स्वदेशी उत्पादनको प्रवर्द्धनमा फेसन सो

writer

कृष्णमणि बराल

बुधबार, ०४ मङि्सर २०७६


पोखरा : धेरै पछि गण्डकी प्रदेशको राजधानी पोखरामा फेसन सो आयोजना भएको छ। पोखरामा आक्कलझुक्कल फेसन सो हुने गर्छन्। आर एन्ड आर ग्रुपको आयोजनामा नेपाली कपडा उत्पादन गर्ने विभिन्न उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरामा गत शुक्रबार राति फेसन सो भएको हो। पोखराको लेकसाइडस्थित होटल स्विस इन्टरनेसनल सरोवरमा आयोजना भएको फेसन सोमा मोडलहरूले नेपाली उत्पादन अल्लो, सिल्क, पस्मिना, कटनका आकर्षक डिजाइनका पोशाकमा क्याटवाक गरे। 

‘जीनवशैली’ थिममा भएको फेसन सोमा चार सिक्वेन्समा काठमाडौँ, पोखरा र धरानका १६ युवती आकर्षक पहिरनमा र्‍याम्पमा हिँडेका थिए। नेपाली उद्योगले उत्पादन गरेका कपडामा र्‍याम्पमा उत्रन पाउँदा निकै खुशी लागेको फेसन सोमा सहभागी मोडलहरूले बताए। नेपालमा उत्पादित फेब्रिकको प्रवद्र्धन गर्न फेसन सो आयोजना गरिएको आर एन्ड आर ग्रुपकी अध्यक्ष मञ्जु श्रेष्ठले बताइन्। सन् २००७ देखि यस ग्रुपले फेसन सो आयोजन गर्दै आएको छ। पोखरामा दोस्रो पटक यस ग्रुपले फेसन सो गरेको हो। नुनदेखि सुनसम्म देशको परनिर्भरता बढ्दै गएको अवस्थामा नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न फेसन सो आयोजन गरिएको अध्यक्ष श्रेष्ठले बताइन्। भद्र र आकर्षक पहिरनमा युवतीहरूले नेपाली उत्पादनका विभिन्न डिजाइनका कपडामा सजिएर र्‍याम्प नापे। फेसन सोमा पुगेकी गण्डकी प्रदेश सांसद् मीना गुरुङले अबदेखि दैनिक कुनै न कुनै नेपाली उत्पादन लगाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।

फेसन सोमा कपडा उत्पादक कम्पनी सवा नेपाल, ग्रिफ्ट, दी सेरी वल्र्ड, चर्खा पस्मिना, एकादेशजस्ता कपडा उत्पादन गर्ने कम्पनीले भाग लिएका थिए। अल्लो, सिल्क, कटन, पस्मिनालगायत फेब्रिकबाट तयार पारिएका आकर्षक पहिरनमा मोडल र्‍याम्पमा उत्रिएका थिए। कार्यक्रममा गायक दीपक लिम्बूले आफ्नो नयाँ–पुराना तीन वटा गीत प्रस्तुत गरेर सहभागीलाई मनोरञ्जन दिएका थिए। 

विगत एक दशकदेखि विभिन्न इभेन्ट तथा फेसन सो आयोजना गर्दै आएको ग्रुपले काठमाडौँ बाहिरका विभिन्न शहरमा फेसन सो आयोजना गर्ने गरेको छ। ‘भिजिट नेपाल २०२०’ लाई समेत प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताइन्। 

 

विगत एक दशकदेखि विभिन्न इभेन्ट तथा फेसन सो आयोजना गर्दै आएको ग्रुपले काठमाडौँ बाहिरका विभिन्न शहरमा फेसन सो आयोजना गर्ने गरेको छ। ‘भिजिट नेपाल २०२०’ लाई समेत प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताइन्। 

तपाईको कमेन्ट

मुख्य समाचार