‘जामले यात्रा नै खल्लो बनाउँछ’

सम्पूर्ण
शनिबार, १४ मङि्सर २०७६
मेरो घर दाङ हो। गाडी चलाउन थालेको २८ वर्ष भयो। पहिले दाङमै लोकल बस चलाउँथेँ। त्यसपछि लामो दूरीको गाडी चलाउन थालेको हुँ। लामो दूरीको गाडी चलाउन थालेको दुई वर्ष भयो। यो रुटमा गाडी चलाउन मान्छेले सोचेजस्तो सजिलो छैन। सुरुमा गाडीमा सहचालक भएर काम गरेँ। धेरै दुःख र मेहनत गरेपछि मात्र चालक बनेको हुँ। मैले एसएलसी पास गरेको छु।
जामले हैरान
काठमाडौँबाट दाङ पुग्न १२ घण्टाजति लाग्छ। हाम्रो रुटको मुख्य समस्या जाम हो। १२ घण्टा लाग्ने बाटोमा जामले गर्दा १६–१७ घण्टा लाग्ने गर्छ। नाइट गाडीलाई कलंकीदेखि नै जाममा पर्नुपर्छ। कहिले के, कहिले के, हैरान भइन्छ। जामले यात्रा नै खल्लो बनाउँछ। बाटोले पनि त्यस्तै तनाव दिन्छ। गाडी लिएर हिँडेपछि गन्तव्यमा कहिले पुगिन्छ, ठेगान हुँदैन।
बर्खामा गाडी हाँक्न गाह्रो
बर्खा याममा गाडी चलाउन निकै असजिलो हुन्छ। लम्ही भन्ने ठाउँदेखि गाडी अगाडि लैजानै मुश्किल पर्छ। बर्सात त नआइदिए हुन्थ्योजस्तो लाग्छ। त्यतिबेला कमाइमा पनि निकै असर पर्छ। बर्खाबाहेक अरू महिना सजिलो हुन्छ।
ट्राफिक नियम थाहा पाउनुपर्छ
चालक, सहचालक, यात्री सबैले ट्राफिक नियमको पालना गर्नुपर्छ। अझ हामीजस्ता लामो दूरीको गाडी चलाउने मान्छेले ट्राफिकको हरेक नियम मान्नुपर्छ। कतिपय ठाउँमा यात्रुले आफूलाई जहाँ मन लाग्यो, त्यहीँ गाडी रोक्न लगाउँछन्। तर, ट्राफिक नियमले यसो गर्न दिँदैन। यस्तो बेलामा नियमले दिँदैन भन्ने कुरा यात्रुले बुझनुपर्छ। हामीमाथि रोक्ने दबाब दिनु हुँदैन। गाडी चलाउनेले ट्राफिक नियम पालना गरे दुर्घटनाबाट बच्न सकिन्छ।
कामबाट सन्तुष्ट
आफ्नो पेशाबाट सन्तुष्ट छु। यही पेशाबाट आम्दानी भइरहेको छ। बालबच्चा, जहानपरिवार यसैबाट पालिएको छ। सानैदेखि यही काममा लागियो। अरू काम जानेको छैन। त्यसैले आफ्नो कामबाट एकदमै सन्तुष्ट छु। सकुञ्जेल यही पेशा गर्ने हो।
मासुभात मीठो
काठमाडौँबाट गाडी हिँडेपछी विभिन्न ठाउँमा खाना खानको निम्ति रोकिन्छ। अरू ठाउँको खाना त्यस्तो खास लाग्दैन। तर, सुनवल भन्ने ठाउँको मासुभात खानुको मज्जा बेग्लै छ। दाङबाट फर्किंदा मात्र सुनवलको भात खान पाइन्छ। त्यहाँको लोकल भालेको स्वाद गज्जब हुन्छ।
प्रस्तुतिः आशक्ति
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७