ब्युटिसियन भन्छन्,‘मेकअप भव्य कला हो’

writer

सुमित सुवेदी

बिहिबार, ०५ मङि्सर २०७६


‘मेकअप स्टुडियो प्रोफेसनल आम्सटर्डम’ नेदरल्यान्ड्सको चर्चित ब्रान्ड हो। मेकअप स्टुडियो नाम भएकाले धेरैले यसलाई मेकअप गर्ने ठाउँ भनिठान्छन्। तर, यो सौन्दर्य प्रसाधनको ब्रान्डको नाम हो। यसका चार सयभन्दा बढी ब्युटी प्रोडक्ट छन्। नेपालमा एक वर्षअघि यस ब्रान्डको शाखा विस्तार भएको थियो। केटीएम स्कुल अफ मेकअप बाई मेकअप स्टुडियो प्रोफेसनल आम्सटर्डम, नेदरल्यान्ड्सले आफ्ना प्रोडक्टबारे जानकारी दिने उद्देश्यले तीनदिने प्रशिक्षण कक्षा सञ्चालन गरेको थियो। लामो समययता सौन्दर्य क्षेत्रमा सक्रिय देशका विभिन्न ठाउँका केही ब्युटिसियनलाई स्टुडियोले निःशुल्क प्रशिक्षण दिएको थियो। प्रशिक्षणमा सहभागी केही ब्युटिसियनले आफ्नो अनुभव ‘सम्पूर्ण’सँग बाँडेका छन्। 


बिजु श्रेष्ठ 
स्वप्निल ब्युटी क्लिनिक एन्ड ट्रेनिङ सेन्टर, इटहरी

मलाई सानैदेखि ब्युटिसियन बन्ने रहर थियो। गाउँमा कसैको बिहे हुँदा साथीहरूको मेकअप मैले नै गर्थें। एसएलसीपछि खाली बसेको छ महिनामा ब्युटिसियनको तालिम लिएँ। तालिम लिए पनि यसलाई नै पेशा बनाउँछु भन्ने थिएन। खाली समयलाई सदुपयोग गर्न तालिम लिएकी थिएँ। त्यसपछि प्लस टू गरेँ। मानविकीमा प्लस टू गरेपछि नन स्टिकका भाँडाको मार्केटिङ गर्ने काम गरेँ। तर, खासै राम्रो भएन। त्यसपछि ब्युटिसियन बन्ने सोच बनाएँ। त्यसका लागि एड्भान्स कोर्स गरेँ। कोर्स सकिएपछि काम सुरु गरेँ। अहिले १८ वर्ष भयो। यसलाई निरन्तरता दिँदै आएकी छु। कामबाट निकै खुशी छु। आफूले चाहेको काम गर्न पाउँदा मजा लागेको छ। काम गरेको लामो समय भए पनि फेरि केही नयाँ सिक्न मन लाग्यो। मेकअप भव्य कला हो। त्यसैले मेकअप स्टुडियोको प्रशिक्षणमा आएकी हुँ। यहाँ नयाँ–नयाँ प्रोडक्टबारे जानकारी पाएँ। यो एउटा अन्तर्राष्ट्रिय ब्रान्ड हो। अहिलेसम्म यो कम्पनीका सामान प्रयोग गरेकी थिइनँ। यो मेरो लागि नौलो अनुभव भइरहेको छ। नयाँ तरिका पनि सिक्ने अवसर पाएँ। 

सुशील स्वेच्छा 
ओम साई शृंगार, विराटनगर

बाल्यकालदेखि नै मेकअप आर्टिस्ट बन्ने सपना बुनेको थिएँ। मेरो करिअरको सुरुवात एउटा आईएनजीओमा चाइल्ड साइकोलोजिस्ट तथा मोटिभेसनल काउन्सिलरका रूपमा भएको थियो। पछि मैले आफ्नो बाल्यावस्थाको सपनालाई पछ्याएँ। व्यावसायिक रूपले मेकअप आर्टिस्ट भएर काम गरिरहेको सात वर्षजति भयो। यस क्षेत्रमा आउनुअघि भारतको लेक्मे स्टुडियो र भीएलसीसी प्रोफेसनल ट्रेनिङ इन्स्टिच्युटबाट १९ महिनाको कोर्स गरेको थिएँ। निकी ब्युटी एन्ड स्पाबाट पनि तालिम लिएँ। साढे दुई वर्ष सौन्दर्यसम्बन्धी तालिम लिएँ। अहिले सौन्दर्यकर्मीसँगै ब्युटी प्रशिक्षक पनि हुँ। मेरो अनुभवमा मेकअप खास कला हो।

भारतमा तालिममा लिँदै गर्दा मेकअप स्टुडियोको नाम सुनेको थिएँ। विश्वका उत्कृष्ट विभिन्न ब्युटी प्रोडक्टमध्ये मेकअप स्टुडियो पनि एक रहेको सुनेको थिएँ। अहिले त्यसै ब्रान्डको प्रशिक्षण लिन पाउँदा निकै खुशी लाग्यो। केही समयअघि यस ब्रान्डले विराटनगरमा गरेको एकदिने कार्यशाला गोष्ठीमा पनि सहभागी भएको थिएँ। यस ब्रान्डका प्रोडक्ट व्यावसायिक रूपमा बढी प्रयोग हुन्छन्। लगाएको २०÷२५ मिनेटपछि मात्र यो मेकअप राम्रो देखिन्छ।

उर्वी श्रेष्ठ 
मार्टिना मेकअप स्टुडियो एन्ड ट्रेनिङ सेन्टर, इटहरी  

म सधैँ आत्मनिर्भर हुन चाहन्थेँ। आफ्नै व्यवसाय गर्ने सोचले मलाई ब्युटिसियन बनाएको हो। राम्रो देखिन सबैलाई इच्छा हुन्छ। गृहिणीदेखि कामकाजी महिलासम्म मेकअप गर्न रुचाउँछन्। त्यसैले यस क्षेत्रमा राम्रो स्कोप देखेँ। व्यावसायिक रूपमा ब्युटिसियन बन्न विभिन्न तालिम लिएँ। यस पेशामा काम गर्न थालेको सात वर्ष भइसक्यो। काममा निकै मजा लागिरहेको छ। काम गर्दागर्दै केही नयाँ कुरा पनि सिक्न चाहन्छु। त्यसका लागि युट्युब हेर्ने गरेकी छु। मेकअप स्टुडियोले प्रशिक्षण दिने कुरा सुनेपछि यता आएकी हुँ। यस ब्रान्डको नाम सुनेकी थिएँ तर प्रोडक्ट प्रयोग गरेकी थिइनँ। मलाई यो ब्रान्डको प्रोडक्ट प्रभावकारी लागे। यो अन्तर्राष्ट्रिय बजारमा चलेको ब्रान्ड हो। प्रशिक्षणमा आफूले नबुझेका कुरा बुझ्ने अवसर पाएँ। अरू कम्पनीले ननिकालेका प्रोडक्ट यस कम्पनीले निकालेको रहेछ। प्रशिक्षणले सौन्दर्यसम्बन्धी ज्ञान बढाएको छ। 

मनिता तामाङ 
पेस्को मेकअप स्टुडियो, इटहरी 

मेरो आमा ब्युटिसियन हुनुहुन्छ। मलाई सानोमा फेसन डिजाइनर बन्ने रहर थियो। पछि मेरो चाहना बदलियो। आफू पनि राम्रो हुन पाइने, अरूलाई पनि राम्रो बनाइदिन पाइने भएकाले यो पेशा रोजेँ। घरमै राम्रो आम्दानी गर्न सकिने भएकाले मैले यसलाई आफ्नो करिअर बनाएँ। घामपानीमा बाहिर जानुपर्दैन। घरमै बसी–बसी राम्रो आम्दानी गर्न सकिन्छ। तर, मेहनत चाहिँ राम्रोसँग गर्नुपर्छ। मैले सौन्दर्यसम्बन्धी धेरै कुरा आमाबाट सिकेकी हुँ। यस काममा लागेको १६÷१७ वर्ष भइसक्यो। मेकअपका लागि विभिन्न सौन्दर्य प्रसाधन आवश्यक हुन्छन्। अहिले नेपालमा चाइनिज मेकअप प्रोडक्ट सस्तो मूल्यमा पाइन्छन्। तर, ती सस्ता सामानले मान्छेको छालामा नराम्रो असर गर्न सक्छ। नेपालमा मेकअप स्टुडियोले शाखा विस्तार गरेको सुन्दा खुशी लाग्यो। मैले यसका केही प्रोडक्ट प्रयोग गर्दै आएकी छु। जसबाट राम्रो नतिजा पाएकी छु। तीनदिने प्रशिक्षणबाट अन्य प्रोडक्टबारे जान्ने मौका पाएँ।  

युनिसा शाही 
युनिसा हेयर एन्ड मेकअप स्टुडियो, काठमाडौँ 

सानैदेखि आर्ट गर्न मन पथ्र्यो। मेकअप पनि एक प्रकारको आर्ट नै हो। नमिलेको कुरालाई मिलाएर राम्रो बनाइन्छ। त्यसलाई नै मेकअप भनिन्छ। सबैलाई राम्रो देखिन मन हुन्छ। सानोमा ममीले मेकअप गरेको देख्दा मलाई पनि राम्री देखिन मन लाग्थ्यो। अनि, बसेर आफैँ मेकअप गर्न थाल्थेँ। त्यहीँबाट मेकअपप्रति झुकाव बढेको हो। आफ्नो चाहनालाई पेशामा बदल्न आईटीसी ब्युटी ट्रेनिङ कोर्स गरें। यो डिप्लोमा कोर्स थियो। अहिले पनि गुगल, युट्युबबाट सौन्दर्यसम्बन्धी जानकारी हासिल गरिरहन्छु। बिहान पढाउँछु पनि। मेकअपमा छालाको प्रकारले मुख्य भूमिका खेल्छ। मेकअप आर्टिस्टमा प्रोडक्टलाई प्रयोग गर्ने कला हुनुपर्छ जस्तो लाग्छ। यदि त्यो कला छैन भने जस्तोसुकै महँगो र गुणस्तरीय ब्रान्ड प्रयोग गरे पनि मेकअप राम्रो हुँदैन। प्रशिक्षणपछि मेकअप स्टुडियोका प्रोडक्ट मन परेका छन्। गुणस्तरीय लागेका छन्।

तपाईको कमेन्ट

पपुलर पोस्ट