‘मजदुरदेखि विद्वानसम्मले सुन्ने गीत गाउन चाहन्छु’

writer

सम्पूर्ण

बिहिबार, ०५ मङि्सर २०७६


पछिल्लो समयमा भारतले जारी गरेको औपचारिक नक्सामा नेपालका केही क्षेत्र देखिएपछि एक पटक फेरि कालापानी विवाद चर्चामा आएको छ। यसै बेला २०५६ मा रेकर्ड गरिएको गायक विधान श्रेष्ठको गीत ‘माछी मार्न जाऊँ न दाजै कालापानीमा’ ले पनि चर्चा पाइरहेको छ। यही सन्दर्भमा गायक विधानसँग उनको संगीत यात्राबारे ‘सम्पूर्ण’ का लागि युवराज भट्टराईले सुर संवाद गरेका छन्। 


२०५७ सालमा निस्किएको गीतले अहिले पनि चर्चा पाउँदा कस्तो लागिरहेको छ ?
गीतले त्यतिबेला पनि चर्चा पाएको थियो। बीचमा चार वर्षजति गीत कतै बज्न दिइएन। पछि फेरि बज्दा गीतले चर्चा पायो। अहिले फेरि परिस्थिति उस्तै भएको छ। गत वर्ष यो गीत लाइभ कार्यक्रममा गाउँदा पनि धेरैले मन पराउनुभएको थियो। अहिलेको परिस्थितिले गर्दा गीतलाई झन् धेरैले मन पराइरहनुभएको छ। आफ्नो गीतलाई स्रोता-दर्शकले वर्षौंसम्म मन पराइदिनु कुनै पनि गायकका लागि ठूलो कुरा हो।यस गीतबारे केही बताइदिनुस् न।  

गीत मेरो बुबा विजय श्रेष्ठले लेख्नुभएको हो। संगीत पनि उहाँकै हो। २०५४-०५५ सालतिर कालापानी क्षेत्रको विवाद निकै चर्चाको विषय बनेको थियो। त्यतिबेला म्युजिक भिडियो डिरेक्टर भूषण दाहालसँग मेरो भेट भइरहन्थ्यो। उहाँले मेरा थुप्रै गीतका म्युजिक भिडियो बनाउनुभएको छ। भेटघाटका क्रममा उहाँले कालापानीको विषयमा गीत गाइयो भने खूब चर्चित हुन्छ भन्नुभयो।

सो कुरा मैले बुबालाई भनेँ। बुबाले केही समयमै गीत तयार गरिदिनुभयो। गीतलाई २०५६ सालमा रेकर्ड गरियो। मसँगै रीता उपाध्याय र जे पापीको आवाजमा गीत रेकर्ड गरियो। २०५७ मा गीत रिलिज भयो। तर, केही महिना मात्रै गीत बज्न पायो। त्यसपछि अघोषित रूपमा प्रतिबन्धितजस्तै भयो। गीतलाई कतै पनि बजाइएन। चार वर्षपछि फेरि गीतलाई रेडियो, टेलिभिजनले स्थान दिन थाले।

तपाईंले भनेजस्तो गीतमा ‘अघोषित प्रतिबन्ध’ किन लगाइएको होला ? 

मैले गीत निःस्वार्थ रूपमा गाएको थिएँ। भूषण दाहालले दिव्यदृष्टि टेलिभिजनबाट गीतको भिडियो बनाइदिनुभएको थियो। माथि भनेजस्तै गीत रिलिज भएपछि केही महिना पनि राम्रोसँग बजेन। घोषित रूपमा प्रतिबन्ध नलगाए गीत बजाउन दिइएन। त्यसैले अघोषित प्रतिबन्ध भनेको हुँ। गीत किन बज्न दिइएन, त्यो भनिएन। फेरि, त्यतिखेर अहिलेजस्तो युट्युब, रोयल्टीजस्ता कुरा थिएनन्। भएको भए चर्चाका लागि अथवा रोयल्टीका लागि गीत गाइएको भन्न सकिन्थ्यो। तर, संगीत क्षेत्रमा चिनिँदै गइरहेको सर्जकको गीतलाई केही नभनी बज्नै नदिनु दुःखद थियो।

तपाईंको सांगीतिक यात्रा कसरी सुरु भयो ?

मेरो घर सुनसरी, इनरुवा हो। घरको वातावरण पूरै सांगीतिक थियो। बुबा गिटार बजाउनुहुन्थ्यो, गीत गाउनुहुन्थ्यो, संगीत पनि भर्नुहुन्थ्यो। बाल्यकालबाटै म संगीतसँग अभ्यस्त भएँ। बुबाले गाएको सुन्दा-देख्दा संगीतप्रति आकर्षित भएँ। एसएलसी सकेर काठमाडौँ आएँ। २०४८ सालदेखि वरिष्ठ संगीतकार अम्बर गुरुङसँग शास्त्रीय संगीत सिक्न थालेँ। संगीत सिक्दै गर्दा आफ्नो पहिलो एल्बम ‘आश्वासन’ निकालेको थिएँ। चार वर्षजति संगीत सिकेपछि निरन्तर संगीत क्षेत्रमा काम गरिरहेँ। त्यो बेला बुबाको रचना र संगीतमा रहेका गीत धेरै गरेको थिएँ।

एकै शैलीका मात्र नभई विभिन्न विधाका गीत गाउनुहुन्छ। ‘ज्ञानबहादुर छोरो’ देखि ‘सोल्टिनी भनी बोलाको’ जस्ता गीत रेकर्ड गर्नुभएको छ।

गीत–संगीतमा लागेदेखि नै फरक–फरक विधाका गीत गाउनुपर्छ भन्ने लाग्थ्यो। एउटै जान्रको मात्रै गीत गाइयो भने स्रोतालाई सधैँ मन पर्दैनजस्तो लाग्थ्यो। धेरैले मलाई वजनदार सामाजिक गीत गाउने सल्लाह दिन्थे। तर, मलाई हरेक किसिमका गीत गाउनुपर्छ भन्ने लाग्थ्यो। नेपाली लोकसंस्कृति, लोकभाका बोकेका गीत पनि गाउनुपर्छ भन्ने लागेर फरक–फरक गीत गाएको हुँ। मेरा गीत मदजुरदेखि विद्वान् सबैले सुनून् भन्ने लाग्छ। 

तपाईंले करिअर सुरु गर्दाताका नेपाली गीत–संगीत क्षेत्रको अवस्था कस्तो थियो ?

त्यतिखेर सांगीतिक क्षेत्रमा अलि भनसुन चल्थ्यो। तर, मेरो बुबा कसैलाई पनि भनसुन नगर्ने प्रकृतिको मान्छे हुनुहुन्थ्यो। लामो समय कुर्ने तर आफ्नै बलबुतामा काम गर्न खोज्ने खालको मान्छे हुनुहुन्थ्यो। अरूको आश गर्नुहुन्थेन। त्यसैले गीत रेकर्ड गराउन, मिडियामा बजाउन कहिल्यै कसैलाई पनि भनसुन गर्नुभएन। त्यतिखेर नेपाल टेलिभिजनले मात्रै म्युजिक भिडियो बनाउँथ्यो। त्यहाँ पनि गीत लाम लागेका हुन्थे। तर, बुबाले कहिल्यै भनसुन गरेर आफ्नो काम चाँडो गराउनुभएन। बुबाकै प्रभाव ममाथि थियो। मैले पनि बुबाको बाटो पछ्याएँ।

गीत रेकर्ड भएपछि बिस्तारै यस क्षेत्रका मानिस चिन्दै गएँ। नेपाल टेलिभिजनमा रोशनप्रताप राणा हुनुहुन्थ्यो। उहाँले केही गीतका भिडियो बनाइदिनुभयो। २०५२ सालमा भूषण दाहाल नेपाल टेलिभिजनमा आउनुभयो। उहाँले मेरा केही गीतको भिडियो बनाउनुभयो। इमेज च्यानल खुलेपछि त्यहाँबाट पनि मेरा थुप्रै म्युजिक भिडियो बने। 

त्यतिबेला मायाप्रेमका गीत चलनचल्तीमा थिए। त्यसमाथि पप गीतको लहर चलेको थियो। तर, तपाईंले भिन्न शैलीमा गीत गाउनुभयो। किन ? 

हो, त्यो बेला गीत–संगीतमा प्रवेश गर्ने अधिकांशले मायाप्रेमका पप गीतमा काम गरिरहेका थिए। मेरो बुबाले पहिलादेखि नै गीत लेखेर राख्नुभएको थियो। जुन गीत मैले त्यो बेला गाएँ। साँच्चैमा भन्ने हो भने त्यतिबेला मलाई ती गीतमा भएका शब्दको अर्थसमेत थाहा थिएन। बुबाले गाऊ भनेपछि गाएको थिएँ। त्यो बेला १७-१८ वर्षको ठिटो थिएँ। पछि मात्र ती गीत र तिनका शब्दको अर्थ बुझेँ। तर, ती गीतले नै मेरो नाम बनाइदिए।

तपाईं सांगीतिक कार्यक्रममा कमै देखिनुहुन्छ ?

केही वर्षअघि नेपालयमा पलेटी सो गरेको थिएँ। संगीतकार आभास दाइले त्यति ठूलो स्टेजमा गाउने मौका दिनुभएको थियो। अरू कन्सर्टमा नदेखिनुको कारण, म गीत ट्र्याकमा गाउँदिनँ। एकल गायन मात्रै रुचाउँछु। अर्को कुरा, गायनलाई लिएर कुनै अवार्ड वा कुनै सम्मानको लोभ छैन। कुनै कार्यक्रमको गुणगान गाएर केही पाउनु छैन। दर्शकले मलाई स्विकारेर गायक बनाएका हुन्। मेरा लागि त्यही अवार्ड हो। 

गायनमा अहिले पहिलाजस्तो सक्रिय हुनुहुन्न नि ?

मैले लगातार नौ वटा एल्बम निकालेँ। त्यसपछि सिंगल ट्र्याक निकाल्न थालेँ। अहिले पहिलाजस्तो एल्बमको क्रेज छैन। पहिला हरेक वर्ष एल्बम निकालिन्थ्यो। अहिले गीत मात्रै निकाल्ने गरेको छु। कम गर्ने तर राम्रो गर्ने सोच बनाएको छु। 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि