केशरीको झल्को दिने ‘तुलसाको पलायन’

writer

रोशन राउत

बिहिबार, १९ मङि्सर २०७६


सबैलाई छक्याउँदै तुलसा सुखद भविष्यको सपना बोकेर कतार उडिन्। तुलसा कतार हिँडेको कुरा न उनका प्रशिक्षकले थाहा पाए न त व्यवस्थापकले नै। सँगै बन्द प्रशिक्षणमा रहेका उनका कतिपय साथीले समेत यो कुराको सुइँको पाउन सकेनन्। पूजा गर्न मन्दिर जान्छु भन्दै उनी सबैलाई चकित पार्दै कतार उडिन्। 


विदेश खेल्न गएर खेलाडी उतै भाग्नु नेपाली खेलकुदको पुरानै रोग हो। युरोप, अमेरिका मात्र होइन, एसियाकै कतिपय सुविधासम्पन्न देशमा खेल्न गएर खेलाडी उतै हराएका थुप्रै उदाहरण छन्, नेपाली खेलकुदमा। प्रतियोगिता खेलेर स्वदेश फर्किएका थुप्रै खेलाडी सुखद भविष्यको खोजीमा पुनः विदेश पलायन भएका उदाहरण पनि पर्याप्त छन्। अहिले पनि हजारौँको संख्यामा प्रतिभाशाली नेपाली खेलाडी विदेशी भूमिमा पसिना बगाउँदै छन्।

तर, यसपटक नेपाली खेलकुदमा एउटा फरक घटना चर्चाको विषय बन्न पुग्यो। राष्ट्रको जर्सी लगाएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु हरेक खेलाडीको धोको हुन्छ। त्यसमाथि दक्षिण एसियाली खेलकुद (साग) जस्तो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना साँचेर थुप्रै खेलाडी दिनरात मैदानमा पसिना बगाउँछन्। यसका लागि खेलाडीले वर्षौं कठोर परिश्रम पनि गरेका हुन्छन्। देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सबै खेलाडीको सपना पूरा हुँदैन।

तर, एथलेटिक्स खेलाडी तुलसा खत्रीको हकमा यो नियम लागू भएन। मुखैमा आइसकेको तेह्रौँ  सागको तयारीमा रहेकी तुलसा पदकको मोह त्यागेर विदेश पलायन भइन्। दशरथ रंगशालामा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट तेह्रौँ सागको उद्घाटन हुने कार्यक्रम थियो। उक्त प्रतियोगितामा नेपालले पदकको निकै आशा गरेको प्रतिभाशाली खेलाडीमध्ये एक थिइन्, तुलसा।

विडम्बना, तेह्रौँ साग सुरु हुनुभन्दा चार दिनअघि सबैलाई छक्याउँदै उनी धन कमाउन कतार पुगिन्। उनले सागमा चार सय मिटर दौड, चार सय मिटर रिले र चार सय मिटर हर्डल्समा प्रतिस्पर्धा गर्ने कार्यक्रम थियो। चार सय मिटर दौडको त उनी राष्ट्रिय कीर्तिमानधारी खेलाडी नै हुन्। त्यसैले पनि सागमा तुलसाबाट नतिजामुखी प्रदर्शनको आशा गरिएको थियो।

उनी लामो समयदेखि बन्द प्रशिक्षणमा थिइन्। बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई काठमाडौँकै होटलमा राखिएको थियो। सागजस्तो ठूलो प्रतियोगिताको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई कडा निगरानीमा राख्ने गरिन्छ। तर, बिहीबार बिहान सबैलाई छक्याउँदै तुलसा सुखद भविष्यको सपना बोकेर कतार उडिन्। तुलसा कतार हिँडेको कुरा न उनका प्रशिक्षकले थाहा पाए न त व्यवस्थापकले नै।

सँगै बन्द प्रशिक्षणमा रहेका उनका कतिपय साथीले समेत यो कुराको सुइँको पाउन सकेनन्। ‘प्रतियोगिताको मुखैमा हामी सबैलाई ढाँटेर विदेश भागिन्,’ एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङले भने, ‘उनीबाट हामीले राम्रो प्रदर्शनको आशा गरेका थियौँ। उनको यो हर्कतले हामी सबै स्तब्ध छौंँ।’ गुरुङका अनुसार, तुलसा पूजा गर्न मन्दिर जान्छु भन्दै बिहान साढे ५ बजे नै होटलबाट बाहिरिएकी थिइन्। 

‘होटलको गार्डलाई उनले पूजा गर्न मन्दिर हिँडेको भनेर ढाँटिछन्,’ गुरुङले भने, ‘हातमा पूजाको थाली पनि बोकेकी रैछन्। मन्दिर जान्छु भनेकाले गार्डले रोकेनन्।’ बिहान प्रशिक्षणस्थलमा नपुगेपछि तुलसाको खोजी भयो। तर, मन्दिर जान्छु भनेकाले कसैले खासै वास्ता गरेनन्। दिउँसोसम्म पनि सम्पर्कमा नआएपछि मात्र गम्भीर रूपमा उनको खोजी हुन थाल्यो। तुलसाका प्रशिक्षक राकेश वज्राचार्यले पनि उनी प्रशिक्षणमा उपस्थित नभएको जानकारी सम्बन्धित अधिकारीहरूलाई गराएका थिए। त्यसपछि उनको साथीहरूसँग सोधखोज हुँदा तुलसा वैदेशिक रोजगारीका लागि सुटुक्क कतार हिँडेको पत्ता लागेको थियो। तुलसाले विभागीय टोली त्रिभुवन आर्मी क्लबको तर्फबाट प्रतियोगिता खेल्दै आएकी थिइन्।

अघिल्लो महिना चीनको उहानमा आयोजना भएको ‘सातौँ विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगिता’ मा पनि भाग लिएकी थिइन्। उक्त प्रतियोगितामा उनले महिला चार सय मिटर दौडमा १० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी थिइन्। सुर्खेत घर भएकी तुलसाले आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत दाङमा भएको चार सय मिटर दौडमा पनि स्वर्ण पदक जितेकी थिइन्।

प्रमुख प्रशिक्षक गुरुङले तुलसाले कतार उड्नका लागि बिहान साढे ९ बजे बोर्डिङ पास लिएको जानकारी आफूलाई प्राप्त भएको पनि बताए। गुरुङले तुलसा भागेको विषयमा आफूले राष्ट्रिय टिम तयारी समितिका संयोजकलाई समेत जानकारी गराइसकेको बताए। राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले पनि तुलसा भागेको जानकारी आफूलाई प्राप्त भइसकेको बताए। ‘तुलसा भागेको जानकारी हामीलाई प्राप्त भइसकेको छ,’ रानाभाटले भने, ‘मैले पनि यस विषयमा युवा तथा खेलकुदमन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिलाई जानकारी गराइसकेको छु।’ 

आखिर मुखैमा आइसकेको सागजस्तो ठूलो प्रतियोगितामा पदक जित्ने मोहसमेत त्यागेर किन कतार हिँडिन् त तुलसा ? यही प्रतियोगिताका लागि उनले वर्षौं मैदानमा पसिना बगाइन्। घामपानी केही नभनी लगातार प्रशिक्षणमा व्यस्त रहिन्। कयौँ रात आँखा झिमिक्क नपारी पदक जित्ने योजना बुनिन्। तर, यी कुनै कुराले किन रोक्न सकेन त उनको कतार पलायनलाई ?

कतार पुगेको भोलिपल्टै यी तमाम प्रश्नको जवाफ उनी आफैँले दिइन्। देशका लागि खेल्ने चाहना हुँदाहुँदै पनि भविष्य बनाउन आफू कतार हिँडेको सन्देश उनले आफ्ना प्रशिक्षक र केही साथीलाई पठाइन्। उनको स्पष्ट संकेत थियो, ‘मलाई मेरो गरिबीले कतार पू¥याएको हो।’ देशले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकको आशा गरेको एउटा कीर्तिमानी खेलाडीले नेपाली खेलकुदमा आफ्नो भविष्य देखिनन्। सुन्दा समान्यझैँ लागे पनि नेपाली खेलकुदका लागि यो ठूलो विडम्बना हो।

राष्ट्रिय खेलाडीका रूपमा मैदानमा पसिना बगाउनुभन्दा कतारको चर्को गर्मीमा पसिना बगाउनुमा उनले आफ्नो भविष्य सुरक्षित देखिन्। तुलसाको यो कथाले नेपाली खेलकुदको यथार्थ अवस्थाको चित्रण गर्छ। सिंगो जीवन खेलकुदमा होमेका आफ्ना अग्रजहरूको अवस्थालाई सायद तुलसाले नजिकबाट नियालिन्। सिंगो जीवन खेलकुदमा खर्चिएपछि थुप्रै कीर्तिमानको भारीले थिचिएर जीर्ण बनेका अग्रजको वर्तमानसँग उनले आफ्नो भविष्यलाई दाँजिन्। सायद त्यसपछि नै हो, उनले पदकको मोह त्यागेर कतारतर्फ हानिने अप्रिय निर्णय लिएको।
 
तुलसा र केशरी चौधरीको कथा उस्तै–उस्तै छ। यी दुवैको कथामा थोरै मात्र फरक छ। देशको दूरदराजका गाउँबस्तीबाट आउने गरिब परिवारका खेलाडीको लागि नेपाली खेलकुदमा भविष्य खोज्नु कति कठिन छ भन्ने कुरा उनीहरूको कथामा झल्कन्छ। नेपाली खेलकुदमा तुलसा र केशरीलाई प्रतिनिधित्व गर्ने खेलाडीको संख्या निकै ठूलो छ। 

तुलसा तेह्रौँ सागको मुखैमा बन्द प्रशिक्षणबाट सबैको आँखा छल्दै कतार पुगिन्। अर्की प्रतिभावान् खेलाडी केशरी भने सबैलाई आफ्नो अभावग्रस्त जीवनको कथा सुनाउँदै सुखद भविष्यको खोजीमा दुबई हिँडिन्। तर, दुवैको बाध्यता भने एउटै थियो, सधँैको आर्थिक समस्या। केशरी पनि एथलेटिक्स खेलाडी नै थिइन्। उनीको नामसँग पनि एथलेटिक्सका थुप्रै कीर्तिमान जोडिएका थिए। 

लामो समय देशका लागि खेल मैदानमा रगत–पसिना बगाएकी कीर्तिमानी खेलाडी केशरीले पनि खेलकुदमा आफ्नो भविष्य सुखद देखिनन्। केशरी विदेश पलायन हुँदा उनको नाममा हाइजम्प, लङ्जम्प, ट्रिपल जम्प, सय मिटर हर्डल्सजस्ता स्पर्धाका कीर्तिमान थिए। पछिल्लो समय त उनी आफैँले आफ्नो कीर्तिमान तोड्दै आएकी थिइन्। एथलेटिक्सका अतिरिक्त उनले देशका लागि क्रिकेट पनि खेलेकी थिइन्।

नेपाली खेलकुदका प्रतिनिधि पात्र मात्र हुन्, तुलसा र केशरी। जबसम्म राष्ट्रको गहनाका रूपमा लिइने खेलाडीको भविष्यप्रति राज्य गम्भीर हुँदैन, तबसम्म आफ्नो जीविकोपार्जनका लागि प्रतिभावान् खेलाडी विदेश पलायन हुने क्रम रोकिने अवस्था देखिँदैन। केही समयअघि कुराकानीका क्रममा एक पुराना खेलाडीले गुनासो गरेका थिए, ‘पक्कै पनि खेलाडी भनेका राष्ट्रको गहना नै हुन्। राष्ट्रलाई आवश्यक पर्दा लगाउने अनि काम सकिएपछि फुकालेर दराजमा थन्क्याउने।’ यसतर्फ नेपाली खेल अधिकारी कहिले गम्भीर हुने ? प्रश्न अझै अनुत्तरित छ। 

तपाईको कमेन्ट

पपुलर पोस्ट