साइकलसँग रोमाञ्चक सहयात्रा

writer

सुमित सुवेदी

बुधबार, ०४ मङि्सर २०७६


विश्व निकेतन माविका सहायक क्याम्पस प्रध्यानध्यापक ओमशंकर श्रेष्ठले साइकल चढ्न थालेको ३० वर्ष भयो। उनी भन्छन्, ‘साइकल मेरो प्यासन हो।’ 

उनलाई पहिले–पहिले साइकलजस्तो सस्तो सवारी साधन चढ्दा सामाजिक प्रतिष्ठा के होला भन्ने चिन्ता पनि लाग्थ्यो। ‘अरूले के भन्लान् ? साथीभाइका अगाडि इज्जत जाने त हैन ? भन्ने डर लाग्थ्यो,’ श्रेष्ठ सम्झन्छन्, ‘तर, बिस्तारै मैले यी वाहियात चिन्ता हुन् भनेर आफूलाई कन्भिन्स्ड गरेँ।’ 

उनको आर्थिक अवस्थाले उनलाई गाडी चढ्ने अनुमति दिन्छ। ‘तर, गाडी किन्न नसकेर साइकल चलाएको होइन,’ उनी भन्छन्। उनी मान्छेहरूले डेढ, दुई करोड रुपैयाँ हालेर गाडी किनेको देख्दा छक्क पर्छन्। यससम्बन्धी उनको धारणा पृथक् छ। भन्छन्,  ‘एउटा डेढ, दुई करोडको गाडी किन्नु भनेको देशको पैसा फ्रिज गर्नुजस्तै लाग्छ। हाम्रो पैसा भनेको देशको पैसा हो। एक करोडको गाडी किन्नुको सट्टा एउटा सानो उद्योग सञ्चालन गर्ने हो भने देशमा रोजगारी सिर्जना हुने थियो। दुईचार जनाको चुलोमा आगो बल्ने थियो।’

गरिब र विपन्नले मात्र साइकल चढ्छन् भन्नेका लागि नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुट गतिलो जवाफ भएको उनी बताउँछन्। ‘नेपाललगायत देशमा प्रधानमन्त्री र राष्ट्रपतिहरू करोडौँको गाडीमा हुइँकिरहेको अवस्थामा नेदरल्यान्ड्सका प्रधानमन्त्री रुट भने सरर साइकल चढेर अफिस जान्छन्। त्यस्तै, अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा पनि हातमा ठेला उठ्ने गरी साइकल चलाउँछन्। विदेशमा ठूला–ठूला हस्तीहरू साइकल यात्रा गर्छन््।’ श्रेष्ठ नेपालमा साइकल चलाउनेमाथि हेय नजरले हेरिने गरेको बताउँछन्। भन्छन्, ‘रमाइलो कुरा त के छ भने यहाँ पैदल हिँड्नेले बरु गर्ल फ्रेन्ड बनाउला तर साइकल चढ्नेलाई कसैले हेर्दैनन्। गर्ल फ्रेन्ड बनाउनकै लागि भए पनि केटाहरूले भाडामा बाइक लिएर जानुपर्ने अवस्था छ।’ 

एक मोहरमा साइकल भाडामा 

कक्षा सातमा पढ्दै गर्दा उनले साइकल सिकेका थिए। ‘कक्षा सातमा पढ्दा काठमाडौँको मख्खन चोकमा घण्टाको एक मोहर तिरेर साइकल सिक्न जान्थेँ,’ उनी अतीत याद गर्छन्, ‘पहिलो पटक साइकल चलाएर म मख्खनचोकदेखि भीमसेनस्थानसम्म पु्गेर आमालाई देखाएको थिएँ। त्यो दिन सगरमाथा चढेर आएजस्तो खुशी भएको थिएँ।’ सुरु–सुरुमा जता नलैजाऊँ भन्यो उतै साइकल जाने गरेको उनी सम्झन्छन्। हात नबस्दा नियन्त्रण गर्न गाह्रो हुन्थ्यो। 

पहिलो पटक साइकल चलाउँदाको जोश अहिले पनि कायमै छ। श्रेष्ठ भन्छन्, ‘अहिले ५० वर्षको भएँ। २०–२२ वर्षका ठिटाहरूसँग प्रतिस्पर्धा गरेर साइकल चलाउन सक्छु।’ 

किनेको दुई दिनमै साइकल हराउँदा 

श्रेष्ठ सुरुसुरुमा भारतमा बनेको ए वान नामक साइकल चढ्थे। त्यसपछि बिस्तारै साइकल फेर्दै गए। अहिलेसम्म उनका दुइटा साइकल चोरी भएका छन्। 

करिब १५–१६ वर्षअघि उनले पहिलो साइकल हराए। ‘घरबाहिर साइकल राखेर भित्र छिरेको थिएँ,’ उनी साइकल हराएको घटना सम्झन्छन्, ‘एकछिनपछि बाहिर निस्कँदा त साइकल गायब !’ त्यो साइकल उनले पाएनन्। प्रहरीकहाँ उजुरी पनि गरेनन्। 
्दो

स्रो पटकको साइकल चोरीको घटना भने रोचक खालको छ। करिब १०–१२ वर्षअगाडि उनले एउटा गियरवाला साइकल किनेका रहेछन्। किनेको दुई दिन नहुँदै त्यो साइकल चोरी भयो। साइकल लिएर न्युरोडस्थित सिद्धार्थ बैंकको एटीएम छिरेका श्रेष्ठको साइकल बाटोबाटै गायब भएको थियो। ‘एटीएममा पैसा झिक्न गएको थिएँ,’ उनी सम्झन्छन्, ‘तर, सिद्धार्थको एटीएम बन्द रहेछ। छैवेमा रहेको साझा एटीएमबाट पैसा निकालेर बाहिर निस्किएको मात्र के थिएँ, कालो चश्मा लगाएको, लामो कपाल भएको एउटा केटाले मेरोजस्तै साइकल चलाइरहेकोे थियो। ‘मेरोजस्तै साइकल रहेछ’ भन्ने सोच्दै साइकल राखेको ठाउँमा पुग्छु त साइकल छैन। त्यो त मेरोजस्तै नभएर मेरै साइकल पो रहेछ।’ केटो एकछिनमै गायब भइहाल्यो। उनले प्रहरीकहाँ साइकल हराएको उजुरी पनि गरे। तर, साइकल भेटिएन। 

विद्यार्थीले फुस्काइदिन्छन् हावा

दैनिक साइकल चढेर विश्वनिकेतनसम्म पुग्ने श्रेष्ठ गीतकार पनि हुन्। उनले एउटा उपन्यास पनि लेखेका छन्। नेपाल भाषाको फिल्म ‘जा मनः गुभाजु’ मा उनले अभिनय गरेका छन्। फिल्मको सुटिङमा पनि उनी साइकल चलाएरै पुग्थे। 

साइकल चढ्ने सबैको साझा समस्या भनेकै टायरको हावा लिक हुनु हो। ‘कहिले आफैँ हावा जान्छ भने कहिले बदमास केटाकेटीले हावा फुस्काइदिन्छन्,’ शिक्षक श्रेष्ठ भन्छन्। उनले पटक–पटक यस्तो समस्या भोगेका छन्। केही वर्षअघिसम्म त उनलाई उटपट्याङ विद्यार्थीले साइकलको हावा फुस्काइदिएर हैरान पारेका थिए। ‘नपढ्ने र शिक्षकलले भनेको नमान्ने केटाकेटीलाई गाली गर्थें, जो स्वाभाविक पनि थियो,’ उनी स्मरण गर्छन्, ‘तर, विद्यार्थीहरूले त्यसको बदला भने मेरो साइकलसँग लिने गर्थे। विद्यार्थीलाई कक्षामा गाली गर्थें। बेलुका घर जाने बेलामा साइकलको पांग्रामा हावा हुन्थेन। कहिलेकाहीँ त विद्यार्थीले पिन घुसाइदिएका हुन्थे। साइकल डोर्‍याउँदै बनाउन लैजान्थेँ।’ अझै पनि विद्यार्थीलाई गाली गरेको दिनमा साइकलको हावा त फुस्किएको छैन भनेर श्रेष्ठ सचेत हुने गरेका छन्। 

श्रेष्ठ प्रधान सम्पादक भएर स्कुलको पत्रिका पनि निकाल्थे। राति अबेरसम्म बसेर अफिसमा काम गर्दा लगातार तीन दिनसम्म साइकलको हावा फुस्काइदिएको घटना उनी सुनाउँछन्। ‘विद्यालयको पत्रिका निकाल्ने समयमा राति अबेरसम्म काम गर्थें,’ उनी सम्झन्छन्, ‘तीन दिनसम्म साइकलका दुवै पांग्राका हावा निकालिदिएछन्। राति २ बजे साइकल डोर्‍याएर घर गएँ। त्यसपछि मैले विद्यार्थीहरूलाई ‘अब पनि यस्तो भयो भने म सहन्नँ’ भनेर चेतावनी दिएँ। त्यसपछि समस्या आएन।’ 

राजदूत भेट्न जाँदा 

 श्रेष्ठ २५ वर्षयता नेपाल समाचार पत्रमा पनि कार्यरत छन्। उनी अन्तर्राष्ट्रिय पृष्ठको संयोजक हुन्। एक पटक उनले राजदूतलाई भेट्नुपर्ने थियो। साइकल चढेर भेट्न गएका उनलाई असन पुग्दै गर्दा लाज लागेछ। साइकल असनमा राखेर भेट्न गएको उनी बताउँछन्। ‘राजदूतलाई भेट्न साइकलमै जान्छु भनेर गएको थिएँ,’ उनी सम्झन्छन्, ‘असन पुगेपछि भने अगाडि जाने हिम्मत आएन। साइकल असनमा राखेर ट्याक्सी चढेर राजदूत भेट्न गएँ।’ 

साइकलले दिलाएको सम्मान   

१५–१६ वर्षअघि अष्ट्रेलियन टेलिभिजन च्यानल एबीसी कुमारीबारे डकुमेन्ट्री बनाउन नेपाल आएको थियो। संयोगले डकुमेन्ट्रीमा सबटाइटल लेख्ने काम ओमशंकर श्रेष्ठले पाए। 

डकुमेन्ट्रीका प्रोड्युसरलाई भेट्न श्रेष्ठ उनी बसेको होटलमा गए। होटलभित्र छिरेपछि एक जना गार्डले रूखो स्वरमा ‘साइकल कुनामा थन्क्याउनुस्’ भने। ‘साइकल चढेर आयो भनेपछि चिठी पुर्‍याउने मान्छेजस्तो ठानेछन्,’ उनी सम्झन्छन्, ‘थर्काउँदै कुनामा साइकल राख्न लगाए। रिसेप्सनिस्ट बहिनीले पनि त्यस्तै व्यवहार गरिन्।’ 

उनी लिफ्ट चढेर प्रोड्युसरको रुममा छिरे। अमेरिकी प्रोड्युसर उनको पसिनाले भिजेको शरीर देखेर छक्क परेका थिए। ‘जेठ महिनाको गर्मीमा साइकल चढेपछि पसिनाले भिजिने नै भयो,’ श्रेष्ठ विगतमा पुग्छन्, ‘प्रोड्युसरले मेरो शरीरको पसिना देखेर ‘कसरी आयो यत्रो पसिना’ भनी सोधेका थिए। मैल ‘साइकल चढेर आएको’ भनेँ।’ उनले श्रेष्ठलाई सम्मान गर्दै बसाए र चिसो मगाए। साइकल चढेकोमा ती प्रोड्युसर खुशी भएका थिए। 

छुट्ने बेलामा प्रोड्युसर उनलाई साइकल भएको ठाउँसम्म बिदाइ गर्न आइपुगे। ‘त्यो देखेर पहिले मलाई हेप्ने होटलका कर्मचारी अवाक् भएका थिए,’ उनी सम्झन्छन्। 

साइकलका फाइैदाफाइदा 

सहायक क्याम्पस प्रमुख श्रेष्ठ साइकल चढ्नुका धेरै फाइदा देख्छन्। साइकल चढेकै कारण कुनै रोगले नछोएको उनी बताउँछन्। भन्छन्, ‘म खानाप्रेमी मान्छे हुँ। मलाई खान मन पर्छ र धेरे खान्छु पनि। तर, दैनिक साइकल चलाएकै कारण मलाई कुनै रोगले छोएको छैन।’ 

साइकलको सबैभन्दा ठूलो गुण यसले वातावरणलाई कुनै हानि नपुर्‍याउनु भएको श्रेष्ठ बताउँछन्। ‘साइकल चढ्नुको अर्काे फाइदा पनि छ,’ उनी भन्छन्, ‘ट्राफिकले कहिल्यै रोक्दैनन्। लाइसेन्स पनि चाहिँदैन।’ 

साइकलले आफूलाई स्वस्थ र शानदार जीवन दिएको श्रेष्ठ बताउँछन्। ‘साइकलले मलाई स्वस्थ, सुन्दर र शानदार जीवन दिएको छ,’ उनी भन्छन्, ‘साइकल मेरो जिन्दगीको अभिन्न हिस्सा हो।’ 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि