‘देश सुन्दर मान्छे फरासिला’

writer

सम्पूर्ण

शनिबार, १४ मङि्सर २०७६


ड्यानियल कुक्स

युक्रेनका नागरिक ड्यानियल कुक्स, २६, पहिलो पटक नेपाल घुम्न आएका हुन्। सोलो ट्राभलरका रूपमा उनले विभिन्न देश घुमिसकेका छन्। उनलाई नेपाल कस्तो लागिरहेको छ ? अस्मिता खड्काले उनीसँग नेपाल संवाद गरेकी छिन्। 


नेपाल कहिले आउनुभयो ?
एक महिनाअघि आइपुगेँ। 

यहाँ कति दिन बिताउनुहुन्छ ? 
सात–आठ हप्ता बस्ने विचार छ। बस्न त वर्षैदिन बसे पनि अघाइएला जस्तो छैन। यति सुन्दर देश छ नेपाल कि बयान गर्नै सकिन्न। 

नेपाल आउने योजना कसरी बन्यो ?
भारत घुम्दै थिएँ। त्यहाँ बस्दा एक जना नेपालीसँग मित्रता भयो। नेपालबारे पहिले पनि सुनेको थिएँ। डिस्कभरी र नेसनल जिओग्राफिक च्यानलमा नेपालसम्बन्धी कार्यक्रम हेरेको थिएँ। आउने साइत बल्ल जु¥यो। 

कहाँ–कहाँ घुम्नु भयो ? 
काठमाडौँ धार्मिक तथा सांस्कृतिक ठाउँहरू घुमिसकेँ। स्वयम्भू, बौद्ध, पशुपतिनाथ, वसन्तपुरलगायत ठाउँमा धोको पुग्ने गरी घुमेँ। भक्तपुर र ललितपुर पनि घुमिसकेँ।

अब कहाँ घुम्ने योजना छ ?
पोखरा, जोमसोम आदि ठाउँमा घुम्न जाने योजना छ। 

नेपाल कस्तो लागिरहेको छ ?
नेपाल मलाई आफ्नै घरजस्तो लागिरहेको छ। जति पनि नेपाली भेटेको छु, सबैले आफ्नै दाजुभाइलाई जसरी मलाई व्यवहार गरेका छन्। अतिथिलाई प्रेम गर्ने यहाँको संस्कृति देखेर म त भावुक भएँ। सबै जना फरासिला छन्। 

कुन–कुन नेपाली खाना चाख्नुभयो ? 
नेवार खाजा असाध्यै मन प¥यो। मःमः पनि स्वादिष्ट लाग्यो। नेपालीहरू अलिक बढी स्पाइसी खानेकुरा खाँदा रहेछन्। 

तपाईंलाई चित्त नबुझेको यहाँका केही कुरा छन् कि ?
सडक र फुटपाथमा दैनिक गुजारा चलाउन काम गरिरहेका मानिसहरू देखेर नमज्जा लाग्यो। उनीहरूले बाँच्नका लागि कडा संघर्ष गर्नुपर्दाे रहेछ। अनि, यहाँका युवा पुस्ताले पश्चिमा संस्कृति र शैली अनुसरण गरिरहेको देख्दा दुःख लाग्यो। नेपाल त संस्कृति र परम्परामा अत्यन्त सम्पन्न देश हो। नेपालीले आफ्नै संस्कृति अँगाल्नुपर्छ। 

फेरि नेपाल आउने योजना छ कि छैन ?
किन नआउनु ? यस्तो सुन्दर देशमा पटक–पटक आउन नचाहने को होला र ? अर्काे पालि हिमाली क्षेत्रमा धोको पुग्ने गरी घुम्ने विचार छ। 

युक्रेन र नेपालमा के फरक पाउनुभयो ? 
मेरो देश द्वन्द्वग्रस्त छ। नेपाल शान्त छ। 

तपाईको कमेन्ट