रमाइलो ‘प्रोजेक्ट वर्क’

writer

सुमित सुवेदी

आइतबार, १५ मङि्सर २०७६


अचेल स्कुलहरूमा विद्यार्थीलाई ‘प्रोजेक्ट वर्क’ गर्न लगाइन्छ। यसले विद्यार्थीलाई सिर्जनशील र मेहनती बनाउँछ। यसले विद्यार्थीलाई समूहमा काम गर्ने बानी बसालिदिन्छ। उनीहरू प्रोजेक्ट वर्क गर्दा रमाइलो मान्छन्। 


काठमाडौँ, बालुवाटारस्थित पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा आठमा पढ्छिन्, सुञ्जु शेर्पा। उनलाई प्रोजेक्ट वर्क गर्न निकै मन पर्छ। उनले बनाएका प्रोजेक्ट वर्कले कक्षाकोठाका भित्ता भरिएका छन्। कक्षा चारबाटै प्रोजेक्ट वर्क गर्न थालेकी सुञ्जु पढाइ सँगसँगै यस्ता क्रियाकलापमा रुचि राख्छिन्। पढाइबाट फुर्सद पाउनेबित्तिकै कैँची, पेन, पेन्सिल, स्केल, रङ र पेपर लिएर प्रोजेक्ट वर्क गर्न बस्छिन्। ‘मलाई सानैबाट सिर्जनात्मक काम गर्न मन पथ्र्यो,’ उनी भन्छिन्, ‘यसले मलाई खुशी दिन्छ।’ उनका प्रोजेक्ट वर्क देखेर आमाबुबा पनि खुशी हुन्छन्। भन्छिन्, ‘मैले बनाएका प्रोजेक्ट वर्क देखेर ममीबाबा असाध्यै खुशी हुनुहुन्छ।’ 

सर्वाङ्गीण विकासमा सहायक
प्रोजेक्ट वर्कले विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग गर्ने पञ्चकन्या आधारभूत विद्यालयकी प्रधानाध्यापक विनिता रञ्जित बताउँछिन्। भन्छिन्, ‘एउटा प्रोजेक्ट वर्क गर्न विद्यार्थीले धेरै मेहेनत गर्नुपर्छ। रिसर्च गर्नुपर्छ। समूहमा काम गर्नुपर्छ। जसले गर्दा उनीहरूको व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्छ।’ 

त्यस्तै, काठमाडौँ, प्रदर्शनीमार्गस्थित पद्मोदय माध्यामिक विद्यालयमा कक्षा १० मा पढ्दै गरेकी रस्मिता कार्की पनि विद्यालयबाट दिएको प्रोजेक्ट वर्क मन लगाएर गर्छिन्। उनले विभिन्न ज्ञानवद्र्धक पत्रिकाका टुक्रा संकलन गर्ने गर्छिन्। तिनलाई कक्षाकोठाका भित्तामा टाँस्ने पनि गर्छिन। नाटक तथा संगीतसँग सम्बन्धित थुपैे प्रोजेक्ट वर्क उनले गर्ने गरेकी छिन्। ‘मैले अंग्रेजी, सामाजिकलगायत विषयका लागि थुप्रै प्रोजेक्ट वर्क गरेकी छु,’ उनी भन्छिन्, ‘यसले मलाई झनै सिर्जनात्मक बनाएको छ। साथै, दिमागलाई रिफ्रेस पनि गर्छ।’ प्रोजेक्ट वर्कले पढाइमा मात्र नभई व्यक्तिगत जीवनमा पनि ठूलो सहयोग गर्ने उनी बताउँछिन्। भन्छिन्, ‘कुनै विषयमा आधारित भएर प्रोजेक्ट वर्क गर्दा त्यसको विषयमा अध्ययन–अनुसन्धान गर्नुपर्छ। यसले अनुसन्धान गर्ने तरिका पनि सिकाउँछ।’ एक जनाले एक थरीको प्रोजेक्ट गर्दा अर्कोले पनि देखेर सिक्ने उनी बताउँछिन्। 

समूहमा प्रोजेक्ट वर्क
प्रोजेक्ट वर्कले विभिन्न कोणबाट दिमागको विकास गर्ने पद्मोदयका विद्यार्थी दीपांश रेग्मी बताउँछन्। उनले पनि विषयअनुसार प्रोजेक्ट वर्क गर्दै आएका छन्। कक्षा छबाट प्रोजेक्ट वर्कतिर आकर्षित उनलाई यसबाट धेरै फाइदा भएको बताउँछन्। ‘विषयवस्तुअनुसार प्रोजेक्ट वर्क गर्दा लामो समयसम्म त्यो कुरा दिमागमा रहन्छ,’ उनी भन्छन्, ‘पढेरभन्दा प्रोजेक्ट वर्क गरेर बढी सिक्न सकिन्छजस्तो लाग्छ।’ धेरैजसो प्रोजेक्ट वर्क समूहमा गरिन्छ। यसरी गर्दा समूहमा काम गर्ने बानीको विकास हुने उनी बताउँछन्। ‘कतिपय मानिसलाई समूहमा काम गर्न मुश्किल पर्छ,’ उनी भन्छन्, ‘तर, सानैदेखि समूहमा प्रोजेक्ट वर्क गर्नेलाई त्यस्तो गाह्रो हुँदैन।’ घोकेर पाठ रट्नुभन्दा प्रोजेक्ट वर्क गरेर बुझ्न सजिलो लाग्छ दीपांशलाई। ‘प्रोजेक्ट वर्क गर्दा पढेजस्तो पनि नहुने र छिट्टै धेरै कुरा बुझिने हुन्छ,’ उनी भन्छन्। 

प्रोजेक्ट वर्कले पढाइमा सहयोग गर्ने प्रदर्शनीमार्गस्थित भानु माविमा कक्षा नौमा अध्ययनरत बलराम दुलाल बताउँछन्। ‘बुकमा भएको कुरा घोक्नुभन्दा प्रोजेक्ट वर्कले धेरै फाइदा दिन्छ,’ उनी भन्छन्। उनले विज्ञानको प्रयोगात्मकदेखि सामाजिक र इतिहास विषयका प्रोजेक्ट वर्क गरेका छन्। नेपाली इतिहासका तिथिमितिलाई चार्ट बनाएर टिप्दा सजिलै याद हुने उनी बताउँछन्। त्यस्तै, स्वास्थ्य पढ्दा मानिसका विभिन्न अंगको चित्र बनाउने गर्छन्। ‘हरेक विषयका छुट्टाछुट्टै प्रोजेक्ट वर्क हुन्छन्,’ उनी भन्छन्, ‘गणितका विभिन्न सूत्र चार्टमा बनाउने गर्छु। जसले गर्दा सम्झिन सहज हुन्छ।’ 

भानु माविकै छात्रा तुलसी गिरीलाई पनि प्रोजेक्ट वर्क गर्न औधी मन पर्छ। यसले पाठलाई बुझ्न सजिलो हुने उनी बताउँछिन्। भन्छिन्, ‘विज्ञानमा प्रकाश आवर्तनको प्रोजेक्ट वर्क गरेका थियौँ। अहिलेसम्म मेरो दिमागमा त्यो कुरा बसेकै छ। परीक्षामा आयो भने सजिलै लेख्न सक्छु।’ उनलाई घरमा पनि प्रोजेक्ट वर्क गर्दा धेरै सहयोग मिल्ने गरेको छ। यस्ता सिर्जनात्मक काम गर्दा घरकाले धेरै सहयोग गर्ने गरेकाले आफूलाई यस्ता प्रोजेक्टमा रुचि भएको उनी बताउँछिन्। 

पाठ्यक्रमअनुसार प्रोजेक्ट वर्क
प्रोजेक्ट वर्क पाठ्यक्रमसँग सम्बन्धित विषयमा शिक्षकले गराउनुपर्ने पद्मोदय माविकी प्रधानाध्याक मीनाकुमारी कोइराला बताउँछिन्। भन्छिन्, ‘हरेक विषयको सिलेबसमा नै प्रोजेक्ट वर्क गराउनू भनेर लेखिएको हुन्छ। त्यसैको आधारमा विषय शिक्षकले त्यस्ता प्रोजेक्ट वर्क कक्षाकोठामा गराउँछन्।’ यस्ता प्रोजेक्ट वर्कले विद्यार्थीले कुनै पनि कुरा छिट्टै टिप्न सक्ने उनी बताउँछिन्। ‘विद्यार्थीले कुनै पनि विषयवस्तु सुनेरभन्दा देखेर र देखेरभन्दा गरेर छिट्टै सिक्छन्,’ उनी भन्छिन्, ‘त्यसैले विद्यार्थीलाई सिकाउन प्रोजेक्ट वर्कले महत्त्ववपूर्ण भूमिका खेल्छ।’ प्रोजेक्ट वर्कमा विद्यार्थी प्रत्यक्ष रूपमा आबद्ध हुन्छन्। उनीहरूको खोजी गर्ने बानीको विकास हुने मीनाकुमारी बताउँछिन्। ‘प्रोजेक्ट वर्क गर्दा विद्यार्थीले छोटो समयमा धेरै कुरा सिक्न सक्छन्,’ उनी भन्छिन्। पद्मोदयमा विद्यार्थीलाई जनचेतना फैलाउने खालका प्रोजेक्ट वर्क गराउने गरेको उनी बताउँछिन्। ‘हामी विद्यार्थीलाई जंक फुड खानु हुँदैन भन्ने प्लेकार्ड बनाउन लगाउँछौँ,’ उनी भन्छिन्, ‘घरेलु हिंसाविरुद्धका प्लेकार्ड बनाउन लगाउँछौँ। यस्ता खालका वर्कले एक त विद्यार्थी आफू सचेत हुन्छन्। र, अरूलाई पनि सचेत गराउँछन्।’

महत्त्ववपूर्ण प्रोजेक्ट वर्क 
विजयकुमार यादव शिक्षक हुन्। उनी भानु माविमा विज्ञान विषय पढाउँछन्। उनका अनुसार विज्ञान विषयमा प्रोजेक्ट वर्कले धेरै ठूलो भूमिका खेल्छ। ‘प्रयोगबिना विज्ञान सिकाउन सकिँदैन,’ उनी भन्छन्, ‘प्रोजेक्ट वर्क भनेको प्रयोगात्मक पाटो हो। यसले विद्यार्थीलाई प्रत्यक्ष रूपमा विज्ञानको अनुभव गर्न सहयोग गर्छ।’ विद्यार्थीलाई प्रोजेक्ट वर्कको मद्दतले सिकाउन निकै सजिलो हुने उनी बताउँछन्। ‘एउटा पेरियोडिक तालिका विद्यार्थीलाई घोक्न लगाइयो भने एक हप्ता लाग्छ,’ उनी भन्छन्, ‘तर, चार्ट बनाउन लगाएर तिनका फिचर लेख्न लगाइयो भने विद्यार्थीले सजिलै याद गर्न सक्छन्।’ 

‘प्रोजेक्ट वर्कले सिर्जनात्मक क्षमता बढाउँछ’  

विनिता रञ्जित, प्रधानाध्यापक 
पञ्चकन्या आधारभूत विद्यालय

प्रोजेक्ट वर्क विद्यार्थीको व्यक्तित्व विकासका लागि महत्त्ववपूर्ण छ। यसले विद्यार्थीलाई कुनै पनि विषयवस्तुमा प्रत्यक्ष रूपमा आबद्ध गराउँछ। यस्ता प्रोजेक्ट वर्क पाठ्यक्रमअनुसारको विषयमा शिक्षकले नै विद्यार्थीलाई दिन्छन्। यसले विद्यार्थीमा प्रत्यक्ष प्रभाव पार्छ। विद्यार्थीले प्रोजेक्ट वर्क गर्दा त्यसबारे इन्टरनेटमा खोजतलाश गर्छन्। जसले एक त उनीहरूको खाली समय सदुपयोग हुन्छ, अर्को खोजी गर्ने बानीको विकास हुन्छ। प्रोजेक्ट वर्क विद्यार्थीले आफैँ गर्ने भएकाले उनीहरूको सिर्जनात्मक क्षमताको पनि विकास हुन्छ। हाम्रै विद्यालयको कुरा गर्ने हो भने हरेक कक्षाकोठाका भित्ता विद्यार्थीका प्रोजेक्ट वर्कले भरिएका छन्। कक्षामा छिर्दा उनीहरूको मेहनत देखिन्छन्। यसो गर्दा विद्यार्थी पनि प्रोत्साहित हुन्छन्। हामीलाई पनि गर्व लाग्छ। 

विद्यार्थीलाई ‘खरायोको चित्र बनाएर ल्याऊ’ भनियो भने उनीहरूले त्यो बनाउन विभिन्न सामग्री खोज्छन्। कसरी बनाउने ? इन्टरनेटमा सर्च गर्छन्। जसले उनीहरूको सिर्जनात्मक क्षमता बढाउँछ। नयाँ कुरा खोज्ने क्षमता अभिवृद्धि हुन्छ। एउटा शिक्षकले विद्यार्थीलाई तोरीको बिरुवाको बारेमा पढाउँदा उनले त्यसको जरा, पात, फूलबारे बताउँछन्। त्यसपछि विद्यार्थीले तोरीको बिरुवा आफैँ खोज्छन्। आफैँ बुझने प्रयास गर्छन्। यसो गर्दा विद्यार्थीले सिक्नका लागि आफैँ प्रयत्न गर्छ। र, सिकेपछि त्यो कुरा कहिल्यै बिर्सिन्न। अर्थात्, सिकाइले लामो समयसम्म प्रभाव पार्छ। शिक्षणमा प्रोजेक्ट वर्कले सकारात्मक प्रभाव पार्छ। विद्यार्थीलाई जिज्ञासु र सक्रिय बनाउँछ। 

तपाईको कमेन्ट