‘विदेशीहरू पैसा र समयका पक्का हुन्छन्’

writer

सम्पूर्ण

शनिबार, १४ मङि्सर २०७६


लामा दावा ह्याल्मो, ट्रेकिङ गाइड

मेरो घर सिन्धुपाल्चोक, हेलम्बु हो। ट्रेकिङ क्षेत्रमा लागेको १२ वर्षभन्दा बढी भयो। मेरो काका ट्रेकिङ गाइड हुनुहुन्थ्यो। म पोर्टर बनेर जान्थेँ। ८ कक्षा पढ्दाखेरि पोर्टरको काम सुरु गरेँ। पाँच वर्षजति यो काम गरेँ। 

२०६६ सालदेखि ट्रेकिङ गाइड बनेँ। सुरुमा कोरियन पर्यटकलाई गाइड गर्थें। त्यसताका मसँग ट्रेकिङ गाइडको लाइसेन्स थिएन। पाँच वर्ष गाइडको काम गरेर वैदेशिक रोजगारीको लागि यूएई, दुबई पुगेँ। त्यहाँ दुई वर्षजति पाँचतारे होटेलमा काम गरेँ। दुबईमा टिक्न सकिनँ। होटेलको कामभन्दा डाँडाकाँडा नै ठीक छ भनेर  नेपाल फर्किएँ। 

नेपाल फर्केर ट्रेकिङ गाइड ट्रेनिङ लिए। अहिले हातमा लाइसेन्स छ। त्यो बेला लाइसेन्स चाहिँदैनथ्यो। भाषा जाने पुग्थ्यो। अहिले म अमेरिकन र युरोपियन पर्यटकलाई घुमाउँछु।  

पर्यटकलाई घुमाउन मज्जा आउँछ। ‘ट्रेकिङ सिजन’ वर्षमा दुई पटक मात्र हुने भएकाले सिजनमा दुई/तीनटा ट्रिप भ्याउँछु। एक हप्तादेखि महिनादिनसम्म चल्ने ट्रिपमा धेरै थरी मान्छे भेटिन्छन्। 

हरेक दिन चार घण्टादेखि सात घण्टासम्म हिँड्नुपर्ने हुन्छ। बाटोमा हुने कम्युनिकेसनले पर्यटकहरूको स्वभाव र संस्कृति बुझ्न सक्ने भएको छु। पर्यटकहरू पैसा र समयका पक्का हुन्छन्। एक सेकेन्ड र एक रुपैयाँ पनि अनावश्यक खर्चिन मान्दैनन्। मैले गाइड गरेका अधिकांश पर्यटक बिदा मनाउन नेपाल आएका हुन्छन्। विद्यार्थीहरू कलेज छुट्टी हुँदा घुम्न आउँछन्। रिटायर्ड जीवन बिताइरहेका बूढाबूढी पनि नेपाल घुम्न आउँछन्। 

हरेक ट्रेकिङ रुटमा केही न केही समस्या आउछ। माथि–माथि पुग्ने हाइवे नबन्दा र गाउँको बाटो भएकाले थोरै दिनको ट्रिपमा पनि धेरै दिन लाग्छ। त्यसैले होटेलहरू पहिल्यै बुक गरेर जान्छु, ताकि मसँग जाने गेस्टलाई समस्या नहोस्। 

पछिल्लो समय उच्च हिमाली क्षेत्रमा प्रशासनले एकदम कडाइ गरेको छ। पर्यटकको सबै विवरण माग्छ। लाइसेन्स र इन्सुरेन्सबिना ट्रेकिङ रुटमा जान पाइँदैन। कतिपय ठाउँमा त खान र बस्नका लागि पनि इन्ट्री गेटबाटै कुपन लिएर जानुपर्ने हुन्छ। सिजनको समयमा खान र सुत्नसमेत पाइँदैन। 

मेरो कुनै ट्रेकिङ कम्पनी छैन। हाल सेभेन समिट र माया ट्रेकिङ एन्ड टुर कम्पनीमार्फत पर्यटकलाई गाइड गर्छु।  

प्रस्तुतिः अस्मिता

 

तपाईको कमेन्ट