‘साइकल मर्मत गरेर घर ठड्याएँ’

writer

सम्पूर्ण

शनिबार, २१ मङि्सर २०७६


मरिचमान श्रेष्ठ, साइकल मिस्त्री

मेरो घर झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा पर्छ। केही गर्छु भनेर २०४३ सालमा काठमाडौँ आएँ। राजधानीमा भित्रिँदा मसँग युवा अवस्थाको जोशबाहेक केही थिएन। सुरु–सुरुमा धेरै चुनौतीको सामना गर्नुपर्‍यो। सुरुमा गलैँचाको धागो बनाउने काम गर्न थालेँ। त्यसबाट पनि केही होलाजस्तो लागेन। त्यसपछि साइकल बनाउने पसल खोल्ने विचार आयो। २०४६ सालमा साइकल बनाउने पसल खोलेँ। पहिले चाबहिलमा पसल खोलेको थिएँ। त्यहाँ खासै चलेन। त्यसपछि गौशाला, सिफल, ज्ञानेश्वर हुँदै अनामनगर आइपुगेँ। यहाँ पसल थापेको २९–३० वर्ष हुन लाग्यो। 

पसलमा साइकल र स्टप बनाउने काम गर्थें। ग्यास चुल्हो आएपछि मानिसहरूले स्टप चलाउन छाडे। व्यापार नचलेपछि स्टप बनाउन छाडेँ। त्यसपछि साइकलमै बढी जोड दिन थालेँ। मैले पसल खोल्दाताका काठमाडौँमा खासै गाडी चल्दैनथे। मन्त्री तथा विशिष्ट व्यक्ति मात्र गाडी चढ्ने गर्थे। मोटरसाइकल पनि धेरै थिएनन्। प्रहरी, सेनाका हाकिमदेखि सिंहदरबारका कर्मचारी सबै साइकल चढ्थे। साइकलको माग धेरै थियो। साइकल पसल पनि थुप्रै थिए। २०६२÷०६३ सालतिर साइकल संघमा आबद्ध भएँ। त्योबेला उपत्यकामा १३ सयजति साइकल पसल थिए। अहिले तीन–चार सयमा झरेका छन्। साइकलको माग घट्दै गएपछि पसल पनि घट्दै गए। 

साइकलको ठाउँ मोटरसाइकलले लिन थाल्यो। पैसा हुनेले गाडी किन्न थाले।  साइकल बिस्तारै हराउँदै गयो। नेपालमा साइकलयात्रीका लागि छुट्टै लेन छैन, न रुट छ। जसले पनि साइकल देखेपछि हेप्छ। महँगो साइकल भयो भने चोर्ने पनि त्यस्तै छन्। त्यसैले पनि साइकल चलाउनेको संख्या घटेको होजस्तो लाग्छ। पहिले एक दिनमै ९० देखि सय जना साइकल बनाउन आउँथे। अहिले १५÷२० जना पनि मुश्किलले आउँछन्। साइकल बनाउने पसलेको हालत जिँउदो लाशजस्तै भएको छ। यो काम छोडूँ भने अरू आउँदैन। के गरिखाने ? दुई छाक हातमुख जोड्नै गाह्रो पर्ला। नगरी सुख छैन।

अहिले खासै व्यापार नभए पनि यस पेशाले मलाई धेरै थोक दिएको छ। एउटा सुको नभएको म काठमाडौँ शहरमा घर बनाउन सक्ने भएँ। यसै कामबाट आम्दानी गरी शंखमूलमा घर बनाएको छु। त्योबेला जग्गाको भाउ पनि कम थियो। व्यापार राम्रो हुन्थ्यो। घर बनाइहालेँ। अहिले त्यही घरको भाडाले छोराछोरी पढाइरहेको छु। एउटा छोरा १२ कक्षामा पढ्छ, छोरी पढ्न अस्ट्रेलिया गएकी छे। यस कामबाट अहिले चियाखाजा खाने पैसा भने आउँछ। उमेर पनि ५५ वर्ष हुन थाल्यो। पुराना साइकल चलाउनेहरूको मायाले पनि पसल खोल्ने गरेको छु। टाढा–टाढासम्म साइकल पसल छैनन्। साइकल बनाउन आएकाहरू आशीर्वाद दिएर जान्छन्। त्यतिखेर पैसा नै सबथोक होइन भन्ने लाग्छ।

चलाउने घट्दै गए पनि साइकल लोप नै हुँदैन होला। हिजोआज स्वास्थ्य र वातावरणप्रति सचेत हुनेहरू फेरि साइकल चलाउने कुरा उठाइरहेका छन्। फेरि धेरैले साइकल चलाउने अवस्था पनि आउन सक्छ। नयाँ–नयाँ डिजाइन र महँगा साइकल चढ्नु पनि शानै त हो। पहिला दुई हजार रुपैयाँसम्ममा पनि साइकल पाइन्थ्यो। अहिले पाँच–दश लाख रुपैयाँका साइकल पनि हुन्छन्। पहिले हिरो जेट साइकल चढ्थे अहिले डिस ब्रेक, हाइड्रोलिक ब्रेक भएका साइकल चढ्छन्।  साइकलको समय फेरि फर्किन्छजस्तो लाग्छ। काम गर्न छोड्दिनँ। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि