‘भिलेज’ को स्वादिलो योमरी

writer

अस्मिता खड्का

बिहिबार, २६ मङि्सर २०७६


ललितपुरको झम्सिखेलमा छ, ‘द भिलेज क्याफे’। झम्सिखेलमा सर्नुअघि क्याफे पुल्चोकमा थियो। सबा नेपाल (सार्क बिजनेस एसोसियसन अफ होम बेस्ड वक्र्स) ले सन् २०११ मा क्याफे सञ्चालनमा ल्याएको हो। सन् २०१९ देखि ५० प्रतिशत सबा नेपाल र बाँकी लगानी क्याफेमा सुरुवातदेखि काम गर्दै आएका अन्य सदस्यको लगानी छ। क्याफेमा २ सय १४ जना सदस्य छन्। यीमध्ये ३० जनाभन्दा बढी नेवार समुदायका महिला छन्। क्याफेबाहेक सबा नेपालका सदस्यले ह्यान्डमेड कपडा र अन्य सामान उत्पादन गर्छन्। 

यसका सीईओ हुन्, रविनमान अमात्य। परम्परागत नेवार परिकारलाई निरन्तरता दिन आफूहरूले क्याफे सञ्चालनमा ल्याएको उनी बताउँछन्। ‘नेवार खाना भन्नेबित्तिकै सबैको दिमागमा नेवार खाजा सेट मात्र आउँछ,’ उनी भन्छन्, ‘तर, नेवार खानामा त्यसबाहेक अन्य भेराइटी पनि छन्। ती परिकारलाई जोगाउने उद्देश्यले भिलेज क्याफे सञ्चालनमा ल्याइएको हो।’ काठमाडाँैमा भिलेज क्याफेका अन्य शाखा पनि छन्। खोकनामा यसको विशेष भान्छा छ। बुङ्मती र पाटनमा पनि यसका शाखा रहेका छन्।

खुर्सानीका माला, मकैको बोक्राबाट बनेका हस्तकलाका सामानले क्याफेको भित्ता सजाइएको छ। भित्तामा नेवार चित्रकला पनि छन्। बस्नका लागि ओपन स्पेस छ। मकैका बोक्राबाट बनाइएका चकटी र गलैँचामा बसेर ग्राहकले नेवार परिकारको स्वाद लिन सक्छन्। योमरी यहाँको विशेष परिकार रहेको सञ्चालक सदस्य राजी धिताल बताउँछिन्। ‘योमरीलाई बिजनेसको प्लेटफर्ममा ल्याउने सुरुवात हामीले नै गरेका हौँ,’ उनी भन्छिन्, ‘स्थापनाकालदेखि अहिलेसम्म योमरीलाई नै प्राथमिकता दिएका छौँ। योमरी यहाँको विशेष परिकार हो।’ 

नेवार समुदायको मौलिक परिकार हो, योमरी। हरेक मंगलकार्यमा योमरीको निकै महŒव रहने बताउँछन्, क्याफेका सीईओ अमात्य। ‘मंसिर २६ गते योमरी पुन्हि छ,’ उनी भन्छन्, ‘त्यसका लागि अहिलेदेखि नै तयारी सुरु भइसक्यो।’ योमरी पुन्हिमा योमरीको माग अत्यधिक हुने उनी बताउँछन्। ‘ग्राहकको माग पूरा गर्न हामीले निकै खटिनुपर्छ,’ उनी भन्छन्, ‘अरू बेलाभन्दा जाडो मौसममा योमरीको माग बढी हुने गर्छ।’ 

क्याफेले योमरीका विभिन्न परिकार सर्भ गर्ने गर्छ। ‘हामीकहाँ योमरीका छ वटा परिकार पाइन्छन्,’ सञ्चालक धिताल भन्छिन्, ‘हामीले चाकु, चकलेट, खुवा, मसरुम, मास र स्पेसल योमरी बनाउँछौँ। स्पेसल योमरी चाहिँ चाकु र खुवा मिक्स गरेर बनाउँछौँ।’ योमरीसँग गुन्द्रुकको अचार, तरकारी, मासुका परिकार खाँदा झनै स्वादिष्ट हुने उनी बताउँछिन्। ‘योमरी प्रत्येक पिसको मूल्य ५० देखि ९० रुपैयाँसम्म पर्छ,’ धिताल भन्छिन्, ‘क्याफेमा सस्तोदेखि महँगो मूल्य पर्ने खानेकुरा छन्। क्याफेमा ५० देखि दुई हजार मूल्यसम्मका खानेकुरा पाइन्छन्।’ 

क्याफेमा योमरीबाहेक नेवार खाजा सेट, समयबजी, पिनट बटर चटामरी, बारालगायत विशेष परिकार खान पाइन्छ। सपू म्हिचा, खागो, खैला, पांग्रा, बफ विशेष हुन् भने भुटन र फोक्सो मटन पनि यहाँ पाइन्छ। सलादमा भिलेज बउल, पोट्याटो एग्ज सलाद, गार्डेन सलाद, कर्न सलाद, एबीसी (स्याउ, चुकन्दर र गाजर) सलाद पाइन्छ।

तपाईको कमेन्ट

मुख्य समाचार