४० देशका पर्यटन मन्त्रीलाई निम्तो

writer

सम्पूर्ण

शनिबार, १४ मङि्सर २०७६


योगेशकुमार भट्टराई, मन्त्री।

नेपाल भ्रमण वर्ष, २०२० करिब एक महिनापछि सुरु हुँदै छ। भ्रमण वर्षलाई सफल बनाउन सरकार दत्तचित्त भएर काम गरिररहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले बताए। मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल बनाउन विभिन्न ४० देशका पर्यटन मन्त्रीलाई नेपाल घुम्न निम्तो दिइएको जानकारी गराए। 

काठमाडौँमा गत शुक्रबार आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले भने, ‘सरकार नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न तीव्र गतिमा काम गरिरहेको छ। भ्रमण वर्षको सफलताका निम्ति ४० मुलुकका पर्यटन मन्त्रीलाई निमन्त्रणा पठाइएको छ।’ उनले विभिन्न देशका पर्यटन मन्त्रीसँग पर्यटन प्रवद्र्धनका विषयमा विमर्श गरिने पनि बताए। ‘थुप्रै देशका मन्त्रीहरूसँग पर्यटन प्रवद्र्धनका विषयमा विचार आदानप्रदान गरिनेछ,’ मन्त्री भट्टराईले भने, ‘साथै, भ्रमण वर्षलाई लक्ष्य गरी विश्वका चर्चित व्यक्तित्वहरूलाई पनि निमन्त्रणा गरिनेछ।’ 

उक्त कार्यक्रममा भट्टराईले भ्रमण वर्षको पहिलो दिन विभिन्न कार्यक्रम गरिने जानकारी दिए। ‘काठमाडौँसहित सात प्रदेश र विदेशी कूटनीतिक नियोगमा समेत आउँदो जनवरी १ मा राष्ट्रिय महोत्सवका साथ कार्यक्रम गरिनेछ,’ उनले भने। उनले सन् २०२० को जनवरी १ मा भ्रमण वर्षको भव्य सुरुवात गरिने बताए। ‘जनवरी १ मा भ्रमण वर्षको भव्य सुरुवात गरिनेछ,’ उनले भने, ‘त्यसमा राजनीतिक दल, पर्यटन व्यवसायी, कर्मचारी लगायतको सहभागिता रहनेछ। त्यस्तै, जनवरी ७ मा नेपालको प्रतिनिधित्व गर्दै विदेशस्थित सम्पूर्ण कूटनीतिक नियोग, राजदूतावास तथा कार्यालयमा पनि भव्यताका साथ महोत्सव सुरुवात गरिनेछ।’ 

मन्त्री भट्टराईले सरकारले नयाँ हिमाल आरोहणका लागि खुला गर्ने पनि बताए। ‘सरकारले देशका नयाँ–नयाँ सांस्कृतिक तथा प्राकृतिक स्थलको पहिचान गर्नेछ,’ उनले भने, ‘नयाँ हिमाल आरोहणका लागि पनि खुला गरिनेछ।’ 
 

तपाईको कमेन्ट