लगनगाँठो टुटाउने स्तनको गाँठो

writer

सृजना खड्का

मङ्गलबार, १० मङि्सर २०७६


स्तन क्यान्सर भएपछि कतिपय श्रीमानले श्रीमतीसँग डिभोर्स गरेर अर्को घरजम गरेका छन्। त्यसैले हाम्रो जस्तो समाजमा स्तन क्यान्सर भएकी अविवाहित महिला र उनको परिवारले बिहे र बच्चाको विषयलाई लिएर चिन्ता व्यक्त गर्नु स्वाभाविक हो। तर, ब्रेस्ट क्यान्सर लाग्नु नै जीवनमा पूर्णविराम लाग्नु भने होइन।


‘मलाई त ब्रेस्ट क्यान्सर पो भयो कि क्या हो !’
स्तनमा सानो गिर्खा आएको जस्तो अनुभव भएपछि काठमाडौँ, नैकाप बस्ने निमा (नाम परिवर्तन) ले एक दिन आफ्नो ब्वाइफ्रेन्डलाई भनिन्। लामो समयको प्रेम सम्बन्धपछि उनीहरू छिट्टै नै बिहे गर्ने तयारीमा थिए। 

‘त्यस्तो रोग लागेको रहेछ भने त म तिमीसँग बिहे गर्दिनँ, है,’ ठट्टैठट्टामा निमाका प्रेमीले भनेका थिए। तर, त्यही ठट्टाले पछि साँचो रूप लेला भनेर निमाले  सोचेकी थिइनन्।  

आफ्नो स्तनमा परिवर्तन महसुस हुन थालेपछि उनी अस्पताल गइन्। त्यहाँ उनको शंका सही निस्कियो। मेडिकल रिपोर्टले उनलाई ब्रेस्ट क्यान्सर भएको देखायो। ‘मेरो ब्रेस्ट क्यान्सर सेकेन्ड स्टेजमा पुगिसकेको रहेछ,’ उनले सुनाइन्, ‘सुरुमा मलाई पत्याउनै गाह्रो भयो। त्यो बेला शारीरिकसँगै मानसिक रूपमा पनि म विक्षिप्त भएँ। पछि बिस्तारै आफूलाई सम्हालेँ।’

निमाको परिवार उनको साथमा थियो। आफ्नो प्रेमीलाई पनि उनले आफूलाई ब्रेस्ट क्यान्सर भएको सुनाइन्। ‘उसले यो कुरा आफ्नो घरमा भनेछ,’ निमाले भनिन्, ‘‘त्यस्तो रोग लागेकी केटीलाई बिहे गर्नु हुन्न’ भनेर उसको घरमा हल्लीखल्ली भएछ। तैपनि, उसले मलाई साथ दिन्छु भनेको थियो।’

उपचारका क्रममा निमालाई आठ वटा केमोथेरापी दिनुपर्ने भयो। अस्पताल र घर ओहोरदोहोर गर्दै उनका दिन बित्न थाले। ‘अपरेसनभन्दा केमो दिँदा धेरै गाह्रो हुने रहेछ,’ उनले भनिन्, ‘केमो चढाउँदै गएपछि खाना नरुच्ने, बान्ता हुने, कपाल झर्नेजस्ता साइड इफेक्टहरू देखिन थाले।’

जिन्दगीभर साथ दिन्छु भनेर इन्गेजमेन्ट गरिसकेको व्यक्तिले उपचार हुनुअघि नै उनको साथ छाडिदिए। ‘नियमित अस्पताल धाइरहनुपर्ने देखेर ऊ झर्को मान्न थालिसकेको थियो,’ उनले भनिन्, ‘उपचारको क्रममा मेरो कपाल पूरै झर्न थालेपछि त ऊ झन् मबाट टाढा हुन थाल्यो। जिन्दगीभरी साथ दिन्छु भनेको व्यक्तिले उपचार अवधिभर पनि साथ दिन सकेन। उसको बिहे अरू कसैसँग तय भयो।’

यो घटनापछि निमा धेरै मनोविद्कहाँसमेत धाइन्। ‘शरीरको पीडा एकातिर थियो, मनको पीडा अर्कोतिर,’ उनले भनिन्, ‘त्यो बेला म शारीरिकसँगै मानसिक रूपमा पनि बिरामी भएँ। विभिन्न ठाउँमा काउन्सिलिङका लागि गएपछि अहिले यत्तिको भएकी हुँ।’

त्यो समय निमालाई लाग्थ्यो – ‘अब मेरो जीवन अरूको जस्तो सामान्य छैन, म अरूजसरी बाँच्न सक्दिनँ।’

‘त्यो बेला दिनमा एक घण्टा जति ‘म नर्मल लाइफ बाँचिरहेकी छैन’ भन्ने महसुस हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले ती सबै कुराबाट मुक्त भएर स्वस्थ र खुशी जीवन बाँचिरहेकी छु।’

निमालाई अहिले ब्रेस्ट क्यान्सर निको भइसक्यो। उनी फलोअपका लागि बेला–बेला अस्पताल गइरहन्छिन्। ‘क्यान्सर फेरि नबल्झियोस् भन्नका लागि त्यही अनुसारका औषधि खाइरहेकी छु,’ उनले भनिन्, ‘ब्रेस्ट क्यान्सरले मलाई समयमै मान्छे चिन्ने मौका दियो। धेरैले ब्रेस्ट क्यान्सरले जीवन बर्बाद भयो भन्छन्। तर, ब्रेस्ट क्यान्सरले मलाई मेरो जीवन बर्बाद हुनबाट जोगायो।’

आमाबुबाको चिन्ताः 
छोरीसँग कसले गर्ला बिहे ?

‘अब मेरी छोरीसँग कसले बिहे गर्ला ?’

कुनै अविवाहित युवतीलाई ब्रेस्ट क्यान्सर भएको थाहा पाउनेबित्तिकै अधिकांशका आमाबुबाले व्यक्त गर्ने चिन्ता हो यो। अभिभावकका यस्ता चिन्ता प्रत्येक दिनजसो स्तन रोग विशेषज्ञहरू सुन्ने गर्छन्।  

‘अब बिहे गर्न मिल्छ/मिल्दैन ?’, ‘बच्चा जन्माउन मिल्छ/मिल्दैन ?’ जस्ता प्रश्न अविवाहित महिला र उनका आमाबाबुले स्तन क्यान्सर हुनेबित्तिकै सोध्ने प्रश्न हुन्। क्यान्सर रोग विशेषज्ञ तथा वीर अस्पतालका अन्कोलोजी विभागका विभागीय प्रमुख डा. विवेक आचार्यलाई पनि यस्ता प्रश्न प्रायः सोधिने गरिन्छ।

स्तन क्यान्सर भएपछि कतिपय श्रीमान्ले श्रीमतीसँग डिभोर्स गरेर अर्को घरजम गरेर बसेको डा. आचार्यले आफ्नै आँखाले देखेका छन्। ‘जस्तोसुकै अवस्थामा पनि जीवनभर साथ दिन्छु भन्नेहरूले नै ब्रेस्ट क्यान्सरका कारण श्रीमती छाड्ने गरेका उदाहरण छन्,’ उनले भने, ‘त्यसैले हाम्रो जस्तो समाजमा स्तन क्यान्सर भएकी अविवाहित महिला र उनको परिवारले बिहे र बच्चाको विषयलाई लिएर चिन्ता व्यक्त गर्नु स्वाभाविक हो। तर, ब्रेस्ट क्यान्सर लाग्नु नै जीवनमा पूर्णविराम लाग्नु भने होइन।’

सर्लाहीकी अम्बिका (नाम परिवर्तन) ३३ वर्षकी भइन्। २५ वर्षको हुँदा उनले आफूलाई ब्रेस्ट क्यान्सर भएका थाहा पाएकी थिइन्। ‘स्तनमा गाँठा आएपछि मैले सुरुमा आमालाई भनेकी थिएँ,’ उनले सम्झिइन्, ‘आमाले त्यस्तो गाँठा सबैको हुन्छ। आफैँ आउँछ/हराउँछ भन्नुभएको थियो। मलाई दुख्न थालेपछि अस्पताल गएर देखाउँदा क्यान्सर भइसकेको रहेछ।’

स्तन क्यान्सर भएको थाहा पाउनेबित्तिकै अम्बिकाकी आमाले व्यक्त गरेको पहिलो चिन्ता थियो– ‘अब मेरी छोरीलाई कसले बिहे गर्ला ?’

‘त्यो बेला आमा मलाई निको होला/नहोला भन्नेमा भन्दा पनि मेरो बिहे होला/नहोला भन्नेमा चिन्तित हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘बिहे नहोला भनेर आमाले यो कुरा कसैलाई भन्नुभएको थिएन। धेरै पछिसम्म हामीले यो कुरा गोप्य राखेका थियौँ।’

उपचारका क्रममा अम्बिकाले एक वर्ष अस्पतालको चक्कर काटिन्। अस्पतालमा केमो चढाउन र फलोअपमा जाँदैमा उनको समय बित्न थाल्यो। ‘लगातारको उपचारपछि बिस्तारै रोग निको हुन थाल्यो,’ उनले भनिन्, ‘परिवार र आफन्तबाट छिमेकी हुँदै मलाई ब्रेस्ट क्यान्सर भएको सबैलाई थाहा भयो।’

अम्बिकालाई अहिले ब्रेस्ट क्यान्सर निको भइसक्यो। तर, उनकी आमाको चिन्ता भने जारी नै छ। ‘बिहे कसले गर्ला ?’ भनेर चिन्ता गर्ने आमा आजभोलि ‘छोरीको बिहे कहिले होला’ भनेर चिन्ता गर्न थालेकी छिन्।

अम्बिकालाई बिहेको प्रस्ताव नआएका होइनन्। तर, आएकामध्ये कुनै पनि प्रस्ताव उनलाई मञ्जुर भएन। ‘‘क्यान्सर भएकी केटी’ भनेर डिभोर्स भएका, श्रीमती बितेका, उमेरले डाँडो काटेका पुरुषहरूको प्रस्ताव आउन थाल्यो,’ उनले भनिन्, ‘त्यस्ता प्रस्ताव स्विाकार्नुभन्दा अविवाहित भएरै जीवन काट्नु ठीक लाग्यो। बिहे गरेर मात्रै जीवन पूर्ण हुने होइन। जीवनलाई आफैँले पूर्ण बनाउने हो।’

ब्रेस्ट क्यान्सरले भाँडियो बिहे
अक्टोबर महिना स्तन क्यान्सर सचेतना/जागरण महिना हो। उक्त महिनाभरि ठाउँ–ठाउँमा स्तन क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम गरिन्छ। कतै निःशुल्क स्तन जाँच गर्ने शिविर सञ्चालन गरिन्छ त कतै ‘स्तन क्यान्सर भएकाहरू पनि अरूसरह स्वतन्त्र भएर बाँच्न सक्छन्’ भन्ने नारासहितका कार्यक्रम हुन्छन्। गत महिना अक्टोबरमा पनि स्तन क्यान्सर सचेतना जगाउने थुप्रै कार्यक्रम भए। 

तर, यस्ता शिविर र कार्यक्रम जति भए पनि स्तन क्यान्सर सरुवा रोग हो भनेर भ्रम पाल्ने धेरै छन्। त्यही भ्रमले हो, काठमाडौँ, नरदेवी बस्ने कल्पना मैनाली (२४) को बिहे भाँडिएको।

कल्पनालाई पहिलो स्टेजको ब्रेस्ट क्यान्सर भएको थियो। थाहा पाउनेबित्तिकै अस्पताल गएकाले समयमै उनको उपचार सफल भएको थियो। 

उपचारको क्रममा अस्पतालभित्र भोगेको पीडाभन्दा बढी पीडा उनले बाहिर समाजमा आएर भोगिन्। ‘कतिपय मानिसहरू सर्छ भनेर नजिकै पर्न खोज्दैनथे,’ उनले भनिन्, ‘झन् आफ्ना बच्चालाई त प्रायःले मेरो छेउ नै पार्न खोज्दैनथे। यति मात्र होइन, ब्वाइफ्रेन्डको घरमा ब्रेस्ट क्यान्सर सर्छ भनेर कसले सुनाइदिएछ। त्यो भ्रमले हाम्रोे बिहे भाँडियो।’

ब्रेस्ट क्यान्सर भएका आफूजस्ता अविवाहित महिलालाई समाजमा टिकिखान निकै मुश्किल हुने उनले बताइन्। ‘अक्टोबर महिनामा गरिने त्यस्ता कार्यक्रम आउँछन्/जान्छन्,’ उनले भनिन्, ‘जति नै कार्यक्रम गरे पनि अझै पनि मानिसहरूको सोच जहीँको तहीँ छ।’

तर, भक्तपुर क्यान्सर अस्पतालका स्तर क्यान्सर विशेषज्ञ उत्सवमान श्रेष्ठ पहिलेभन्दा अहिले ब्रेस्ट क्यान्सरलाई लिएर मानिसहरूको सोच परिवर्तन भएको बताउँछन्। 

अक्टोबर महिनाको एक दिन डा. श्रेष्ठको संयोजकत्वमा स्तन क्यान्सरसम्बन्धी चेतना फैलाउन चंगा र बेलुन उडाउने कार्यक्रम हुन्छ। जसलाई उनीहरूले ‘पिंक काइट्स’ नाम दिएका छन्। त्यहाँ स्तन क्यान्सरका डाक्टर र स्तन क्यान्सरको उपचार गराइरहेका बिरामी गुलाबी रङको टिसर्ट लगाएर गुलाबी रङकै चंगा र बेलुन उडाउँछन्। ‘त्यो कार्यक्रमको उद्देश्य स्तन क्यान्सर भएका महिलाहरू पनि सामान्य मानिससरह जीवनयापन गर्न सक्छन् भन्ने हो,’ डा. श्रेष्ठले भने, ‘उनीहरू आफूभित्र खुम्चिएर बस्नुपर्दैन, उनीहरू पनि अरूजस्तै स्वतन्त्र छन् भन्ने सन्देश त्यो अभियानबाट दिन्छाैँ।’ 

तेस्रो र चौथो स्टेजमा पुगेर अस्पताल आएका बिरामीको पनि उपचार गरेका छन्, डा. श्रेष्ठले। ‘पहिला मानिसहरू लजाएर तेस्रो, चौथो स्टेजमा पुगेपछि बल्ल उपचारका लागि आउँथे,’ उनले भने, ‘कोही त ब्रेस्ट कुहिएर कीरा परेपछि आउने पनि थिए। तर, अहिले अधिकांश पहिलो र दोस्रो स्टेजमै आउँछन्। विवाहित मात्रै होइन, आजभोलि शंका लाग्नेबित्तिकै अविवाहित युवती पनि उपचारका लागि आउँछन्।’

ब्रेस्ट क्यान्सरसम्बन्धी भ्रमहरू समयसँगै बिस्तारै मेटिँदै गएको उनले बताए। ‘‘क्यान्सर सरुवा रोग हो’, ‘भर्खरको मानिसलाई क्यान्सर हुँदैन’, ‘क्यान्सर लाग्नेबित्तिकै मरिहालिन्छ’, ‘केटालाई ब्रेस्ट क्यान्सर हुँदैन’, ‘ब्राका कारण ब्रेस्ट क्यान्सर हुन्छ’ आदि–आदि भ्रम छन्,’ डा. श्रेष्ठले भने, ‘बेला–बेलामा गरिने सचेतना कार्यक्रमबाट यस्ता भ्रमबाट मान्छेहरू मुक्त हुन थालेका छन्।’ 

लाजले ज्यानै लैजान सक्छ 
कतिपय अविवाहित र कम उमेरका युवती स्तनमा गाँठागुँठी आए पनि लाजले जँचाउन नजाने स्तन क्यान्सर विशेषज्ञहरू बताउँछन्। 

ब्रेस्ट तथा कस्मेटिक सर्जन डा. ज्योति रायमाझीले यस्ता धेरै केस देखेकी छिन्। ‘युवतीहरू महिला डाक्टरसँग पनि उपचार गराउन लजाउँछन्,’ उनले भनिन्, ‘अरू अस्पतालमा पुरुष डाक्टर भएको थाहा पाएपछि मकहाँ आउने धेरै बिरामी छन्। कहिलेकाहीँ म बिदामा बसेको बेला धेरै बिरामी मलाई नै कुरेर बस्छन्, अरूसँग जँचाउन मान्दैनन्।’

ललितपुर, धोबीघाट बस्ने अनिता बस्नेत ब्रेस्ट क्यान्सर भएको थाहा भएपछि उपचारका लागि उनी तीनचार वटा अस्पताल चहारिन्। ‘ब्रेस्ट सर्जनहरू धेरैजसो पुरुष हुने रहेछन्,’ उनले भनिन्, ‘पुरुष डाक्टरसँग उपचार गराउनै लाज लाग्यो। महिला डाक्टर खोज्दाखोज्दै मेरो एक महिना ढिलो उपचार सुरु भयो। यतिबेलासम्म रोग झन् बढिसकेको थियो।’

अहिले उनी क्यान्सर निको भएर स्वस्थ जीवन बाँचिरहेकी छिन्। आफूलाई जस्तो अरूलाई नपरोस् भनेर उनी साथीहरूलाई बेलाबेलामा स्तन जँचाउन  सल्लाह दिन्छिन्। ‘मैले मेरा धेरै साथीलाई स्तन जँचाउन सल्लाह दिइसकेँ,’ उनले भनिन्, ‘लजाएर कोही पनि जँचाउन जान मान्दैनन्। आफूमा रोग पालेर अरूसँग लजाउनुको कुनै अर्थ छैन। लजाउँदा दुःख, पीडा र पैसा सबै आफैले बेहोर्नुपर्छ। लाजले ज्यानै लैजान सक्छ।’ 

युवतीहरूमा हुने स्तन क्यान्सरको उपचार पाको उमेरकी महिलाको भन्दा चाँडो गर्नुपर्ने बताउँछन्, डा. विवेक आचार्य। ‘युवा अवस्थामा मानिसजत्तिकै क्यान्सर पनि सक्रिय र आक्रामक हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले पाको उमेरका महिलाको तुलनामा युवतीहरूमा क्यान्सर छिटो फैलिने डर हुन्छ। लजाएर बस्दा युवतीहरू ज्यानै गुमाउन पुग्छन्।’ सुरुकै अवस्थामा स्तन क्यान्सर पत्ता लाग्यो भने स्तन र ज्यान दुवै जोगाउन सकिने उनी बताउँछन्।

काठमाडौँ, बालाजुकी रीता खड्काले डा. आचार्यसँगै केही वर्षअघि उपचार गराएकी थिइन्। उनी पनि लजाएर अन्य केही अस्पताल धाएपछि अन्तिममा डा. आचार्यकहाँ पुगेकी थिइन्। ‘सुरुमा काखीमुनि सानो गाँठो आएको थियो,’ उनले भनिन्, ‘पछि त्यही गाँठो स्तनमा सरेर, बढेर दुख्न थाल्यो।’ लाजले अस्पताल गएर जँचाउने आँट उनमा आएन। ‘भाउजू, बुहारीलाई सोध्दा केही हुँदैन, आउँछ/जान्छ भने,’ उनले भनिन्, ‘लजाएर ढिला अस्पताल पुग्दा क्यान्सर फैलिन लागिसकेको रहेछ। ढिला गरी उपचार गराउँदा आठ वटा केमो चढाउनुपर्‍यो।’ 

भक्तपुर क्यान्सर अस्पतालमा आएपछि स्तन क्यान्सर भएका महिलाहरू सुरुमा ठोक्किने डा. उत्सवमान श्रेष्ठकहाँ हो। ‘धेरैजसो महिला सुरुमा अप्ठ्यारो मान्छन्, लजाउँछन्,’ उनले भने, ‘क्यान्सर भएको थाहा पाउनेबित्तिकै धेरै महिला आफू अपांग भएको महसुस गर्छन्। आफ्नो सौन्दर्यदेखि सबै कुरा गुमेको अनुभव गर्छन्।’

युवतीहरूको स्तन क्यान्सरमा सर्जरी गर्दा स्तन वरिपरिको छाला र मुन्टोलाई सकेसम्म जोगाउने गरेको उनले बताए। ‘युवतीका लागि सौन्दर्यका दृष्टिले पनि स्तनको महत्व हुन्छ,’ उनले भने, ‘यसरी स्तनभित्रको मासुलाई हटाएर ‘रिकन्स्ट्रक्सन’ गर्न सकिन्छ। रिकन्स्ट्रक्सन गर्दा शरीरको अन्य भागको मासु राखेर गरिन्छ।’ 

ब्रेस्ट क्यान्सर भएपछि धेरैले कस्मेटिक सर्जरीतिर ध्यान नदिने उनले बताए। ‘यो अवस्थामा मानिसलाई कसरी राम्रो देखिनेभन्दा पनि कसरी बाँच्ने भन्ने कुरा  पहिलो प्राथमिकतामा पर्छ,’ उनले भने, ‘तर, एकातिरको स्तन नहुँदा अर्कोतिर भारी भएर ढाड बांगिन सक्ने सम्भावना भएकाले विभिन्न उपाय अपनाइन्छ।’

कतिपय अविवाहित युवती सौन्दर्य गुम्ने डरले अन्तिम स्टेज पुगिसकेको क्यान्सर पनि उपचार गराउन नमानेको अनुभव उनले गरेका छन्। ‘कतिपय युवतीको ब्रेस्ट क्यान्सर लास्ट स्टेजमा पुगेर ब्रेस्ट नै निकालेर फ्याँक्नुपर्ने पनि हुन्छ,’ उनले भने, ‘तर, ‘बरु म मर्छु, तर ब्रेस्ट काटेर फ्याँक्दिनँ’ भन्छन्। यसरी उनीहरू केही समय अस्पताल आउँदैनन्, हराउँछन्। पछि अन्तिम  अवस्थामा मर्नै लागेपछि मात्रै अस्पताल आउँछन्।’ 

यसरी क्यान्सर भएर उपचार गर्न हिचकिचाउनेलाई डा. श्रेष्ठले अरू क्यान्सर भइसकेका महिलासँग संवाद गराएर उनीहरूको उदाहरण दिने गर्छन्। ‘अरू महिलासँगको भेट र कुराकानीले उनीहरूको मनोबल बलियो हुन्छ र रोगसँग लड्ने हिम्मत पलाउँछ,’ उनले भने, ‘धेरैलाई अरू बिरामीलाई देखाएर काउन्सिलिङ गरेर समयमै उपचार गराउन सफल भएको छु।’

स्तन क्यान्सर भएको थाहा पाएपछि सम्बन्धित सर्जनलाई नै देखाउनुपर्ने डा. ज्योति रायमाझी बताउँछिन्। ‘क्यान्सरका लागि गरिने ब्रेस्ट सर्जरी र अन्य सर्जरी फरक हुन्छ,’ उनी भन्छिन्, ‘कतिपय बिरामी सही डाक्टरकोमा नपुगेर पछि पछुताउने गर्छन्।

सुरुवाती चरणमा पत्ता लागेको क्यान्सरका लागि ‘ब्रेस्ट कन्जर्भेसन सर्जरी’ उपयोगी हुने डा. रायमाझी बताउँछिन्। ‘सुरुमै रोग पत्ता लाग्यो भने स्तनलाई नफाली ‘ब्रेस्ट कन्जर्भेसन सर्जरी’ गर्ने गरिन्छ,’ उनी भन्छिन्, ‘यसमा गिर्खा निकालेर स्तनको बाँकी भागलाई बचाइन्छ। ब्रेस्ट पूरै फ्याँक्नुपरेको अवस्थामा भने कतिले आर्टिफिसियल ब्रेस्ट राख्छन्।’

डा. ज्योति रायमाझी नदुख्ने गाँठो आएमा, स्तनको मुन्टाबाट रगत बगेमा, स्तनको मुन्टा भित्र जान थालेमा, काखीमा गाँठागुँठी आएमा वा स्तनको रङ परिवर्तन हुन थालेमा स्तन जाँच गर्न सल्लाह दिन्छिन्। ४० वर्षभन्दा कम उमेरका महिलाले स्तन क्यान्सरसँग सम्बन्धित कुनै लक्षण देखिएमा वा शंका लागेमा स्तनको अल्ट्रासाउन्ड, बायोप्सी, सिटिस्क्यान र एमआरआई आदि गर्न उनी सुझाउँछिन्। २० वर्ष वा सोभन्दा माथिका सबै महिलाले आफ्नो स्तन आफैँ जाँच्न सल्लाह दिन्छिन्। ‘कपडा फेर्दा वा नुहाउँदा, आफ्नो स्तन आफैँ जाँच गर्न सकिन्छ,’ उनी भन्छिन् ‘यसरी जाँच गर्दा क्यान्सर पहिलो स्टेजमै पत्ता लगाएर डरलाग्दो परिस्थितिबाट बच्न सकिन्छ।’


‘आफूलाई जिते रोगलाई पनि जितिन्छ’ 

अनिता बस्नेत
ब्रेस्ट क्यान्सर विजेता  

म आफूलाई ब्रेस्ट क्यान्सर बिरामीभन्दा पनि ब्रेस्ट क्यान्सर विजेता भन्न रुचाउँछु। मलाई तीन वर्षअघि ब्रेस्ट क्यान्सर भएको थियो। त्यो बेला म २६ वर्षकी थिएँ। मेरो स्तनमा नदुख्ने खालको गाँठो आएको थियो। दुख्ने गाँठा भयो भने क्यान्सर हुन्छ भन्ने सुनेकी थिएँ। नदुख्ने भएर मैले खासै वास्ता गरिनँ। पछि दुख्न थालेपछि अस्पताल गएँ।
 

सुरुमा उपचार गराउनै लाज लाग्यो। महिला डाक्टर खोज्दै जाँदा तीनचार वटा हस्पिटल चहारेँ। यसरी एक महिना अस्पताल मात्रै चहारेर बसेँ। बे्रस्ट सर्जन प्रायः ठाउँमा पुरुष हुने रहेछन्। अन्तिममा भक्तपुर क्यान्सर अस्पतालमा गएर जँचाउने निधो गरेँ। जँचाउँदा ब्रेस्ट क्यान्सर भएको पत्ता लाग्यो। पछि उपचारका लागि जाँदा मेरो क्यान्सर सेकेन्ड स्टेजमा पुगिसकेको रहेछ। ब्रेस्ट क्यान्सर भएको कुरा रिपोर्टले देखाउँदा पनि मलाई पत्यार लागेन। म जंक फुड पनि खासै खाँदिन थिएँ। मेरो परिवारमा कसैलाई यस्तो रोग लागेको थाहा छैन। तर, पछि थाहा भयो, यो रोग जसलाई पनि लाग्ने रहेछ।
 

उपचारका क्रममा २४ दिन अस्पताल बसेँ। कसैसँग बोल्न, भेट्न मन लाग्दैनथ्यो। उपचार अवधिभर मलाई निरुत्साहित गर्ने खालका कोही व्यक्तिसँग पनि मैले भेटिनँ। फेरि क्यान्सर नदोहोरियोस् भन्नका लागि औषधि खाइरहेकी छु। पाँच वर्षको औषधि छ। तीन वर्ष खाएँ। अब दुई वर्ष बाँकी छ। 
 

बिहेलाई लिएर टीकाटिप्पणी गर्नेलाई मैले कहिल्यै वास्ता गरिनँ। बिहे नै सबैभन्दा ठूलो कुरा होइन। त्योभन्दा बाहिर पनि जीवनमा धेरै कुरा छन् भन्ने मलाई लाग्यो। ब्रेस्ट क्यान्सरसँग लड्ने सन्दर्भमा म आफ्नो प्रेरणा आफैँलाई मान्छु। मैले आफूलाई मनाउन सफल भएँ। दुःख र रोग भन्ने कुरा आफैँले भोग्ने हो, अरूले आएर भोग्ने होइन। दुःख र रोगसँग आफू लडेन भने अरू आएर लडिदिँदैनन्। रोगसँग लड्न अरूबाट होइन, आफैँबाट प्रेरणा लिनुपर्छ। आफूलाई जिते रोगलाई पनि जितिन्छ। 
 

आजभोलि म ब्रेस्ट क्यान्सर भएका दिदीबहिनीहरूसँग समय बिताउँछु। उनीहरूका लागि विभिन्न कार्यक्रम गर्छु। केही डाक्टर, नर्स र ब्रेस्ट क्यान्सर विजेता मिलेर हामीले ‘नयाँ उमंग’ भन्ने संस्था सुरु गरेका छाँै। संस्थाले ब्रेस्ट क्यान्सर भएका महिलालाई लक्ष्य गरेर विभिन्न कार्यक्रम गर्छ। पहिला सर्भाइभर भएर गएका केही कार्यक्रममा म आजभोलि आयोजक भएर जाने गरेकी छु।
 

हामी मीठो खान, राम्रो लगाउन, घुम्नका लागि पैसा खर्च गर्छौं। तर, स्वास्थ्यका लागि कति पनि विचार गर्दैनौँ। कति पनि खर्च गर्न खोज्दैनौँ। आफ्नो स्वास्थ्यमा कति पनि ध्यान दिँदैनौँ। 
 

ब्रेस्ट क्यान्सर वास्तवमा केही होइन रहेछ। सुरुको चरणमा अस्पताल पुगियो भने यो पनि अरूजस्तै एउटा सामान्य रोग रहेछ। तर, यसलाई लुकाएर बस्दा आफैँलाई शारीरिक र मानसिक पीडा हुने रहेछ। 


‘कम उमेरमा स्तन क्यान्सर हुने बिरामी बढ्दै छन्’  

प्रा. डा. राजेन्द्रप्रसाद बराल
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ

स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ। स्तन क्यान्सर विभिन्न कारणले हुन्छ। केही प्रतिशतमा यो वंशाणुगत कारणले हुन्छ। आफ्नी आमा, सानीमा, दिदीबहिनीमा भएमा हुने सम्भावना हुन्छ। हर्मोनहरूमा गडबडी, नियमित चुरोट र मदिरा सेवन, ढिलासम्म बिहे नभएको, बिहे भएर पनि बच्चा नजन्माएको, छिटो महिनावारी भएर ढिला महिनावारी सुकेको आदिमा ब्रेस्ट क्यान्सरको जोखिम हुन्छ।

स्तन महिलाको गहना हो। १९ वर्षको किशोरीमा मात्र नभएर ९१ वर्षकी वृद्ध महिलालाई स्तन क्यान्सर भयो भने पनि त्यो उनीहरूमा चिन्ताको विषय बन्छ। ९१ वर्षकी आमाको स्तन काट्नुपर्ने भयो भने पनि ‘काट्नैपर्छ र ? नकाटी उपचार गराउन मिल्दैन’ भन्ने चिन्ता व्यक्त हुन थाल्छ। जबकि त्यो उमेरमा स्तन खासै जरुरी हुँदैन। यस्तो अवस्थामा जवान युवतीले चिन्ता गर्नु स्वाभाविकै हो। ब्रेस्ट क्यान्सर भएका धेरै युवतीले सुरुमा स्विकार्न गाह्रो मान्छन्। धेरैले भर्खर आफ्नो जीवन बाँच्न सुरु गरेका हुन्छन्। कतिपय त रोग स्वीकार गर्न नसकेर डिप्रेसनमा गएका पनि छन्। यस्तो अवस्थामा उनीहरूलाई नियमित मनोवैज्ञानिक परामर्श आवश्यक हुन्छ। जोसँग सकारात्मक सोच र दृढ आत्मविश्वास छ, उनीहरूको उपचार सफल हुने चान्स बढी हुन्छ।

ब्रेस्ट क्यान्सर रोगीलाई शारीरिकभन्दा नैतिक समर्थन चाहिन्छ। यसमा परिवारको साथ अपरिहार्य हुन्छ। पहिलो स्टेजको ब्रेस्ट क्यान्सर भएका महिलालाई उपचार गराउन छाडेर भाग्ने श्रीमान्हरू पनि छन्। कोही भने ब्रेस्ट क्यान्सरको अन्तिम स्टेज भएको थाहा पाउँदा बिहे गर्ने पनि छन्। यो सबै मानिसको सोच र चेतनामा भर पर्ने कुरा हो। समयमै रोग पत्ता लाग्यो भने यो रोग निको हुन बेर लाग्दैन भनेर धेरैले बुझेका छैनन्।

नेपालमा पछिल्लो समय सानै उमेरमा स्तन क्यान्सर हुने बिरामीको संख्या बढेको छ। त्यसैले हरेकले आफूलाई शंका लाग्नेबित्तिकै उपचारका लागि अस्पताल गइहाल्नुपर्छ। 

तपाईको कमेन्ट