रातका मजदुर

writer

सुमित सुवेदी

बिहिबार, ०५ मङि्सर २०७६


काठमाडौँका ठमेललगायत ठाउँमा राति १० बजेदेखि बिहान ४ बजेसम्म राति पानी, चाउचाउलगायत चिजबिज बेचेर गुजारा चलाउने थुप्रै छन्। उनीहरू महानगरपालिकाले गरिखान नदिएको गुनासो गर्छन्। 


धेरैका लागि सपनाको शहर हो, काठमाडौँ। देशका कुनाकाप्चाका गाउँ–गाउँबाट यहाँ मान्छेहरू आइपुग्छन्। कोही पढाइका लागि आउँछन्, कोही कामका लागि। ‘राजधानीमा बाँच्नु ठूलो चुनौती हो’ काठमाडौँमा दुःखसुखको अनुभव बटुलेपछि धेरैले भन्ने गरेका छन्। शहरमा बाँच्न, दुई छाक हातमुख जोड्न धेरैले यहाँ दिनरात एक गर्छन्। परिवार पाल्न मजदुरी गर्छन्। चिसो रातमा पनि खटिएर काम गरिरहेका हुन्छन्। 

चिसो रातमा खुद्रा व्यापार 

जीवनयापनका लागि दिनरात नभनी मेहनत गर्छिन्, रौतहटकी इन्दिरा कोइराला। उनले काठमाडौँ, ठमेलका गल्ली–गल्लीमा बकेटमा सामान राखेर बेच्ने गर्छिन्। उनले यसरी व्यापार गर्न थालेको छ महिना भयो। ‘यसरी नखटिए खान पुग्दैन,’ उनी भन्छिन्, ‘मेरा तीन छोरा, एक छोरी छन्। रातभरि काम नगरे उनीहरूलाई कसरी पाल्नु ?’ छोराछोरीलाई पढाउन हम्मेहम्मे परेको उनी बताउँछिन्। ‘दुई छोरा ११ मा, एक छोरा नौमा र छोरी आठ कक्षामा पढ्दै छे,’ उनी थप्छिन्, ‘उनीहरूलाई पढाउन, पाल्न दिनरात एक गर्दै छु।’ इन्दिरा एकल आमा हुन्। ‘म सानो हुँदा नै बुबा बित्नुभयो,’ उनी सुनाउँछिन्, ‘काकाकाकीले हुर्काउनुभयो। काकाको छोराले बिहे गरायो। श्रीमान् ठीक परेनन्। मलाई छाडेर रौतहटमा बसेका छन्।’

ठमेलको खुद्रा व्यापारले खान पुगे पनि घरभाडा तिर्न नपुग्ने उनी बताउँछिन्। ‘घरभाडा महिनाको सात हजार रुपैयाँ तिर्नुपर्छ,’ उनी भन्छिन्, ‘खुद्रा व्यापारले खान मात्र पुग्छ। घरभाडा तिर्न दिनमा अरूको घरमा काम गर्छु।’ दिनमा इन्दिराले अरूका भाडा माझ्ने, खाना पकाउने, कपडा धुनेलगायत काम गर्ने गर्छिन्।

इन्दिरा आफू मुटुरोगी भएको बताउँछिन्। ‘मलाई मुटुसम्बन्धी रोग लागेको छ,’ उनी भन्छिन्, ‘डाक्टरले मुटुको भल्भ थुनिएको छ भन्छ। ढाड पनि दुख्छ। निहुरिएर काम गर्न गाह्रो हुन्छ।’ उनी मात्र होइन, जेठो छोरा पनि बिरामी छन्। ‘जेठो छोरालाई मिर्गाैलासम्बन्धी रोगले च्यापेको छ,’ उनी सुनाउँछिन्, ‘तीन वर्ष भयो, ऊ बिराम भएको। उसको उपचारका लागि पनि त्यति नै पैसा चाहिन्छ। त्यसैले मरी–मरी काम गरिरहेकी छु।’

वैरी ‘महानगरपालिका’ 

गरिबका लागि दुई छाक टार्ने बाटो बनेको खुद्रा व्यापारमा काठमाडौँ महानगरपालिकाले रोक लगाएको छ। अहिले व्यापार गर्न निकै मुश्किल भएको इन्दिरा बताउँछिन्। भन्छिन्, ‘यही कामले हाम्रो चुल्होमा आगो बल्छ। तर, महानगरपालिका शत्रुजस्तै छ। त्यसका कर्मचारीले लेखटेको लेखट्यै गर्छन्। सामान लगेर जान्छन्। अहिले निकै सास्ती खेप्नुपरेको छ।’ 

यतिविधि दुःख गरे पनि राति खुद्रा व्यापार गरेर मात्र चार–पाँच सय रुपैयाँ कमाउने उनी बताउँछिन्। ‘सानोमा पढ्न पाइएन,’ उनी भन्छिन्, ‘योबाहेक अरू काम गर्न सकिँदैन। शरीरले साथ दिएसम्म यसरी नै मेहनत गर्ने हो।’

आफ्नो काममा रोक लगाएकोमा उनी महानगरपालिकाप्रति गुनासो पोख्छिन्, ‘गरिखाने बाटो खोसेर महानगरपालिकाले के गर्न खोजेको हो ? न काम दिन्छ, न गरिखान दिन्छ।’

सिन्धुपाल्चोककी दुर्गा गिरी पनि खुद्रा व्यापारी हुन्। उनले चुरोट, पानी, जुस, चाउचाउलगायत बेच्ने गरेकी छिन्। राति नै काम गर्ने उनले व्यापार गर्न थालेको धेरै भएको छैन। ‘तीनचार महिनाजति भयो व्यापार थालेको,’ उनी सुनाउँछिन् । भर्खरै व्यवसाय थालेकी उनी पनि महानगरपालिकाबाट त्राही–त्राही छिन्। ‘सामान बेच्नै पाएकी छैन,’ उनी भन्छिन्, ‘महानगरपालिकाका मान्छे आएर कुदाइहाल्छन्। मेरो बस्ने मुडा र चकटीसमेत उठाएर लगेछन्।’ 

दुर्गा श्रीमान्पीडित हुन्। ‘कान्छी श्रीमती भिœयाएपछि श्रीमान्ले मलाई छोडिदिए,’ उनी भन्छिन्, ‘खुद्रा व्यापार नै गरिखाने बाटो भएको छ।’

नौ महिनाकी छोरी बोकेर व्यापारमा 

मध्य रातमा ठमेलका भित्री गल्लीमा बकेटमा सामानहरू लिई बसेकी हुन्छिन्, सिन्धुपाल्चोककी सन्जिमाया तामाङ। उनले यस्तो काम गर्न थालेको छ वर्ष भयो। नौ महिनाकी छोरीलाई काखमा लिएर चिसो रातमा पानी, चिसो र चुरोट बेच्ने गरेकी छन्। ‘मेलै त नानी जन्मेको ११ दिनबाट नै यहाँ लिएर बसेकी हुँ,’ उनी भन्छिन्, ‘घरमा बसेर आम्दानी हुँदैन। हातमुख जोड्न काम गर्नैपर्‍यो।’ उनका श्रीमान् काम गर्न सक्दैनन्। घरको दोस्रो तलाबाट खसेर उनको हात भाँचिएको  छ। ‘पहिला श्रीमान् ट्याक्सी चलाउनुहुन्थ्यो,’ सन्जिमाया भन्छिन्, ‘मैले खासै काम गर्नु पर्दैनथ्यो। तर, अहिले काम गर्न सक्नुहुन्न। घर धान्नलाई छोरीहरू बोकेर आउँछु।’ 

उनी एउटी छोरीलाई काखमा र अर्की छोरीलाई छेउमा राखेर सडकमा व्यापार गर्छिन्। उनका परिवारमा तीन छोरी र श्रीमान् गरेर पाँच जना सदस्य छन्। तर,  १४ वर्षकी जेठी छोरी भने कुलतमा फसेको उनी बताउँछिन्। ‘जेठी छोरी कुलतमा फसेकी छे,’ उनी भन्छिन्, ‘कति सुधार केन्द्रमा राखिसक्यौँ, तर सुधार्न सकिएन। अहिले त घरसमेत आउन छाडी।’ 

उनलाई पनि महानगरपालिकाका मान्छेसँग डर लाग्छ। त्यसैले ठाउँ परिवर्तन गर्दै व्यापार गर्ने गरेको उनी बताउँछिन्। भन्छिन्, ‘बरु गुण्डासँग डर लाग्दैन, तर महानगरपालिकाका मान्छेहरूसँग डर लाग्छ।’ सन्जिमायाका अनुसार उनको  अवस्था देखेर कतिपयले किनेको सामानको मूल्यभन्दा पाँच–दश रुपैयाँ बढी दिने गरेका छन्।

गरिखान गाह्रो 

काभ्रे, धुलीखेल घर भई हाल लैनचौर बस्दै आएका विष्णुप्रसाद ढकाल पनि मध्यरातमा सडकपेटीमा सामान राखेर बस्छन्। उनले यस्तो काम गर्न थालेको एक वर्षजति भयो। ‘पहिला घर ढलान गर्ने काम गर्थें,’ उनी भन्छन्, ‘अहिले उमेरले गर्दा काम गर्न नसकिने भइयो।’ 

दुई छोरा र एक छोरीका बाबु विष्णुप्रसाद ४५ वर्षका भए। प्रायः उनी व्यापार गर्न आउँछन्। नभ्याउँदा र सञ्चो नहुँदा १४ र ११ वर्ष उमेर भएका छोराहरू सामान लिएर रातभर चिसोमा बस्ने गरेको उनी बताउँछन्। उनी बिहान ४ बजेसम्म व्यापार गर्छन्। ‘काठमाडौँमा परिवार पाल्न कहाँ सजिलो छ र ?’ उनी भन्छन्, ‘राति १० बजेदेखि बिहान ४ बजेसम्म चिसोमा बस्नुपर्छ।’ 

उनी पनि महानगरपालिकाले सताएको गुनासो गर्छन्। लुकी–लुकी खुद्रा सामान बेच्ने गरेको बताउँछन्। ‘हामीले कसैको सामान लुटेर ल्याएर बेच्न लागेको त हैन नि,’ उनी भन्छन्, ‘त्यही पनि लुकी–लुकी बेच्नुपरेको छ। ढुक्कसँग काम गर्न  पाइएको छैन। सरकार न काम दिन सक्छ, न गरिबलाई गरिखान दिन्छ।’ उनी सरकारसँग आक्रोशित छन्। 

तपाईको कमेन्ट

मुख्य समाचार