छातीका ६ व्यायाम

writer

सम्पूर्ण

सोमबार, ०९ मङि्सर २०७६


प्रवेश आचार्य, फिटनेस एक्सपर्ट

फिटनेसका लागि जिम जानेहरूले त्यहाँको कार्यतालिकाबारे जानकारी राख्नुपर्छ। जिममा गएर जे मन लाग्यो त्यही व्यायाम गरेर मात्र शरीर सुन्दर बन्दैन। फिटनेस एक्सपर्ट तथा प्रशिक्षकको प्रत्यक्ष निगरानीमा बसेर नियमित तालिकाअनुसार व्यायाम गर्न सकियो भने मात्र शरीर फिट र आकर्षक बनाउन सकिन्छ। 

हप्ताको सात दिन फरक–फरक किसिमको शारीरिक व्यायाम गर्नुपर्छ। जस्तोः आइतबार छाती, सोमबार पाखुरा, मंगलबार बाइसेप्स, बुधबार ट्राइसेप्स, बिहीबार सोल्डर र ब्याक विङ्स, शुक्रबार लेग वा थाईको व्यायाम गर्नुपर्छ। शनिबार एक दिन आराम गरेर फेरि आइतबारदेखि यसै गरी हरेक दिन फरक–फरक अंगको व्यायाम गरेपछि मात्र शरीर आकर्षक र सुन्दर बनाउन सकिन्छ। तालिका नमिलाईकन जथाभावी व्यायाम गर्दा परिणाम राम्रो आउँदैन। वर्षौं जिम धाउँदा पनि शरीर सोचेजस्तो आकर्षक बनाउन सकिँदैन। 

छातीको व्यायाम 
जिम जान थालेपछि धेरैलाई आफ्नो छाती चौडा र आकर्षक होस् भन्ने लाग्छ। त्यसैले सबैभन्दा पहिला छातीबाटै व्यायाम सुरु गर्दा राम्रो हुन्छ। 

बेन्च प्रेसः यो सीधा बेन्चमा बसेर रडको दुवैतिर निश्चित तौल राखेर उचालेर गरिने व्यायाम हो। यसले छातीको मांसपेशीलाई आकर्षक देखाउन मद्दत गर्छ। 

इन्क्लाइन बेन्च प्रेसः यसमा बेन्च हल्का छड्के हुन्छ। रडमा तौल राखेर उचालिने बारबेल वा डमबेल दुवै उचालेर व्यायाम गरिन्छ। 

डिक्लाइन बेन्च प्रेसः यस चरणमा हल्का खुट्टा माथि र टाउको तलतिर हुन्छ। यसमा पनि बारबेल उचालेर नै व्यायाम गरिन्छ। 

डमबेल प्रेसः सीधा बेन्चमा आफूले सकेको तौल उचालेर यो चरणमा व्यायाम गर्नुपर्छ। हप्ताको एक दिन यो व्यायाम गर्नुपर्छ। 

डमबेल फ्लाईः दुवै हातले उचालेर डमबेललाई दायाँ–बायाँ फैलाउँदै छातीको सीधा ल्याएर एकापसमा जोड्दै यो व्यायाम गरिन्छ। 

डमबेल पुलओभरः दुवै हातले एउटा डमबेल उचालेर टाउकोदेखि पछाडिसम्म पुर्‍याउँदै अगाडि ल्याउँदै गरिने व्यायाम हो यो। 

छातीका लागि यी छ चरणका व्यायाम नियमित गरेपछि छाती आकर्षक देखिन थाल्छ। 

प्रस्तुतिः कुबेर डंगोल 
 

तपाईको कमेन्ट

मुख्य समाचार