‘बक्यौता जिम्मेवारी’ को चटारो

writer

रोशन राउत

बुधबार, ११ मङि्सर २०७६


निर्माणाधीन दशरथ रंगशाला। तस्बिर: विकास कार्की

दक्षिण एसियाली क्षेत्रको ‘मिनी ओलम्पिक’ मानिने सागजस्तो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आयोजक राष्ट्रले कम्तीमा एक महिनाअघि नै पूर्वाधार निर्माणलगायत सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्छ। पछिल्लो एक महिनाको अवधि भनेको त कमी–कमजोरी पत्ता लगाएर त्यसलाई सुधार्ने समय मात्र हो।


केही समयअघि ललितपुरको गोदावरीमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले एउटा रमाइलो प्रसंग निकालेका थिए। देशभरिबाट भेला भएका एक सयभन्दा बढी खेल पत्रकारलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले भनेका थिए, ‘तेह्रौँ साग हाम्रा लागि बक्यौता जिम्मेवारी हो।’ खासमा मन्त्री विश्वकर्मा तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) को भौतिक पूर्वाधार निर्माणमा देखिएको भद्रगोल र ढिलाइको आरोपबाट आफूलाई टाढा राख्न चाहन्थे। 

वर्तमान खेलकुद नेतृत्वको कारणले नभई विगतका खेल पदाधिकारीको कमजोरीका कारण तेह्रौँ सागको भौतिक पूर्वाधार निर्माणमा विलम्ब भइरहेको उनको तर्क थियो। ‘तेह्रौँ साग आयोजनाको जिम्मेवारी नेपालले सन् २०१६ मै पाएको हो। तर, विगतका सरकार र खेल नेतृत्वले चासो नदेखाएका कारण त्यो जिम्मेवारी सरेर हाम्रो काँधमा आएको हो,’ कार्यक्रममा मन्त्री विश्वकर्माले भनेका थिए, ‘त्यसैले यो साग हाम्रा लागि विगतबाट सर्दै आएको बक्यौता जिम्मेवारी हो। पूर्वाधार निर्माणमा ढिलासुस्ती हुनुको कारण पनि त्यही हो।’

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालसहित नेपाली खेलकुदका विशिष्ट पदाधिकारीको उपस्थितिमा मन्त्री विश्वकर्माले यस्तो तर्क गरिरहँदा मुलुककै प्रतिष्ठासँग जोडिएको तेह्रौँ साग सुरु हुन २० दिनभन्दा कम समय बाँकी थियो। तर, साग आयोजनाको पहिलो शर्तका रूपमा रहेको भौतिक पूर्वाधारको अवस्था भने निकै दयनीय देखिन्थ्यो। 

दशरथ रंगशालामा साधारण प्यारापिटतर्फ भर्खर कुर्सी राखिँदै थियो। भीआईपी प्यारापिटका लागि छानो हाल्ने सामग्री विदेशमै अलपत्र थियो। भीआईपी प्यारापिटकै लागि पोल ठड्याउने सिंगै काम पनि बाँकी नै थियो। ललितपुर, सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माण गर्ने भनिएको हिटिङ पौडी पोखरी (तातो पानीसहितको पौडी पोखरी) का लागि भर्खरै काम थालिएको थियो। महिला फुटबल खेलाइने पोखरा रंगशालाको थुप्रै सामग्री विदेशबाट आउन बाँकी थिए। पोखरामै महिला क्रिकेटका लागि खेलस्थल तयार पार्न पनि उस्तै चटारो थियो।   

दक्षिण एसियाली क्षेत्रको ‘मिनी ओलम्पिक’ का रूपमा परिचित सागजस्तो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आयोजक राष्ट्रले कम्तीमा एक महिनाअघि नै पूर्वाधार निर्माणलगायत सम्पूर्ण काम पूरा गरिसक्नुपर्ने हुन्छ। पछिल्लो एक महिनाको अवधि भनेको त सामान्य कमी–कमजोरी पत्ता लगाएर त्यसलाई सुधार्ने समय मात्र हो। त्यसैले पनि खेलकुदमन्त्री विश्वकर्मा तेह्रौँ सागका क्रममा देखिएका कमी–कमजोरीको जिम्मा आफ्नो टाउकोमा मात्र आउला भनेर आत्तिनु स्वाभाविक थियो। 

त्यसमाथि मन्त्री विश्वकर्माले हतारमा काम गर्दाको एउटा नमीठो परिणाम आफ्नै कार्यकालमा यसअघि पनि एक पटक भोगिसकेका थिए। प्रसंग थियो, नेपालगञ्जमा आयोजित आठौँ राष्ट्रिय खेलकुद। त्यतिबेला पनि रातारात काम गरेर नेपालगञ्जमा सुविधासम्पन्न पौडी पोखरी निर्माण गरिएको थियो। त्यही पौडी पोखरीमा आठौँ राष्ट्रिय खेलकुदको प्रतिस्पर्धा गराउने कार्यक्रम थियो। 

खेल सुरु हुनुभन्दा एक दिनअघि पौडी पोखरी तयार पारेर रातभरि त्यसमा पानी भरियो। तर, पौडी पोखरी बनाउँदा भएको सामान्य प्राविधिक त्रुटिका कारण रातभरि हालिएको पानी भोलिपल्ट बिहान हेर्दा सुकिसकेको थियो। जति पानी हाले पनि पौडी पोखरी रित्तोको रित्तै ! त्यसपछि करोडौँ रुपैयाँ खर्च गरेर बनाइएको त्यो पौडी पोखरीमा खेल नै हुन सकेन। हतारमा काम गर्दाको परिणामले दिएको यो गतिलो शिक्षा थियो। 

सरकार होस् वा कानुनी रूपमा स्थापित कुनै पनि संघ/संस्था, ‘अविच्छिन्न उत्तराधिकारीवाला’ संस्था हुने भएकाले खेलकुदमन्त्रीले ‘बक्यौता जिम्मेवारी’ को प्रसंग निकाल्नु उपयुक्त थियो वा थिएन, त्यो छुट्टै चर्चाको विषय हुन सक्छ। यहाँ चर्चा गर्न खोजिएको विषय फरक हो। वर्तमान खेलकुद नेतृत्वका लागि ‘बक्यौता जिम्मेवारी’ अर्थात् तेह्रौँ साग सुरु हुन अब चार दिन मात्र बाँकी छ। प्रतियोगितामा भाग लिने विदेशी खेलाडी, पदाधिकारी र पाहुना नेपाल आउने क्रम पनि सुरु भइसकेको छ। 

श्रीलंका, बंगलादेश, माल्दिभ्स, भारत र पाकिस्तानका भलिबल खेलाडी नेपाल आइसकेका छन्। भलिबलको प्रतिस्पर्धा त उद्घाटन समारोहअघि बुधबारदेखि नै सुरु हुँदै छ। अन्य खेलमा भाग लिने विदेशी खेलाडी र पदाधिकारी पनि नेपालको हावापानीसँग घुलमिल हुन नेपाल आउने क्रम सुरु भइसकेको छ। तर, भौतिक पूर्वाधार निर्माणको काम भने अझै सकिएको छैन। दशरथ रंगशालामा भीआईपी प्यारापिटको छानो हाल्ने काम जारी नै छ। दशरथ रंगशालामै मंसिर १५ गते हजारौँ विदेशी खेलाडी र पाहुनाका अगाडि राष्ट्रपति विद्यादेवी भण्डारीले तेह्रौँ सागको उद्घाटन गर्ने कार्यक्रम छ। 

दशरथ रंगशालामै फुटबल र एथलेटिक्स खेल पनि आयोजना हुँदै छ। तर, एथलेटिक्सका लागि अत्यावश्यक पर्ने विन्ड गग मेजरमेन्ट सामग्री, फोटो फिनिस सामग्री, लेजर डिस्ट्यान्स मेजरमेन्ट सामग्री, सिको डिजिटल स्टप वाचलगायत थुप्रै खेल सामग्री विदेशबाट ल्याउन नै बाँकी छ। कीर्तिपुरको नयाँबजारस्थित कभर्डहलको काम पनि सकिएको छैन। यो कभर्डहलमा दुई वटा खेल खेलाउने कार्यक्रम छ। 

ललितपुर, सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माणाधीन हिटिङ पौडी पोखरीको काम पनि धमाधम भइरहेको छ। हिटिङ पौडी पोखरीमा भर्खर टायल बिछ्याउने काम सुरु भएको छ। त्रिपुरेश्वरस्थित भलिबल कभर्डहलमा म्याट बिछ्याउने र रङरोगन गर्ने काम भइरहेको छ। जबकि, भलिबल खेल बुधबारदेखि नै सुरु हुँदै छ। 

यसै गरी, पोखरा रंगशालामा फुटबल स्टेडियम निर्माणको काम अझै पूरा भइसकेको छैन। प्यारापिटका लागि आवश्यक सामग्री फ्रान्सबाट आइतबार पोखरा आइपुगेपछि गत बुधबारदेखि मात्र जडान कार्य सुरु गरिएको थियो। तर, प्यारापिटको निर्माण कार्यले अझै पूर्णता पाउन सकेको छैन। पूर्वतर्फको भीआईपीसहितको छ हजार सिट क्षमताको प्यारापिट तयार भए पनि पश्चिमतर्फको प्यारापिटको काम भने सोमबार मात्र सुरु गरिएको छ। पोखरा फुटबल मैदानमै मंसिर १७ देखि २४ सम्म महिला फुटबल खेलाउने कार्यक्रम छ।

त्यस्तै, पोखरा रंगशालामा हुने महिला क्रिकेटका लागि मैदान तयार भइसके पनि अस्थायी प्यारापिट, शौचालयलगायत पूर्वाधार अझै निर्माण भइसकेको छैन। प्रतियोगिताका लागि पोखरा रंगशालामा रहेको क्रिकेट मैदानमा प्लेयर बक्स, स्टेज, अम्पायर बक्स, म्याच रेफ्री र स्कोरर बक्स, डाइनिङ सेट, प्यारापिट, शौचालय निर्माणलगायत काम बाँकी नै छन्। त्यहाँ मंसिर १६ देखि २३ सम्म महिला क्रिकेट खेलाउने कार्यक्रम छ।

बिच भलिबल प्रतियोगिताको खेल स्थल पनि अझै तयार भइसकेको छैन। पोखराको फेवाताल किनारस्थित नेपाल ट्रस्टको खेल मैदानमा बिच भलिबलको कोर्ट निर्माण भइरहेको छ। यसको अर्थ यतिबेला नेपाली खेल नेतृत्वले ‘पूर्वाधार बन्दै गर्छ, खेल पनि हुँदै जान्छ’ भन्ने मानसिकता बोकेको देखिन्छ। तर, हतारमा गरिएको यस्तो कामले तेह्रौँ सागको साक्षी बस्न आउने हजारौँ विदेशी खेलाडी, पदाधिकारी, सञ्चारकर्मी र पाहुनालाई कस्तो सन्देश जाला भन्नेतर्फ खेल पदाधिकारी खासै चिन्तित देखिँदैनन्।

तेह्रौँ सागका लागि राज्यले पाँच अर्ब रुपैयाँ खर्च गरेको छ। सरकारले राज्यको ढुकुटीबाट यत्रो रकम खर्च गर्नुको मुख्य कारण अन्तर्राष्ट्रिय खेल वृत्तमा देशको प्रतिष्ठा धुमिल नहोस् भन्ने नै हो। हतारमा निर्माण गरिएका भौतिक पूर्वाधारको गुणस्तरको विषयमा तेह्रौँ सागको समापनपछि छानबिन वा खोजी गर्न सकिन्छ। तर, यतिबेला कुनै पनि कमी–कमजोरी हुन नदिई तेह्रौँ सागको सफल आयोजना गर्नु नै सबैभन्दा ठूलो चुनौती देखिएको छ। खेलकुदमन्त्रीले भनेजस्तै ‘बक्यौता जिम्मेवारी’ नै भए पनि यो जिम्मेवारीसँग समग्र राष्ट्रको गौरव जोडिएको छ।

तपाईको कमेन्ट

मुख्य समाचार