ग्रुप स्टडीले जन्माएको एनएस ११३४

writer

युवराज भट्टराई

शुक्रबार, २० मङि्सर २०७६


सुजन शाक्य ललितपुर, कनिबहालस्थित नेसनल चिल्ड्रेन स्कुलमा पढ्थे। स्कुल पढ्दाताका नै उनले ड्रम बजाउन सिकेका थिए। साथीभाइसँग कक्षामा रमाइलो गर्दा गीत गाउँथें। भन्छन्, ‘साथीहरूले मलाई पनि गाउन थाल् भन्थे। तर, मलाई आफ्नो स्वर सुनेर हाँस उठ्थ्यो।’

स्कुल पढ्दादेखि नै उनलाई गीत गाउनुपर्छ भन्दै प्रोत्साहन गर्नेहरू थिए। युनिक कलेज, कुमारीपाटीमा अध्ययन गर्दा उनी पहिलो पटक स्टेज चढे। भन्छन्, ‘मलाई साथीभाइ, मेरो प्रेमिका सबैले हौसाएका थिए। त्यसैले पनि गीत गाउने आँट गरेँ।’ कलेजमा पहिलो प्रस्तुति दिएपछि उनको गायनलाई थुप्रैले मन पराए। आफूजस्तै कलेजमा अन्य साथीले पनि गीतसंगीतमा रुचि राख्ने कुरा थाहा पाए। सुजन आफू गीत गाउने, गिटार बजाउने गर्थे। अरू साथीहरू विभिन्न इन्स्ट्रुमेन्ट बजाउन सिपालु थिए। कलेजमा भेट भएका साथीहरूको रुचि त थाहा थियो तर समूह भने बनिसकेको थिएन। सुजन भन्छन्, ‘म नपढ्ने स्वभावको थिएँ। उनीहरू पढनदास थिए।’ तर, पढ्ने बहानाले नै उनीहरूको ब्यान्ड पनि बन्यो। 

कलेजको परीक्षा आउँदा सबै जना ग्रुप स्टडी गर्ने भनेर साथीको घरमा भेला भएका थिए। त्यहाँ गिटार देखेपछि बजाउने, गाउने गर्न थाले। सुजन भन्छन्, ‘ब्यानडको जन्म त्यहीँबाट भयो। सबैको सल्लाहमा ब्यान्ड खोल्ने निर्णय गरियो।’

ब्यान्डको नाम के राख्ने भन्नेमा पनि अन्योलमा थियो, समूह। त्यत्तिकैमा ब्यान्डकै एक जना सदस्यले नाम जुराए– एनएस–११३४। अर्थात्, नेपाल संवत् ११३४। 

सुजन र साथीहरूले सुरुवात गरेको ब्यान्डमा पाँच जना नेवार समुदायका साथी थिए भने एक जना थिए, सन्दीप तिवारी। तर, ब्यान्डको नाम भने उनै सन्दीपले जुराए। 

ब्यान्डसँग सुरुसुरुमा कुनै काम थिएन, सिवाय अभ्यास गरेर बस्ने। ‘तर, निरन्तर लागेपछि पक्कै काम पाइन्छ भन्ने थियो,’ सुजन विगत सम्झन्छन्, ‘बिस्तारै काम पाइन थाल्यो।’ एनएस–११३४ ले कलेज र स्थानीय कार्यक्रममा प्रस्तुति त दिइरहेको थियो, तर ठूलो प्लेटफर्म पाइरहेको थिएन। सुजन भन्छन्, ‘ब्यान्डकै एक जना साथीले शंखमूलमा सो मिलायो। पैसा दिएर गरेको पहिलो सो त्यही थियो।’ पाँच वर्षअघि त्यो सोबाट उनीहरूले छ हजार रुपैयाँ पाएका थिए।

अहिले एनएस–११३४ मा पाँच जना सदस्य छन्। तीमध्ये सुजन र उज्ज्वल शाक्य मात्र संस्थापक सदस्य हुन्। अरू भने आउने–जाने गरिरहन्छन्। अहिले सुजनले गायन र गिटारको जिम्मेवारी सम्हालिरहेका छन् भने उज्ज्वल ड्रम बजाउँछन्।  मिनेस वज्राचार्य बेस गिटार, आशिष वज्राचार्य लिड गिटार र उत्सव वज्राचार्य मादल बजाउँछन्।

संगीतमा लाग्नुको अर्थ जोखिमलाई आफ्नो निम्तो दिनुजस्तै भएको ब्यान्डको अनुभव छ। सामान्य म्युजिक भिडियो बनाउँदा पनि ठूलो रकम खर्च हुन्छ। आर्थिक रूपमा गीतसंगीतमा लागेर सबल हुनलाई निकै लामो समय संघर्ष गर्नुपर्ने हुन्छ। सुजन भन्छन्, ‘पुराना साथीहरू नियमित लागिरहेनन्। उनीहरू छुटेपछि नयाँ मेम्बर थपिए।’ 

कहिले ठमेल, कहिले पाटन

अचेल सुजन बिहानै ललितपुर, गाबहलमा रहेको ब्यान्डको रिहर्सल गर्ने ठाउँमा पुग्छन्। साथीहरू पनि बिहान ७÷८ बजे भेला भइसक्छन्। भेला भएपछि तीनचार घण्टा उनीहरूको रिहर्सल चल्छ।

नयाँ मेम्बर थपिएपछि एनएस–११३४ ले नियमित रूपमा रेस्टुरेन्टहरूमा गिग गरिरहेको छ। हप्ताको केही दिन ब्यान्डले प्रस्तुति दिने गरेको छ। उनीहरू कहिले ठमेलको साँझलाई सांगीतिक बनाउँछन् त, कहिले पाटनमा गुञ्जिरहेका हुन्छन्। कार्यक्रमबाट केही मात्रामा आर्थिक सहयोग मिल्छ, ब्यान्डलाई। ‘धेरथोर कमाइ पनि भइरहेको छ,’ सुजन भन्छन्, ‘तर, त्यो कमाइ संगीतमा नै खर्च हुने गरेको छ। कमाएको पैसा गीत निकाल्न इन्भेस्ट गर्छाैं।’ 

ब्यान्डले केही आफ्नै गीत पनि सार्वजनिक गरेको छ। गीत बनाउन लागेको खर्च पनि ब्यान्डले गिग गरेरै जम्मा पारेको हो। सुजन भन्छन्, ‘सुरुवातमा गिग पनि गर्न सक्दैनौँ भन्ने लाग्थ्यो। आज राम्रोसँग गरिरहेका छौँ। गीतहरू निस्किरहेका छन्। भोलि सफल पनि हुन्छौँ भन्ने विश्वास छ।’

होटलमा गाउनुका सास्ती

रातको समयमा होटल, बार र लाउन्जमा गीत गाउँदा केही समस्या भने भइरहेको बताउँछन्, सुजन। भन्छन्, ‘संगीत पवित्र कुरा हो। यसलाई होहल्ला र चिच्याहट ठान्नेहरू पनि छन्।’ कहिलेकाहीँ दर्शक र स्रोताको व्यवहारले ब्यान्ड मर्माहत पनि हुने गरेको छ। ‘होटलमा गाउने भन्नेबित्तिकै कतिपय मान्छेले हेयको दृष्टिले पनि हेरिदिन्छन्,’ सुजन भन्छन्, ‘हामी कलाकार हौँ। कलाकारको कलाको सम्मान हुनुपर्छ। न कि उसलाई पैसा दिइएको छ, जे गरे पनि हुन्छ भन्ने हो। कहिलेकाहीँ स्रोताले संगीत नबुझ्दा खल्लो लाग्छ।’ 

पछिल्लो समय नेपालमा ब्यान्डहरू टुटने र फुट्ने क्रम चलिरहेको छ। पुराना ब्यान्डहरू गुमनाम छन्। उनीहरूको नयाँ गीत ननिस्किएको वर्षौं भइसक्यो। यस्ता जोखिमहरू उठाएर ब्यान्डलाई टिकाइरहेका छन्, सुजन। भन्छन्, ‘म संगीतबाट अब पर जान सक्दिनँ। ब्यान्ड फर्म गरियो। बन्द गर्नु थियो भने फर्म नै हुँदैनथ्यो। अब जेजस्तो अवस्थामा पनि ब्यान्डको यात्रा जारी रहन्छ।’ 

समुदायसँग जोडिँदै 

नेवार समुदायका सदस्य भएकाले ब्यान्डले नेपाल भाषाका गीतहरूमा पनि काम गरिरहेको छ। भर्खरै मात्र सुरेन्द्र तुलाधरको शब्द तथा पुष्पराज शाक्यको संगीतमा ब्यान्डले नेवार भाषाको गीत सार्वजनिक गर्‍यो। ‘प्रेम या कविता’ बोलको गीतलाई दर्शकले खूब रुचाएको सुजन बताउँछन्। भन्छन्, ‘हामी हरेक पक्षबाट आफ्नो समुदायसँग जोडिएका छौँ। आफ्नो समुदायका लागि काम पनि गरिरहेका छौँ।’ 

पाँच वर्षअघि पहिलो गीत रेकर्ड भएको थियो, एनएस–११३४ को। अहिले छैटौँ गीतको तयारीमा छन् उनीहरू। ‘कालो कालो आँखा तिम्रो’ बोलको गीतमा सुजनकै शब्द, लय तथा आवाज रहेको छ। ‘दर्शक र स्रोताको मायाका कारण नियमित काम गर्न पाइरहेका छौँ,’ सुजन भन्छन्। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि