‘हाँडी बिस्ट्रो’को मीठो तन्दुरी चिया

writer

अस्मिता खड्का

बिहिबार, २६ मङि्सर २०७६


काठमाडौँ, वसन्तपुरको झोँछेमा ‘हाँडी बिस्ट्रो एन्ड क्याफे’ रहेको छ। गत वर्षदेखि सञ्चालनमा आएको क्याफेका सञ्चालक हुन्, २४ वर्षीय रवि पाण्डे। क्याफेमा ब्रेकफास्ट, लन्च, स्न्याक्ससँगै चियाको व्यवस्था रहेको छ। विशेष परिकार हाँडीमा पकाइने भएकाले क्याफेको नाम ‘हाँडी बिस्ट्रो’ राखिएको सञ्चालक रवि बताउँछन्। भन्छन्, ‘ग्राहकलाई नयाँ स्वाद दिने लक्ष्यका साथ क्याफे सञ्चालनमा ल्याएको हुँ। ग्राहकले हाँडीको बिरयानी र ग्रिल्ड मःमः खूब मन पराएका छन्।’ ग्रिल्ड मःमः र हाँडी बिरयानीसँगै मट्का चिया र तन्दुरी चिया पनि ग्राहकले खूब रुचाएको उनी बताउँछन्। ‘त्यसबाहेक मःमः, चाउमिन, पिज्जा, बर्गर, चिकेन विङ्स पनि ग्राहकले खाने गरेका छन्,’ उनी भन्छन्। 

क्याफेमा ग्राहकको डिमान्डअनुसार तालिका छ। ‘हाम्रोमा अग्र्यानिक खानेकुरा र तुलसी, केसरलगायत हर्बल चिया पनि पाइने भएकोले धेरै ग्राहक आउनुहुन्छ,’ रवि भन्छन्, ‘क्याफेमा कोल्ड कफी, कोल्ड चकलेटलगायत बेभरेज पनि पाइन्छ।’

हाँडीको मेनुमा सस्तोदेखि महँगो मूल्यसम्म पर्ने खानेकुरा र पेय पदार्थका नाम छन्। हाँडी बिरयानीको मूल्य ३ सय ९० देखि ८ सय ५० रुपैयाँसम्म पर्ने गर्छ।  ‘यस्तो खाले बिरयानी बनाउने विधि फरक र लामो छ,’ उनी भन्छन्, ‘मीठो पनि हुन्छ र मूल्य चिकेन र मटन गरी फरक–फरक छ।’ हाँडीको आकारअनुसार पनि रेट फरक पर्न जाने उनी बताउँछन्। तन्दुरी चिया महँगो परे पनि स्पेसल हुने रवि  बताउँछन्। भन्छन्, ‘तन्दुरमा पकाउने माटाको भाँडोमा दूध र चिया मसला राखेर केही बेर आगोमा सेकेपछि तन्दुरी चिया तयार हुन्छ। एक कपको तीन सय रुपैयाँ पर्छ।’ 

प्लस टूको पढाइ सकेर वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए, सञ्चालक रवि। त्यहाँ उनले होटेल तथा रेस्टुरेन्टमा कुक भएर काम गरे। दुई वर्र्ष कतार बसेर स्वदेश फर्किए। उता सिकेको सीपलाई नयाँ स्वादका साथ पस्किन क्याफे सञ्चालनमा ल्याएको उनी सुनाउँछन्। ‘कतारमा हुँदा साउथ इन्डियन र वेस्टर्न फुड बनाउने काम गर्थें,’ उनी भन्छन्, ‘त्यहाँको सीपले मलाई स्वदेशमै गरिखाने प्रेरणा दियो। नेपालीहरूलाई नयाँ स्वाद पस्कने सोच बनाएँ।’ बिहान ८ देखि साँझ साढे ८ बजेसम्म सञ्चालन हुने क्याफेमा छ जना स्टाफ छन्।

तपाईको कमेन्ट

मुख्य समाचार