‘आफ्नै देशमा केही गर्ने आँट हुनपर्छ’

writer

मेनुका कोइराला

शनिबार, २१ मङि्सर २०७६


काठमाडौँ, वसुन्धरास्थित हेराल्ड इन्टरनेसनल कलेजको क्यान्टिनमा सञ्जोक फुयाँल, सुजन अधिकारी, रेश्मा बस्नेत, दीप्सा श्रेष्ठ, रोशनी ढुंगाना चिया र खाजा खाँदै गफिँदै थिए। उनीहरू स्नातकका विद्यार्थी हुन्। 


सञ्जोकः आज कलेज आउँदा बाटोमा कुकुरले लखेटेर हैरान पार्‍यो। सुजनले स्कुटरमा खुट्टा उचाल्दै कलेज आउनुपर्‍यो।

सुजनः हो भन्या, आज त कुकुरले खेदेको खेद्यै गर्‍यो। 

रोशनीः तिम्रो स्कुटरमा हेडलाइट छैन ? बाटोमा कुकुर सुतेको देखेनौ ? कुकुरलाई कुल्चेपछि खेदिहाल्छ नि ! 

सञ्जोकः रोडमा सुत्ने हो त ! फेरि त्यसमा मोड थियो, केही देखिएन। 

रेश्माः ग्रान्डी हस्पिटलअगाडि पनि आज कस्तो जाम थियो। 

दीप्साः जाममा त म पनि परेको। किन भएको रहेछ ?

रेश्माः बिहानबिहानै बाइक एक्सिडेन्ट भयो रे ! आजभोलि बाइक एक्सिडेन्टका घटना धेरै हुने गरेका छन्। 

रोशनीः बाइक राम्ररी चलाए पनि ठूला गाडी चालकले लापरबाही गरेर चलाउँछन्।

सञ्जोकः अरूको थाहा छैन, म त ट्राफिक नियम पालना गर्दै बाइक हाँक्छु। 

सुजनः अनि, सञ्जोक तिम्रोमा हिजो बिहे थियो, हैन ?

सञ्जोकः हो नि, घरनजिकैको दिदीको बिहे थियो। मासुभात टन्नै खाइयो बिहेमा।  

रेश्माः त्यो दिदीले किन हो यति हतारमा बिहे गरेको ? 

दीप्साः अस्ट्रेलिया जानलाई बिहे गरेको भन्या हैन ?

सञ्जोकः हो डिपेन्डेन्ट भिसामा जान बिहे गर्‍या रे ! उहाँले नर्सिङ गर्नुभा’छ, त्यही भएर होला। 

रेश्माः अस्ट्रेलिया जान किन मान्छे यतिसारो मरिहत्ते गर्छन् होला ? जो पनि बिहे गर्‍यो, अस्ट्रेलिया गयो। 

रोशनीः आजभोलि त दिदीभाइ पनि अस्ट्रेलियाकै लागि भनेर फेक म्यारिज गरेर जान्छन् भनेर सुनेको छु। 

दीप्साः  यतिविधि त होइन होला ?

रोशनीः यस्तै सुनेको हो।

रेश्माः विदेश जाने चाहनामा हाम्रो समाजमा कस्ता–कस्ता विकृति भित्रिरहेका छन्, अचम्म ! दाजुबहिनी बिहे गरेर बूढाबूढी बनेर विदेश जानु भनेको यहाँ हो ? विदेश जान यतिविधि क्रेजी पनि हुनु हुँदैन।

सुजनः विदेश जानु कोही–कोहीको रहर भए पनि अधिकांशको बाध्यता नै हो। 

रोशनीः बाध्यताभन्दा पनि आफ्नै देशमा केही गर्न सक्ने आँट नहुनु हो। 

दीप्साः देशमा केही गर्ने वातावरण पनि हुनुपर्‍यो नि ! राम्रो काम गर्नेको खुट्टा तान्नेहरू मात्रै छन् यहाँ। 

सञ्जोकः विदेश जानु नराम्रो होइन, तर विदेश गएर फर्केरै नआउने चाहिँ गर्नु हुन्न। नेपाली विदेश गएनन् भने देशमा रेमिट्यान्स कसरी भित्रिन्छ त ?

सुजनः त्यही त, विदेश जानु मान्छेको रहर मात्र होइन। आफ्नै देशमा काम गर्न खोज्यो, कामको सम्मान हुँदैन। सरकारी जागिर खाने भनेर पढ्यो, पावर नलगाई अथवा घुस नखुवाई जागिर नै पाइँदैन। इमानदार मान्छे कसरी बाँचोस् त ? विदेशमा भाँडा माझ्दा पनि राम्रो पैसा पाइन्छ। त्यसैले सबै विदेश जान चाहन्छन्। 

दीप्साः विदेश जानु÷नजानु मान्छेको आ–आफ्नो इच्छा हो। तर, कसैले लग्छु भन्दैमा केही सोचविचार नगरी चाहिँ जानु हँुदैन। 

सञ्जोकः आफू जाने ठाउँबारे बुझ्नुपर्छ। यहीँबाट केही सीप सिकेर जानुपर्छ। 

रोशनीः जे भए पनि मैले त अहिलेसम्म विदेश जानेबारे सोचेकी छैन। जाने मन पनि छैन।

सुजनः विदेशमा भएको केटासँग बिहे भयो भने के गर्छौ ? 

रोशनीः म आफू पो जान्नँ भनेकी, तर बूढाले लग्दा त गइहाल्छु नि ! 

सञ्जोकः यस्ता दुईजिब्रे कुरा नगर न।

सुजनः त्यही त, जान्नँ भनेपछि नेपालमै पनि केटा पाइहालिन्छ क्यारे बिहे गर्न। 

दीप्साः भयो–भयो, रोशनीको बिहेको कुरा पछि गर्ला। अहिलेका लागि कक्षामा जाऊँ। 

तपाईको कमेन्ट

छुटाउनु भयो कि