विपाशीका तीन परिचय

writer

सृजना खड्का

बिहिबार, ०५ मङि्सर २०७६


विपाशी तारा तुलाधर को–पाइलट, वेट लिफ्टर र मेकअप आर्टिस्ट हुन्। सीता एयरकी को–पाइलट उनले वेट लिफ्टिङमा गोल्ड मेडल जितेकी छिन्।  


काठमाडौँ, नरदेवीकी विपाशी तारा तुलाधर (३१) तीन फरक–फरक कामले चिनिन्छिन्। उनका तीन परिचय छन्। उनी को–पाइलट, वेट लिफ्टर र मेकअप आर्टिस्ट हुन्। हाल उनी सीता एयरमा को–पाइलटका रूपमा कार्यरत छिन्। उनले तीन वर्ष व्यावसायिक रूपमा मेकअप आर्टिस्ट भएर काम गरेकी छिन्। गत वर्ष ‘इन्टर क्लब वुमन स्क्वाट कम्पिटिसन’ मा १ सय ५० केजी वेट लिफ्ट गरेर उनले गोल्ड मेडलसमेत हात पारेकी थिइन्। 

प्लेनमा उड्ने सपना 

सानैदेखि उनको लक्ष्य पाइलट बन्ने थियो। तर, मोटो शरीरलाई लिएर गरिएका नकारात्मक कमेन्टले उनलाई मेकअप आर्टिस्ट र वेट लिफ्टर बन्न प्रेरित गर्‍यो। ‘सानैदेखि पाइलट बन्ने इच्छा थियो,’ उनले भनिन्, ‘पाइलट पेशा अरूभन्दा फरक लाग्थ्यो। त्यसमाथि पाइलटको युनिफर्मले मलाई सधैँ लोभ्याउँथ्यो।’

उनको परिवारमा पुरुषभन्दा महिला सदस्य बढी थिए। सानैदेखि आफ्नी आमा र सानीमाहरू आत्मनिर्भर भएर बाहिरी दुनियाँमा रमाएको उनी देख्थिन्। ‘बुबाले ‘तिमी छोरी हौ, तिमीले यो गर्न सक्दैनौ÷त्यो गर्न सक्दैनौ’ कहिल्यै भन्नुभएन,’ उनले सुनाइन्, ‘छोरी भएकै कारण घरमा कहिल्यै भेदभाव महसुस गरिनँ। घरबाहिर निस्किेपछि बल्ल मलाई छोरीमाथि गरिने विभेद महसुस हुन थाल्यो। त्यो भेदभावले जीवनमा केही गर्नुपर्छ भन्ने प्रेरणा थपिदियो।’

प्लस टू सकेर उच्च शिक्षाका लागि अमेरिका गइन्। ‘उता जाने मेरो खासै योजना थिएन,’ उनले भनिन्, ‘तर, जसरी पनि मलाई प्लेनमा उड्नु थियो। देशबाहिरको दुनियाँ देख्नु थियो।’ उनी तीन वर्ष अमेरिका बसिन्। त्यहाँ धेरै कुरा सिकिन्। ‘मुख्य कुरा ‘मानिसलाई उसको कपडा र जीउडालका आधारमा होइन, उसले गर्ने कामका आधारमा जज गर्नुपर्छ’ भनेर सिकेँ,’ उनले भनिन्,  ‘हामीकहाँ मानिसलाई उसको ज्यान, लगाएको कपडा र मेकअपको आधारमा जज गरिन्छ। कसैलाई भेट्नेबित्तिकै ‘कस्ती मोटी’, ‘कस्ती पातली’, ‘कस्तो नेलपोलिस लगाएको’, ‘कस्तो लिपस्टिक लगाएको’ भनेर भनिन्छ। तर, उता त्यस्तो नहुने रहेछ। त्यहाँ मानिसलाई उसले गर्ने काम र शैक्षिक स्तरको आधारमा जज गरिँदो रहेछ।’

शरीर बढ्यो, आत्मविश्वास घट्यो

विपाशी सानैदेखि मोटी थिइन्। ठूली हुँदै गएपछि उनको साइजको लुगा पनि पाइन छाड्यो। ‘मोटी’ भनेर उनको शरीरमाथि साथीभाइ र आफन्तले कमेन्ट गर्न थाले। ‘शरीर बढ्दै गयो, मेरो आत्मविश्वास घट्दै गयो,’ उनले भनिन्। अमेरिका गएपछि उनले आफूजस्ता धेरै मानिस देखिन्। जो बिन्दास बाँचिरहेका थिए। ‘उता मजस्ता थुप्रै मानिस थिए,’ उनले भनिन्, ‘जो बिन्दास भएर बाँचिरहेका थिए। यहाँ मलाई असामान्य अनुभव हुन्थ्यो। त्यहाँ गएपछि मोटो हुनु सामान्य लाग्न थाल्यो। उता पुगेपछि ‘गलत ठाउँमा पो जन्मिएछु कि क्या हो भन्ने लाग्न थाल्यो।’

सन् २०१० मा अमेरिकाबाट नेपाल फर्किइन्। त्यसपछि शरीरभन्दा आफ्नो काम र करिअरमा ध्यान दिन थालिन्। ‘नेपाल फर्किएपछि कसले के भन्ला भन्नेसँग मलतब लाग्न छाड्यो,’ उनले भनिन्। त्यसपछि उनले शिक्षिका भएर केही समय काम गरिन्। साथै, बुबाको व्यवसायमा पनि सघाइन्। 

मोटी भएपछि मेकअप आर्टिस्ट

‘मोटीहरू राम्री हुँदैनन्’ भन्ने भ्रम विपाशीमा थियो। राम्री बन्न उनले मेकअप सिकिन्। सानैदेखि उनी पत्रिकामा आउने मेकअप टिप्सका कटिङ राख्थिन्। त्यसैअनुसार राम्री बन्न खोज्थिन्। अमेरिका बस्दा पनि उनले युट्युबबाट मेकअपको अनलाइन कोर्स गरिन्। नेपाल फर्किएपछि सन् २०१३ देखि २०१६ सम्म व्यावसायिक रूपमा मेकअप आर्टिस्ट भएर काम गरिन्। ‘मेकअप गर्दा साह्रै आनन्द लाग्थ्यो,’ उनले भनिन्, ‘मेकअप गर्दा वा गरिदिँदा तनाव हराएजस्तो हुन्थ्यो। एक जना साथीको बिहेमा राम्रो मेकअप गरेको देखेपछि अरू ठाउँबाट पनि मेकअपका अफर आउन थाले।’ तर, उनले त्यसलाई नै करिअर बनाउनेबारे सोचेकी थिइनन्। 

लक्ष्य पाइलट, सफलता वेट लिफ्टिङमा

पाइलट पढेर आएको लामो समय बितिसक्दा पनि उनले काम पाइनन्।  त्यसका लागि उनले आठ वर्ष धैर्य गर्नुपर्‍यो। ‘त्यो बेला पाइलट धेरै थिए,  फ्लाइट थोरै हुन्थे,’ उनले सुनाइन्, ‘आठ वर्षपछि बल्ल मैले सीता एयरमा काम गर्ने मौका पाएँ।’ सन् २०१७ बाट को–पाइलटका रूपमा काम थालेकी उनले सन् २०१८ मा पहिलो उडान भरिन्। अहिले काठमाडौँदेखि लुक्लासम्मको उडान भर्छिन्। 

एकताका उनी दुब्लाउन जिम छिरेकी थिइन्। जिममा बानी पर्न उनलाई एक महिना लाग्यो र ‘जिम आफूलाई चाहिन्छ’ भनेर महसुस गर्न छ महिना लाग्यो। ‘सुरुमा जिमप्रति सिरियस थिइनँ,’ उनले भनिन्, ‘एक दिन जिम जाँदा हप्ता दिनसम्म जाँदैनथेँ, एक हप्ता गएँ भने एक महिना जाँदैनथेँ।’ त्योबेला उनको तौल सय केजीको हाराहारीमा थियो। ‘अमेरिका बस्दा धेरै जंक फुड खाइन्थ्यो,’ उनले भनिन्, ‘पानीको सट्टा पनि कोक खान्थेँ। त्यसैले होला धेरै मोटाएर हिँड्नै गाह्रो भइसकेको थियो।’ 

सुरुदेखि नै उनी बडी बिल्डर महेश्वर महर्जनको जिममा जान्थिन्। महर्जनले उनलाई हरेक कुरामा सल्लाह दिन्थे। जिमखानामा गरिने अरू एक्सरसाइजमध्ये वेट लिफ्टिङ विपाशीलाई एकदमै मन पथ्र्यो। ‘वेट लिफ्टिङ मन पर्न थालेपछि जिमलाई मैले सिरयसली लिन थालेँ,’ उनले भनिन्, ‘जिममा समर्पित भएर लागेपछि पहिलो तीन महिना कसरी बित्यो, पत्तै पाइनँ।’

जिम गर्दै जाँदा उनमा वेट लिफ्टिङ कम्पिटिसनमा भाग लिने जोश चल्यो। पहिलो पटक भिडिन्, हारिन्। दोस्रो पटक भिडिन्, हारिन्। तेस्रो पटक फेरि भिडिन्। जितेरै छाडिन्। ज्यास्मिन फिटनेस क्लबले गरेको ‘चौथो इन्टर क्लब वुमन स्क्वाट कम्पिटिसन’मा उनले १ सय ५० केजी तौल उचालेर गोल्ड मेडल जितिन्। ‘मोटी’ भनेर जिस्काउनेहरूले भन्न थाले– ‘यो मोटीले आफ्नो वेटको फाइदा उठाएरै छाडी।’

त्यो जीत त्यति सजिलो थिएन। त्यसको लागि तीनमहिने टे«निङमा उनी दिनरात नभनी लागिन्। ‘त्यो बेला मेरो सोसल लाइफ शून्य भइसकेको थियो,’ उनले भनिन्, ‘दिनमा तीनदेखि पाँच घण्टा जिममा बिताउँथेँ। बाँकी समय फ्लाइट परेको बेला प्लेन उडाइरहेको हुन्थेँ।’

‘महिलाहरू तौल उठाउन सक्दैनन् भन्ने भ्रम समाजमा छ,’ उनले थनिन्, ‘वेट लिफ्टिङ पुरुषले मात्र गर्ने हो भनिन्छ। तर, त्यस्तो होइन। सबै पुरुष बलिया हुँदैनन् र सबै महिला कमजोर हुँदैनन्।’ आगामी दिनमा राष्ट्रिय स्तरको वेट लिफ्टिङ प्रतियोगितामा भाग लिने उनको सोच छ। ‘अहिले करिअरमा फोकस भएको कारणले केही ग्याप भएको छ,’ उनले भनिन्, ‘भविष्यमा राष्ट्रिय स्तरमा पनि जानेछु।’

एक्सरसाइज आफ्ना लागि मेडिटेसन भएको उनले बताइन्। ‘एक्सरसाइजले आनन्द दिन्छ,’ उनले भनिन्, ‘जिममा आफूले आफूलाई समय दिन पाइन्छ। आफू को हो ? आफूसँग कति क्षमता छ ? थाहा पाइन्छ।’

‘बी’ फर विपाशी 

‘धेरै क्षेत्रमा एकैचोटि हात हाल्दा गाह्रो हुँदैन ?’

अधिकांशले विपाशीलाई सोधिने प्रश्न हो, यो। तर, आफूमा इच्छाशक्ति भए कुनै पनि काम गर्न असम्भव नहुने उनले बताइन्। ‘फरक फिल्ड भएकाले गाह्रो पक्कै हुन्छ तर असम्भव छैन,’ उनले भनिन्, ‘मुख्य कुरा आत्मविश्वास र इच्छाशक्ति हुनुपर्‍यो।’ आजका दिनसम्म उनले सिकेको मुख्य कुरा हो, ‘नकारात्मक सोचलाई सकारात्मकमा कसरी बदल्ने ?’ 

‘कतिपय अवस्थामा नकारात्मक कमेन्टले पनि जीवनमा सकारात्मक प्रेरणा दिन्छन्,’ उनले भनिन्, ‘मानिसहरूले ‘मोटी’ र ‘नराम्री’ भनेपछि मेकअप सिकेँ। पछि त्यसलाई नै व्यवसाय बनाएँ। त्यसले मलाई बेफाइदा होइन, फाइदा नै गर्‍यो। मोटी हुनुको फाइदा उठाएर वेट लिफ्टिङमा गोल्ड मेडल जितेँ। जुन मेरो जिन्दगीको पहिलो गोल्ड मेडल थियो।’

यी तीन यात्रामा उनलाई उनको परिवारले भरपूर साथ दियो। ‘घरमा मलाई कहिल्यै कसैले ‘यो गर, त्यो नगर’ भन्नुभएन,’ उनले भनिन्, ‘मैले चाहेको कुरा उहाँहरू सुनिदिनुहुन्थ्यो, बुझिदिनुहुन्थ्यो।’

पहिला विपाशीलाई ‘बी’ बाट आउने शब्द मन पर्दैनथे। कसैले ‘बिग’ भन्दा उनलाई रिस उठ्थ्यो। आजभोलि विपाशीलाई ‘बिग’ बाट आउने शब्द मन पर्न थालेका छन्। ‘‘बी’ बाट बिग मात्रै आउँदो रहेनछ,’ उनले भनिन्, ‘‘बी’बाट ‘विपाशी र ‘बी’बाट विपाशीले देखेको बिग ड्रिम पनि आउँदो रहेछ। ‘बी’ फर ‘बिलिभ इन योर सेल्फ’ पनि हुँदो रहेछ।’

तपाईको कमेन्ट