ड्रेडलकः जटाको जमाना

writer

अस्मिता खड्का

आइतबार, १५ मङि्सर २०७६


सुधिना वज्राचार्य (२५) फोटोग्राफी गर्छिन्। उनले कपाल ड्रेडलक गरेकी छिन्। अर्थात्, उनको कपाल लट्टा परेको छ। छ वर्षयता कपाल ड्रेडलक गरेकी सुधिना बब मार्लीकी फ्यान हुन्। ‘म सानो छँदा आमा मेरो कपाल कोरीबाटी, दुई चुल्ठी बाटिदिनुहुन्थ्यो,’ उनी भन्छिन्, ‘तर, मलाई त्यतिबेलादेखि नै बब मार्लीको कपाल मन पर्थ्यो। उनका गीत पनि धेरै सुन्थेँ।’ आफ्ना बाल्यकालको चाहना पूरा गर्ने मौका उनले छ वर्षअघि मात्र पाइन्। ‘ड्रेडलक गर्दा सुरुमा त बाटोमा हिँड्दा पनि धेरैले मलाई घुरेर हेर्थे,’ उनी सुनाउँछिन्, ‘‘ट्यापे केटी’ भन्ने धेरै थिए।’ तर, आफूले यस्ता कुरामा खासै ध्यान नदिने सुधिना बताउँछिन्।

आजभोलि धेरै युवा ड्रेडलक हेयर स्टाइलप्रति आकर्षित भएका छन्। गुजमुजिएका लट्टाले आफ्नो व्यक्तित्वलाई आकर्षक देखाउने उनीहरूको भनाइ छ। झापाका लोकेश रिजालले चार वर्षअघि कपाल ड्रेडलक गरेका थिए। उनी भगवान् शिवका भक्त हुन्। आफूले शिवजीजस्तै शैलीमा जीवन बाँच्न चाहेको उनी बताउँछन्। ‘म शिवभक्त हुँ,’ उनी भन्छन्, ‘शिवजीका कपाल जगल्टिएका छन्। शिवजीजस्तै जीवन बाँच्न मैले पनि कपाल ड्रेडलक गरेँ।’ चार वर्षअगाडि कपाल ड्रेडलक गर्दा २० हजार रुपैयाँ खर्च गरेको लोकेश बताउँछन्। लट्टा परेका कपाल सम्हाल्न केही समय आफूलाई निकै गाह्रो भएको उनी बताउँछन्। भन्छन्, ‘कपाल धुन समस्या हुन्थ्यो। जाडोमा चाया परेर हैरान हुन्थेँ।’

एकताका बाराका २४ वर्षीय सुनील क्षत्री पनि ड्रेडलकप्रेमी हुन्। ‘मलाई नयाँ–नयाँ डिजाइनका हेयर स्टाइल गर्न मन पर्छ,’ उनी भन्छन्, ‘त्यसैले एक पटक कपाल ड्रेडलक गरेँ।’ त्यस्तो हेयर स्टाइल बनाएपछि उनले घरमा गाली नै खाए। ‘आमाबुबासँग त बोलचालै बन्द भयो,’ उनी सम्झन्छन्, ‘गाउँमा मलाई जोगी भन्थे।’ बाटोमा हिँड््दा मान्छेहरूले आफूलाई आँखा तरेर हेर्ने गरेको उनी सुनाउँछन्।

काठमाडौँ सपिङ मलमा रहेको युनिसेक्स ब्युटी एन्ड हेयर सलोनकी हेयर आर्टिस्ट सुनीता परियार अहिले महिनामा चारपाँच जना ड्रेडलक गर्न आउने बताउँछिन्। भन्छिन्, ‘महिनामा कहिले चारपाँच जना आउँछन्, कहिले १०÷११ जना पुग्छन्।’ काठमाडौँ, ठमेलस्थित इंक्स इनका सञ्चालक कमल दुलाल आफूले महिनामा कम्तीमा १० जनाको कपाल ड्रेडलक गर्ने गरेको बताउँछन्।

ड्रेडलक हेयर स्टाइल हेर्दा आकर्षक देखिए पनि यसमा उत्तिकै मेहनत लाग्छ। ‘ड्रेडलक बनाउनै आधा दिन जान्छ,’ इंक्स इनका कमल भन्छन्, ‘राम्ररी केयर गर्न सकिएन भने चाया पर्ने समस्या देखिन सक्छ।’ लहैलहैमा लागेर कपाल ड्रेडलक गर्नेहरू पछि पछुताउने युनिसेक्सकी सुनीता बताउँछिन्। ‘कोही–कोही साथीभाइको लहैलहैमा कपाल ड्रेडलक गर्न आउँछन्,’ उनी भन्छिन्, ‘पछि ‘स्याहार्न सकिनँ’, ‘झन्झट भयो’ भन्दै पछुताउँछन्।’

कपाललाई ड्रेडलक गर्न एक पिसको पाँच सयदेखि एक हजार रुपैयाँसम्म पर्न सक्ने सुनीता बताउँछिन्। ‘पूरै कपाल ड्रेडलक गर्न सस्तोमा १२ हजार रुपैयाँ र महँगोमा एक लाख रुपैयाँजति पर्छ।’

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि