आस्थाको ‘आधार भाग २’

writer

सम्पूर्ण

शुक्रबार, २० मङि्सर २०७६


गायिका आस्था राउतको दोस्रो एल्बम ‘आधार भाग २’ सार्वजनिक भएको छ। म्युजिक नेपालले उत्पादन गरेको एल्बमलाई बिहीबार राजधानीमा एक कार्यक्रममा वरिष्ठ अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह), संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु हरिबहादुर राउत र आमा सावित्री राउत लगायतले एल्बम सार्वजनिक गरे।

कार्यक्रममा अभिनेता आचार्यले आस्थासँग आफूले फिल्म ‘छक्कापञ्जा २’को एउटा गीत ‘झ्याम्म झ्याम्म’मा सहकार्य गर्न पाएको स्मरण गर्दै उनको स्वर भिन्न रहेको बताए। ‘जो कोहीको गीत सुनिरहँदा त्यो गीत सोही गायक–गायिकाको हो कि होइन भन्ने अन्योल हुन्छ,’ आचार्यले भने, ‘किनकि, त्यस्तै किसिमको स्वर अन्य गायक–गायिकाको पनि हुन्छ। तर, आस्थाको स्वर सुन्दा उनको जस्तो स्वर अन्यमा पाइँदैन। त्यसकारण परबाटै यो गीत आस्थाले नै गाएको हो भन्नेमा ढुक्क भइन्छ।’

त्यस्तै, अभिनेता श्रेष्ठले कम उमेरमै आस्थाले नेपाली सांगीतिक क्षेत्रमा गरेको प्रगति देखेर आफूलाई खुशी लागेको बताए। ‘सांगीतिक वातावरणमा जन्मेर, हुर्केर होला, आस्थामा गायकीको नयाँ फ्लेभर पाउँछौँ,’ उनले भने।

आस्थाका सांगीतिक गुरु संगीतकार सुरेश अधिकारीले आस्था जस्तोसुकै फ्लेभरको गीत पनि गाउन सक्ने प्रतिभाशाली गायिका भएको बताए। आस्थाका पिता हरिबहादुरले आफूलाई आस्थाको पिता भनेर चिनाउन पाउँदा खुशी लाग्ने बताए।

एलबममा ‘दशैँ आयो, तिहार आयो’, ‘कलधारा’, ‘हवाईजहाजको टिकट’, ‘सिमाना’, ‘रामसाइली’, ‘नाकैमा फुली’, ‘को छ यहाँ र झलझल गर्ने’ बोलका गीत छन्। यी गीतमध्ये ‘को छ यहाँ’ बोलको गीतमा आस्थाकी आमा सावित्री राउतको शब्द रहेको छ। बाँकी सात वटा गीतमा सुरेश अधिकारीको शब्द र संगीत छ।

कार्यक्रममा ‘नाकैमा फुली’ गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो। शान थापाले निर्देशन गरेको भिडियोमा आँचल शर्मा र महेश खड्का फिचर्ड छन्। भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र अनिल के मानन्धरको छायांकन छ। ‘आधार भाग २’ मा रहेका गीतमध्ये ‘दशैँ आयो, तिहार आयो’बोलको गीतको म्युजिक भिडियो म्युजिक नेपालको युट्युब च्यानलका साथै मुभी एन्ड मस्ती र नेपाल अनडिमान्ड एपमा सुन्न र हेर्न सकिन्छ।

आस्थाको पहिलो एल्बम ‘आधार’ का गीतहरू ‘खै त मलाई झुम्के बुलाकी’, ‘चौबन्दी पटुकी’ चर्चित छन्। उनी हाल टेलिभिजन गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ की एक निर्णायक पनि हुन्।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि