‘नेपाली बिग्रेकै  सजिलो खोजेर’

writer

मेनुका कोइराला

बुधबार, १९ मङि्सर २०७५


इन्ट्रोः काठमाडौँ, चाबहिलस्थित सेन्ट लरेन्स कलेजको क्यान्टिनमा खाजा खाँदै पुरन पोखरेल, लाक्पा डोल्मा शेर्पा, समब्रिना गोले, रञ्जन बस्नेत, अस्मिता लामा, पूजा तिमल्सिना र प्रविना मैनाली गफिँदै थिए । उनीहरू सबै कक्षा १२ विज्ञान संकायका विद्यार्थी हुन् । 

पुरनः प्लस टूको बोर्ड आउन लागिसक्यो । बोर्ड सकिएपछि के गर्छौ त साथीहरू ?
अस्मिताः के गर्नु ? छ महिना बिदा हुन्छ । बिन्दासले रमाइलो गरिन्छ अनि विदेश गइन्छ । 
लाक्पाः हैट । हावा कुरा नगर न अस्मिता । छ महिना थोरै समय होइन । त्यो समयमा त केही सीप पो सिक्नुपर्छ वा कुनै कोर्ससोर्स गर्नुपर्छ । 
प्रविनाः म त आएलस गर्ने हो ।
समब्रिनाः आजभोलि के भाको हो ? हरेकको दिमागमा आएलस मात्र छ । 
पुरनः ब्वाइफ्रेन्ड उतै छ कि क्या हो तिमीहरूको ? १२ सक्नेबित्तिकै अस्ट्रेलिया जानुपर्ने ।
प्रविनाः हो नि !
रञ्जनः डिपेन्डेन्टमा जाने होला नि ! बायो पढ्ने केटीहरू नर्स पढिहाल्छन् । 
अस्मिताः जाने हैन लाने हो ।
पूजाः भनेपछि अस्मिताको अस्ट्रेलिया जाने सोच रैछ ।
पुरनः यता पैसा कमाइँदैन, उता डलरमा पैसा पाइन्छ । अनि, गइहाल्छ नि ! अस्ट्रेलियामा डलर पाएपछि भाँडा माझ्न पनि रमाइलो हुन्छ साथीहरू । त्यही काम नेपालमा गरे कति राम्रो हुन्थ्यो । 
लाक्पाः त्यहाँ भाँडा माझेर डलर आउँछ । यहाँ भाँडा माझेर पेट पाल्न पनि पुग्दैन । 
रञ्जनः नेपालमा भाँडा माझ्नु त ‘लो’ लेभलको काम भन्छन् । अझ, पढेलेखेकाले भाँडा माझ्न थाले भने सोसल मिडियामा ट्रोल बन्छ । बिल्ला नै गर्छन् । 
समब्रिनाः यहाँ जे काम गर्दा पनि फलानोले यस्यो गर्यो भनेर कुरा गर्ने धेरै छन् । केटीले यस्तोउस्तो काम गर्नु हुँदैन भन्ने वाहियात सोच अझै पनि छ । यस्तो सोचले नै हो नेपाली बिग्रेको ।  
प्रबिनाः नेपालमा बसेर भाँडा माझ्नु भनेको हाँसोको पात्र बन्नु हो । विदेश गएर भाँडा माझ्नु बेस छ । 
पूजाः नेपालमा कामको सम्मान छैन । यदि यहाँ कामको सम्मान भए कमै नेपाली विदेश जान्थे होलान् । 
पुरनः जेजस्तो भए पनि म चाहिँ अरूको देशमा गएर भाँडा माझेर, ट्वाइलेट सफा गरेर पैसा कमाउँदिनँ । 
रञ्जनः विदेश जान्न भन्ने सोच त राम्रो हो । नत्र, आजभोलि चारपाँच कक्षाका बच्चा पनि ‘ठूलो भएर विदेश जान्छु’ भन्छन् । 
अस्मिताः हो भन्या, सानो हुँदा ‘तिमी के बन्छौ ?’ भनी सोध्दा हामी डाक्टर, पाइलट भन्थ्यौँ । अहिलेका केटाकेटी त सीधै विदेश जाने भन्छन् । 
पुरनः मेरो लक्ष्य त डाक्टरबाट कन्डक्टरमा पुगिसक्यो । 
पूजाः रिजल्ट बिग्रेर होला । (सबै जना हाँस्छन्)
रञ्जनः धेरै नेपाली विद्यार्थी अस्टे«लिया जाने टे«न्डले आजकल अस्टे«लियामा ढुंगा हान्दा कि चरालाई लाग्छ रे कि नेपालीलाई । 
प्रबिनाः रञ्जनलाई फेसबुकको ट्रोल राम्रै लागेको छ है ?
रञ्जनः सोसल साइटले नै लोभ्याएको त हो नि नेपालीलाई । त्यहाँ कति राम्रा–राम्रा फोटो हाल्छन् । त्यहाँको दुःख यहाँ बसेर देखिन्न । त्यसरी दिनरात नेपालमा दुःख गर्ने हो भने नेपाल पनि अस्टे«लिया बन्थ्यो कि ? 
लाक्पाः हुन त हो तर के गर्ने ? नेपालमा जोखिम लिने आँट कसैले गर्दैन । 
अस्मिताः नेपाली बिग्रेकै सजिलो खोजेर हुन् । अस्टे«लियाको चिप्लो रोडमा कार गुडाउन छोडेर यहाँ भत्केको बाटोमा को हिँडोस् ? 
लाक्पाः त्यहाँ फ्रिडम हुन्छ रे ! मोज हुन्छ रे ! यही सोचले त विदेशको भूत चढेको नेपालीलाई । 
रञ्जनः अहिले एक घरबाट एक जना विदेश नगएको भेट्नै गाह्रो छ । 
समब्रिनाः हामी नेपाली अल्छी छौँ । अहिलेसम्म एउटा झिंगा नमारेका हामी वीर गोर्खाली भन्दै शानले बस्छौँ । हामीले गर्न सक्ने त्यही मात्र हो । 
पुरनः त्यही त इतिहासको पाना पल्टाएर आजको नेपाल कहाँ बन्छ र ? बरु, नेपाललाई पनि ब्रिटिसले कब्जा गरेको भए केही हुन्थ्यो कि भन्ने लागिरहेको छ मलाई आजभोलि । कमसे कम विकास त हुन्थ्यो । 
रञ्जनः सही कुरा ग¥यो, पुरन । नेपालीहरू अरूको देशमा गएर उनीहरूका लागि दिनरात पसिना बगाइरहेका छन् । बरु, ब्रिटिसले कब्जा गरेको भए आफ्नै देशमा जस्तो काम भए पनि गर्न पाइन्थ्यो । 
पूजाः अहिलेसम्म जेजति विकास भए, हामी नेपाली एक्लैले कहाँ गर्न सकेका छौँ र ? जहाँ जे गरे पनि चीन, जापान, भारतको सहयोगमा भनेर सुनिन्छ । झन् विदेशी त नेपालमा जुन क्षेत्रमा लगानी गर्न पनि रेडी हुन्छन् रे !
रञ्जनः तिमीहरूले सुनेका छैनौ ? विदेशीहरू ‘नेपाल इज भर्जिन ल्यान्ड फर अल बिजनेस’ भन्छन् रे ! नेपालमा हरेक क्षेत्रमा सम्भावना छ । तर, दक्ष जनशक्तिजति विदेशमा जान्छ, त्यहाँ दुःख र मेहनत गरेर विदेश बनाइरहेको छ ।
पुरनः विदेश जानु, पढ्नु अनि आफ्नो देश फर्केर केही गर्नु यसो गर्दा चाहिँ ठीक हुन्छ । लक्का जवान सबै विदेशमा, बुढापाकाजति नेपालमा भएपछि कसरी बन्छ नेपाल ?
समब्रिनाः अब त काठमाडौँमा घरजग्गा, सम्पत्ति भएर पनि कति बुढाबुढी एक्लोपनले आश्रम जान थालिसके ।
पूजाः यस्तै ताल हो भने पाँच वर्षमा नेपालमा कोही युवा रहदैनन् ।
पुरनः त्यही भएर म विदेश जान्न । बरु, राजनीतितिर लाग्छु । नेपालमा मजस्ता युवाको खाँचो छ । पख न, अब म बनाउँछु देश । अहिलेका ६० वर्ष नाघेका नेतालाई के थाहा वर्तमान आवश्यकता ? 
अस्मिताः ल, ल, हेरौँला तिमी नेता भएको । त्यतिबेलासम्म मेरो पढाइ पनि सकिन्छ, फर्केर आउँला तिमी नेता भएको हेर्न । 
पुरनः तिमीहरू विदेश गयौ भने मलाई भोट कसले हाल्छ ? त्यही भएर तिमीहरू पनि नेपालमै बस्नुपर्छ ।
पूजाः ल, ल, तिमीलाई जिताउन भए पनि नेपालमा बसौँला । देश राम्रो भयो भने किन जानु विदेश ? 

 
 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि