‘बार्बी गर्लमा नाजी गर्ल’ मिसाएपछि

writer

सम्पूर्ण

शुक्रबार, २० मङि्सर २०७६


‘ठट्टा गर्दा लट्टा पर्छ’– यो पुरानो नेपाली उखान हो। नेपाली उखान अर्जेन्टिनाको एउटा स्कुल र त्यहाँका विद्यार्थीसँग मेल खान पुगेको छ। घटना करिब एक हप्ताअघिको हो। 

‘अक्वा’ नामक डेनमार्केली र नर्वेली गायक–गायिकाको ब्यान्ड सन् १९९७ ताका विश्वप्रसिद्ध भयो। ब्यान्डको गीत ‘बार्बी गर्ल’ संसारका प्रायः सबै देशमा बज्न थाल्यो। ‘आइम् ए बार्बी गर्ल इन द बार्बी वल्र्ड÷लाइफ इन प्लास्टिक, इट्स फ्यान्टास्टिक’ जस्ता पंक्ति अहिले पनि गुनगुनाउने गरिन्छ। 

अर्जेन्टिनाको सान हुआन प्रान्तमा रहेको एउटा निजी विद्यालयका विद्यार्थीलाई इतिहास विषयमा ‘असाइनमेन्ट’ दिइएको थियो। इस्कुएला मोदेलो अफ सान हुआन नामक विद्यालयका विद्यार्थीले ‘आइम् ए बार्बी गर्ल’को प्यारोडी गीत र भिडियो बनाए। गीतको बोल थियो– ‘आइम् ए नाजी गर्ल, इन द नाजी वल्र्ड।’ 

कुख्यात जर्मन तानाशाह एडोल्फ हिटलर र थर्ड राइखको पतनपछि थुप्रै नाजी अधिकृतहरू भागेर अर्जेन्टिना पुगेका थिए। नाजी जर्मनीले करिब ६० लाख यहुदीको आमसंहार गरेको थियो। 

यस्तो संवेदनशील विषयमा विद्यार्थीहरूले हास्य गीत र भिडियो बनाए, अनि अनलाइनमा पोस्ट गरे। भिडियोमा एक जना विद्यार्थी एडोल्फ हिटलर बनेका छन्। ती हिटलर विद्यार्थी भिडियोमा नाजी जर्मनीमा यहुदीहरूमाथि के–कति अत्याचार भएको थियो, त्यसको बयान गर्छन्। यहुदी र समलिंगीको भूमिका निर्वाह गरेका विद्यार्थीलाई भिडियोमा दुव्र्यवहार गरिएको छ। गीतमा ‘यहुदीहरू हो, शिविरमा जाऊ, साबुन बनाऊ’ जस्ता अपमानजनक पंक्ति छन्। 

गीत सार्वजनिक भएपछि यसको चर्को आलोचना भयो। स्थानीय यहुदी संस्थाहरूले स्कुल र विद्यार्थीको विरोध गरे। त्यसपछि स्कुलले गएको शनिबार सबैसँग माफी माग्दै विज्ञप्ति निकाल्यो। 

विद्यार्थी त आलाकाँचा भइहाले, इतिहासका शिक्षक पनि ठेट्नै निक्लिए। उनले यस्तो भिडियो बनाउने समूहलाई १० पूर्णांकमा नौ अंक दिए। नतिजा, ती शिक्षकले जागिरबाट हात धुनुपर्‍यो। स्कुलले उनलाई निष्कासन गर्‍यो।

तपाईको कमेन्ट

पपुलर पोस्ट