‘टिनएजरको स्पिड डरलाग्दो हुन्छ’

writer

आशक्ति फुयाल

बिहिबार, ०५ मङि्सर २०७६


गुणनिधि खकुरेल, ट्राफिक प्रहरी  महानगरीय ट्राफिक प्रहरी प्रभाग, सुकेधारा, काठमाडौँ।

के छ हालखबर, सर ?
सञ्चै छ। 

ट्राफिक प्रहरी भएर काम गर्न थाल्नुभएको कति भयो ?
नौ वर्ष भयो। 

सरको घर कता पर्‍यो ?
बालाजु। 

कति कक्षासम्म पढ्नुभएको छ  ?
ब्याचलर्स पास गरेको छु। 

कुन विषय लिएर पढ्नुभयो ?
मानविकी।

ट्राफिक प्रहरीमा कसरी आइयो ?
पहिला सिभिल प्रहरीमा थिएँ। त्यसपछि ट्राफिक प्रहरीको तालिम लिएर यता आएँ।

नौ वर्षमा कहाँ–कहाँ ड्युटी गरियो ?
धेरैजसो काठमाडौँ उपत्यकाभित्र काम गरेँ। भीआईपी तालिम पनि गरेको छु। 

भीआईपी तालिम भन्नाले ?
भीआईपीको सवारी हुँदा मोटरसाइकलमा पहिलो सवार हुने व्यक्ति नै हामी हुन्छौँ। 

भीआईपी सवारी हुँदा काममा प्रेसर कत्तिको हुन्छ ?
खासै प्रेसर हुँदैन। सडक खाली–खाली नै हुन्छ। धेरै जना भएकाले काम गर्न सजिलो हुन्छ। 

घोडचढीमा पनि ड्युटी गर्नुभएको छ ?
छैन।

ट्राफिक प्रहरीको हकमा के भइदिए काम गर्न सहज हुन्थ्यो ?
अहिले सबैतिर बाटो बन्ने क्रम जारी छ। सडक भत्केको छ। सम्बन्धित निकायबाट बाटोको काम छिटोभन्दा छिटो भइदिए काम गर्न सहज हुन्थ्यो। बाटो बनेको ठाउँमा पनि बिजुलीका तार लथालिंग छन्। जसले सवारीसाधनलाई आवतजावत गर्न एकदमै गाह्रो भएको छ। 

सुकेधारामा कार्यरत ट्राफिक प्रहरीको ड्युटी कहाँसम्म पर्छ ?
गोपीकृष्ण हल, भित्री एरियामा कपनदेखि नीलो पुल, चप्पल कारखानासम्म पर्छ। 

हेलमेट नलगाई मोटरसाइकल चलाउने चालक पनि भेटिन्छन् यतातिर ?
मुख्य सडकमा त भेटिँदैनन्। तर, भित्रभित्र गल्लीतिर भेटिन्छन्। भर्खरका ठिटाठिटी हेलमेट नलगाई सडकमा निस्कन्छन्।

अहिले सडक दुर्घटना बढ्यो भन्छन्। किन होला ? 
पहिलो कुरा ट्राफिक नियमसम्बन्धी ज्ञान नै छैन धेरै चालकमा। टिनएजरको सवारी गति यति धेरै हुन्छ कि उनीहरूले चलाएको देख्दा डर लाग्छ। लेन मेन्टन नगर्दा पनि सवारी दुर्घटना बढेका हुन्। 

सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीबाट के–कस्ता काम भएका छन्  ?
नियमविपरीत सवारी चलाउनेलाई कारबाही गरिन्छ। त्यसका साथै महाशाखामा कक्षा लिन पनि लगाइन्छ। एकचोटि क्लास लिएको चालक दोहोर्‍याएर त्यही गल्तीमा कमै समातिन्छन्।

सडकमा ट्राफिक लाइट नहुँदा काम गर्न कत्तिको गाह्रो छ ?
धेरै गाह्रो छ। ट्राफिक लाइट भएको भए काम गर्न धेरै सजिलो हुन्थ्यो। सबै इशारा र संकेत लाइटले नै दिन्थ्यो। 

ट्राफिक प्रहरी भएर पहिलो पटक सडकमा खटिँदाको अनुभव कस्तो रह्यो ?
पहिलो दिन थापाथली चोकमा ड्युटी परेको थियो। चालकले ट्राफिकको हाउभाउले नयाँ हो भन्ने थाहा पाइहाल्छन्। नयाँ ट्राफिकलाई जति पेले पनि हुन्छ भन्ने सोचले मलाई खूब पेलेका थिए। 

यो एरियामा मापसेमा कत्तिको चालक पर्छन् ?
दिनको चारपाँच जना परिरहन्छन्। 

कति उमेरका चालक मापसेमा पर्ने गर्छन् ?
यही उमेरका भन्ने छैन। विद्यार्थीदेखि डाक्टरसम्म मापसेमा पर्ने गर्छन्। कहिलेकाहीँ त महिला पनि मापसे गरेर गाडी हाँकिरहेका हुन्छन्। 
मापसे कारबाहीमा प्राइभेट या पब्लिक कस्ता गाडीका चालक बढी पर्छन् ? बढीजसो प्राइभेट सवारीसाधन लिएर हिँड्ने पर्छन्। 

फुर्सदमा के गरिन्छ ?
साथीभाइसँग भेटघाट गर्छु। परिवारलाई समय दिन्छु। घुम्न औधी मन पर्छ। समय हुँदा घुम्न गइन्छ। 

कहाँ–कहाँ घुम्न जानुभएको छ ? 
पोखरा, लुम्बनी, मुस्ताङलगायत ठाउँ पुगिसकेँ। देशबाहिर कोरिया गएको छु।

जान मन लागेको ठाउँ कुन हो ?
एक पटक स्विट्जरल्यान्ड घुम्ने ठूलो इच्छा छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि