हतारको अप्रिय परिणाम

writer

रोशन राउत

बुधबार, २५ मङि्सर २०७६


सातदोबाटो स्थित स्विमिङपुल सफा गर्दै कामदार । तस्बिर : सुनिता डंगोल ।

तेह्रौँ सागको खेल सुरु भइसक्दा पनि विदेशबाट झिकाइएका खेल सामग्री नेपाल आइपुगेका थिएनन्। यस्तोमा नेपाली खेलाडीसँग दुई वटा विकल्प बाँकी थिए, खेल छाड्ने वा आफ्ना प्रतिद्वन्द्वी (विदेशी खेलाडी) सँग हारगुहार गरी हतियार मागेर प्रतियोगिता खेल्ने। उनीहरूले दोस्रो विकल्प रोजे। खेल स्थलमा प्रतिद्वन्द्वीसामु खेलाडीले भोग्नुपरेको यो अपमान र हीनताबोधले हाम्रा खेल पदाधिकारीलाई नथिचेकै हो त ?


नेपालले तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको जिम्मेवारी सन् २०१६ मै पाएको थियो। भारतको गुवाहाटी र सिलोङमा सम्पन्न बाह्रौँ सागको समापन समारोहमा यो जिम्मेवारी नेपाललाई हस्तान्तरण गरिएको थियो। यस आधारमा नेपालले सन् २०१८ मै सागको तेह्रौँ संस्करण आयोजना गरिसक्नुपर्ने थियो। तर, भौतिक पूर्वाधारमा भएको ढिलाइको कारण देखाउँदै चार पटक प्रतियोगिताको मिति सार्ने काम भयो। चौथो पटक तोकिएको मितिमा तेह्रौँ साग आयोजनाले मूर्तरूप लियो।

तर, चौथो पटक तोकिएको मितिमा साग आयोजना गर्न पनि नेपालले ठूलै सकस बेहोर्नुप¥यो। अन्तिम समयसम्म पनि साग आयोजना अन्योलमै थियो। प्रतियोगिता सुरु हुनुभन्दा अघिल्लो दिनसम्म पनि भौतिक पूर्वाधार पूर्ण रूपमा तयार भइसकेको थिएन। कतिपय खेलका सामग्रीसमेत नेपाल आइसकेका थिएनन्। जसोतसो प्रतियोगिता सुरु भयो र यतिबेला हामीले दुई वर्षपछि पाकिस्तानमा भेट्ने वाचासहित तेह्रौँ सागलाई बिदा पनि गरिसकेका छौँ। 

पदकीय दृष्टिकोणले नेपालका लागि साग कति सफल रह्यो भन्ने कुरा छुट्टै चर्चाको विषय हुन सक्छ। यहाँ चर्चा गर्न लागिएको विषय भने फरक छ। नेपालीमा एउटा उखान छ– ‘हतारको काम लतार’। तेह्रौँ साग आयोजनाका क्रममा यो उखान चरितार्थ भएको देखियो। सागजस्तो बृहत् अन्तर्राष्ट्रिय प्रतियोगिता हतारमा आयोजना गर्दा थुप्रै व्यवस्थापकीय कमजोरी देखिए। यस्ता कमीकमजोरीले दक्षिण एसियाका छ राष्ट्रबाट आएका खेलाडी, निर्णायक, प्रशिक्षक र विदेशी पाहुनाका अगाडि सिंगो राष्ट्रले नै लज्जाबोध गर्नुपर्ने अवस्थासमेत सिर्जना भयो।

खेलाडीले अपमान सहनुपर्दा 

ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुटिङ प्रतियोगिता भयो। तर, खेल सुरु भइसक्दा पनि सुटिङको खेल सामग्री नेपाल आइपुगेन। खेलका लागि आवश्यक हतियार (बन्दुक, पिस्टोल र गोली) नपाएपछि दक्षिण एसियाका धुरन्धर प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्न सुटिङ रेन्ज पुगेका नेपाली खेलाडी आँशु खसाल्न बाध्य भए। यस्तोमा नेपाली खेलाडीसँग दुई वटा विकल्प बाँकी रहे। खेल छाड्ने वा आफ्ना प्रतिद्वन्द्वी (विदेशी खेलाडी) सँग हारगुहार गरी हतियार मागेर प्रतियोगिता खेल्ने।

खेलस्थलमा आफ्ना प्रतिद्वन्द्वीसामु अपमान र हीनताबोधले थिचिएका हाम्रा खेलाडीले दोस्रो विकल्प रोजे। उनीहरूले आफ्नै प्रतिद्वन्द्वीसँग हतियार मागेर प्रतिस्पर्धामा भाग लिए। नेपाली खेलाडीलाई भारत, पाकिस्तान र श्रीलंकाका खेलाडीमध्ये कसैले गोली र कसैले पिस्टोल उपलब्ध गराए। नेपाली खेलाडीसँग हतियार त थियो, तर २० वर्ष पुरानो। ती हतियार सन् १९९९ मा नेपालमै आठौँ साग आयोजना हुँदा ल्याइएका थिए। हामीसँग भएका कतिपय पुराना हतियार चल्दै नचल्ने अवस्थामा पुगिसकेका थिए। हाम्रा खेलाडीले तिनै पुराना हतियारबाट सागको तयारी गरेका थिए।

यति हुँदा पनि आफ्ना खेलाडीले भोग्नुपरेको अपमानले खेल पदाधिकारीलाई भने रत्तिभर छोएन। सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले हतियार नभएको त स्विकारे, तर त्यसको दोष राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टाउकोमा थोपरेर आफू पन्छिने प्रयास गरे। खेल सामग्रीका लागि पटक–पटक आग्रह गर्दा पनि राखेपले समयमा खेल सामग्री उपलब्ध नगराएको उनको आरोप थियो। हतियार झिकाउनका लागि गृह मन्त्रालयसम्म पुग्नुपर्ने झन्झटिलो प्रक्रियाका कारण यस्तो अवस्था सिर्जना भएको दाबी पनि उनले गरे। खेलाडीले भोग्नुपरेको यो अपमान र हीनताबोधले हाम्रा खेल पदाधिकारीलाई नथिचेकै हो त ? 

हिटिङ पोखरीमा चिसो पानी

मंसिर १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तेह्रौँ सागको भव्य उद्घाटन समारोह हुँदै थियो। उता, सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हिटिङ पौडी पोखरी (तातो पानीसहितको पौडी पोखरी) को काम सक्ने चटारो बाँकी नै थियो। प्रतियोगिता सुरु भएको दुई दिनपछि पनि हिटिङ पौडी पोखरीको काम हुँदै थियो। पौडीको प्रतिस्पर्धा सुरु हुनुअघि जसोतसो हिटिङ पोखरी तयार भयो र त्यसमा पानी भर्ने काम सकियो। 

तर, विशाल पोखरीमा भरिएको पानी तात्न निकै समय लाग्ने भएकाले खेल सुरु भइसक्दा पनि आवश्यकताअनुरूप पानी तातिसकेको थिएन। दुई सय मिटर फ्रिस्टाइल स्पर्धामा स्वर्ण पदक जितेको केही समयपछि सञ्चारकर्मीमाझ उपस्थित भएकी गौरिका सिंहले पोखरीको पानी चिसो भएको गुनासो गरिन्। पौडीको हिट चरणको खेल बिहान र फाइनल चरणको खेल साँझमा खेलाइएको थियो। काठमाडौँमा यतिबेला चिसो निकै बढिसकेको छ। यस्तोमा गर्मी स्थानबाट आएका विदेशी खेलाडी कस्तो अनुभव लिएर फर्किए होलान् ? 

मैदानको गुणस्तरमा प्रश्न 
अघिल्लो मंगलबार पोखरा रंगशालामा नेपाल र श्रीलंकाबीच महिला फुटबलको खेल भयो। उक्त खेलमा नेपाली टोली १–० गोलले विजयी भएको थियो। त्यो खेलमा पराजित भएपछि श्रीलंकाली टोलीकी सहायक प्रशिक्षक डिफानी सफरसिन्हाले पोखरा फुटबल मैदानको गुणस्तरमाथि नै प्रश्न उठाइन्। ‘पोखराको फुटबल मैदान राम्रो छैन,’ सार्वजनिक रूपमा उनले भनेकी थिइन्, ‘सागका लागि नेपालले हतारमा काम गर्नु परेकाले मैदानको स्तर राम्रो नभएको होला।’

डिफानीले ठीकै भनेकी थिइन्। पोखरा रंगशालाको काम पनि निकै हतारमा गरिएको थियो। हतारमा काम गरेर पोखरा रंगशालामा दुबो राखिए पनि सबै दुबो मरेको थियो। त्यसपछि फेरि दुबो राखिएको थियो। तर, दोस्रो पटक राखिएको दुबो पनि मैदानमा राम्रोसँग सेट हुन पाएन। त्यसैले खेलाडीले त्यो मैदानमा स्वाभाविक प्रदर्शन गर्न सकेनन् र श्रीलंकाली प्रशिक्षकले सार्वजनिक रूपमा आफ्नो असन्तुष्टि जाहेर पनि गरिन्। यसबाहेक पोखरा रंगशालामा शौचालय, खेलाडीको चेन्जिङ रुमलगायत पूर्वाधार अझै पनि तयार भइसकेको छैन। हामीले हतारमा साग त आयोजना ग¥यौँ, तर अन्तर्राष्ट्रिय खेलवृत्तमा कस्तो सन्देश प्रवाहित भयो त ?  

भत्ता घोटालामा निर्णायकको आन्दोलन

उसुको प्रतियोगिता लगनखेलस्थित आर्मी फिजिकल फिटनेस सेन्टरमा भएको थियो। प्रतियोगिता तीन दिनसम्म चल्यो। पहिलो र दोस्रो दिनको खेल राम्रैसँग चल्यो। तर, तेस्रो दिन उसुमा अप्रिय घटना भयो। उसुका निर्णायकहरू आफूलाई पहिले भनिएभन्दा निकै कम भत्ता उपलब्ध गराइएको आरोपसहित विरोधमा ओर्लिए। उसुमा विदेशबाट झिकाइएका निर्णायकहरू पनि थिए। उनीहरूलाई अन्तर्राष्ट्रिय प्रचलनअनुसार दैनिक एक सय अमेरिकी डलरभन्दा बढी भत्ता दिने प्रतिबद्धतासहित नेपाल झिकाइएको थियो।

निर्णायकहरूको भत्ता स्तरअनुसार फरक हुने गर्छ। तर, प्रतियोगिता सुरु भइसकेपछि आफूहरूलाई प्रतिबद्धता जनाएअनुसार भत्ता उपलब्ध नगराइएको भन्दै निर्णायकहरू विरोधमा ओर्लिए। उनीहरू उजुरी गर्न लगनखेलबाट त्रिपुरेश्वरस्थित राखेपको मुख्यालयसम्म पुगे। प्रतिबद्धता अनुसारको भत्ता नपाए खेल नै सञ्चालन नगर्ने उनीहरूको अडान थियो। सोही कारणले लामो समय खेल पनि अवरुद्ध हुन पुग्यो। लामो बखेडापछि जेनतेन विवाद सामसुम पारेर खेल सुरु गरियो। 

निर्णायकको पारिश्रमिकसम्बन्धी विवाद अन्य खेलमा पनि देखिएको थियो। अन्य खेलका निर्णायकले पनि प्रतिबद्धताबमोजिम पारिश्रमिक नपाएको गुनासो गरेका थिए। निर्णायकलाई प्रतिबद्धता अनुसारको पारिश्रमिक उपलब्ध नगराएका कारण खेल अवरुद्ध हुँदा नेपाली खेल क्षेत्रमा त्यसको असर कस्तो प¥यो ? निर्णायकहरूको भत्ता बीचैमा कसरी घट्यो ? सागजस्तो बृहत् प्रतियोगिता आयोजना गरिरहँदा भएको यो घटनापछि विदेशी निर्णायकहरू नेपालप्रति सकारात्मक सन्देश लिएर घर फर्किएलान् त ? 

खेल पोशाकमा बेथिति

तेह्रौँ सागमा निर्णायकहरूलाई उपलब्ध गराइएको खेल पोशाकमा पनि उस्तै बेथिति देखियो। प्रतियोगिता खेलाउने निर्णायक खेलअनुसार फरक–फरक हुन्छन्। निर्णायकहरूको पनि विभिन्न तह र स्तर हुन्छ। पौडीमै पनि मुख्य रेफ्री, स्टार्टर, टाइमकिपर, फिनिस जजजस्ता विभिन्न तहका निर्णायक हुन्छन्। ब्याडमिन्टन कोर्टमा पनि अम्पायर, सर्भिस जज, लाइन जजजस्ता विभिन्न तहका निर्णायक सक्रिय हुन्छन्। 

तर, यसपटक सागमा उनीहरूलाई उपलब्ध गराइएको पोशाक (ट्रयाक सुट र जर्सी) मा भने सबैलाई रेफ्री भनेर लेखियो। मुख्य निर्णायकदेखि लाइन्सम्यानसम्म सबैलाई एउटै पोशाक उपलब्ध गराइएको थियो। यस विषयमा पनि कतिपय खेलका निर्णायकले गुनासो गरेका थिए। लनटेनिसमा त अझ भद्रगोल अवस्था देखियो। लनटेनिसको स्पर्धा सातदोबाटोस्थित टेनिस कोर्टमा भएको थियो। 

टेनिस खेलका क्रममा खेलाडीले प्रहार गरेको बल बाहिर गएपछि त्यसलाई संकलन गरेर पुनः खेलाडीलाई उपलब्ध गराउन ‘बल ब्वाई’ वा ‘बल गर्ल’ को व्यवस्था गरिएको हुन्छ। सामान्यतः ‘बल ब्वाई’ वा ‘बल गर्ल’ को जिम्मा किशोरकिशोरीलाई दिने गरिन्छ। तर, तेह्रौँ सागमा ‘बल ब्वाई’ को भूमिका निर्वाह गरिरहेका व्यक्तिले समेत रेफ्री लेखिएको ट्र््याक सुट लगाएका थिए। के हाम्रा खेल पदाधिकारी रेफ्री र बल ब्वाईबीच समेत फरक छुट्याउन नसक्ने अवस्थाका छन् त ? या हतारमा काम गर्दाको अप्रिय परिणाम थियो, त्यो पनि ?

एक्रिडिएसन कार्डमा भेदभाव

यस्तै अस्तव्यस्त अवस्था देखियो सञ्चारकर्मीको एक्रिडिएसन कार्ड वितरणमा पनि। यसपालि सागका सहभागीलाई एक्रिडिएसन कार्ड वितरण गर्ने जिम्मा नेपाल ओलम्पिक कमिटीको थियो। समाचार संकलनका लागि राष्ट्रिय दैनिक पत्रिकालाई सात, अनलाइनलाई पाँच र साप्ताहिक पत्रिकालाई दुई वटा एक्रिडिएसन कार्ड उपलब्ध गराउने प्रावधान राखिएको थियो। सोहीअनुसार ओलम्पिक कमिटीले कार्ड उपलब्ध गराउनुपर्ने थियो।

तर, ओलम्पिक कमिटीले कार्ड वितरण गर्ने क्रममा भद्रगोल अवस्था सिर्जना गर्‍यो। ओलम्पिक कमिटीले तोकिएको समयभित्रै कार्डका लागि पत्राचार गर्ने केही सञ्चारगृहको कार्ड नै बनाइदिएन। अर्कातिर, केही सञ्चारमाध्यमका लागि ८० जनाभन्दा बढीलाई एक्रिडिएसन कार्ड उपलब्ध गरायो। एक्रिडिएसन कार्डमा पनि सञ्चारमाध्यमले पठाएभन्दा फरक व्यहोरा राखेर कार्ड बनायो। 

त्यसै गरी, ओलम्पिक कमिटीले उपलब्ध गराएको एक्रिडिएसन कार्ड पनि निकै कमसल थियो। कार्डका लागि निकै पातलो कागज प्रयोग गरिएको थियो। त्यसैले १० दिने प्रतियोगिता सकिनुअघि नै धेरैको कार्ड च्यातिइसकेको थियो। ओलम्पिक कमिटीका पदाधिकारीले केही स्थापित सञ्चारमाध्यमलाई त यस्तो नाम गरेको सञ्चारमाध्यम पनि छ र ? भनेर प्रश्न गरेको गुनासो पनि सुनियो। 

त्यस्तै, सागका लागि गठित कतिपय समितिका पदाधिकारीलाई समेत ओलम्पिक कमिटीले एक्रिडिएसन कार्ड उपलब्ध गराएन। प्रचार, प्रसार तथा प्रकाशन समितिका अधिकांश सदस्यले एक्रिडिएसन कार्ड नै पाएनन्। मिडिया सेन्टर सञ्चालनको दायित्व प्रचार, प्रसार तथा प्रकाशन समितिको हो। तर, ओलम्पिक कमिटीले प्रचार प्रसार समितिका केही सदस्यलाई उपलब्ध गराएको एक्रिडिएसन कार्डमा भने मिडिया सेन्टर प्रवेशमै रोक लगाइएको थियो। 

हरेकजसो अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न लस्कर लगाएर विदेश हानिने ओलम्पिक कमिटीका पदाधिकारी र कर्मचारीबाट घरभित्रै आयोजित सागजस्तो ठूलो प्रतियोगितामा यस्तो गैरजिम्मेवार रवैयाको आशा गरिएको थियो त ?

नेपालको भनेर भारतको राष्ट्रगान बजाएपछि 

लगनखेलस्थित आर्मी फिजिकल फिटनेस सेन्टरमा उसुको प्रतियोगिता भएको थियो। प्रतियोगिता तीन दिनसम्म चल्यो। उसुमा पाँच जना नेपाली खेलाडीले स्वर्ण पदक जिते। नेपालले स्वर्ण पदक जितेको एक स्पर्धामा पुरस्कार वितरण गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पीताम्बर तिम्सिनालाई प्रमुख अतिथिका रूपमा निम्त्याइएको थियो। उनी तेह्रौँ सागमा नेपाली टोलीको ‘सेभ अफ दी मिसन’ पनि हुन्।

पुरस्कार वितरण गर्न लगनखेलस्थित आर्मीको कभर्डहलमा पुगेका तिम्सिनाले अनौठो स्थितिको सामना गर्नुप¥यो। पदक विजेता खेलाडीलाई पुरस्कार दिन उनलाई बोलाइयो। पदक वितरण समारोहमा स्वर्ण जित्ने खेलाडीको राष्ट्रको राष्ट्रगान बजाउने प्रचलन हुन्छ। उक्त स्पर्धामा नेपाली खेलाडीले स्वर्ण जितेकाले नेपालको राष्ट्रगान बजाउनुपर्ने थियो। 

तर, अस्तव्यस्त व्यवस्थापनका कारण त्यहाँ नेपालको भनेर भारतको राष्ट्रगान बजाइयो। बजाउनुअघि कुन देशको राष्ट्रगान हो भन्ने सामान्य हेक्कासमेत राखिएन। भारतको राष्ट्रगान बजेपछि उपाध्यक्ष पीताम्बर पनि अन्योलमा परे। उनको मुहारमा अन्योलसँगै आक्रोश पनि देखिन्थ्यो। त्यसपछि मात्र व्यवस्थापन पक्षलाई आफ्नो गल्ती थाहा भयो र गल्ती सच्याएर फेरि नेपालको राष्ट्रगान बजाइयो।

खेलस्थलमा भद्रगोल अवस्था

तेह्रौँ सागका क्रममा अधिकांश खेलस्थलमा भद्रगोल देखियो। सुरक्षाका दृष्टिकोणले प्रत्येक खेलस्थलमा खेलाडीका लागि छुट्टै बस्ने स्थानको व्यवस्था गर्नुपर्ने हुन्छ। तर, अधिकांश खेलस्थलमा न खेलाडीका लागि छुट्टै स्थानको व्यवस्था गरिएको थियो, न त सञ्चारमाध्यमका लागि। कराँते, भलिबल, लनटेनिसलगायत थुप्रै खेल स्थलमा खेलाडी, सञ्चारकर्मी र दर्शकसमेत एकै ठाउँमा कोचाकोच गरेर बस्नुपर्ने अवस्था थियो। 

यस्तोमा को खेलाडी र को दर्शक भनेर चिन्नै समस्या थियो। यसबाट विदेशी खेलाडीले अप्ठ्यारोसमेत अनुभव गरेका थिए। सातदोबाटोस्थित कराँतेको कभर्डहलमा पाकिस्तानी र श्रीलंकाली खेलाडीले यस विषयमा गुनासोसमेत गरेका थिए। त्यसै गरी, सञ्चारमाध्यमका लागि समाचार संकलन गर्न र तस्बिर खिच्नसमेत उपयुक्त स्थानको व्यवस्था गरिएको थिएन। यसबाहेक हतारमा काम गर्दा भौतिक पूर्वाधार निर्माणका क्रममा पनि थुप्रै त्रुटि भएका छन्। पूर्वाधारको गुणस्तरमै पनि प्रशस्तै कमीकमजोरी देखिएका छन्।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि