योमरी अर्थात्  मन परेको रोटी

writer

हरिराम जोशी, संस्कृतिविद्

बिहिबार, २६ मङि्सर २०७६


पुरातन कालमा भोकमरी चल्थ्यो र भोक लागेको बेला जौको रोटी खान्थे। हाम्रा पुर्खाले जौको पिठोमा तिल र सख्खर राखेर परिकार बनाउँथे। त्यसलाई पूजाआजामा प्रयोग गर्थे। यसकै संयोजन हो, ‘यवमरी’। ‘यवमरी’ अपभ्रंश भएर योमरी भएको मात्र हो।


‘योमरी पुन्ही’ नेवार समुदायको विशेष पर्व हो। यसका आफ्नै धार्मिक महŒव र विशेषता छन्। नेवारीमा ‘यो’ को अर्थ ‘मन पराउनु’ हुन्छ भने ‘मरी’ लाई ‘रोटी’ भनिन्छ। यसर्थ, योमरी भनेको ‘मन परेको रोटी’ भन्ने हो। तर, यसको वास्तविकता भने अर्कै हो। खासमा योमरी नभएर ‘यवमरी’ हुनुपर्ने हो। संस्कृत शब्द ‘यव’ ले जौलाई बुझाउँछ। जौ सेतो हुन्छ। सेतोको अर्थ ‘पवित्र’ हो। जौ, धानजस्तो धेरै फल्ने अन्न नभएकोले पनि यसलाई अझै महŒवपूर्ण मानिन्छ। 

मलाई लाग्छ, पुरातन कालमा भोकमरी चल्थ्यो र भोक लागेको बेला जौको रोटी खान्थे। हाम्रा पुर्खाले जौको पिठोमा तिल र सख्खर राखेर परिकार बनाउँथे। त्यसलाई पूजाआजामा प्रयोग गर्थे। अभावका बेला जौको रोटी मीठो मानेर त्योबेलाका मान्छेले योमरी भन्दै आएको पनि हुन सक्छ। वैदिक कालदेखि नै जौ, तिल र सक्खरलाई शुद्ध मानिँदै आयो। धार्मिक कार्यमा यी तŒव नभई नहुने भयो। यसकै संयोजन हो, ‘यवमरी’। ‘यवमरी’ अपभ्रंश भएर योमरी भएको मात्र हो। त्यसैले मैले अचेलका योमरी पुन्ही मनाउनेलाई पनि के भन्छु भने, ‘यवमरी’ हो। विश्लेषण नै गर्ने हो भने, चटामरीजस्तै चामलको योमरीलाई चाहिँ ‘ज्याकीमरी’ भन्नुपर्ने हुन्छ।

सुरुवातमा जौको योमरी बनाइन्थ्यो। अचेल चामलको पिठोभित्र चाकु, तिल र खुवा राखेर योमरी बनाउने प्रचलन छ। किनकि, चामल प्रशस्त पाइन्छ, जौ पाइँदैन। त्यसैले यतिखेर चामलको योमरी प्रचलनमा छ। योमरी जुनसुकै धानबाट बन्दैन। मार्सी चामल, बासमती, ताइचिनलगायत विशेष चामलबाट मात्र बन्छ। विशेष गरी, घरमा नयाँ अन्न भिœयाएपछि नयाँ धानको चामलबाट बनाउनुपर्ने चलन छ। 

परम्पराको सुरुवात

योमरी बनाउने परम्परा प्राचीनकालदेखि सुरु भएको हो। नयाँ घर उद्घाटन गर्दा, जन्मोत्सव, विवाह, व्रतबन्ध, देवीदेवताको पूजाआजा लगायतमा योमरीलाई अभिषेकका रूपमा प्रयोग गरिन्थ्यो। करिब १५ सय वर्षअघि देवताको अभिषेक चाहिँ जम्मै योमरीले नै गर्थे भन्ने लाग्छ। किनकि, चाँगुनारायणको मन्दिरमा रहेको अभिलेख १५ सय वर्षअघिको हो। त्यस अभिलेखमा अभिषेक लेखिएको भेटिन्छ। अभिलेखको भग्नावशेष मात्र बाँकी रहेकोले त्यहाँ योमरी उल्लेख छैन। चाँगुनारायणलाई अहिले पनि योमरीले नै पुजिन्छ। यसको मतलब चाँगुनारायण मन्दिरमा त्योबेला पनि योमरीले नै अभिषेक गरिन्थ्यो र त्यो परम्परा अहिले पनि जारी छ भन्ने मेरो अनुमान हो। 

यता बनेपाको पनौतीबाट योमरी पुन्ही मनाउने प्रचलन सुरु भएको भन्ने अर्को मान्यता छ। तर, हालसम्म यसको कुनै ठोस प्रमाण नभेटिएकाले पनौतीबाटै योमरी पुन्ही सुरु भएको हुन सक्छ भन्न सकिँदैन। किनकि, योमरीको इतिहासमा चाँगुनारायणको अभिलेखजस्तो ठोस प्रमाण अरू हुन सक्दैन। त्योबेलादेखि नै मानिआएको प्रचलनअनुसार काठमाडौँ उपत्यकाभित्र मनाइने रातो मत्स्येन्द्रनाथ, सेतो मत्स्येन्द्रनाथ, गाईजात्रा, राज्याभिषेक, कुमारी पूजालगायत जति पनि जात्रा र पर्व छन्, तिनको माथिबाट योमरी खसालेर अभिषेक गरिन्छ। मान्छे र देवता दुवैको अभिषेक योमरीले नै गरिन्छ। त्यसैले परापूर्वकालदेखि हालसम्म यसको उस्तै महŒव रहेको पुष्टि गर्न सकिन्छ। वैदिक कालदेखि नै योमरीसँगै मालपुवा, हलुवालगायत अन्य परिकारलाई पनि प्रसादका रूपमा प्रयोग गरिन्थ्यो र अहिले पनि गरिन्छ। 

योमरीका आकार र यसको संकेत 

योमरीका आफ्नै आकार र प्रकार हुन्छन्। आकारअनुसार यसको अर्थ भने फरक हुन्छ। ‘मायोबायो’ सबैभन्दा ठूलो आकारको योमरी हो। ‘मायो’ लाई ‘आमाको रूप’ मानिन्छ भने ‘बायो’लाई ‘बुबाको रूप’। समग्रमा यसलाई घरको ‘नाइके’ भन्ने अर्थमा बुभिन्छ। सामान्य योमरीभन्दा ‘मायोबायो’ ठूलो हुने भएकाले यसलाई उसिन्नुपर्छ। त्यसपछि परिवारका सदस्यले बाँडेर खाने गरिन्छ। बच्चाबच्चीका लागि भने सानो आकारको योमरी बनाइन्छ। घोडा, भेडा, खसी, राँगा, चराको आकृतिमा सानो–सानो योमरी बनाइन्छ। मूर्तिकारले एउटा पुरानो मूर्ति हेरेर नयाँ मूर्ति बनाएजस्तै, योमरीका यी आकृति पनि परम्परागत रूपमा अँगाल्दै आएको हुनुपर्छ। 

जन्मेदेखि मृत्युसम्म योमरीको उत्तिकै महत्त्व छ। नेवार समुदायमा बाल्यकालमा पाँच वटा संस्कार गरिन्छ। जन्मिनेबित्तिकै ‘घृतप्रासन (घिउ चटाउने)’ गरिन्छ। जन्मेको दोस्रो दिन या तेस्रो दिन ‘मोरुप्रासन (मह चटाउने)’ गरिन्छ। बच्चा तीन महिना पुगेपछि ‘फलान्नप्रासन (फलफूलको रस चटाउने)’ गरिन्छ। पाँचौँ÷छैटौँ महिनामा पुगेपछि ‘अन्नप्रासन (भात खुवाउने)’ गरिन्छ भने अन्तिम अथवा पाँचौं संस्कार बच्चा दुई वर्ष पुगेपछि ‘गुडप्रासन’ गरिन्छ। गुडप्रासन चाहिँ महत्त्वपूर्ण संस्कार मानिन्छ। किनकि, बच्चा दुई वर्षको हुँदा पहिलो जन्मोत्सब मनाइन्छ र उसलाई तिल र गुड (सक्खर)को योमरी खुवाइन्छ। योमरीले नै दुईबर्से बच्चाको अभिषेक गरिन्छ। उसलाई योमरीको माला बनाएर लगाइन्छ। नेवार समुदायमा यो चलन अहिले पनि जारी छ। मान्छे बूढो भएपछि पनि पाँच वटा संस्कार गरिन्छ। ७३ वर्षको उमेरमा ‘भीमरथारोहण’, ८१ वर्षमा, ८८ वर्ष ८ महिनामा अर्को संस्कार गरिन्छ, ९० वर्षमा र सय वर्षमा संस्कार गरिन्छ। हामीमा जन्मेदेखि मृत्युअघिसम्म जम्मा १० वटा संस्कार गर्ने चलन अहिले पनि छ। बुढेसकालका यी संस्कारमा पनि अनिवार्य रूपमा योमरीले नै पूजा गरिन्छ। 

अण्डाकार योमरी 

बौद्ध धर्मका कतिपय अनुयायी नेवार र अन्य नेवारले भिन्दाभिन्दै आकारका योमरी बनाएर चढाउने गर्छन्। यसमा सबैले आ–आफ्नै अर्थ लगाउँछन्। बौद्धका अनुयायीले चैत्य आकारको योमरी बनाउने गर्छन् भने हामीले ब्रह्माण्डको अवतारमा अण्डाकार योमरी बनाउँछौँ। चैत्यमा भगवान् बुद्धको अस्तु राख्ने भएकोले उनीहरूले चैत्य आकारमा बनाएका हुन सक्छन्। उनीहरूले जति पनि आकार बनाउँछन्, बुद्धको जस्तै आकारमा बनाउँछन्। 

इतिहास र वैज्ञानिक दृष्टिकोणबाट हेर्ने हो भने मेरो विचारमा योमरीको उत्पत्ति अण्डाकार नै थियो। यो संसारलाई हेर्ने हाम्रो दृष्टिकोण भनेकै अण्डाकार हो। ब्रह्माण्ड अण्डाकार हुन्छ। त्यसैले योमरीको आकार पनि अण्डाकार बनाउन थालियो। अर्को कुरा, योमरीमा जुन सानो चुच्चो निकालिन्छ, त्यसको अर्थ परब्रह्माण्ड एउटै हो भन्ने हुन्छ। हाम्रा जति नै करोड देवता भए पनि आखिरमा मूल देवता एउटै हुन्छ। यो कुरा वेदमा पनि भनिएको छ कि, देवता र सत्य एउटा मात्र हुन्छ। ब्रह्माण्डमा अरू जति नै पिण्ड भए पनि जीवन अस्तित्व रहेको पिण्ड एउटा मात्र हुन्छ। विद्वान्हरूले एउटा कुरालाई धेरै नामाकरण गरे पनि आखिरमा मुख्य कुरा एउटै हो। त्यसैले अण्डाकार योमरीमा चुच्चो बनाउनुको कारण यही हो। योमरी पुन्ही एक दिन मात्र मनाइन्छ। योमरीलाई अन्नभण्डार, चाँगुनारायणलगायत विभिन्न प्रतीकका रूपमा योमरी पुन्ही मनाइन्छ। अचेल विभिन्न समूहले योमरी पुन्हीको दिन विभिन्न कार्यक्रम आयोजना गर्छन्। यो संस्कृतिलाई जोगाउन ज्यापू समुदाय पनि लागिपरेको छ। तर, विडम्बना, योमरीको वास्तविक कथा के हो ? भन्ने कुरा कसैलाई थाहा छैन। 

कतिपय नेवारले त योमरी पुन्ही नै मनाउँदैनन्। यसको आफ्नै कथा छ। योमरी माटोको ठूलो भाँडोमा पकाइन्छ। योमरी पकाउँदा एउटा परिवारको मान्छे योमरी पकाउने भाँडोमा खसेर म¥यो। र, ती परिवारका मान्छेले योमरी पुन्ही मनाउन छोडे। यस्तै अरूका पनि आफ्नै कथा छन्। पहिला माटोको भाँडोमा पकाउँथे भने अचेल तामाका भाँडामा योमरी पकाउने गर्छन्। पछिल्लो समय विभिन्न स्वादका योमरी बनाउने चलन छ। चाकु, खुवा, चकलेट, मासुको किमा, मसरुम, तरकारीलगायत स्वादमा योमरी बनाउने गरिन्छ। 

(सम्पूर्णकर्मी अस्मिता खड्काले संस्कृतिविद् जोशीसँग गरेको कुराकानीमा आधारित )

तपाईको कमेन्ट

मुख्य समाचार