लभ गर्ने बिहे नगर्ने

writer

सृजना खड्का

आइतबार, १५ मङि्सर २०७६


यो साता ‘अन्नपूर्ण सम्पूर्ण’ले २५ वर्ष कटेका एक सयभन्दा बढी युवायुवतीसँग विवाहको विषयमा एउटा सर्वेक्षण गरेको छ। कुराकानीका क्रममा अधिकांशले बिहेलाई ‘बर्बादी’को संज्ञा दिएका छन्। उमेर पुगेका युवायुवतीमा बिहेप्रतिको वितृष्णालाई यसपालिको ‘सम्पूर्ण’मा समेटिएको छ।


करिअर फस्ट
काठमाडौँ, कीर्तिपुर बस्ने रोशन सिग्देल (२८) जुनसुकै क्षेत्रमा भए पनि आफूलाई स्थापित गरेर मात्रै विवाह गर्ने सोचमा छन्। ‘बिहे भनेको चानचुने कुरा होइन,’ उनले भने, ‘आफूलाई स्थापित नगराई बिहे गर्दा बिहेपछि आउने जिम्मेवारी वहन गर्न सकिँदैन।’ बिहेको विषयलाई लिएर समाज र परिवारको सोचमा परिवर्तन आएको उनले बताए। ‘अहिले समाज खुला भएको छ,’ उनले भने, ‘धेरै आमाबाबुले बिहेको प्रेसर दिन छाडिसके। बिहे आफ्नो मर्जीअनुसार गर्ने हो भन्ने कुरा सबैले बुझिसके।’ 

काठमाडौँ, डिल्लीबजारकी सिसम पोखरेल (२८) ले पनि अहिले नै बिहेका लागि हतार नभएको बताइन्। ‘अहिले नै बिहेको के हतार ?’ उनले भनिन्, ‘जबसम्म आफ्नो करिअर बलियो बनाउँदिनँ, तबसम्म बिहेबारे सोच्दा पनि सोच्दिनँ।’ साथीहरूको बिहे भएको देखेर उनलाई कहिलेकाहीँ बिहे गरौँ कि भन्ने पनि लाग्छ। ‘तर, पछि उनीहरूले दुःख पाएको र बन्धनमा परेको देख्दा सिंगल लाइफ नै ठीक भन्ने लाग्छ,’ उनले भनिन्, ‘बिहे भनेको अरूको देखेर, करकापमा परेर होइन, आफू सक्षम भएपछि पो गर्नुपर्छ।’ 

पोखराका वीरेन्द्र भण्डारी (३०) ले आधुनिकीकरणसँगै विवाहसम्बन्धी धारणामा  परिवर्तन आएको बताए। ‘पहिला छोराछोरीको बिहे गरिदिन पाए अभिभावकलाई के–के न होलाजस्तो हुन्थ्यो,’ उनले भने, ‘खेती–किसानी नै मानिसहरूको संसार थियो। धेरै ठूला सपना थिएनन्। अहिले समय फेरियो। हाम्रो पुस्ताका मानिस ठूलठूला सपना देख्न थालेका छन्।’ वीरेन्द्र अहिले नै बिहे गरिहाल्ने पक्षमा छैनन्। ‘पहिला आफ्नो सपना पूरा गर्छु, अनि मात्र बिहेबारे सोच्छु,’ उनले भने।

झापाका नवीन तिवारी (३१) ले आजभोलिका युवाले बिहेभन्दा करिअरलाई प्राथमिकता दिएको बताए। ‘हिजोको समाजमा विवाह गर्नैपर्छ भन्ने मान्यता थियो,’ उनले भने, ‘स्कुलिङ पनि त्यस्तै तरिकाको थियो। तर, अहिले विवाह नै गर्नुपर्छ, घरजम नै गर्नुपर्छ भन्ने खास मान्यता छैन।’ उनले अहिलेसम्म बिहे नगर्नुका केही कारण छन्। ‘अहिलेसम्म एक्लै बसियो, भोलि विवाह गर्दा कस्तो मान्छे पर्छ भन्ने  डर छ,’ उनले भने, ‘विवाह गर्नु आवश्यक छ र ? भनेर आफूलाई धेरै पटक सोधिसकेँ। अहिलेसम्म त्यसको जवाफ पाएको छैन।’

२७ वर्षीया जयन्ती अर्याललाई बाँच्नका लागि वैवाहिक सम्बन्ध नै गाँस्नुपर्छजस्तो लाग्दैन। विवाह नगरेर पनि जीवन अगाडि बढाउन सकिन्छ भन्ने लाग्छ उनलाई। ‘म अहिले बिहेभन्दा करिअरतिर ध्यान दिँदै छु,’ उनले भनिन्, ‘विवाहितहरू कोही पनि खुशी देख्दिनँ। उनीहरूलाई देखेर मलाई पनि बिहे गर्न मन लाग्दैन। घरमा केटा हेर्न आएर हैरान छ। सुरुमा टेन्सन हुन्थ्यो, अहिले बानी परिसक्यो। आउँछन्, एक कप चिया खान्छन्, जान्छन्।’

काठमाडौँ, सोह्रखुट्टेका ३३ वर्षीय दीपक बोहोराको पनि बिहे नगर्ने सोच छ। ‘२० वर्षको उमेरसम्म गेम खेलेर बित्यो,’ उनले भने, ‘२५ वर्षसम्म पढाइले पेल्यो। २५ देखि ३३ वर्षको उमेर जागिर खाँदैमा बित्यो। अझै जिन्दगीमा कति कुरा गर्नुछ। बिहे गरेर के काम ?’

सर्लाहीका नवीन बम्जन (३०) को काँधमा भाइबहिनीको जिम्मेवारी छ। ‘बिहे गर्न मन लागेको उमेरमा भाइबहिनीको भविष्यका लागि विदेशिएँ,’ उनले भने, ‘उतै १० वर्ष बिताएँ। अहिले जति गर्दा पनि पटक्कै बिहे गर्न मन लाग्दैन।’ 

२५ वर्षीय राहुल गौतमले करिअर सेटल नभई बिहे गर्न नहुने बताए। ‘म अझै पाँच वर्ष बिहेबारे सोच्दिनँ,’ उनले भने, ‘करिअरमा नजमी गरेको बिहे सफल हुन्छजस्तो लाग्दैन।’

अफेयरमा दुवै पक्षले एकअर्कालाई ख्याल राख्छन्। त्यहाँ सेयरिङ र केयरिङ हुन्छ। कुनै प्रकारको हाइरार्की हुँदैन। तर, विवाह भनेको हाइरार्की हो। अफेयरमा हुँदा ‘ए काले चुप’ भनेको मान्छेलाई बिहे गरेपछि ‘आइस्यो, खाइस्यो’ भन्न समाजले बाध्य बनाउँछ। विवाहपछि सामाजिक, सांस्कृतिक र भावनात्मक रूपमा पुरुष माथि, महिला तल पर्छन्।

मनोविश्लेषक वासु आचार्य ढिलो बिहे गर्दा फाइदाभन्दा धेरै बेफाइदा भएको बताउँछन्। ‘नेपालको परिप्रेक्ष्यमा बिहेका लागि ३० वर्ष नकटाउँदा बेस हुन्छ,’ उनी भन्छन्, ‘यो उमेरसम्म मानिस मानसिक, शारीरिक र आर्थिक रूपमा सबल र सक्षम भइसकेको हुन्छ। २५ देखि ३० वर्षको उमेरमा बिहे गर्दा हरेक पक्षबाट मानिसलाई राम्रो हुन्छ।’ 

समाजशास्त्री डा. मीना उप्रेती जमाना फेरिएको बताउँछिन्। ‘हजुरआमाको पालामा ११/१२ वर्षमा बिहे हुन्थ्यो,’ उनी भन्छिन्, ‘आमाको पालामा बिहे गर्ने उमेर १५/१६ वर्ष पुग्यो। अहिले २० देखि ३० वर्षको उमेर बिहेका लागि योग्य मानिन्छ। अबका पुस्ता ‘एज इज जस्ट अ नम्बर’ (उमेर भनेको अंक मात्रै हो) भन्छन्, र आफूलाई मन लागेको बेला बिहे गर्छन्।’ पहिला ‘ज्वाइँले पढाइदिन्छन्’ भन्ने आमाबाबुहरू अहिले छोरीलाई आफैँ पढाउन थालेको उनी बताउँछिन्। ‘हजुरआमाले देउता मान्ने श्रीमानलाई आमाले देउता मान्न छाडिसक्नुभयो,’ उनी भन्छिन्, ‘बिहेपछि अधिकांश महिलाको जीवन श्रीमान्, सासूससुरा र छोराछोरीको वरिपरि घुमेर बित्छ। बिहे गरेपछि जागिर छोडेका महिला थुप्रै भेटिन्छन्।’ विवाहपछि एउटी महिलाले आयआर्जनसँगै आत्मनिर्णय पनि गुमाउने उनी बताउँछिन्। ‘छिटो गरिएका विवाहले अधिकांश महिलाको करिअर बर्बाद गरिदिएको छ,’ उनी भन्छिन्। 

‘सर्टिफिकेटलाई छोरी दिँदैनन्’ 
पर्वतका २७ वर्षीय प्रतीक तिवारी सिभिल इन्जिनियर हुन्। हाल उनी बेरोजगार छन्। ‘धेरै ठाउँमा जागिर खोज्न गएँ,’ उनले भने, ‘राम्रो पैसा नै दिँदैनन्। कमाइ नभई बिहे गरेर के काम ?’ एउटा स्थायी जागिर खाएर मात्र बिहे गर्ने उनको इच्छा छ। ‘राम्रो जागिर खान सकिएन भने त बिहे पनि गर्दिनँ,’ उनले भने, ‘बिहे गरेर जिन्दगी के बर्बाद गर्नु ?’

३० वर्षीय अतीत भट्टराई एमफिलको पढाइ सकेर जागिर खोज्दै छन्। ‘केटी खोज, लभ गर, बिहे गर, यो सबैका लागि मसँग फुर्सद छैन,’ उनले भने, ‘बिहे गरेपछि परिवारलाई समय दिनुपर्छ। हरेक कुराको जिम्मेवारी लिनुपर्छ। यी सबै कुरा सम्झिनेबित्तिकै मलाई उकुसमुकुस हुन्छ।’ अझै पाँच वर्ष बिहेबारे नसोच्ने उनले बताए। 

त्यसै गरी, २७ वर्षीय सन्तोष थापा पनि विवाह गर्ने पक्षमा छैनन्। ‘पढाइको सर्टिफिकेट देखाएर मात्रै कसैले छोरी नदिने रहेछन्,’ उनले भने, ‘अब त लभ गर्ने उमेर पनि गइसक्यो। एउटा जागिर खाएर कसैले पत्यायो भने बुढेसकालमा बिहे गरिएला कि ?’ 

भक्तपुरका राजेश कर्माचार्य (२७) ले बिहे ख्यालठट्टा नभएको बताए। ‘बिहे गर्नलाई मसँग कुनै स्थायी जागिर छैन,’ उनले भने, ‘आफ्नै ज्यान पाल्न मुस्किल भइरहेको बेलामा बिहे गर्नु भनेको खतरा मोल्नु हो।’ आफ्ना सपना पूरा गर्न बिहेले छेक्ने उनको तर्क छ। ‘पारिवारिक जिम्मेवारीमा रुमलिँदा सबै सपना पछि छुट्छन्,’ उनले भने। 

सोलुखुम्बुका मदन केसीको काठमाडौँमा घर बनाएर मात्र बिहे गर्ने धोको छ। ‘गाउँबाट धेरै सपना बोकेर शहर आएको छु,’ उनले भने, ‘सधैँ अरूको घरमा बसेर भएन। आफ्नो पनि घर बनाउनुपर्‍यो। अहिलेको ३०/३५ हजारको जागिरले मैले कहिले घर बनाउनु ? कहिले बिहे गर्नु ? यसो हेर्दा त मेरो बिहे नै होला जस्तो लाग्दैन।’ अहिलेका युवालाई केटी पाउन साह्रै गाह्रो भएको उनले बताए। ‘अहिले हामीजस्तालाई कसले छोरी देला र ?’ उनले भने, ‘सबैका आमाबाउलाई पीआर र ग्रिनकार्डवाला ज्वाइँ चाहिएको छ। नभए पनि काठमाडौँमा घर त हुनैपर्छ। मलाई त बिहे गर्नकै लागि भए पनि घर नबनाई भएको छैन।’ 

सरकारी जागिर भएर के गर्नु ?
२८ वर्षका नवीन रावल सरकारी जागिरे हुन्। ‘परिवार र आफन्तले ‘सरकारी जागिरे भइसकिस्, अब त बिहे गरे भइहाल्यो नि’ भन्छन्,’ उनले भने, ‘सरकारी जागिरे भइयो भन्दैमा सबै कुरामा कहाँ ढुक्क हुन सकिन्छ र ? अर्को कुरा, केटी कस्तो पर्ने हो ? ऊसँग जीवन बिताउन सकिन्छ/सकिँदैन भन्ने सोचेर डर लाग्छ।’

काठमाडौँ, सामाखुशीका ३२ वर्षीय अनिल मल्लले ३० वर्ष कटेपछि बिहे गर्ने सोच बनाएका थिए। ‘योभन्दा अगाडि जागिर पनि थिएन, कमाइ पनि थिएन,’ उनले भने, ‘तर, राम्रा–राम्रा केटीको प्रस्ताव आएको थियो। अहिले कमाइ पनि छ, सरकारी जागिर पनि छ। तर, आफूलाई चित्तबुझ्ने केटी भेटिँदैन। दुई वर्ष भइसक्यो केटी खोजेको। आफूले रोजेजस्तो कतै भेटिएन।’ 

लभ गर्ने, बिहे नगर्ने
२६ वर्षीय विशाल भण्डारी रिलेसनसिपमा छन्। तर, उनलाई गर्लफ्रेन्डसँग बिहे होलाजस्तो लाग्दैन। ‘लभ गर्दैमा बिहे गर्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘अहिलेको जमानामा लभ गरेकोसँग कसले बिहे गर्छ ? अहिले सानोतिनो बिजनेस गर्दै छु। टन्न पैसा नकमाएसम्म बिहेबारे सोच्दा पनि सोचिन्न।’ 

विवाह सामाजिक र अफेयर व्यक्तिगत हुने समाजशास्त्री डा. उप्रेती बताउँछिन्। ‘बिहे गर्दा संसारलाई देखाएर, पार्टी दिएर गरिन्छ,’ उनी भन्छिन्, ‘लभ गर्दा लुकाएर गरिन्छ। सकभर कसैले थाहा नपाओस् भनिन्छ। अब विवाह पहिलाको जस्तो सामाजिकभन्दा पनि व्यक्तिगत हुन थालिसकेको छ।’ प्रेमसम्बन्धमा हुने मायाप्रेममा  बिहेले संकट निम्त्याउने उनी बताउँछिन्। ‘विवाहले मानिसलाई सामाजिक बन्न बाध्य बनाउँछ,’ उनी भन्छिन्, ‘बिहे गरेपछि मायाप्रेम कम हुँदै जान्छ, समाज र परिवारप्रतिको जिम्मेवारी बढ्दै जान्छ। अहिलेका युवा पारिवारिक र सामाजिक उत्तरदायित्वमा हत्तपत्त फस्न चाहँदैनन्।’ 

झन्झटमा फस्नु छैन
‘यता आफ्नै जीवन अस्तव्यस्त छ, बिहे गरेर के काम,’ २९ वर्षीया जेनिसा श्रेष्ठले भनिन्, ‘बिहे गरेपछि श्रीमान्, सासूससुरा र छोराछोरीको चित्त बुझाउँदैमा जिन्दगी जान्छ। मलाई अहिले नै त्यस्तो झन्झटमा फस्नु छैन।’

२६ वर्षीया आइसा क्षत्रीले बिहेबारे आजसम्म सोचेकी छैनन्। ‘म एक्ली छोरी हुँ,’ उनले भनिन्, ‘मलाई बिहेको केही चिन्ता छैन। म जन्मेको घर नै मेरो घर हो। मलाई अरूको घर आफ्नो बनाउनु छैन।’ उमेर ढल्केपछि आफूले रोजेजस्तो केटा नपाइएला भन्नेमा आफूलाई कुनै चिन्ता नभएको उनले बताइन्। ‘मलाई भविष्यभन्दा वर्तमान महŒवपूर्ण लाग्छ,’ उनले भनिन्, ‘अहिले स्वतन्त्र भएर बाँचिरहेको छु। केहि समय बिन्दास लाइफ जिउने हो। आफ्नो खुट्टामा उभिने हो। बिहे गर्नैपरे त्यसपछि गरौँला।

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल २५ देखि ३० वर्षको उमेर विवाहका उपयुक्त भएको बताउँछन्। ३५ वर्ष कटेपछि भने समस्या देखिने उनी बताउँछन्। ‘३५ वर्षपछि महिलाको बच्चा नहुने सम्भावना बढ्छ,’ उनी भन्छन्, ‘त्यस्तै, ४० वर्षपछि बच्चा पाउँदा बच्चा पाउन अप्ठ्यारो हुन सक्छ र बच्चामा पनि केही शारीरिक तथा मानसिक समस्या देखापर्न सक्छ।’ 

‘करले होइन, रहरले गरिन्छ बिहे’
काठमाडौँ, मैतीदेवीकी प्रतीक्षा थपलिया २६ वर्षकी भइन्। उनी पनि बिहे गर्ने पक्षमा छैनन्। ‘बिहेका लागि घरबाट प्रेसर छैन,’ उनले भनिन्, ‘तर, आफन्त र छिमेकीलाई टाउको दुखेर हैरान छ। बिहे त आफ्नो हिसाबले पो गर्ने त। अरूले प्रेसर दिएर गर्ने हो र ?’

झापाका रूपक अधिकारी (२९) लाई बिहे गर्नै मन छैन। ‘घरबाट ‘छोरा अब त बिहे गर्नुपर्‍यो’ भनेर कराइरहन्छन्,’ उनले भने, ‘म सधैँ अरू कुरा गरेर टारिदिन्छु। साथीभाइको देखेरै चेतिसकेँ। आफूले भनेको गर्न नपाइने, श्रीमतीले भनेअनुसार चल्नुपर्ने हुन्छ। त्यस्तो भएपछि कसले गर्छ बिहे ?’

ललितपुर, इमाडोल बस्ने भौतिक गोले (२८) घरमा बिहेको कुरा निस्कियो कि घरै छाडेर एकदुई हप्ताका लागि साथीको घर जान्छन्। ‘मलाई अहिले बिहे गर्न मन छैन,’ उनले भने, ‘अझै पाँच–दश वर्ष बिहे गर्छुजस्तो लाग्दैन। पहिले आफू केही बनेर मात्र बिहे गर्छु।’ बिहे जुन उमेरमा गरे पनि केही फरक नपर्ने उनले बताए। ‘बिहे भनेको बुढेसकालमा गर्ने हो,’ उनले भने, ‘त्योभन्दा पहिला घुमघाम गर्नुपर्‍यो। आफ्नो जीवन बाँच्नुपर्‍यो।’

काठमाडौँ, बौद्धका मनिक घिसिङ (२६) लाई आफ्नो मनको आवाज सुनेर बिहे गर्नुपर्छ भन्ने लाग्छ। ‘मलाई घरबाट बिहे गर भनेर कराइरहनुहुन्छ,’ उनले भने, ‘तर, म उहाँहरूको कुरा नसुनेको जस्तो गरिदिन्छु। बिहे गरेपछि लाइफ ड्यामेज हुन्छजस्तो लाग्छ।’ 

महोत्तरीकी विमला तामाङ (२६) आफूलाई बिहे गर्न हतार नभए पनि समाजलाई बिहे गर्न हतार भएकोमा गुनासो गर्छिन्। ‘हाम्रो समाज नै यस्तै छ,’ उनले भनिन्, ‘छिटो बिहे गर्दा उत्ताउली भन्छ, ढिला बिहे गर्ने सोच बनाएर बस्यो ‘फलानाकी छोरी नबिक्ने भई’ भन्छ। हाम्रो समाजमा महिलालाई हेर्ने दृष्टिकोण नै फरक छ।’ कतिपय महिलाले समाजको डरले बिहे गर्ने उनले बताइन्। उनलाई बिहे गर्नैपर्छ भन्ने लाग्दैन। ‘एक्लै पनि हाँसीखुशी जीवन कटाउन सकिन्छ,’ उनले भनिन्, ‘भन्नेले जेसुकै भनून्। समाजका मानिसलाई बिहे नगरेकी केटीको आत्मनिर्भरता, स्वतन्त्रता र बलियो आत्मविश्वासमाथि ईष्र्या लाग्छ।’

मनोविश्लेषक वासु आचार्यका अनुसार उमेरमा बिहे नगर्ने र पछि बिहे गर्न खोज्ने युवालाई आफूलाई बुझ्ने जीवनसाथी भेट्न गाह्रो हुन्छ। ‘उनीहरूलाई बुझ्ने वा उनीहरूसँग सोच मिल्ने मानिसको पहिल्यै बिहे भइसकेको हुन्छ,’ उनी भन्छन्। दुवै जना फरक–फरक वातावरण र संस्कारबाट हुर्केर आएको हुनाले बिहेपछि एकअर्कालाई बुझ्नै चार/पाँच वर्ष लाग्ने उनी बताउँछन्। ‘३५ वर्षमा बिहे गरेको पुरुषले श्रीमतीलाई बुझ्दा ४० वर्ष भइसकेको हुन्छ,’ उनी भन्छन्, ‘त्यहाँ माया–प्रेमभन्दा उराठपन बढी हुन्छ। मानिस बिहेलाई बोझ ठान्न थाल्छन्।’ धेरैले बिहे जीवनको बर्बादी ठान्ने उनी बताउँछन्। ‘बिहेले मानिसको जीवनलाई झन् सुमधुर बनाइदिन्छ,’ उनी भन्छन्, ‘त्यसका लागि ढंग चाहिन्छ। हाम्रोमा बिहे गरिसकेका मानिसले युवा पुस्तालाई गलत संस्कार सिकाइरहेका छन्। उनीहरू एकअर्कालाई बुझाउन नसकेर झगडा गर्छन्। अनि, आफू ‘बिहे गरेर काम छैन’ भन्दै हिँड्छन्।’

बिहेपछि एकले अर्कालाई बराबरी साथ, सम्मान र सहयोग गर्नुपर्ने उनको तर्क छ। ‘बिहेपछि श्रीमती र छोराछोरीसँग पनि समय बिताउनुपर्छ,’ उनी भन्छन्, ‘तर, हामी बरु साथीभाइसँग अनावश्यक समय खर्च गरिरहेका हुन्छौँ। परिवारलाई दिन हामीसँग समय हुँदैन। बिहेपछि पनि जीवन जिउन जान्नुपर्छ। जान्यो भने त्योभन्दा रमाइलो जीवन अर्को हुँदैन।’ 

बिहेदेखि एलर्जी
धेरै साथीहरूको बिहेपछि स्वतन्त्रता खोसिएको देखेर भक्तपुरकी बुरिमा कार्की (२८) लाई बिहे गर्न मन छैन। ‘मेरा थुप्रै चराजस्तै उड्ने साथी बिहेपछि पिँजडामा परेको जस्तो भएका छन्,’ उनले भनिन्, ‘त्यो देखेर मलाई सकेसम्म बिहे गर्न नपरे हुन्थ्यो भन्ने लाग्छ। मलाई बिहेदेखि एलर्जी छ। सोच राम्रो भएको केटा परेन भने त जिन्दगी हरिबिजोग हुन्छ।’ 

काठमाडौँ, नयाँ बानेश्वर बस्ने सुविधा पौडेल (२९) लाई बिहेपछि अरूको अन्डरमा बस्नुपर्ने भएकाले बिहे गर्न मन छैन। ‘म अरूको अन्डरमा बस्नै सक्दिनँ,’ उनले भनिन्, ‘मेरा मिल्ने साथीहरू बिहेपछि चेन्ज भएका छन्। साथीहरूसँग कुरा गर्न पनि उनीहरूलाई श्रीमान्को अनुमति चाहिन्छ। त्यस्तै परे म त बिहे नै नगरी जीवन बिताउँछु।’

पढाइ सकेर मुखमा जागिर आएको बेला कुनै महिला बिहेको लागि राजी नहुने समाजशास्त्री डा. उप्रेती बताउँछिन्। ‘आजभोलिका महिलालाई जागिर खानु छ, प्रगति गर्नु छ,’ उनी भन्छिन्, ‘पश्चिमाहरू करिअर बनेपछि बिहे गर भन्छन्। हाम्रोमा उमेर भएपछि गर्नुपर्छ भनिन्छ।’ २० वर्षभन्दा अगाडि गरिएका विवाहहरू आपत्तिजनक विवाह हुन् भन्छिन्, डा. उप्रेती। ‘२० देखि २५ वर्षको उमेरमा गरिएको विवाहले करिअरलाई ध्वस्त बनाउँछ,’ उनी भन्छिन्, ‘विवाह मानिसले जति उमेरमा गर्दा पनि हुन्छ। विवाह भनेको साथी हो, सहयोग हो। त्यहाँ उमेरले कुनै असर गर्दैन। ५५, ६०, ७० वर्षको उमेरमा पनि मानिसले बिहे गरेका छन्।’

विवाहलाई शारीरिक सम्बन्धको हिसाबले जोडेर हेर्नु वाहियात भएको उनी बताउँछिन्। ‘शारीरिक सम्बन्ध भनेको फिलिङ हो,’ उनी भन्छिन्, ‘यदि आफूलाई राम्रो अनुभव हुँदैन भने २५ वर्षको तन्नेरी उमेरमा पनि राम्ररी शारीरिक सम्बन्ध राख्न सकिँदैन।’ सम्बन्धमा माया, विश्वास र सम्मान भएन भने विवाहप्रति वितृष्णा छाउने उनी बताउँछिन्। ‘यी तीन कुरा भएनन् भने विवाहसँग मानिस सधैँ डराइरहनुपर्छ,’ उनी भन्छिन्, ‘समानता, स्वतन्त्रता र सम्मान नहोला भन्ने डरले  अचेल धेरै युवा बिहेसँग तर्किएका छन्।’ 

रहर छ, आँट छैन
विजया आचार्य (२७) लाई बिहे गर्ने रहर छ, तर बिहे गर्ने आँट भने छैन।  ‘बेहुलीले लगाएको लुगा र वेडिङ फोटोसुटहरू देखेर बिहे गरौँ–गरौँ जस्तो लाग्छ,’ उनले भनिन्, ‘तर, एक दिनको झिलीमिलीले जीवन अँध्यारो हुन्छजस्तो लाग्छ। अर्काको घरमा गएर कसरी एड्जस्ट हुने होला भनेर बिहे गर्ने आँटै आउँदैन।’

इटहरीका निङ्मा योञ्जन (२७) लाई बिहे भनेको जीवनमा एकचोटि गरिने भएकाले सोचेर/बुझेर मात्रै गर्नुपर्छ भन्ने लाग्छ। ‘आजभोलि आफूलाई बुझ्ने र मन मिल्ने साथी भेट्नै गाह्रो छ,’ उनले भने, ‘अहिलेसम्म बिहे गर्ने सोच बनाएको छैन। जुन दिन माथिबाट लेखेर आउँछ, त्यही दिन बिहे गरिन्छ।’

रामेछापका सौखिन लामा (३०) लाई पनि बिहे गर्नैपर्छ भन्ने लाग्दैन। ‘नेपाली समाजमा मानिस बिहेपछि मात्रै पूर्ण हुन्छ भनिन्छ,’ उनले भने, ‘तर, पूर्ण मानिस हुन बिहे नै गर्नुपर्छ भन्ने लाग्दैन।’ 

जबसम्म पुरुषको सोच परिवर्तन हुँदैन, समाजको संरचना र संस्कृतिमा परिवर्तन हुँदैन, तबसम्म बिहेप्रति वितृष्णाको तह बढ्दै जाने समाजशास्त्री डा. उप्रेती बताउँछिन्। ‘महिलाहरू सजिलै बिहे गर्ने पक्षमा छैनन्,’ उनी भन्छिन्, ‘बिहेबाट महिलाले अलिकति मात्रै खुट्टा झिकिदिने हो भने यो बिहे भन्ने प्रथाको नै अन्त्य हुन्छ।’ पहिलाका महिलाले सबै कुरा सहेर बसेको हुनाले विवाह बचेको उनको भनाइ छ। ‘अब महिलाको इच्छाअनुसार समाज नचल्ने हो भने, समाजको संस्कार र पुरुषको सोच नबदलिने हो भने विवाहमै संकटमा पर्छ,’ उनी भन्छिन्, ‘विवाह संकटमा पर्नेबित्तिकै परिवार र समाजमा संकट पर्छ।’ 

(युवराज भट्टराई, अस्मिता खड्का, आशक्ति फुयाल, मेनुका कोइराला, उर्मिला स्याङ्तान र सुमित सुवेदीको सहयोगमा )


 

‘बिहे न छिटो ठीक न ढिलो ठीक’  

वासु आचार्य, मनोविश्लेषक

 

आजका युवा वैवाहिकभन्दा एक्लो जीवनमा रमाउन थालेका छन्। बिहे गर्नुभन्दा एक्लै जीवन कटाउनु मज्जा भनेर बिहेदेखि तर्किने युवा नेपाली समाजमा प्रशस्तै भेटिन्छन्। विवाहपछिको विवाद, झन्झट, असहजता, तनाव, छटपटी र अप्ठ्यारोपनमा होमिनुभन्दा एक्लो जीवन बिताउनु ठीक भन्ने धेरैको तर्क छ। 

एक्लो जीवनको एउटा पाटो आनन्द छ। साथीसंगी बनायो, अफेयरमा बस्यो, रमाइलो गर्‍यो, काम र करिअरलाई अगाडि बढायो। तर, यसको अर्को पाटो नरमाइलो पनि छ। ढिलो बिहे गर्दा पार्टनरसँग एड्जस्ट हुन गाह्रो पर्छ। बच्चाहरू ढिला जन्मिन्छन्। ढिलो जन्मिएको बच्चा र आमाबाबुबीच जेनरेसन ग्याप हुन्छ। यसले गर्दा बच्चाहरूलाई बुझ्न धेरै गाह्रो हुन्छ। २५/३० वर्षको उमेरमा बच्चा जन्माएका आमाबुबाको बच्चासँग राम्रो ट्युनिङ हुन्छ। तर, ३५/४० को उमेरमा बच्चा जन्माउँदा बच्चासँग राम्रो ट्युनिङ नहुन सक्छ। ढिला बिहे गरेका दम्पतीले छोराछोरी हुर्काउन जान्दैनन्।

महिलाको हकमा ढिला बिहे गर्दा डिभोर्स भइसकेको, उमेरले नेटो काटेको पुरुष पर्न सक्छन्। पुरुषले पनि आफूले सोचेको जस्तो श्रीमती पाउँदैन। ३५/४० वर्षको केटाले २०/२५ वर्षको केटी त पाउला, तर त्यहाँ जेनेरेसन ग्याप हुन्छ। एकअर्काबीच शंका–उपशंका उत्पन्न हुन थाल्छ। बाहिर अफेयर हुन थाल्छ। श्रीमती राम्री भएको, बाहिर निस्केको, कसैसँग बोलेको श्रीमान्लाई चित्त बुझ्दैन। उमेर नमिल्नेसँग बिहे गर्नु भनेको समझदारीमा समस्या आउनु पनि हो। त्यसैले न त छिटो, न त ढिलो, ठिक्क उमेरमा बिहे गर्नुपर्छ। 

ढिला बिहे गर्दा जिन्दगी बुझ्न सजिलो हुन्छ। मानिस स्वतन्त्र र सिर्जनशील हुन्छ। कुनै निर्णय लिनका लागि मानिस परिपक्व भइसकेको हुन्छ। तर, ढिलो बिहे गर्नेले पनि आफ्ना आधारभूत आवश्यकता भने पूरा गर्नुपर्छ। ३०/३५ वर्षसम्म बिहे पनि नगरेका र प्रेम तथा रोमान्टिक सम्बन्धमा पनि नरहेका धेरै मानिस डिप्रेसनमा गएका उदाहरण छन्। उनीहरू यौनका हिसाबले तड्पिएका छन्। त्यसैले यौनका हिसाबले पनि समयमै बिहे गरेको राम्रो। 

श्रीमान् वा श्रीमती कस्तो पर्ला वा पर्ली ? विवाहपछि के होला ? आमाबाबुसँग कसरी पहिलाजस्तै सुमधुर सम्बन्ध राखिरहने ? भनेर धेरै जना डराउने गर्छन्। यस्ता कुरासँग जुध्ने उपाय थाहा नहुँदा धेरैको जीवन संकटमा पर्छ। समझदारीमा समस्या भएर मात्रै बिहे टुट्दैन। प्रायः बिहे सम्बन्ध निर्वाह गर्ने उपाय थाहा नभएर टुट्छन्। एकअर्कालाई बुझ्ने ढंग नहुँदा डिभोर्स हुन्छ। 

बिहेपछि समझदारीमा समस्या आयो भने एकअर्कालाई बुझ्ने कोसिस गनुपर्छ। कसैले आफूलाई बुझ्दैन भने लाग्छ भने नबुझेको कुरा बुझाउने कोसिस गर्नुपर्छ। कहिलेकाहीँ आफ्नो पनि गल्ती केलाउनुपर्छ। सबैभन्दा महŒवपूर्ण कुरा, मानिसको दृष्टिकोण, बुझाइ, ढंग र चेतना हो। कसैलाई बुझाउन सकिएन भने गुनासो गर्ने, आत्तिने होइन। बुझाउन कोसिस गर्नुपर्छ। अलिअलि आफू उसको अनुसार बनिदिने, अलिकति उसलाई आफूअनुसार बनाउने। अलिकति ऊतिर ढल्किने, अलिकति आफूतिर ढल्काउने। अनि, पो जिन्दगी जिन्दगीजस्तो हुन्छ ! 
(कुराकानीमा आधारित) 

 

‘बिहे दोस्रो प्राथमिकता बन्दै छ’

डा. मीना उप्रेती, समाजशास्त्री

 

हिजोको समाजमा विवाहले महिलालाई सुरक्षित बनाउँथ्यो। महिलाको बाँच्ने आधार नै बिहे थियो। बिहेपछिको घर नै उसको आफ्नो घर हुन्थ्यो। हिजो हजुरआमा/हजुरबुबाले ‘मेरो मर्ने बेला भयो, मलाई नातिनीबुहारी/नातिनीज्वाइँ हेरेर मर्ने इच्छा छ’ भनेको भरमा बिहे हुन्थ्यो। पहिला विवाहलाई धर्म, संस्कार, स्वर्ग इत्यादिसँग जोडेर हेरिन्थ्यो। 

अहिलेका महिला आफ्नो स्वतन्त्रता, इच्छा र क्षमतामा सचेत हुन थालेका छन्। विवाहसम्बन्धी पुराना धरातल खुकुलिँदै गएका छन्। महिलाहरू विवाहले आफूलाई फाइदा/बेफाइदा के पुर्‍याउँछ भनेर मूल्यांकन गर्ने भएका छन्। त्यसैले आफ्नो करिअर बनाउने उमेरमा उनीहरूले कुनै पनि हालतमा बिहे गर्दैनन्। पहिला आमाबाबुले इमोसनल ब्ल्याकमेल गरेर छोरीहरूको बिहे गरिदिन्थे। आजभोलि छोरीहरू उल्टै आमाबाबुलाई इमोसनल ब्ल्याकमेल गरेर बिहे गर्न मनाही गर्छन्।

धेरै जना अफेयर र बिहेमा फरक हुन्छ भन्छन्। वास्तवमा यी दुईबीच भिन्नता छन्। लभ वा अफेयरमा दुवै पक्षले एकअर्कालाई ख्याल राख्छन्। त्यहाँ सेयरिङ र केयरिङ हुन्छ । त्यहाँ कुनै प्रकारको हाइरार्की हुँदैन। तर, विवाह भनेको हाइरार्की हो। अफेयरमा हुँदा ‘ए काले चुप’ भनेको मान्छेलाई बिहे गरेपछि ‘आइस्यो, खाइस्यो’ भन्न समाजले बाध्य बनाउँछ। विवाहपछि सामाजिक, सांस्कृतिक र भावनात्मक रूपमा पुरुष माथि, महिला तल पर्छन्। पहिला ‘मलाई जे भनेर बोलाए पनि हुन्छ’ भन्ने ब्वाइफ्रेन्ड श्रीमान् बनिसकेपछि ‘अरू बेला मलाई तँ/तिमी जे भने पनि केही फरक पर्दैन, मान्छेको छेउमा चाहिँ तपाईं/हजुर भन है’ भन्न थाल्छ। समाजले उनीहरूको सम्बन्धलाई बिहेपछि थप औपचारिक र जटिल बनाइदिन्छ। यस्तो अवस्थामा धेरैले बिहेलाई झन्झट र बोझका रूपमा लिन थाल्छन्। 

श्रीमान्हरू ‘खाना पाक्यो बूढी ?’ भन्दै हरेक दिन आनन्दले घरभित्र छिर्छन्। तर, कुनै श्रीमती ‘खाना पाक्यो बूढा ?’ भन्दै एक दिन पनि घरभित्र छिर्ने अवस्था हाम्रो समाजमा छैन। बिहेपछि यस्ता खालका असमान सम्बन्धहरू सुरु हुन्छन्। तिनै असमान सम्बन्धबाट टाढिन धेरैले बिहे गर्दैनन्। जबसम्म महिला र पुरुषले गर्ने काम र भूमिकामा पनि परिवर्तन आउँदैन, तबसम्म विवाहहरू टिक्दैनन्।

आजको युगमा महिलाहरू राम्रो सारी वा कुनै देशको पीआरको भरमा बिहे गर्दैनन्। उनीहरू बिहेभन्दा करिअर र घर–परिवार, सम्पत्ति र केटाभन्दा आफूमा बढी केन्द्रित हुन थालेका छन्। अहिलेका युवतीले विवाहलाई दोस्रो प्राथमिकतामा राखेका छन्। जागिर खाएपछि कमाउने पैसा, त्यो पैसा खर्च गर्दाको रमाइलो र त्यहाँबाट पाइने इज्जतको महसुस उनीहरूले गर्न थालेका छन्। बिहेलाई मानिसले जीवन मान्न छाडिसके। यो सामाजिक संरचनामा आएको परिवर्तन हो। महिलाहरूमा आएको परिपक्वताको अवस्था हो। पुँजीवादले महिलालाई ल्याइदिएको स्वतन्त्रताको उदाहरण हो। पुँजीवादले महिलालाई काम गर्ने अवसर दियो। उनीहरूलाई आत्मनिर्भर बनायो।

महिला मात्रै होइन, आजभोलि पुरुष पनि बिहे गर्न हिचकिचाउँछन्। लामो समयसम्म बिहे नगरी बस्ने पुरुष प्रशस्त छन्। अधिकांश पुरुष सोझी, राम्री, जागिर नखाने, घरव्यवहार सम्हाल्ने महिलाको खोजीमा हुन्छन्। त्यस्ता महिला अहिले भेटिन मुश्किल छ।  

मैले पनि ४० वर्षको उमेरमा बिहे गरेँ। पढाइ सकेँ, जागिर खाएँ, आमाबाबुप्रतिको दायित्व निर्वाह गरेँ। बल्ल फुर्सदिलो भएँ, एउटा साथी भए हुन्थ्यो भन्ने लाग्यो, अनि बिहे गरेँ। त्यसले मलाई केही हानि गरेको छैन। विवाह करले होइन, मन लागेपछि गर्ने हो। बाध्यतामा गरिने विवाहमा धेरै सम्झौता गर्नुपर्छ। मैले मन लागेर बिहे गरेँ। भोलि छाड्नुपर्‍यो भने पनि मन लागेर छोड्छु। हिजोका महिला मन नलागी–नलागी बिहे गर्थे। मन नलागी–नलागी सँगै बस्थे। 
(कुराकानीमा आधारित) 

 

‘ढिलो बिहे गर्दा महिलालाई बढी समस्या हुन्छ’ 

डा.  भोला रिजाल, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ 

स्वास्थ्यका हिसाबले बिहे छिटो पनि गर्नु हुँदैन, ढिला पनि गर्नु हुँदैन। हाम्रो समाजमा ३० कटेपछि गरिने विवाहलाई ढिला मानिन्छ। ३० कटेपछि छोरीको बिहे नहोला भनेर आमाबाबुलाई चिन्ता पर्न थाल्छ। तर, विकसित देशहरूमा ३० वर्षमा बिहे गर्नुलाई छिटो बिहे गरेको मानिन्छ। उनीहरू ३५ पछिको बिहेलाई ढिलो भएको मान्छन्।

आफ्नो करिअरलाई ध्यानमा राखेर युवायुवती आजभोलि बिहे गर्नुभन्दा लिभिङ टुगेदर रिलेसनमा बस्न थालेका छन्। समाजमा डिभोर्स बढ्दै गएका कारण पनि आजभोलिका युवायुवती बिहेदेखि डराउँछन्। 

स्वास्थ्यका हिसाबले ३० देखि ३५ वर्षको बीचमा बच्चा पाउनु शारीरिक, मानसिक र आर्थिक रूपमा खासै नराम्रो छैन। तर, २५ देखि ३० वर्षको उमेरमा बच्चा पाउँदा स्वास्थ्य र बच्चा पाउने प्रक्रियादेखि सबै कुरामा सजिलो हुन्छ। ३५ कटेपछि भने समस्या देखापर्न थाल्छ। यो उमेरमा बच्चा नहुने सम्भावना बढ्दै जान्छ। ३५ वर्ष पुगेपछि बच्चा पाउन नसक्ने भन्ने होइन। तर, पहिलो बच्चा ३० को हाराहारीमा पाउँदा उत्तम हुन्छ। यो उमेरमा बच्चा पाउन, हुर्काउन दुवै गर्न सजिलो हुन्छ। उमेर ढल्किँदै गएपछि बच्चा पाउन समस्या हुन्छ। महिनावारी बिग्रिन्छ। ४० वर्षपछि बच्चा पाउँदा बच्चा पाउन पनि अप्ठ्यारो र बच्चामा पनि केही विकरालता देखापर्न सक्छ। केही बच्चामा डाउन सिन्ड्रोमको सम्भावना हुन्छ। बच्चा असामान्य किसिमको हुन सक्छ। उमेर ढल्किँदै गएपछि हड्डी पनि छिप्पिने हुँदा नर्मल डेलिभरी गर्न गाह्रो हुन्छ। अपरेसन गरेर बच्चा निकाल्नुपर्ने हुन्छ। उमेर ढल्किँदै गएपछि बच्चा पाउन सक्ने क्षमता र शारीरिक सम्बन्ध राख्ने क्षमतामा पनि कमी भएर आउँछ। 

हाई ब्लड प्रेसर, डाइबेटिज, थायोराइडजस्ता समस्या ४० कटेपछि सुरु हुन्छन्। यस्तो बेलामा बच्चा पेटमा आयो भने महिलाको स्वास्थ्यमा थुप्रै जटिलता देखापर्छन्। यसलाई हामी हाई रिस्क प्रेग्नेन्सी भन्छौँ। ३० हप्तापछि विकास हुनुपर्ने ब्लड प्रेसर गर्भवती हुनुभन्दा अगाडि नै भएपछि समस्या हुन्छ। उनीहरू जोखिम मोेलेर बच्चा जन्माउँछन्। उमेरको कारण बिहेमा सबैभन्दा बढी समस्या महिलालाई पर्छ। त्यसैले स्वास्थ्यका हिसाबले २५ देखि ३० वर्षलाई बिहे र बच्चा जन्माउनका लागि उपयुक्त उमेर मानिन्छ। 
(कुराकानीमा आधारित)

 

तपाईको कमेन्ट