन्दा बढी नै समय लाग्ला। यसलाई के छिटो भन्नुु ? अहिले पनि एउटा उपन्यास लेख्न खोजेको छु, त्यसलाई पाँच वर्ष नै लाग्ला। साना–साना कविता पनि लेख्छु। तर, मलाई एउटा कविता पूरा गर्न धेरै समय लाग्छ। हजार चोटि घोत्लिनु पर्छ मैले कवितामा।
काँठकै सेरोफेरोमा केन्द्रित कथा आउँदा तपाईंका पुराना पाठकलाई मोनोटोनस नलाग्ला र ?
मैले धेरै पटक एकै विषयलाई साहित्यमा दोहोर्याउनु हुँदैन भनेको छु। ‘विषय दोहोरिनु भनेको आत्महत्या हो’ भन्दै आएको छु। परिवेश दोहोरिए पनि प्रतीक र ध्वनि नदोहोरियोस् भन्ने कोसिस गरेको छु। पात्रहरू, समय र परिवेश फरक छन्, जसका कारण मेरा पुराना पाठकलाई ‘तमस’ पढ्दा बोर लाग्दैन। यसपटक स्वैरकल्पना पनि लेखेको छु। समकालीन कथाकार कुमार नगरकोटीहरूले पनि यस प्रकारका कथा लेखिरहेकै छन्। नयाँपन दिने मेरो प्रयास सदैव रहन्छ।
एउटा लेखक कति वर्षसम्म सिर्जनशील हुने ? अन्य क्षेत्रमा जस्तै लेखकले पनि उमेर कटेपछि रिटायर्ड हुन मिल्दैन ?
मुख्य कुरा त लेखकको मस्तिष्क कति बलियो छ भन्नेमा यो कुरा भर पर्छ। उसको शारीरिक सबलता छ भने जुन उमेरसम्म लेख्दा पनि हुन्छ। सबल भएको अवस्थामा उमेरले लेखकलाई छेक्दैन भन्ने धारणा म राख्छु। अर्को कुरा के छ भने, कुनै पनि लेखकले जीवनभर लेख्ने कुरा त आउँदैन। कसैले किन लेखिनस् भन्न पाउँदैन। यो लेखकको व्यक्तिगत कुरा हो। लेख्ने र नलेख्ने आफैँ निर्धारण गर्नुपर्छ। तर, आफ्नो सिर्जनशीलता र स्वास्थ्य ठीक छ भने एउठा लेखकले लेखिरहनुपर्छ। आखिर सिर्जनशीलता बूढो हुने कुरा त होइन।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७ -
नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई
शनिबार, १३ भदौ २०७७