‘को कति सभ्य छ; सडकमा देखिन्छ’

writer

सम्पूर्ण

शनिबार, १४ मङि्सर २०७६


कवीन्द्र ओली, ट्राफिक प्रहरी, महानगरीय ट्राफिक प्रहरी वृत्त जनसेवा, काठमाडौँ।

के छ हालखबर, सर ?
ठीक छ। 

काम कस्तो चलिरहेको छ ?
राम्रो चल्दै छ। 

ट्राफिक प्रहरी बन्नुभएको कति समय भयो ?
ठ्याक्कै एक वर्ष भयो।  

यसअघि कता हुनुहुन्थ्यो ?
सिभिल प्रहरीमा थिएँ। 

सिभिल प्रहरीमा कति समय बिताइयो ?
दुई वर्ष। 

सिभिल प्रहरी र ट्राफिक प्रहरीमा के फरक पाउनुभयो ?
काम एउटै हो। बाटो मात्र अलग हो। ट्राफिकले यातायात, बाटोसम्बन्धी हेर्ने गर्छ, सिभिल प्रहरीले अपराधसम्बन्धी काम गर्छ। 

सिभिल प्रहरीबाट ट्राफिक प्रहरीमा आउन समयसीमा तोकिएको हुन्छ कि ?
हुँदैन। स्वेच्छाले आउने हो।

जनसेवामा ड्युटी गर्न थालेको कति भयो ?
११ महिना भयो। 

सानो छँदा जीवनमा के बन्ने लक्ष्य लिनुभएको थियो ? 
म्यानेजमेन्टको विद्यार्थी भएकाले बैंकमा काम गर्ने रहर थियो। 

बैंकमा काम गर्ने सपना देखेको मान्छे फोर्समा कसरी आइयो ?
साथीभाइको संगतले यहाँ पुर्‍यायो। 

फोर्समा आउँदा उमेर कति थियो ? 
२० वर्षको थिएँ। 

घर कता पर्‍यो ?
बाँके, कोहलपुर। 

घर कत्तिको जानुहुन्छ ?
छसात महिनामा मिलाएर जाने गरेको छु। 

न्युरोड एरियाको मुख्य समस्या के हो ?
अव्यवस्थित पार्किङ नै मुख्य समस्या हो। चालक जहाँ मन लाग्छ, त्यही गाडी रोकिदिन्छन्। सडक अवरुद्ध हुने गरी बाटोमा पार्किङ गर्छन्।

व्यवस्थित तरिकाले पार्किङ गर्नुहोस् भनेर सम्झाउनुहुन्न ? 
जति सम्झाए पनि केही सीप लाग्दैन। ‘सबैले गरेका छन्, मैले गर्दा के हुन्छ ?’ भनेर उल्टै हामीसँग झर्किन्छन्। 

फुटपाथ पसलहरूले कत्तिको समस्यामा पार्छन् ?
एकदमै। सडकपेटीमा पसल राखिदिन्छन्, जसले गर्दा पैदलयात्रीलाई अप्ठ्यारो हुन्छ। उनीहरू सडकपेटीबाट नभई मेन बाटोमा हिँड्न थाल्छन्। जसले गर्दा झन् जाम हुन्छ। 

जाम पर्दा दुईपांग्रे सवारीसाधन पनि सडकपेटीमा देखिन्छन् नि ? 
धेरैले गर्छन् यस्तो। उनीहरूलाई हामी कारबाही गर्छौं। 

बिनालाइसेन्स सवारी चलाउनेमा कत्तिको कमी आएको छ ?
पहिलाभन्दा कमी आएको छ। तर, दुईपांग्रे सवारीसाधनमा बिनालाइसेन्स नै कतिपय बाइक÷स्कुटर कुदाइरहेका हुन्छन्। 

ड्युटीमा कत्तिको कडा हुनुहुन्छ ?
त्यो त परिस्थितिअनुसार आफूलाई बदल्नुपर्छ। सवारी चालकले भनेको नमानिदिँदा बाध्य भएर कडा भइन्छ। को कति सभ्य छ, सडकमा देखिन्छ। असभ्य व्यवहार गर्नेसँग कडा भएर प्रस्तुत भइन्छ। 

जनचेतनाका लागि ट्राफिक प्रहरीबाट के कस्ता कार्यक्रम भएका छन् ?
जनचेतनाका लागि बाटोमै दुईपांग्रे सवारीसाधनलाई साइड लागाएर मापसे गरेर सवारी चलाउनु हुन्न, सानो दूरीको यात्रामा पनि हेलमेट प्रयोग गर्नुपर्छ, लाइसेन्सबिना ड्राइभिङ गर्नु हुँदैन, हतार नगरी आफ्नो लेनमा हिँड्नुपर्छ भन्ने जस्ता कुरा सिकाउने गर्छौं। जनचेतनामूलक पम्प्लेट टाँसेका छौँ। ट्राफिक जनचेतनाको लागि हाम्रो आफ्नै रेडियो छ। ९५.६ मेगाहर्जबाट जनचेतनामूलक कार्यक्रम प्रसारण हुन्छ। 

यसरी बाटोमा सवारी छोक्दा चालकले झिँजो मान्दैनन् ?
कोही–कोही हाम्रो समय मात्र लिनुभयो भनेर रिसाउँछन्, कोही राम्रो काम हो भन्छन्। 

बाइकमा ओभरलोड सामान बोक्नेलाई पनि कारबाही हुन्छ ?
बाइक भनेको दुई जनाको सिट भएको साधन हो। यसमा कसैकसैले ओभरलोड सामान बोक्छन्। पहिलो पटक उनीहरूलाई सम्झाइन्छ। ‘बाइकमा यति धेरै सामान लिएर हिँड्दा समस्या हुन सक्छ, दुर्घटना निम्तिन सक्छ, यस्तो बोक्न पाइँदैन’ भन्छौँ। मान्नुभएन भने प्रयोजनविपरीत भनेर कारबाही गरिन्छ। 

लेटनाइट ड्युटी गर्न कत्तिको असहज लाग्छ ?
सुरु–सुरुमा गाह्रो लाग्थ्यो, अहिले सहज लाग्छ। 

ट्राफिक प्रहरीमा आएपछि आफ्नो व्यवहारमा के कस्तो परिवर्तन पाउनुभयो ?
पहिले मान्छेसँग बोल्न लजाउँथेँ तर अहिले सबैसँग मज्जाले बोल्न सक्ने भएको छु। 

प्रस्तुतिः आशक्ति फुयाल 
 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि