विवाह स्मृति: ‘रूखमुनि बिहे प्रस्ताव राखेँ'

writer

सम्पूर्ण

बुधबार, २३ फागुन २०७४


मेरो विवाह २०३३ सालमा भएको थियो। मेरी श्रीमती शकुन्तला गुरुङ र मेरो भेट २०३० सालमा भएको थियो। तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा काम गर्न जाने क्रममा उनलाई देखेको थिएँ। उनी पनि त्यहीँ काम गर्ने रहिछिन्। म त्यहाँ काम गर्न जाँदा उनले प्रसिद्धि कमाइसकेकी थिइन्। रेडियो र स्टेज नाटकमा उनी ‘पपुलर' थिइन्। 

 


उनी काठमाडौँ लाजिम्पाटमा बस्थिन्। म लैनचौरमा एउटा कोठा भाडामा लिएर बसेको थिएँ। तीन वर्षसम्म हामीले सँगसँगै काम गर्‍यौँ। अफिस सँगै आउने÷जाने गथ्यौँ। एकअर्कालाई यसरी नै चिन्यौं। काम गर्दागर्दै एकअर्कालाई बुझ्ने मौका पायौँ। एकअर्कालाई मन परायौँ। जीवनसाथीको रूपमा योग्य ठान्यौँ। व्यवहार गर्दागर्दै बोलीवचन, रुचि र दिनचर्या मिल्न थाल्यो। 

 


बिहेअघि पनि हामी एउटै मञ्चमा अभिनय गथ्र्यौं। धेरै वटा रेडियो तथा स्टेज नाटकमा सँगै काम गर्‍यौं। तर, नाटकमा चरित्रसँग खेलिन्थ्यो। त्यसैले वास्तविक जीवन र कामलाई फरक ढंगले हेथ्र्यौं। ‘प्रोफेसनल' र ‘पर्सनल' जीवनलाई छुट्टाछुट्टै ढंगले अगाडि बढायौं। एकअर्कालाई मन पराएपछि बिहे गर्ने निर्णयमा पुग्यौं। अहिले पनि केटीले आफैँले पहिला ‘बिहे गरौँ' भन्दैनन्। त्यो जमानामा त झन् भन्ने कुरै भएन। त्यसैले म आफैँ अगाडि सरेँ।

हरिहर शर्मा श्रीमतीका साथमा अभिनेता ।

उनीसामु बिहेको प्रस्ताव राखेँ। बिहेको प्रस्ताव राखेको दिन अझै पनि मलाई राम्रोसँग याद छ। त्यो दिन हामी दुवै जना अफिस जाँदै थियौँ। वर्षाको समय थियो। ठूलो पानी परिरहेको थियो। दुवै भिजिसकेका थियौँ। तैपनि, पानी नरोकिएकाले एउटा रूखमा ओत लागेर बस्यौं। त्यही मौकामा मैले उनलाई ‘बिहे गरौँ' भनेको थिएँ। उनले केही जबाफ फर्काइनन्। केटीको तर्फबाट सुरुमै ‘हुन्छ' भन्ने जबाफ आउँदैन भन्ने मलाई थाहा थियो। तैपनि, मैले आँट गरेँ।

 

केही समयपछि उनको तर्फबाट घरमा सोध्नुपर्छ भन्ने खालको कुरा आयो। म भने उनले पनि मलाई मन पराउँछिन् भन्नेमा ढुक्क थिएँ। उनले केही नबोले पनि उनको तर्फबाट ‘हुन्छ' भन्ने भाव बुझिसकेको थिएँ। म बाहुन परिवारको केटो, उनी गुरुङ परिवारकी छोरी। यस कारणले पनि परिवारले स्विकृति देला÷नदेला भन्नेमा हामी निकै चिन्तित थियौँ। त्यो बेला समाज जातभातको कुरामा एकदमै कट्टर थियो। त्यो खालको सोचलाई भत्काउनु एकदमै चुनौतीपूर्ण काम थियो।

 

छोराछोरीका लागि सबैभन्दा सजिलो आमा हुने रहेछिन्। मैले पनि शकुन्तलाको बारेमा सुरुमा आमालाई भनेँ। मेरो कुरा सुनेर सुरुमा उहाँ छक्क पर्नुभयो। उहाँले ‘मलाई हैन, बालाई भन्' भन्नुभयो। ‘मलाई डर लाग्छ तपाईं नै भनिदिनुस्' भने। उहाँले भनिदिनुभयो। त्यसपछि नातागोता सबैमा कुरा फैलियो। त्यो बेलामा उहाँहरू गाउँ (प्युठान)मा बस्नुहुन्थ्यो। 

 


शकुन्तलाका दाजुले पनि हामीलाई सधैँ सँगै हिँडेको देख्नुहुँदो रहेछ। कहिलेकाहीँ म उनलाई पुर्‍याउने निहुँमा उनकै घरसम्म पुग्थेँ। एकदमै फय्रांक थिएँ। भोक लागेको बेला खाजा÷खाना मागेरै खाइदिन्थेँ। उनको घरमा कसैसँग पनि अप्ठ्यारो मान्दैन्थे। घरमा आउने÷जाने गर्दागर्दै उनको परिवारलाई पनि यत्तिको केटा भए हुन्छ भन्ने लागेछ। हामीले एकअर्कालाई मन पराउँछौँ भन्ने पनि बुझ्नुभएछ। हाम्रो सम्बन्धलाई दुवै परिवारले स्वीकार गरे।

 

अन्तरजातीय विवाह भए पनि दुवैको परिवारबाट कुनै पनि किसिमको अप्ठ्यारो परिस्थिति सिर्जना भएन। जातले गर्दा हाम्रो बिहे रोकिएन। यही नै हाम्रा लागि ठूलो कुरा हो। हाम्रो बिहे शकुन्तलाको घरबाटै भयो। त्यो बेला दुलहीलाई घरबाटै बिदा गर्नुपर्छ भन्ने चलन थियो। मेरो तर्फबाट भने जन्तीमा नृत्य निर्देशक वसन्त श्रेष्ठ, लेखक तथा नाटककार विजय मल्ललगायत साथीहरू आएका थिए। सबै जना गरेर ३५/४० जना जन्तीमा थिए। हाम्रो पालामा अहिलेको जस्तो पार्टी प्यालेसको चलन थिएन। टोलका साथीभाइहरूले नै भोज बनाउनका लागि सहयोग गरेका थिए।

 


मैले बिहेमा सुट प्यान्ट लगाएको थिएँ। उनले बनारसी सारी लगाएकी थिइन्। म प्रायःजसो दौरा सुरुवाल लगाउँथेँ। बिहेमा सुट लगाउन पाउँदा मक्ख परेको थिएँ। सुटमा दुलाहा बनेर ठाँटिदा आफूभन्दा सुन्दर अरू कोही छैन भन्ने लागेको थियो। मैले बिहे गर्दा ६ सय २५ रुपैयाँमा एक तोला सुन आउँथ्यो। ३ रुपैयाँ ५० पैसामा एक किलो पोखरेली मसिनो चामल आउँथ्यो। म पैसा जोगाउन एकदमै सिपालु थिएँ। बिहेका लागि अलि–अलि गरेर पैसा जोगाएर राखेको थिएँ।

 

बिहेको सामान किन्न शकुन्तला र म सँगै गएका थियौँ। हामी भाग्यमा विश्वास गर्ने मान्छे। त्यसैले म हाम्रो जोडीलाई भगवान्ले जुराएको जोडी भन्छु। र, बिहेलाई जीवनको एउटा पाटोको रूपमा मान्छु। बिहेपछि जिम्मेवारी बढ्छन्। समझदारी, सरसल्लाह र विश्वास गर्दै जीवनलाई अघि बढाउन सकियो भने जीवनमा कहिल्यै दुःखी हुनुपर्दैन।
प्रस्तुतिः सृजना खड्का
 

तपाईको कमेन्ट

मुख्य समाचार